त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीलाई झम्टिँदा...

त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीलाई झम्टिँदा...
तस्बिर : कृष्पा श्रेष्ठ

सुन्धारास्थित वीरेन्द्र सैनिक अस्पतालको अघिल्तिर ट्याम्पोको लाइन छ। ट्याम्पो चालकहरू कोही मोबाइलमा घोत्लिरहेका छन् त कोही यात्रुलाई गन्तव्यमा पुर्याउने पालो कुरिरहेका छन्।

जताततै हरितालिका तीजको रौनक छ तर यहाँका ट्याम्पो चालक महिलालाई भने तीजले छोएकै छैन।

मेरा आँखा ट्याम्पो भित्रै बसेर खाना खाइरहेकी एक महिलामा परे। उनी थिइन्, ट्याम्पो चालक कल्पना तामाङ। 

‘तीजको दिन पनि बिदा छैन है?,’ मेरो प्रश्नको जवाफमा उनेले भनिन्, ‘गरिबकी छोरी हुँ। चाड-पर्व मानेर बसे के खानु।’

सुन्धारा-छाउनी रुटमा १४ वर्षदेखि ट्याम्पो चलाउँदै आएकी कल्पनाको अहिले आफ्नै ट्याम्पो रहेछ। उनी ट्याम्पो चालक हुनुमा पनि छुट्टै कथा रहेछ।

०००
कल्पनाका काका-काकी काठमाडौंमा थिए। उनीहरू गलैँचा कारखानामा काम गर्थे। दसैँमा घर जाँदा कल्पना काका-काकीको कुरा खुब चाख मानेर सुन्थिन्। 

उनीहरू भन्थे, ‘गलैँचा बुन्ने काम सजिलो छ, बसेर काम गर्न पाइन्छ। पैसा पनि मजाले कमाइन्छ।’

कल्पनालाई हरेक दसैँमा सहरिया आफन्तको गलैँचा बखानले निकै प्रभाव पारेको थियो। उनी पनि काठमाडौं आउन चाहन्थिन्।

पाँच बहिनी, चार भाइमध्ये जेठी छोरी थिइन् कल्पना। रामेछाप, फुलासी पोखरी (हाल मन्थली नगरपालिका- ९) को यो तामाङ परिवारलाई जीवन चलाउनै धौ-धौ थियो।

मेला-पर्म हिँड्न सक्ने भएपछि सहर जान्छु भन्दा परिवारले पठाउने अवस्था नै थिएन। परिवारले सहर जान दिने नदेखेपछि कल्पना २०५८ सालमा १७ वर्षको उमेरमा घरबाट भागिन् र राजधानी छिरिन्।

कल्पना गलैंचा बुन्न भनेर गाउँबाट सहर त आइन् तर प्रहरीले टिकी खान दिएन। ‘म उमेरले १७ वर्ष थिएँ। तर सानी देखिन्थें। बालश्रम भयो भनेर प्रहरीले कारखानामा छापा मारेको मार्यै गर्ने,’ कल्पना भन्छिन्, ‘चार महिनासम्म त लुकेर काम गरेँ। प्रहरी आयो कि साहुले कता–कता लगेर लुकाइहाल्थे। सधैं त्यसरी त सम्भव पनि भएन नि।’

काम गर्छु। पैसा कमाउँछु। घरमा पठाउँछु। अनि घरका मान्छेलाई खुसी पार्छु भन्ने लागेको थियो कल्पनालाई। तर उनको योजनामा प्रहरी तगारो बनिरह्यो।

काका-काकीले सुनाजस्तो सजिलो पक्कै थिएन गलैंचा बुन्ने काम। त्यसमाथि भेट्यो कि प्रहरीले समातेर लगिहाल्ने। डरै-डरले यो पेसा नै छाड्ने सोचमा पुगिन् कल्पना।

०००
गाउँमा छँदा पढ्ने-लेख्ने रहर हुँदाहुँदै पनि पाइनन् उनले। गलैंचा कारखानाबाट बिदाइ हुनुअघि पनि कहिले-कसो सोच्ने गर्थिन्, ‘यसो पढ्न पनि पाइने, पैसा पनि हुने काम पाए पनि हुन्थ्यो।’

