दुई वर्ष कैद सजायमा माघमा पक्राउ परेका कुख्यात मानव तस्कर टोपबहादुर भदौँमा कसरी पुगे युक्रेन ?

दुई वर्ष कैद सजायमा माघमा पक्राउ परेका कुख्यात मानव तस्कर टोपबहादुर भदौँमा कसरी पुगे युक्रेन ?
युक्रेन पुगेको भन्दै प्रहरीले खोजीरहेको टोपबहादुर( माला लगाएको) र गत माघ २ गते दाङमा पक्राउ परेका टोपबहादुर।

घटना घटेको केही समयपछि सञ्चारमाध्यम ‘द डेली स्टार’मा प्रकाशित समाचारअनुसार असार ८ गते राती कोलम्बियाको पोएर्तो स्कोन्दियोस्थ्ति क्यारेबियन सागरको क्षेत्रमा माछा मार्न गएको समूह र कोस्ट गार्डका सदस्यहरूले बाँचेका ६ जनाको उद्धार गरेका थिए।

बेपत्ता भएका ७ जना नेपाली र ५ जना बङ्गलादेशी नागरिकको खोजी त भयो। तर, कोस्ट गार्डहरूले उनीहरूलाई भेटाउन सकेनन्।

समुन्द्रमा डुबेर बेपत्ता भएका नेपालीहरुमध्ये एक थिए दाङका एञ्जल बुढा मगर। उनको परिवारले मानव बेचबिखन अनुसन्धान ब्युरोमा दिएको जाहेरी अनुसार अमिरका पुर्याउने भनेर पैसा असुल्ने व्यक्ति थिए दाङ घोराहीका टोपबहादुर जिसी। घोराही उपमहानगरपालिका वडा नं.१४ शान्ति टोलका जिसी मानव तस्करीमा कहलिएका व्यक्ति हुन्।

उनी यो घटनामा पोलिनु अगाडि नै मानव बेचबिखनको मुद्दामा परेका थिए। २०७६ मा उनी विरुद्ध परेको मुद्दामा १५ लाख धरौटीमा छुटेका थिए।

अमेरिका हिँडेका नेपाली नागरिक समुन्द्रमा डुबेर बेपत्ता भएको खबर सार्वजनिक भएसँगै फेरि उनको नाम मानव तस्करीमा जोडियो। समुन्द्रमा बेपत्ता भएका सातमध्ये एक दाङका एञ्जल बुढामगरको परिवारले केही समयपछि जिसीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए।

घोराही उपमहानगरपालिका वडा नं.१२ को वडाध्यक्षका छोरा रहेका बुढामगरसँग जिसीले अमेरिका पुर्याइदिने भनेर २७ लाख हाराहारीमा पैसा लिएको जाहेरीमा उल्लेख थियो। एञ्जलका बुबा राजेन्द्र बुढामगरले प्रहरीमा उजुरी दिएनन्। उनका काका जनक बुढामगरको मन मानेन र जिसीविरुद्ध उजुरी दिएका थिए।

उजुरी आएपछि प्रहरीले जिसीलाई खोज्न थाल्यो। उनी फेला नपरेपछि प्रहरीले उनकी श्रीमती गोमा जिसीलाई असार ३० गते उनकै घरबाट पक्राउ गर्यो। अमेरिका लैजाने भनेर बुढामगर परिवारसँग असुलेको केही रकम गोमाको खातामा जम्मा भएको आधारमा उनी पक्राउ परेकी थिइन्। तर उनी अदालतबाट ३० लाख धरौटीमा छुटिन्। ब्युरोले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा गोमाको केस पठायो।

ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहका अनुसार ब्युरोको अनुसन्धानमा जिसी युक्रेनमा रहेको देखिन्छ। सोही आधारमा उनलाई नेपाल ल्याउन प्रहरीको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलसँग समन्वय भइरहेको उनले उकेरासँग बताइन्।

क्यारेबियन सागरमा छोरा गुमाएका राजेन्द्र बुढामगरले धेरै कुरा गर्न चाहेनन्। भने , ‘प्रहरीले समातेको मान्छेलाई त छाड्यो रे। बितेको कुरा कोट्याउने अवस्थामा छैन। छोरा कसले बेपत्ता बनायो भन्ने फेरि सम्झिएर दुःखी हुनु छैन।’

उकेरासँगको संवादमा खुल्न नचाहेका उनले आफ्ना भाइ जनक बुढामगरलाई फोन दिए। परिवारको तर्फबाट एञ्जल हराएको विषयमा ब्युरोमा जाहेरी दिने जनक नै थिए।

जनकका अनुसार करिब ४ वर्ष अघि चीनमा होटेल म्यानेजमेन्टको पढाई सकेर एञ्जल गाउँ फर्किएका थिए। गाउँमा बेकरी खोल्छु भन्थे उनी।२०७७ फागुनमा एञ्जलले अमेरिका जाने कुरा सुनाए।

