मलाइ अशगर फरहादीको दि सेपरेशन मन पर्छ किनकि यसले सिनेमा बुझाउँछ

मलाइ अशगर फरहादीको दि सेपरेशन मन पर्छ किनकि यसले सिनेमा बुझाउँछ

पछिल्लो समय नेपाली दर्शकको रोजाई विश्व सिनेमामा छ। मेरो पेसा लेखन भएता पनि सिनेमासँग अछुत भने छैन।

सिनेमाले विविध आयामका कथा प्रस्तुत गर्छ, दृष्टिकोण दिन्छ। मेरो दृष्टिकोणलाई बलियो गरी आत्मबल दिने सिनेमा अशगर फरहादीको सिनेमा दि सेपरेशन हो।

साधारण कुराबाट जन्मिएको असाधारण सिनेमा। जसले मानवीय संवेदनलाई सन्तुलित भएर प्रस्तुत गरेको छ। तर, म अहिले यो सिनेमा किन मन पर्छ भन्दा पनि पहिले म कस्तो दर्शक भनेर चर्चा गर्छु। 

००

जगदम्बा सिनेमा हल, त्रिशूली, नुवाकोट। जहाँ हामी सपरिवार फिल्म हेर्न जान्थ्यौँ। दृश्यको भाषा र गहिराइलाई बुझ्ने कुरा थिएन। गाउँमा फुर्सदका बेला लौ त नि परिवार रमाइलो गरौँ भन्ने मनसायले  घरका सबै सदस्य फिल्म हेर्न जाने चलन बन्यो। समाज र संस्कृतिले  त्यो चलन लामो समय टिकेन।  उमेरले कति वर्ष थिएँ त्यस बेला मलाई हेक्का छैन। पछि आमाहरूले भनेको सुन्दा मैले जीवनमा पहिलो पटक हेरेको फिल्म भुमरी रहेछ।

 याद रहेको परिवारसँगै हेरेको फिल्म भाउजू। फिल्मको  ‘जिन्दगी खोलाझैँ बगिरहेछ’ भन्ने गीतको सम्झना आउँछ। अनि त्यो फिल्ममा कुकुर अभिनय। जुन अस्वाभाविक काम गरेर कसैलाई जीवन दिन्थ्यो। बडो मजा लाग्थ्यो त्यस बेला।

बाहरूलाई कसैले रोकटोक नगर्ने तर, घरायसी कामले आमाहरूलाई नछाड्ने भएकाले परिवार नै हलमा जाने वातावरण थिएन। त्यसको मार पर्यो त हामी बच्चा टोलीलाई। 

००

प्रसङ्ग मलाई मन पर्ने फिल्मको हो। तर, मैले के जोड्न खोजेको भने म कुन फिल्मी कल्चरबाट आएँ। र आज म के खोज्छु सिनेमामा। कस्ता सिनेमाले मलाई छुन्छन्। मेरो अनुभूति र म हुर्किएको सिने कल्चरले मेरो बुझाइमा असर गर्छ नै।  त्यसको असर मेरो लेखाइमा समेत देखिन्छ। त्यति बेला हेरेको नेपाली सिनेमाले आज मलाई के लेख्नु हुँदैन भनेर सिकाएको छ। 

उमेरसँगै फिल्म हेर्ने इच्छा पनि बढ्न थाल्यो। साथीसँग स्कुलबाट भागेर फिल्म हेर्न जान थाल्यौँ।  त्यति बेला देउता, ठुल्दाई, करोडपति जस्ता फिल्म लाग्दै थिए।

त्यस बेलाको एक रमाइलो घटनाले आज पनि मलाई निकै प्रभाव पार्छ। प्रह्लाद केसी नाम गरेका साथी थिए। उनी र म  स्कुलमा फिल्मका गफ गर्थ्यौँ । उनले एक दिन भुवन केसी आफ्नो बा हुन् भनेर सुनाए। निकै लामो समय सम्म उनी भुवन केसीका छोरा नै हुन् भन्ने थियो मनमा। तर, उनले मलाई मूर्ख बनाएछन्। 