कल्पनाको कल्पना यथार्थमा परिणत भयो। जर्मन नागरिकका सन्तानहरूलाई हेरचाह गर्ने काम पाइन् उनले जवलाखेलमा।

‘चार जना बच्चा थिए। मेरो काम ती बच्चालाई स्कुल लाने, ल्याउने, खुवाउने-पियाउने थियो,’ कल्पना भन्छिन्, ‘मसँगै बस्ने अर्की जर्मन महिलालाई नेपाली भाषा मन पर्ने। मलाई पनि पढ्ने रहर।’

कल्पनाले काम गर्दै ती जर्मन महिलालाई नेपाली वर्णमाला सिकाउन थालिन्। ती महिलाले कल्पनालाई अग्रेंजी वर्णमाला सिकाइन्। उनीहरूले यसै गरी दुई वर्षसम्म एकअर्कालाई सिकाए, पढाए।

‘पढ्ने रहर भएर पढ्न नपाए पनि रहरले क, ख गाउँमा हुँदै सिकेको थिएँ। त्यसले ठूलो काम दियो। ती साथीलाई सिकाउँदा सिकाउँदा नेपाली राम्रोसँग पढ्ने-लेख्ने नै भएँ म।’ कल्पनाले कल्पना नगरेको अंग्रेजी भाषा पनि उनी खोट्याउन सक्ने बनिन्। 

त्यतिन्जेल कल्पनाकी साइँली बहिनी पनि सहर छिरिसकेकी थिइन्। उनी ट्याम्पो चलाउने काम गर्थिन्। जर्मन नागरिकका बच्चा स्याहार्दा-स्याहार्दा कल्पना पनि दिक्क भइसकेकी थिइन्। 

‘साइँलीले जेसिआई भन्ने संस्थाले महिलालाई ट्याम्पो चलाउन सिकाउँदै छ। फारम भर भनी, भरेँ। संयोगले नाम पनि निस्कियो।

०००
ट्याम्पो चालकको तालिम सुरु भयो। तीन महिना कल्पना सहितका ५ महिला चालकले ट्याम्पो चलाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको गौचरणमा तालिम लिए।

तालिम लिने क्रममा गुरुले आफ्नी साथीलाई गरेको दुव्र्यवहारले कल्पनाको मनमा चिसो पस्यो।

‘मेरो साथीलाई खाना खान जाउँ भनेर गुरुले लगेछन् र गेष्ट हाउस पुर्याएछन्,’ कल्पनाले सुनाइन्, गेस्ट हाउस भन्ने थाहा पाएपछि भाग्न सफल भइछिन्।’ यो घटनाले उनलाई यो काम गर्ने कि नगर्ने भन्ने दोमन समेत बनाएको उनले बताइन्।

‘महिला आत्मनिर्भर नभएका कारण पुरुषले यस्तो गरेको भन्ने मेरो मनमा पर्यो। त्यतिबेला केही गर्न सकिएन।’ गुरुको दुर्व्यवहार कल्पना र उनका साथीहरूले मनमा नै राखे र तालिम सिध्याए।

कल्पना अब ट्याम्पो चलाउन जान्ने भइन्। छाउनीदेखि सुन्धारा रुटमा उनले चलाएको ट्याम्पो गुड्न थाल्यो। ट्याम्पो चालक भएसँगै कल्पनाको जिन्दगीले पनि गति लिन सुरु गर्यो।  

उनी २४ घन्टामा १८ घन्टा त सडकमै हुन्थिन्। धेरै खटिने भएकाले उनले टिप पनि अरूले भन्दा बढी नै पाइन्।

०००
एक दिन सीतापाइलाबाट एक युवक कल्पनाको ट्याम्पोमा चढे, सुन्धारा झरे। विस्तारै त्यही अनुहार ट्याम्पोमा उदाइरहन थाल्यो। करिब एक वर्षसम्म कल्पनाका यात्रु बनेका ती युवकले एक दिन कल्पनालाई प्रस्ताव गरे, ‘हामी विवाह गरौँ न।’

काठमाडौंको सडकमा ट्याम्पोको स्टेरिङ समात्दा कल्पना २० वर्षकी थिइन्। यात्रुले विवाहको प्रस्ताव गर्दा २२। विवाहको उमेर भएको थियो। तर कल्पनाको कुनै योजना नै थिएन।  

