गायिका सितु खरेलको प्रसव पीडा र खुसी : छोरीको भविष्य सम्झेर मुटु कटक्क खान्छ

गायिका सितु खरेलको प्रसव पीडा र खुसी : छोरीको भविष्य सम्झेर मुटु कटक्क खान्छ

सितु रिमालको विवाह १९ वर्षकै उमेरमा सञ्चारकर्मी सुमन खरेलसँग भयो। गायक कल्याण रिमाल र बिजु रिमालकी एक्ली छोरी सितुलाई माग्न सुमनले नै बुबालाई उनको घरमा पठाएका थिए।

एक त कल्याण र सुमनका बुबा किरण खरेल साथी थिए, त्यसमाथि डिल्लीबजारबाट बानेश्वरमै छोरीको घरजम हुने भएपछि आमा-बुबाले स्वीकार नगर्ने कुरै थिएन। एक्ली छोरीको टाढा विवाह भयो भने भेटघाट गर्न गाह्रो हुन्छ भन्ने डर थियो सितुका आमा-बुबालाई।

विवाह गरेको एक वर्षभित्रै छोरी जन्माएकी सितुका लागि गर्भवती भएको नवौं महिना निकै सकसपूर्ण बन्यो। हुर्कनुपर्ने बेलामा बच्चाको विकास नै नभएपछि उनले निकै तनाव झेल्नुपर्यो। गर्भवती हुँदा मात्र होइन, सुत्केरी भइसकेपछि पनि निकै पीडादायी अवस्थासँग जुध्नुपर्यो उनले। सितुले प्रसवका यस्तै पीडादायी क्षण र त्यसपछिका सुख-दु:ख उकेरासँग यसरी साटिन्ः

मलाई ६ वर्षकै उमेरमा पढ्नका लागि होस्टेल पठाइएको थियो। पहिलो दिन स्कुल छुट्टी भएपछि घर जान कुरिरहेको बेला होस्टेलकी दिदी आएर ‘अब तिमी त यतै बस्छौ’ भनेपछि मात्र मैले थाहा पाएकी थिएँ।

त्यतिबेला मलाई साह्रै नमज्जा लाग्यो। आमा-बुबाले होस्टेल किन पाए होलान् भन्ने लाग्यो। पछि होस्टेलकै जीवनले मलाई संघर्ष गर्न सिकायो।

०००
स्कुल सकेर कलेज पढ्दै थिएँ। आमा-बुबा जस्तै बैंकमा काम गर्ने र गायिका बन्ने बाल्यकालदेखिकै सपना थियो। 

एक दिन साथीको विवाहमा गएको बेला मलाई सुमन खरेलले देख्नु भएछ। देख्नेबित्तिकै उहाँलाई म मन परिहालेछ। घरमा बुबालाई भनेर माग्न पठाइहाल्नुभयो।

मेरो आमा–बुबा गायक–गायिका, उहाँका बुबा गीतकार। पहिल्यैदेखि चिनजान रहेछ। घर नजिक र चिनजानको व्यक्तिलाई छोरी मेरा आमा-बुबा राजी हुनु भयो र सोचेभन्दा छिटो मेरो विवाह भयो। त्यतिबेला मैले भर्खरै राष्ट्र बैंकमा काम गर्न थालेको थिएँ।

०००
मलाईं प्रेगनेन्सीको विषयमा खासै जानकारी थिएन। घरमा दुई जना दाजु, आमा, बुबा र ममात्रै थियौं। मामाघर तथा अंकलकोमा पनि त्यतिबेलासम्म कोही छोरी थिएनन्। त्यही भएर पनि मलाई यस विषयमा केही थाहा नै थिएन।

बच्चा बसेको एक महिनामै थाहा भयो। सुरुदेखि नै एकदमै भोमिट हुने। डाक्टरले २/३ महिना भोमिट हुनु नर्मल हो भनेकोले खासै तनाव लिएको थिइनँ। गर्भ बसेको ६ महिनापछि त झन् गाह्रो हुन थाल्यो। ननस्टप भोमिट हुँदा कति पटक त बेहोस भएर लडें पनि। होस आउँदा हस्पिटलमा हुन्थें। दुई पटक त भोमिट रोक्ने इन्जेक्सन नै दिनुपर्यो। 

नेपालमा त्यतिबेला भर्खर-भर्खर अल्ट्रासाउन्ड गराउन थालिएको थियो। तर मलाई डाक्टरले अल्ट्रासाउन्ड गराउन लगाएनन्। मैले पनि आफैं गराउँछु भनिनँ। मेरी देवरानी पनि मसँगसँगै प्रेगनेन्ट भएकी थिइन्। उनलाई चाहिँ डाक्टरले अल्ट्रासाउन्ड गर्न लगाएका थिए।

८ महिना पुगेपछि विभिन्न समस्या भएर पटक–पटक अस्पताल धाउनुपर्योल। कहिले बच्चा नचलेको भन्दै, कहिले धेरै चल्यो भनेर त कहिले लडेर। पूरै बिरामी भएर प्रेगनेन्सीको समय कटाएँ।

