एमालेको सुदूरपश्चिम इन्चार्जमा भट्ट र रावलको दाबी, पार्टीमा टकराब 

एमालेको सुदूरपश्चिम इन्चार्जमा भट्ट र रावलको दाबी, पार्टीमा टकराब 

धनगढीः नेकपा एमाले सुदूरपश्चिम इन्चार्जको विषयलाई लिएर पार्टीभित्रको राजनीतिक माहोल गरम भएको छ। सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल र लेखराज भट्ट दुवैले प्रदेश इन्चार्जमा चासो देखाएपछि पार्टीमा टकराब सृजना भएको हो। 

माओवादी केन्द्र र एमाले एकता हुनुअघि भीम रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम संयोजक थिए भने लेखराज भट्ट माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्ज थिए।

पार्टी एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रावल पार्टीका प्रदेश इन्चार्ज थिए भने लेखराज उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा थिए। पार्टीमा अन्तर्विरोध चर्किँदा लेखराजले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई साथ दिए। रावल, माधव–प्रचण्डसहितको गुटमा थिए। 

विवाद बढ्दै जाँदा एमाले अध्यक्ष ओलीले भीम रावलको जिम्मेवारी खोसेर लेखराजलाई प्रदेश इन्चार्ज तोकेका थिए। अन्ततः पार्टी पूर्ववत् अवस्थामै फर्किएपछि भने लेखराजलगायतका केही माओवादी पृष्ठभूमिका नेताहरू एमालेमै बसे। माधव समूहले गठन गरेको समानान्तर कमिटी सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी रावलले लिए। 

आन्तरिक कलहले एमाले पनि टुक्रिँदै माधव नेपालले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी खोले। तर यस पटक रावलले उनको त्यो कदममा साथ दिएनन्। उनी एमालेमै बसे।

एमाले सुदूरपश्चिम इन्चार्ज रावल कि भट्ट ?

एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयलाई लिएर पार्टीभित्र विवाद चुलिँदो छ। रावल र भट्ट दुवैले आफू नै इन्चार्ज भएको दाबी गरिरहेका छन्। यद्यपि एमाले अध्यक्ष ओलीले भने सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै हुने बताइसकेका छन्। 

‘आइतबार ओली निवास बालकोटमा भएको छलफलमा अध्यक्ष ओलीले भीम रावललाई उपाध्यक्षको हैसियतमा समन्वय गर्ने र भट्टले इन्चार्जको रूपमा काम गर्ने भन्नुभएको छ’, एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले भने, ‘जेठ २ कार्यान्वयनको लागि उपाध्यक्षको हैसियतमा तपाईँले सञ्योजनकारी भूमिका निर्वाह गर्नुहोस् भन्नुभएको हो।’ थापाले प्रदेशको अध्यक्षको जिम्मेवारी आफूले नै पाएको पनि बताए। 

यसअघि १० बुँदे सहमति कार्यान्वयन गर्न रावल, भट्ट र थापालाई जिम्मेवारी दिइएको थियो। रावललाई उपाध्यक्षको हैसियतमा भट्टलाई प्रदेश इन्चार्जको हैसियतमा तथा थापालाई प्रदेशको अध्यक्षको हैसियतमा जिम्मेवारी वहन गर्न भने पनि रावलले असन्तुष्टि जनाएका छन्। 

लगत्तै सोमबार एमाले उपाध्यक्ष रावलले आफू निकट नेताहरूसँग १० बुँदे सहमति कार्यान्वयनका बारेमा छलफल गरेका छन्।

‘लाखौँ लाख कार्यकर्ताको रगत र पसिनाले बनाएको पार्टी हो। अन्तिमसम्म प्रयत्न गर्नुपर्छ। रावलले जेठ २ मा लैजान र १० बुँदे कार्यान्वयन गर्न नेतृत्त्व इमानदार भएर लाग्नुपर्छ भन्नुभएको छ,’ उनी  निकट प्रतिनिधि सभा सदस्य झपट रावलले भने, ‘यो हुँदैन भनेर बाहिरिनु भएका साथीहरूलाई पनि आउने वातावरण बन्छ नत्र यहीँभित्र रहेका साथीहरू पनि यहाँ नअट्ने वातावरण बन्न सक्छ।’

२०७७ पुस ५ गतेअघि भीम रावल तत्कालीन नेकपाको सुदूरपश्चिम संयोजक थिए। २०७५ जेठ ३ मा एमाले र माओवादी एकता भएर नेकपा गठन हुनुअघि पनि रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज थिए। 

पुस ५ पछि नेकपामा फेरिएको समीकरणका कारण भट्ट इन्चार्ज बनेका थिए। जेठ २ अघि एमालेमा इन्चार्ज भन्ने थिएन।

गृह प्रदेश पुगे भट्ट, रावल पनि आउँदै

एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको  भोलिपल्टै लेखराज भट्ट गृह प्रदेश सुदूरपश्चिम पुगेका छन्। 

कार्यकर्तालाई समेत थाहा नै नदिई उनी सुटुक्क धनगढी विमानस्थलमा झरे। ‘हामीलाई उहाँ आउनेबारे केही जानकारी नै थिएन, स्वागत गर्न जान पनि पाएनौँ’, उनी निकट एक नेताले भने, ‘सोमबार अचानक उहाँ आउनुभयो अब सङ्गठनका काममा लाग्छौँ।’

भट्टले सोमबार नै गृह क्षेत्र गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका जनप्रतिनिधिलगायत कार्यकर्तासँग भेटघाट गरेका छन्। 

मङ्गलबार भट्ट सुख्खा बन्दरगाहका विषयमा छलफल गर्न कञ्चनपुर पुगेका छन्। ‘उहाँ सुख्खा बन्दरगाह र गेटा मेडिकल कलेज सञ्चालन सम्बन्धी छलफलमा भाग लिन सुदूरपश्चिम आउनुभएको हो, भट्टका स्वकीय सचिव हितेश ओझाले भने, ‘प्रदेशको विकास निर्माणका कुरामा चासो राख्दै उहाँ आउनुभएको हो।’

यसैबीच एमालेका उपाध्यक्ष भीम रावल पनि धनगढी आउँदै छन्। मंगलबार नै रावल धनगढी आउने कार्यक्रम तय भएको सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुवेदीले बताए। 

‘कार्यकर्ता भेटघाटका लागि उहाँ धनगढी आउन लाग्नु भएको हो, उहाँले एकीकृत समाजवादीका नेता–कार्यकर्तासँग पनि भेट्ने इच्छा जाहेर गर्नुभएको छ’, उनले भने, ‘केही नयाँ हुन सक्छ।’

 

२९ भदौ, २०७८, १६:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।