करोडपति सुशील कुमार कसरी बने कङ्गाल  !

करोडपति सुशील कुमार कसरी बने कङ्गाल  !

एजेन्सी : भारतीय टेलिभिजनमा निकै चर्चा कमाएको रियालिटी सो ‘कौन बनेगा करोडपति’ ( केबिसी) को १३ औँ सिजनमा दोहोरिएर आए, सुशील कुमार जसले यो रियालिटी शोको पाँचौँ सिजन जितेका थिए।

सुशील कुमारले केबीसीको पाँचौँ सिजन जित्दा पाँच करोड पाएका थिए। विहार निवासी उनको प्रतिभा देखेर कार्यक्रम प्रस्तोता अमिताभ बच्चन समेत कायल बनेका थिए। निम्न वर्गीय परिवारमा जन्मिएका सुशीलको जिन्दगी केबीसीकै कारण बदलिएको थियो। तर छिट्टै उनको दैनिकी पुरानै अवस्थामा फर्कियो। उनी करोडपतिबाट रोडमा आइपुगे।

सुशील कुमारले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेखे जसमा उनले ‘कौन बनेगा करोडपति’ जितेपछि कसरी आफ्नो नराम्रो दिन सुरु भयो भनेर उल्लेख गरेका थिए।

उनले लेखेका थिए,‘सन् २०१५ देखि २०१६ सम्म मेरो समय निकै मुस्किलसँग बित्यो। म स्थानीय सेलिब्रिटी बनेका कारण विहारको फरक–फरक ठाउँबाट महिनामा १० देखि १५ वटासम्म सोहरू आउँथ्यो। जसले गर्दा मैले पढाई पुरा गर्न सकिन।'

उनले अगाडी लेखेका थिए‘, म लोकल फिगर थिएँ। त्यो समयमा मिडियाले पनि मलाई निकै गम्भीरताका साथ लिएको थियो। साँच्चै भन्ने हो भने पत्रकारले मेरो बारेमा लेख्ने र अन्तरवार्ता लिने गरे पनि मलाई यसको अनुभव नै थिएन। सञ्चार माध्यमसँग कसरी बोल्ने थाहै नभए नि म मेरो बिजनेस या अन्य चिजमा व्यस्त भएको बताइदिन्थे ताकी मलाई मानिसहरूले बेरोजगार नसोचोस्। वास्तविकतामा भने मेरो बिजनेस केही दिनमै खराब भइहाल्थ्यो।’

सुशीलका अनुसार केबीसीमा विजेता बनिसकेपछि, उनलाई समाजसेवा गर्ने रहर जाग्यो। गुपचुप तरिकाले चन्दा दिन थाले। एकै महिनामा कयौँ इभेन्टमा पुगेर उनले चन्दा पनि दिए। तर उनलाई कयौँ इभेन्टले पैसा धुत्नका लागि मात्रै कार्यक्रममा अतिथि बनाएका थिए। उनले निकै पछि मात्रै यो चाल पाए।  

पढाइबाट बढिरहेको दुरीका कारण उनी मानिसहरूसँग कुरा गर्न हिचकिचाउन थाले। यही समयमा उनी धूम्रपान र रक्सीका लतमा फसे।  

एक रात सुशील कुमार फिल्म हेरिरहेका थिए। उनकी श्रीमती निकै रिसाएर उनलाई गाली गरिन्। उनी रिसाएर घर छाडेर हिँडे। 

घर छाडेर हिँडेपछि उनको भेट एक अङ्ग्रेजी पत्रिकाको पत्रकारसँग भयो। सुशीलका अनुसार ती पत्रकारसँग राम्रो कुराकानी भइरहेको थियो। त्यही समयमा पत्रकारले उनलाई मन नपर्ने प्रश्न सोधे। 

रिसको सुरमा उनले आफूले केबीसीमा जितेको सारा पैसा सकेको र अब उनको दैनिकी दूध बेचेर चलिरहेको बताइदिए। 

यो खबर फैलिएपछि भने सुशील कुमारसँग नजिक भएका मानिसहरू सबै टाढा हुन थाले। उनले चाल पाए जो नजिक भएका थिए ती उनले जितेको पैसाका कारण नजिक भएका थिए।

उनी फिल्मका फ्यान थिए, त्यसैले मुम्बइमा आएर फेरि आफ्नो भाग्यको परीक्षा दिए। उनका अनुसार, उनले फिल्मी दुनियाँलाई जान्ने कोसिस गरे। आफ्ना साथीहरूको साथमा बसेर तीन वटा स्किृप्ट लेखे। एक निर्माताले २० हजारमा उनको स्क्रिप्ट किने। त्यही पैसा लिएर उनी फेरि विहार फर्किए। 

विहार फर्किएर उनले शिक्षक बन्न परीक्षाको तयारी गरे। भाग्यवश नाम निकाल्न सफल भए। समयसँगै उनले चुरोट र रक्सीको नशालाई पनि पार लगाए। एकाएक करोडपति हुँदा खजमजिएको उनको जीवन ट्र्याकमा फर्किँदै छ।

उनी अहिले जीवनको नयाँ सङ्घर्षमा खुसी छन्।

२७ भदौ, २०७८, १९:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।