९ महिना भएपछि देखाउन जाँदा पनि भोमिट भइनै रह्यो। डा. सरस्वती उपाध्यायले यसरी ९ महिनासम्म पनि भोमिट हुनु राम्रो लक्षण होइन भन्नुभयो।

मलाई अब्जरबेसनमा राख्दै गर्दा नर्मल डलिभरी भइहाल्यो। २०४२ फागुन २९ गते विवाह भएको २०४३ चैत २१ गते त छोरी जन्मिइसकेकी थिइन्।

डेलिभरी हुने बेलामा मलाई हेर्ने डाक्टर कोही थिएनन्। प्राकृतिक रुपमा  भित्रबाट बच्चाले फोर्स गरेपछि जन्मने रहेछ। तर बच्चाले फोर्स गर्न नसक्दा मलाई १५ टाँका लगाउनुपर्यो। बिरामी भएर एन्टिबायोटिक नै चलाउनुपर्यो। 

डेलिभरीको बेला श्रीमानलाई सँगै राखिदैंनथ्यो। सासु, सानीमा सासु सबै सँगै भए पनि श्रीमान्लाई भने साह्रै मिस गरें। यो बच्चा त उहाँको पनि अंश हो नि भन्ने लाग्थ्यो।

जन्मनेबित्तिकै छोरी नरोएपछि उल्टो पारेर प्याट्ट पिटेको देखें। मलाई साह्रै रिस उठ्यो। त्यति सानो बच्चालाई किन पिट्नुपर्यो? तर बच्चा जन्मिएपछि रुनुपर्ने रहेछ, मलाई थाहा थिएन। 

छोरी गोरी, हिस्सी, परेकी एकदमै राम्री, पुतली जस्तै थिई। सबैले बच्चा त ठ्याक्कै सुमन जस्तै भन्थे।

हामी दुवै जनालाई छोरीकै रहर थियो। म कलेज पढ्दा नेपालीमा स्मारिका (कसैको सम्झनामा राखिएको) नाम साह्रै मन परेको थियो। त्यतिबेलै मेरो छोरीको नाम स्मारिका राख्छु भनेर सोचेको थिएँ। प्रेगनेन्ट भएपछि नै हामीले छोरी जन्मिए नाम स्मारिका राख्ने निधो गरिसकेका थियौं।

०००
आमा भएपछि ममा अनौठा अनुभूतिहरु आए- खुसी पनि, अनौठो पनि, केही हराए जस्तो, केही प्राप्त भए जस्तो।

१० दिन अस्पतालमै बसें। मलाई सन्चो थिएन, प्रेसर पनि हाई थियो। छोरीले दूध तान्न नसकेर पम्पले निकालेर विस्तारै खुवाउँथे। घर गइसकेपछि पनि म रोइरहन्थें। महिनौं सन्चो भएन। केही कुरा पनि ठिक नलाग्ने, चित्त नबुझ्ने भइरह्यो। 

सुरुमा मलाई बच्चाको अवस्थाबारे केही थाहा थिएन। छोरी दुई वर्ष जतिकी भएपछि अरु बच्चाको तुलनामा उसको विकास भएन। हिँड्न सकिनँ, चार हात-खुट्टा टेकेर मात्र हिँड्थी। नर्मल भएर जान्छे भन्ने आश भने थियो।

तर, छोरीको विकास नै भएन। डाक्टरहरुले धेरै प्याम्पर गरेर यस्तो भयो भने तर मेरो मनले मानेन। उपचारका लागि दिल्ली लग्यौं। पछि १९९२ मा त्यहाँबाट लन्डन लग्यौं। त्यहाँ लगेपछि हामीलाई थाहा भयो, छोरीलाई ‘रेट सिन्ड्रोम’ भएको रहेछ। यो पहिलो सन्तान त्यसमा पनि छोरीलाई मात्रै हुने समस्या रहेछ। यदि छोरा भए मिसक्यारेज हुने, छोरी भयो भने कन्सिभ हुने तर केमिकल डिसब्यालेन्स हुने रहेछ। 

०००
छोरी तीन वर्षकी भएपछि घरमा सबै जनाले ‘अर्को बच्चा पाइहाल, हामी छौं’ भन्न थाल्नुभयो। त्यसपछि दोस्रो बच्चाको प्लान गर्यौं। दोस्रोपालि खासै समस्या आएन। भोमिट पनि दुई महिनाजति मात्रै भयो। 

बच्चा जन्मने समय नजिकिँदै थियो। २०४६ साल फागुन ७ गते जनआन्दोलन सुरु भएको दिन थियो। ससुराले अब कफ्र्यु पनि लाग्न सक्छ, आपत पर्ला भनेर त्यही दिन प्रसूति गृह गृहमा भर्ना गर्नुभयो।