‘गाउँकै टोप बहादुर घर्ती क्षेत्री (जिसी)ले अमेरिका पठाउनु भनेछ,’ जनक भन्छन्, ‘उसले एञ्जललाई अमेरिका पुगेको ५ वर्षपछि स्थायी बासिन्दा बनाइदिन्छु भनेको रहेछ।’

एञ्जललाई टोपबहादुरले दुई वटा बाटो दिएका थिए अमेरिका जान। पैदल र जहाजबाट। दुवैको लागत फरक-फरक थियो। पैदलमा कोलम्बिया, पानामा हुँदै जानुपर्थ्यो। ३२ लाख खर्च हुने बताइएको थियो। जहाजबाट जाँदा भने ४२ लाख लाग्ने बताए।

एञ्जलले जनकसँग टोपबहादुरले यसअघि जिल्लाका धेरैलाई अमेरिका पठाएको बताएका थिए। उनी भन्छन्, ‘भतिजले देखेको सपना, कसरी नाइँ भन्नु? हुन्छ भन्यौ। तर, राम्रोसँग बुझेर मात्रै पैसा दिने निधो गरेका थियौँ।’

प्रक्रिया सुरु भयो। आवश्यक कागजातहरू तयार भए। अमेरिका लैजाने टोपबहादुरको बारेमा सोधखोज भयो। जनकले त्यस अगाडि टोप बहादुरलाई चिनेका थिएनन्।

‘भतिजले अमेरिका जानु अगाडी मसँग पनि भेटघाट भई जाने भनेकोले म चितवनबाट घरमा गए। भोलिपल्ट २०७७ चैत्र १७ गते हामी सबै जना काठमाडौँ गयौँ। त्यस दिन नयाँ बसपार्कमा रहेको कान्छा भाइको न्यु डाई मण्ड गेस्ट हाउमा बस्यौ। अर्को दिन म र भतिज मेरो छोरा-छोरी बस्ने गरेको ताहचलको कोठामा बस्यौ,’ उनी भन्छन्, ‘टोप बहादुरले भतिजोलाई भेटेर पैसा मागेछ।’

एञ्जलले  टोप बहादुरलाई कागजपत्र तयार गर्नको लागि ७ लाख ७४ हजार बुझाए। टोप बहादुर ‘म दुबई गई सम्पूर्ण प्रक्रियाहरू पुरा गरेर तिमीलाई  दुबई  बोलाउँछु’ भन्दै दुबई उडे। त्यसको केही दिन पछि उनलाई दुबई बोलाइयो। उनी नेपालबाट ०७७ साल चैत्र १७ गते विमानस्थलबाट बिदाइ भए।

विमानस्थलबाट परिवार घर  फर्किए भने एञ्जल अमेरिका जान दुबई उडे। दुबई गएको केही समय पछि भतिजोसँग काइँलो काका जनक बुढा मगरले कुराकानी गर्ने क्रममा टोप बहादुर घर्ती पनि साथमा रहेकोले बताएका थिए।

‘तपाईँको छोरा बलियो छ हिँड्न सक्छ। उसलाई म पानामाको जङ्गलबाट पैदल बाटो हुँदै अमेरिकाको बोर्डरसम्म पुराउँछु’ जनक आफूलाई टोप बहादुरले फोनमा गरेको कुरा सम्झँदै भन्छन्, ‘‘अब जानको लागि अरू पैसा चाहिन्छ। मेरो श्रीमती गोमा नेपालमा छ उसलाई अरू पैसा दिनु’ भन्यो।’

जनकले टोप बहादुरले भनेजस्तै गोमाको खातामा उन्नाइस लाख अन्ठानब्बे हजार रुपैयाँ जम्मा गरिदिए। पैसा जम्मा गरेको करिब २ महिना पछि एञ्जल र अन्य ३ जना नेपाली युवाहरूलाई टोप बहादुरले दुबईबाट युक्रेन हुँदै फ्रान्स र फ्रान्सबाट कोलम्बिया पुर्याए। तर एञ्जललाई कोरोना सङ्क्रमण भयो।

कोरोना पोजेटिभ भएपछि उनी कोलम्बियाको राजधानी बेगोटाको एक होटेलमा १४ दिनसम्म क्वारेन्टाईनमा बसे। कोलम्बोको राजधानी बेटोटाबाट झन्डै साढे चार सय किलोमिटर टाढा रहेको मेडलिन सहर लागे। त्यहाँ जाने क्रममा उनलाई स्थानीय प्रहरीले पक्राउ गर्यो।

तर, टोप बहादुरले नै एञ्जललाई प्रहरीबाट छुट्टाई निकोक्लीको सहर पुर्याए। उनलाई २ महिनासम्म कोलम्बियामा राखी कोलम्बियाबाट सामुन्द्रिक मार्ग हुँदै क्यारेबियन कोस्टस्थित कापुरगाना तर्फ लागे।

