नेपाली कांग्रेसको महाधिवेशन : आफ्नै गुटका आकांक्षीका कारण सकसमा रामचन्द्र पौडेल

नेपाली कांग्रेसको महाधिवेशन :  आफ्नै गुटका आकांक्षीका कारण सकसमा रामचन्द्र पौडेल

अघिल्लो महाधिवेशनका घाइते पौडेल सबैलाई मनाएर एक पटक पुनः नेतृत्वका लागि मैदानमा जान चाहन्छन्। तर, आफ्नो समूह भित्रका आकांक्षी व्यवस्थापन गर्न नसक्दा अन्तिममा उनले मैदान छाड्नुपर्ने सम्भावना बढ्दै गएको छ।

पौडेल पक्षका कार्यकर्ता पार्टीको क्रियाशील सदस्यता देखि नै पेलानमा पर्दै आएका छन्। प्रदेश २ का सबै जिल्ला र अन्य समेत २० जिल्लाको क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन। पौडेल पक्षले नेतृत्व गरेका जिल्लाहरूमा समेत किचलो देखाएर सदस्यताको नामावली सार्वजनिक गरिएको छैन। डडेलधुरामा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले राज्य शक्तिको दुरुपयोग गरेर एकतर्फी वडा अधिवेशन गराएको पौडेल पक्षले आरोप लगाएका छन्। 

सोमबार पौडेल पक्षीय उपलब्ध केन्द्रीय सदस्यको बैठकपछि पत्रकार सम्मेलन गरेर डडेलधुराको वडा अधिवेशन पुनः गराउन पार्टी नेतृत्वसँग माग गरे। पार्टीका लागि योग्य र क्षमतावान् कार्यकर्तालाई अवसर दिन भन्दा  पनि आफ्नो गुट बलियो बनाउन सभापति लागिपरेको पौडेलको आरोप छ।

सदस्यतामा भएको समस्यालाई लिएर कार्यकर्ता पार्टी कार्यालयमा धर्नामा छन्। धर्नामा बसेका कार्यकर्तालाई आश्वासन दिने बाहेक माग पूरा गराउन पौडेलले सकेका छैनन्। देउवालाई समस्या समाधान गर्न आग्रह गर्छन्, तर देउवा मिलाउँछु भन्छन्, व्यवहारमा केही गर्दैनन्। 

सदस्यताकै लागि सभापति देउवा र उनको समूहसँग लडाइँ गर्नुपर्ने अवस्थामा आफ्नै समूहका नेता व्यवस्थापन उनका लागि अर्को चुनौती बनेको छ। समूहका नेताले नेतृत्वमा दाबी नछाड्दा पौडेल थप सकसमा परेका छन्। पौडेललाई अभिभावकीय भूमिका ग्रहण गरेर आफूलाई अघि सार्न महामन्त्री शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, डा. शेखर कोइरालाले नेतृत्व दाबी गरेका छन्। सुजाता कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत पनि समूहमा एकता भएर साझा उम्मेदवार खडा नगरे आफू पनि सभापतिको दाबेदार भएको बताउँदै आएका छन्।

देउवासँग प्रतिस्पर्धा गर्न समूहमा एक भन्दा बढी उम्मेदवार हुनासाथ पौडेलका लागि फलामको चिउरा चपाउनु सरह हुन्छ। तर, पौडेल समूहमा उस्तै हैसियतका धेरै नेताबीच सहमति गराउन पनि पौडेललाई सहज भने छैन। पौडेल समूहबाट सभापतिको आकांक्षा राखेका महामन्त्री शशाङ्क कोइरालाले चितवन पुगेर आफ्नो दाबी यथावत रहेको बताएका छन्।