‘सधैं ट्याम्पो चढ्ने भएपछि चिनजान भयो। बेलाबेला बोलचाल पनि हुन्थ्यो,’ उनले प्रेम प्रसंग कोट्याइन्, ‘उसको घरमा विवाहका लागि कुरा भइरहेको रहेछ। घरकाले खोजेको केटी उसलाई मन परेनछ। सधैं देखिरहेको भएर होला, मलाई प्रस्ताव गर्यो।’

कल्पनाले आफू तामाङ भएकाले नेवार केटासँग विवाह गर्न नसक्ने बताइन्। आफ्नो पेसाको बारेमा पनि सम्झाइन्। केटाले घर-परिवारलाई मनाउने विश्वास दिलाए। कल्पनाले सर्त राखिन्, ‘पछि पनि काम गर्न दिने भए मात्र विवाह गर्छु।’

विवाहपछि धेरै महिलाले आफ्नो सपनालाई तिलाञ्जली दिएको उनले देखेकी थिइन्। अझ काठमाडौंका नेवार छोरी-बुहारीले बाहिर काम गरेको उति मन पराउँदैनन् भन्ने पनि कतै सुनेकी रहिछन् उनले।

केटाले कल्पनाको सर्त मन्जुर गरे। त्यसपछि उनीहरुबो विवाह भयो। भागेर चोभार फुपूकहाँ बसे दुई वर्ष। कल्पना चोभारबाट छाउनी आउँथिन्, ट्याम्पो चलाउन। उनका श्रीमान् रङ-रोगनको काम गर्थे।

०००
जिन्दगीले गति समात्यो। एक छोरा जन्मिए। घरमा पनि स्वीकार गरे। स्वयम्भूमा कल्पनाका श्रीमानको घर छ। 

२०६९ सालमा कल्पनाले आफ्नै ट्याम्पो किनिन् ५ लाख रुपैयाँमा।  

सपना पूरा हुँदै थिए। श्रीमानको साथ थियो। ट्याम्पोको कमाइ राम्रै थियो। हातमा पैसा, मनमा माया, काखमा छोरो। कल्पना आफ्नो जीवनको सुन्दर पल बिताउँदै थिइन्।

तर, २०७२ सालमा कल्पनाको जीवनमा ठूलो भूकम्प गयो।

०००
एक दिन आर्मी जस्ता देखिने एक जना युवा सीतापालाबाट उनले ट्याम्पो चढेर र सुन्धारा झरे।

बाहिरी जिल्लाबाट काठमाडौँ आएका उनी आफ्नो सामान थानकोट पुर्याउने योजनामा रहेछन्। सुन्धाराबाट थानकोट ट्याक्सीमा निकै महँगो पर्ने ठानेर उनले कल्पनाको नम्बर मागे। कल्पनाले पनि फुर्सदको समयमा सुन्धाराबाट थानकोट पुर्याएको १ हजार रुपैयाँ आउँछ भने ठिकै छ भनेर नम्बर दिइन्।

‘ती भाइले एक दिन सामान लान पर्यो भद्रकालीबाट भनेर फोन गरे। त्यो पनि साँझ पर्न लाग्दा,’ उनले सुनाइन्, ‘घर फर्कने बेला टिप गर्दिनँ भनेर भ्याउँदिन भनिदिएँ।’

कल्पना सुन्धाराको ट्याम्पो पार्कमा पालो कुरिरहेकी थिइन्। एक बेरमा ती युवक फ्याट्ट उनी नजिक आइपुगे। कल्पना ट्याम्पो बाहिर थिइन्। ती युवकले ट्याम्पोमा बस्न अनुमति मागे। कल्पनाले हुन्छ भनिन्। 

‘पछाडि बस्ला भन्ने ठानेको थिएँ। केटो त मेरो सिटमा पो बस्यो। मैले पनि हेक्का राखिनँ। यात्रु हेर्ने धुनमा थिएँ,’ उनी भन्छिन्, ‘उसले त ट्याम्पो हुँक्याइहाल्यो। हत्त न पत्त म पनि झुन्डिएँ। ट्याम्पो पल्टियो।’