स्कुलबाट भागेर हामी फिल्म हेर्न जान्थ्यौँ। कक्षामा सबैलाई जम्मा पारेर कहानी सुनाउँथ्यौँ। 

फिल्मको लत लागे पनि सँधैं फिल्म हेर्न पैसा नहुने। पछि त पोस्टर हेरेर फिल्मको कहानी बनाउन थालेँ। त्यस बेला एक्सन फिल्म मेरो रोजाइमा पर्यो। 

जमाना फेरिँदै थियो। प्रविधिको विकास हुँदै,थियो। घरमा नयाँ टिभी र डेक आयो। सानो तिनो फिल्म हल जस्तै बन्यो हाम्रो घर। फिल्म मोह उत्कर्षमा पुग्यो।

नेपाली एक्सन फिल्मको चस्काको छुवाई बलिउड सिनेमाले फिका बनाउँदै गयो। टिभीमा पनि बलिउड सिनेमाहरू आउँथे। ती सिनेमामा आकर्षित भएर म चक्का किन्ने र घरमा साथी भाइलाई फिल्म देखाउने गर्थेँ। त्यस बेला मिथुन चक्रवर्तीको आदमी, बङ्गाल टाइगर जस्ता फाइट नै फाइट भएका फिल्म मेरो रोजाइमा रह्यो।

०००

गाउँमा हुँदा नै ज्याक एन्ड रोज रुमाल बोक्ने चलनलाई मैले पनि समाती सकेको थिए। उच्च शिक्षा पढ्न  शहर आएँ। मेरो सिनेमाको रोजाई परिवर्तनको सिलसिला तीव्र गतिमा बढ्दै थियो। काठमाडौँ आए पछि चिनेका आफन्तको भिसीडी पसल थियो जहाँ मैले पहिलो पटक अङ्ग्रेजी फिल्म – टाइटानी हेरेँ।

भाषामा उति पकड् भएन। तर, कथा बुझियो। फिल्म त भाषामा होइन कथामा हुने रहेछ। मेरो मनमा पर्यो। तर पनि उमेरको प्रभावले पनि होला फिल्मको छनोट भाषा बुझिने रोमान्टिक फिल्म तिरै तानियो। 

कुछकुछ होता हे,  धड्कन लगायतका भावुकता बोक्ने फिल्म रोजाइमा पर्यो।

००००

प्लस टुमा त्यति फिल्म हेरिएन। अलि बढी साहित्य पढियो। व्याचलर सम्म पुग्दा भाषाको फक्कड पनि बन्यो। अङ्ग्रेजी फिल्महरू हेर्न थालियो। बिस्तारै विश्व सिनेमासँग आँखा जुध्यो। 

इरानी निर्देशक अशगर  फरहादी मेरो मन पसंन्द फिल्म मेकर बने। उनका हरेक सिनेमाले जीवनलाई यति नजिक बाट बुझाउँछ की गुनासोको गुन्जाइस कम हुन्छ। उनै फरादीको २०११ मा बनेको दि सेपरेशन मलाई मन पर्ने फिल्म हो।

००

राजेशहमालको हे..... हेर्दै हुर्किएको म। मिथुनको एक्सन हुँदै मेलो ड्रामा तिर पुगेँ। अङ्ग्रेजी सिनेमा हेर्दा हेर्दै विश्व सिनेमामा पुगेपछि मैले मेरो मन पर्ने फिल्म, स्क्रिप्ट लेखक र निर्देशक फेला पारें उनै फरादिलाई।

अस्वाभाविक दृश्यहरूमा रोमाञ्चक हुने फिल्मी परम्पराबाट हुर्केको म फरादीका प्रस्तुतिले आँखा अघिको घटना हो यो झैँ भान गराउन थाल्यो। 

००००

म लेखनमा पनि साधारण कुरालाई ध्यानमा राखेर लेख्छु। जहाँ मानवीय संवेदनाको ठुलो हिस्सा होस्। जित्नेको इतिहास लेखिन्छ भने हार्ने साहित्य भन्ने भनाई म मा पनि लागु हुन्छ। समाजमा विद्यमान रहेका साधारण पात्रहरूको कथा असाधारण हुन सक्ने रहेछ। नेपाली सिनेमा चुकेको नै कथामा हो। हामीलाई रुमानी उडन्ते कथा मन पर्छ। धरातलमा टेकेका कथामा हामीले कति फिल्म बनायौँ त? सायद ज्यादै न्यून। 