अर्का नेता प्रकाशमान सिंहले पौडेललाई राष्ट्रपति बनाउने प्रस्ताव गरेर आफू सभापतिमा भिड्ने बताए। १३ औँ महाधिवेशनदेखि नै नेतृत्वको तयारी गरेर देश दौडाहा गरेका नेता शेखर कोइराला सभापति बाहेक अरू पदमा उम्मेदवार नबन्ने घोषणा गरेर लागेका छन्। युवा अघि बढाउने एजेन्डासहित अघि बढेका शेखरलाई पार्टीका अधिकांश युवा नेताले साथ दिने वचन दिएका छन्। सोमवार उपलब्ध केन्द्रीय सदस्यको बैठक अघि शेखरले युवा नेताहरूसँग पाँच घण्टा भन्दा लामो छलफल गरेका थिए। 

सभापति देउवाको कडा आलोचक शेखर आफू नेतृत्वको दाबीबाट पछि नहट्ने बताउँछन्। पाँच वर्षदेखि कार्यकर्ताको भावना बुझेर आफूले निर्णय लिएको उनले बताउने गरेका छन्। वडा अधिवेशनको दिन बिहानै कार्यकर्ताको नाममा अपिल जारी गरेर उनले इमानदार व्यक्तिलाई नेतृत्वमा पठाउन आग्रह गरेका थिए। 

सबै घटनाक्रम हेर्दा पौडेल साझा उम्मेदवार बन्ने सम्भावना कमजोर बन्दै गएको छ। अघिल्लो पटक कृष्ण सिटौलाको मन जित्न नसक्दा सभापति हुन चुकेका पौडेल यस पटक आफ्नै समूहका नेतासँग प्रतिस्पर्धा गर्ने की अरू कसैलाई समर्थन गरेर अभिभावकको भूमिकामा रहने धर्म सङ्कटमा पर्नेछन्।

अहिलेसम्मको परिस्थिति हेर्दा पौडेल समूहको सर्वस्वीकार्य नेता बन्ने छाँट नदेखिएको कांग्रेस निकट एक राजनीतिक विश्लेषक  बताउँछन्। आफू सर्वस्वीकार्य बन्न नसक्ने अवस्थामा देउवासँग प्रतिस्पर्धा गर्न सक्ने र कार्यकर्ताको मन जित्ने नेतालाई समर्थन गरी आफू अभिभावकीय भूमिकामा रहँदा उचित हुने उनको सुझाव छ। 

आफै भित्र जुध्दा बलिया प्रतिस्पर्धी देउवालाई सहज हुने हुँदा पनि टिम भित्रको उपयुक्त पात्र छनौट गर्नु पौडेलको बुद्धिमानी ठहर्ने उनले बताए। कार्यकर्ताले पनि देउवा र पौडेलको विकल्प खोजेको उनको बुझाई छ। 

एकातिर पौडेललाई देउवालाई हराउनै पर्ने चुनौती छ अर्कोतर्फ आफ्नो समूह भित्र एकताको प्रयासले अझै सार्थकता नपाउँदा पौडेल थप सङ्कटमा देखिएका छन्। समूहलाई एक बनाउने अभियानमा पौडेलले धेरै समय खर्चिए पनि साझा उम्मेदवार बनाउने सहमति बाहेक अन्य उपलब्धि शून्य छ। देउवा इतर समूहका कार्यकर्ताको भावना अनुसार आफूहरू एक भएर जान सकिनेमा पौडेल ढुक्क हुन सकेका छैनन्। ‘जसरी पनि देउवा इतर नेतृत्व ल्याउन आफ्नो टिम एक बनाउन उहाँको अन्तिम सम्म प्रयास रहने  छ’, पौडेल निकट एक केन्द्रीय सदस्यले भने, ‘एक हुनुको विकल्प पनि छैन।’

ती नेताको भनाई अनुसार चुनाव जित्नका लागि देउवा इतर टिम एक हुनुको विकल्प छैन तर, त्यही टिमलाई एक बनाउन पौडेललाई सकस परेको छ। आफ्नो समूहमा एकता नभई देउवालाई पराजित गर्न कठिन हुने भएकाले सबै मिलेर साझा नेतृत्व छान्नुको विकल्प नभएको नेता अर्जुननरसिंह केसीले बताए। 

२९ भदौ, २०७८, ०७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।