दुई जना मान्छेलाई ट्याम्पोले घाइते बनायो। कल्पना जेल परिन्।

०००
जेल परेपछि कल्पनाले आफन्त चिन्ने मौका पाइन् रे। अन्तरजातीय विवाह गरेकोमा पछुतो पनि भयो रे। उनले परिवारको साथ पाइनन्।

‘बिएण्डबी हस्पिटलमा राखियो बिरामीलाई। ३५ वर्ष जतिकी महिला थिइन्। तीन वटा करङको हड्डी भाँचिएछ। फोक्सो भित्र हड्डी छिरेछ,’ कल्पना विगत कोट्याउँछिन्, ‘आर्मीको ठूलो मान्छेकी छोरी रे। उनलाई अस्पतालमा भेट्न पनि ठूलाठूला मान्छे आउँथे रे। म त जेलभित्र थिएँ।’

ती युवक र उनी जेल चलान भएपछि प्रहरीले कानुनी प्रक्रिया अघि बढायो। उपचार गराउने जिम्मा उनीहरूकै भयो। अर्का घाइते सामान्य चोटको उपचारपछि सो घटना भएकै दिन घर फर्किए।

लयमा चलिरहेको कल्पनाको जीवनको लय विपरीत दिशातर्फ मोडियो। ट्याम्पोको कागजपत्र प्रहरीले लग्यो। बिरामीको उपचारको लागि पैसा जुटाउन उनलाई सकस पर्यो।   

‘उपचार खर्च व्यर्होने सर्तमा एक हप्तापछि मलाई छाडियो। त्यो केटा पनि छुट्यो। यात्रुले मलाई डुबायो।’

२०७२ देखि २०७६ सम्म कल्पनाले १२ लाख रुपैयाँ ती बिरामीको लागि अस्पतालमा बुझाइन्। अस्पतालको खर्च ती यात्रु युवक र उनले आधा-आधा व्यहोरे।

बिरामी पूरा निको भइसक्दा पनि पैसा माग्न भने छाडेनन् बिरामीका परिवारले। उनी हप्तामा एक दिन प्रहरीले लगेको कागज चौकीमा छ भन्ने प्रमाणित गर्न न्युरोड प्रहरी कार्यालय पुग्थिन्। बाँकी ६ दिन बिहान ५ देखि बेलुका ८ बजेसम्म सडकमा हुन्थिन्।

श्रीमान घरमै भएको दिन श्रीमानले खाना ल्याइदिन्थे। नत्र बाहिरै खायो, ट्याम्पो चलायो। चार वर्षसम्म उनको दैनिकी यस्तै रह्यो।

एक दिन राति कल्पनाका साथीहरू रेस्टुरेन्ट गएछन्। ती बिरामी भनिएकी युवती कम्मर मर्काइमर्काइ नाचिरहेकी फेला परिछन्। त्यसपछि कल्पनाले ती दुर्घटना गराउने युवकलाई पैसा नहाल्न भनिन्। आफूले पनि पैसा दिइनन्।

‘करङ, हात पूरा निको नभएसम्म चलमल नगर्नु भनेका थिए डाक्टरले। म यता यत्रो दुःख गरेर पैसा दिने उनी उता नाचेर बस्ने रहिछन्,’ कल्पना भन्छिन्, ‘मैले पैसा रोकिदिएपछि बिरामीको परिवारले प्रहरीमा उजुरी हाले।’

प्रहरीले कल्पनालाई चौकीमा लग्यो। कल्पनाले बिरामीको उपचारमा अस्पतालमा खर्च भएको बिलका दुई झोला साथमा लगिन्। वार्ता सुरु भयो। कल्पनाले झोला खन्याइन्। हिसाब देखाउन थालिन्। प्रहरीले कल्पनाप्रति सहानुभुति पनि जनाए रे।

‘यतिका खर्च गरेका रहेछन्। मान्छे हो, सताउन हुँदैन भने प्रहरीले,’ कल्पना भन्छिन्, ‘तीन लाख देऊ त्यसपछि पैसा माग्दिनँ भने बिरामीका परिवारले।’

