'जीवनको पाना' प्रदर्शनमा बुढेसकाल लागेका कलाकारको रुवाबासी

'जीवनको पाना' प्रदर्शनमा बुढेसकाल लागेका कलाकारको रुवाबासी
तस्बिर म्युजिक भिडियाेबाट लिइएकाे हाे।

काठमाडाैंः सुन्धाराकाे सिटिसी मलमा रहेको हलमा शनिबार ‘जीवनको पाना’ म्युजिक भिडियो प्रर्दशन गरिएकाे थियाे। हास्य कलाकार मदकृष्ण श्रेष्ठको आवाजमा सार्वजनिक भएको गीतमा चर्चित कलाकारको बुढेसकाल देखाइएको छ।

कुनै बेलाका चर्चित अभिनेता सरोज खनालले साे म्युजिक भिडियाेमा एकल अभिनय गरेका छन्। भिडियाेमा सरोजले विभिन्न चलचित्रमा  गरेका अभिनयको झलकसहित उनको बुढेसकालको रूप देखाइएको छ।

‘कुनै मोडमा बसेर जति नै पर्ख तिमी विगत फर्कँदैन’  भन्ने संवादसहित शुरु भएको म्युजिक भिडियोमा पुराना चलचित्र आमा, कुमारी, माइतिघर लगायतका पोष्टरहरू देखाइएकाे छ। निकै मार्मिक गीतकाे भिडियाेमा बुढेसकाल लाग्दै गर्दा चलचित्रका निर्माताले हेपेको कुरादेखि चलचित्रमा जीवन समर्पण गरे पनि अन्तिममा गुमनाम मृत्यु कुरेर बस्नुपरेको यथार्थ देखाइएको छ।

गीतको प्रिमियरमा बुढेसकालले छाेएका कलाकारहरूको जमघट थियो- जो चलचित्रमा नयाँ पुस्ताको आगमनसँगै मुख्य भूमिकाबाट पलायन भएका छन्। कार्यक्रममा नीर शाह, गौरी मल्ल, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित अन्य कलाकारकाे उपस्थिती थियो।

उक्त म्युजिक भिडियोमा चलचित्र क्षेत्रले नपत्याएपछि वियोगको जिन्दगी बिताइरहेका कलाकारको जीवन देखाइएको छ। गीत शुरु भएदेखि नै नायिका गौरी मल्लको आँखाबाट आँसुका धारा बगिरहेका थिए। मञ्चमा बोल्दा बोल्दै नीर शाह भकान्निए। सरोज आफैँ पनि आँसु पुछ्दै पोडियममा उक्लिए। उनले नायिका गौरी मल्ललाई 'नरो गौरी' भन्दै सम्झाए पनि। उनले गीतको भिडियो देखाउँदै सबैलाई हसाउने मदनकृष्णलाई रुवाएको भन्दै माफी पनि मागे।

यता दर्शक दीर्घामा पछिल्लो समय निर्देशककाे रूपमा चिनिएकी अभिनेत्री दीपाश्री निरौला पनि आँसु पुछिरहेकी थिइन्।

गीतलाई बमबहादुर श्रेष्ठले लेखेका हुन्। संगित सन्तोष श्रेष्ठको छ भने भिडियो निर्देशन गरेका छन् राज के.सी. ले।

२७ भदौ, २०७८, १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।