०००

मध्यम वर्गीय परिवार भित्र सुख सुविधाको खोज स्वाभाविक हो। त्यही सुख सुविधाको खोजकै क्रममा दम्पतीबीच खटपट हुन्छ। नादर मुख्य पात्र हो सेपरेशनको। उसको बा अल्जाइमरका बिरामी छन्। 

उनीहरूको ११ वर्षको छोरी छिन्। तर उनीहरू  सम्बन्ध विच्छेद गर्न प्रयास गरिरहेका छन्। उनीहरू एक आपसमा निकै प्रेमिल छन्। तर उनीहरूको रहर मिल्न सक्दैन। बिरामी बालाई छोडेर नादर कतै जान मान्दैन। त्यही बाहिर जाने कुरा नमिलेर उसकी श्रीमती उसलाई छाडेर माइती गएर बस्छे। 

११ वर्षीय बालिकाको चलाखी फिल्ममा गजबले प्रस्तुत छ। ती बालिकाले आफ्नो बा आमालाई मिलाउनको लागि बाँदरसँग बस्छे।

अल्जाइमर रोगी पिताको सहयोगका लागि कर्मचारी राख्छन्। तर त्यो कर्मचारीको श्रीमती आउँछिन्। नादरलाई उसको गर्भ अवस्था र पारिवारिक सहमति बेगर उनी काम गरिरहेकी छिन् भन्ने थाहा हुँदैन।  सुविधा लिन खोज्दा यहाँ पनि निकै समस्या आउँछ। 

हामी कला साहित्य मन पराउनेहरूलाई कथाको बुनाई, द्वन्द्व, पात्र लगायतका तत्त्वहरू विकास कसरी गर्न सकिन्छ भन्ने पनि यो सिनेमाले देखाउँछ।

कथा हेर्ने हो भने त साधारण छ। तर विश्वसनीय ढङ्गबाट प्रस्तुत गरिएको छ। दर्शकलाई यसरी बाँध्छ की दर्शकले सिनेमामा जे देखाइयो त्यो बाहेक अर्को सोच्ने मौका नै पाउँदैनन्। उति नै धरातलमा टेकेको छ। फिल्ममा एक सिन छ जहाँ हाउस मेडले परपुरुषलाई छुन हुँदैन। तर नछोई पनि हुँदैन। त्यस्तो अवस्थामा उनी धर्म गुरुसँग सल्लाह माग्छिन्।  जब की म फिल्ममा देखाइएको संस्कृति भन्दा फरक पृष्ठभूमिको मान्छे। म विचार शून्य भएर फिल्मका त्यस्ता दृश्यहरूसँग सहमत हुन्छु। हो, त्यो अर्को विकल्प छैन त्यति बेला।

यस्ता धेरै कुरा छन् त्यस सिनेमामा। जुन धरातलमा उभिएको छ, विश्वास योग्य छ, आफूलाई ती पात्रहरूको ठाउँमा राखेर हेर्ने हो भने सिनेमामा देखाइएका घटना भन्दा अलग हुन सकस हुन्छ। यो सिनेमाले दृश्यको भाषा, सिनेमाको भाषा बुझाउँछ।

म आफू पनि धरातललाई नै केन्द्रमा राखेर लेख्न खोज्छु। साधारण कुरालाई सरल र सरस ढङ्गबाट लेख्न खोज्छु। जुन यो सिनेमामा देखिन्छ। फरहादीका सिनेमाहरूमा देखिन्छन्।  मलाई सत्यको नजिक भएको सृजना मन पर्छ त्यसैले फरहादी र उनको सेपरेशन मलाई मन पर्छ।

 

(सुरेश बडाल रहर कथा सङ्ग्रहका लेखक हुन्। उकेराकर्मी इश्वरकुमार मैनालीसँग उनलाई मन पर्ने फिल्मको विषयमा गरेको  कुराकानीमा आधारित।)

 

२६ भदौ, २०७८, १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।