कल्पनाले दुई लाख मात्र दिने अडान राखिन्। अन्ततः दुई लाख रुपैयाँ नगद बुझाएपछि बिरामी र कल्पनाको मिलापत्र भयो। कल्पनाले अब कागजपत्रको लागि चौकी धाउनु परेन। प्रहरीसँग हरेक दिन हुने कागजपत्रको लफडाको अन्त्य भयो। 

यीसबै घटनालाई नजिकबाट देखिरहेका ती बिरामीका श्रीमानले कल्पनासँग पनि माफी मागे रे।

‘तपाईंलाई साह्रै दुःख दिइयो। निको हुँदा पनि परिवारले पैसा नलिउँ भन्दा मान्दैनन्। माफ गर्नुहोला बहिनी भने ती बिरामीका श्रीमानले। अकस्मात् भएको दुर्घटनाले म त दुनो गाई भएँ,’ उनले उकेरासँग भनिन्।

०००
जीवनमा आत्मस्वाभिमान र आत्मनिर्भरता यी दुई मन्त्र आत्मसात गरेकी छिन् कल्पनाले। उनी आफ्नो मनको सुन्छिन्। उनलाई आफ्नो दायरा थाहा छ।

‘ट्याम्पो चलाएको १४ वर्ष भयो, आजसम्म हिम्मत हारेकी छैनन् कल्पनाले। उनी बुँदागत रूपमा उदाहरण दिन्छिन्, ‘थरीथरीका मान्छे आउँछन्। पैसा दिँदैनन्। कति त ट्याम्पो नै नरोकी बीचमै झर्छन्। प्रहरीले चिट काट्छ। म त जो झ¥यो उसैलाई समातेर बिल तिराउन लाउँछु। पैसा नदिनेलाई बेइज्जत गर्दिन्छु। मसँग पैसा छैन भन्नेलाई त्यसै पनि चढाएको छु।’

आफ्ना यात्रु बढीजसो आर्मी पर्ने बताउँछिन् कल्पना। उनी भन्छिन्, ‘रुट त्यस्तै भएर हो कि, मेरा यात्रु बढीजसो आर्मी छन्। त्यो दुर्घटनापछि भने म यात्रुसँग निकै सजग हुने गरेको छु। सहयोगको बहाना बनाउँछन्। त्यस्तासँग जोगिन्छु। हकारेर पठाउँछु।’

कतिपयलाई त हात समेत छाड्नुपर्ने अवस्था आउने उनी सुनाउँछिन्। ‘एक पटक ट्राफिकले झन्डै मेरो चुटाइ भेटेन। स्टेयिरङ छेउमै पाइप रेन्च थियो। त्यसैले हान्न लागेको थिएँ, यात्रुले समाते,’ कल्पनाले भनिन्, ‘म स्वयम्भूको बसको पिछा गर्दै थिएँ। ट्राफिकले बसलाई जान दियो, मलाई मुख छाड्यो। नियम त सबैलाई एकै हो नि। पछि प्रहरीको ठूलो मान्छे आए। माफी माग्न लगाए ती ट्राफिकलाई।’

कतिपय यात्रु त रक्सी ठसठसी गन्हाउँदै ट्याम्पो चढ्न आउने उनले सुनाइन्। ‘हेर्दा राम्रा देखिने मान्छेहरू पनि मात्तिएर चढ्छन्। कुममा सुत्न आउँछन्। यात्रुको मुख सुँघ्दै हिँड्ने कुरा पनि भएन। कतिले त पिटाइ नै भेटेका छन्।’

०००
वीरेन्द्र सैनिक अस्पताल अघिल्तिर ट्याम्पो रोकियो। सुन्धारादेखि छाउनी एक फन्को लगाउँदा कल्पनाले उकेरा टिमलाई आफ्नो कथा सुनाइन्। ट्याम्पो फेरि क्युमा बस्यो।

‘यस्तै हो जिन्दगी। सबै समस्याबाट पार गरेँ भन्ने लाग्या थियो। कोरोना आयो,’ कल्पना भन्छिन्, ‘बैंकबाट ऋण लिएर ट्याम्पोमा ब्याट्री फेरेँ। कोरोनाले चलाउन पाइनँ। त्यसैले हरेक दिन कम्तीमा पनि १० टिप गर्छु।’

भदौ २८, २०७८ सोमबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।