कापुरगाना जानु भन्दा पहिले अर्थात् असार ५ गते जनकसँगको कुराकानीमा एञ्जलले भनेका थिए, ‘अब केही दिन मेरो फोन लाग्दैन। चिन्ता नलिनु। पुगेपछि म आफै फोन गर्छु।’

तर, एञ्जलको फोन आएन।

जनक भन्छन्, ‘उसले फोन गर्छु भनेको थियो। तर, उसको फोन नै आएन। पछि त्यो घटनाबारे थाहा पायौँ।’

जनक आफ्नो भतिज र अन्य मानिसहरूलाई हतारिएर सानो जहाजमा पठाएको ब्युरोलाई दिएको जाहेरीमा उल्लेख गरेका छन्।

जाहेरीमा भनिएको छ, ‘कोलम्बियाबाट सामुन्द्रिक मार्ग हुँदै क्यारेबियन कोस्टस्थित कापुरगाना पठाउने क्रममा मेरो भतिजो लगायत अन्य अमेरिका जान लागेका मानिसहरूलाई ठुलो पानी जहाजमा नलगी सानो स्थानीय गाउँमा प्रयोग गर्ने डुङ्गामा लगियो। उक्त डुङ्गा कोलम्बियाको पोएर्तो स्कोन्दिदोस्थित क्यारेबियन सागरमा दुर्घटनामा पर्यो।’

कापुरगानाबाट अगाडि बढे पछि उनीहरूको कुरा हुन सकेको थिएन। समाचारको रूपमा समुन्द्रमा नेपाली बेपत्ता भएको खबर आएपछि आफ्नो छोराको पनि मृत्यु भएको जनकले थाहा पाए।

मानव तस्करीमा मुछिँदै आएका टोपबहादुर विरुद्ध अमेरिका जाँदा हिरासतमा १७ महिना बिताएर स्वदेश फर्किएका नरेन्द्र बस्नेतले जाहेरी दिएको खुल्यो। यही जाहेरीको आधारमा उनी पक्राउ परेर २०७६ असार ५ गते १५ लाख धरौटीमा छुटेका थिए।

त्यही केसमा काठमाडौँ जिल्ला अदालतले २०७७ पुस १९ गते जिसी विरुद्ध २ वर्ष कैद र १२ लाख जरिवानाको फैसला गर्यो। न्यायाधीश बद्री प्रसाद ओलीको एकल इजलासले जिसीविरुद्ध कैद सजाय र जरिवानाको सजाय सुनाएका थिए।

अदालतले कैद सजाय तोकेको करिब १२ दिनमा टोपबहादुर दाङमा पक्राउ परे। उनलाई दाङका तत्कालीन प्रहरी प्रमुख गणेश चन्दले माघ २ गते पक्राउ गरेर कैद सजाय भुक्तानका लागि काठमाडौँ पठाएको देखिन्छ।

उकेराको खोजविनमा अहिले जाहेरी परेका टोपबहादुर र त्यो बेला दाङ प्रहरीले पक्राउ गरेको टोपबहादुर एकै भएको देखियो। दुई वर्ष कैद सजाय तोकिएका उनलाई कारागार चलानकै लागि दाङ प्रहरीले पक्राउ गरेको थियो। यसरी पक्राउ परेकालाई सिधै अदालतको फैसला कार्यान्वयन शाखामा बुझाएर कारागार पठाउने गरिन्छ।

उनी त्यसरी नै कारागार चलान भएका भए सात महिना मात्र कैद भुक्तान हुनुपर्ने हो। उनी नेपालकै कुनै जेलमा भेटिनुपर्ने हो। तर ब्युरोका अधिकारी दाबी गर्छन्' उनी नेपालमा छैनन्। युक्रेन पुगिसकेका छन्।'

उकेराले काठमाडौँ उपत्यकाका तीन कारागारमा रहेको कैदीको सूचीमा उनको नाम फेला पार्न सकेन। उनी केन्द्रीय कारागार, डिल्लीबजार कारागार अनी नक्खु कारागारमा रहेका कैदीको सूचीमा उनको नाम छैन।

टोपबहादुर पक्राउ परेकोबारे ब्युरोका अधिकारीहरू अनभिज्ञ देखिए। ' यस विषयमा त बुझ्नै पर्छ। धरौटीसम्मको कुरा मात्र सुनेको हो' एसएसपी सिंहले भनिन्।

कारागारमा हुनुपर्ने जिसी आखिर कसरी युक्रेन पुगे? अदालतको फैसला कार्यान्वयनका लागि दाङमा पक्राउ परेका उनी कारागार पुगे या पुगेनन् ? उकेराको खोजी जारी छ।

२८ भदौ, २०७८, २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।