अस्पतालमा सासु कुरुवा बस्नु भएको थियो। आजै बच्चा पाउने होइन भनेर उहाँ सत्न जानु भयो। मलाई चाहिं एक्कासि व्यथा लाग्न सुरु भयो। राति ११.५५ मा त छोरा जन्मिइहाल्यो। मलाई बाहेक कसैलाई थाहा थिएन। बिहान कफ्र्यु खुलेपछि ड्याडी भेट्न आउँदा त मसँग छोरा थियो।

त्यो दिन अस्पतालभरि छोरा पाउने म एक जना मात्र थिएँ। नर्सहरुले ‘तपाईंले मात्रै छोरा पाउनुभएको छ, चोरी होला है’ भनेर जिस्क्याएका थिए। उनीहरुले जिस्क्याएको भए पनि म भने सावधानीपूर्वक बच्चालाई एकनासले हेरिरहेको थिएँ। म भोलिपल्टै डिस्चार्ज भएर घर गएँ। 

०००
आमा भएपछि जिम्मेवारी बोध हुने रहेछ। मैले नै छोरीलाई संसारमा ल्याएको त हो। अब उसको जिम्मेवारी पनि त मेरै हो। उसैको सुविधाको लागि म बच्चाका साथ लन्डन बसिरहेको छु। छोरा सुमिरनले पनि आफ्नी दिदी स्मारिकालाई हामीले जस्तै ख्याल राख्छन्।

छोरी ३४ वर्षकी भइसकिन् तर बच्चा जस्तै छिन्। उनी डे-केयर जान्छिन्। त्यहाँ उनका उनी जस्तै धेरै साथीहरु छन्। पहिलाभन्दा धेरै फरक भएकी छिन्। पहिले हाइपर थिइन्, एक्टिभ पनि तर अहिले शान्त, हाँसिरहने। अहिले उनलाई मेकअप गरेर राम्री बनाइदिएको साह्रै मनपर्छ। उनको भाषा भनेकै आँखाको एक्सप्रेसन मात्रै हो। 

मैले यी सबै पीडा बिर्सिसकेको थिएँ। तपाईंले कुरा कोट्याउनुभएपछि भक्कानिएँ, आँखा रसाए, मन ढक्क भयो। आमाको मन न हो।

कहिलेकाहीँ एक्लै हुँदा वा स्मारिका र म मात्रै हुँदा नमिठो लाग्छ। उसको भविष्य सम्झँदा आत्तिन्छु। के हुन्छ थाहा छैन। सम्झँदा मात्रै पनि मुटु गरुङ्गो हुन्छ। अहिले पो म छु, भविष्यमा के होला? भन्ने पिर लागिरहन्छ।

बाबाले नेपालबाट फोन गरेर नानुभन्दा ठुस्स पर्छे। रिसाएर उता फर्केको जस्तो लाग्छ।

मैले १५ वर्षदेखि नेपालबाट सुशीला बहिनीलाई छोरीको स्याहारको लागि ल्याएको थिएँ। उनी र मैले स्मारिकाको स्याहार गरिरहेका छौं। नेपालमा परिवारको सामु बस्ने रहर छ तर डिसेबल छोरीका लागि लन्डनमा बढी सुविधा छ। आमा भएपछि सबैभन्दा बढी महत्व नै आफ्नो सन्तानको हुने रहेछ। 

सन् १९९८ मा नेपाल आउँदा मैले श्रीमानलाई गीत गाउने र एउटा एल्बम निकाल्ने रहर पोखें। छोरीको गीत लेख्न अनुरोध पनि गरें। उहाँले ‘मेरो अनुभवमा स्मारिका’ गीत लेखिदिनुभयो। त्यसपछि ६ वट एल्बम निकालें। पछि ससुराले ‘मेरी प्यारी चन्द्रमामा किन दाग लगायौं भगवान’ बोलको गीत लेखेर दिनुभयो। त्यो पनि गाएँ। 

मेरा अनगिन्ती सपना थिए तर आमा भएपछि मातृत्व र जिम्मेवारीका अगाडि व्यक्तिगत सपना त कता हराए हराए।

२० वर्षकै उमेरमा आमा बनेर मेरो भरमा बाँचेकी छोरीलाई संसार चिनाउनु, उसलाई संसारको खुसीमा समाहित गर्नु मेरो पहिलो कर्तव्य हो। 

मैले प्रसवका व्यथा, मप्रति निर्भर छोरीका आँखाका एक्सप्रेसनहरुले खोजेका प्रश्नहरुलाई खुसीका माहोलले रंगीन बनाइमात्रै रहें। आज धेरैपछि यी कुराहरु सुनाएर मनका भारीहरु एक फेर बिसाएँ। तर म छोराले छोरीप्रति  देखाएको सद्भाव र मायाले आमा मन गदगद छु।

आज जस्तो छु, दुई सन्तानलाई हेरेर खुसी छु। मात्र छोरीको भविष्यको बारेमा सोच्दा मात्रै दुःखी हुन्छु। साँच्चै उसको भविष्य के होला?

भदौ २७, २०७८ आइतबार १५:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।