बालबालिकाका लागि ‘डिजिटल ड्रग’ बन्दैछ टिकटक

बालबालिकाका लागि ‘डिजिटल ड्रग’ बन्दैछ टिकटक

काठमाडौं : युवापुस्तामाझ लोकप्रिय हुँदै गएको सामाजिक सञ्जाल टिकटक, बालबालिकाका लागि ‘डिजिटल ड्रग’ बन्दैछ। कार्टुन र बाल गीत हुँदै डिजिटल कन्टेन्टका उपभोक्ता भएका उनीहरू टिकटकको लतमा डुब्दै गएका छन्। अभिभावक चिन्तित छन् तर के गर्ने मेलो पाउन सकेका छैनन्।

बल्खु बस्ने सुनिता श्रेष्ठकी छोरी सरिना पाँच वर्षकी भइन्। सरिनालाई मोबाइल नहेरी खाना रुच्दैन। उनको उमेरअनुसार मोबाइलमा उनको ध्यान कार्टुनमा हुनुपर्ने हो। तर मोबाइलमा उनको ध्यान कार्टुनमा जाँदैन। मोबाइल हात लाग्ने बित्तिकै उनी दायाँबायाँ नसोची टिकटक चलाउन थाल्छिन्। 

टिकटक पनि उनी स्थिर भएर हेर्दिनन्। सुनिताले भनिन्, ‘टिकटक पनि एक छिन रोकिएर पूरा हेरे त हुने नि, तलतिर स्क्रोल गरेको गरेकै गर्छिन्। मोबाइल हात लाग्ने बित्तिकै उनी टिकटक नै खोलिहाल्छिन्।’

सरिना जस्तै छन् कीर्तिपुर, भत्केपाटी बस्ने अस्मिता पौडेलका सात वर्षीय छोरो कसमस पनि। खाना खाँदा उनलाई कार्टुन देखाउनै पर्थ्यो। तर अहिले उनी खाना खाने समयमा टिकटक हेर्न थालेका छन्। 

त्यसो त टेलिभिजनमा भने कसमसलाई कार्टुन हेर्न मन पर्छ। मोबाइलमा भने उनको ध्यान टिकटकतिरै जान्छ। अस्मिताले छोरोको बदलिँदो व्यवहारबारे भनिन्, ‘पहिले मोबाइल पाए गेम खेल्थ्यो। अहिले टिकटकमा अरूले बनाएको भिडियो हेर्न रुचाउँछ।’
उनी छोराको गेम खेल्ने बानीबाट दिक्क भएकी थिइन्। कसमसले गेम छोडेर टिकटक हेर्नुबाट चाहिँ उनले थोरै भए पनि राहत महसुस गरेकी छिन्। उनी खुसी पनि छिन्।   

यता कलङ्की बस्ने अर्की अभिभावक सपना गैरे भने सन्तानले टिकटक धेरै हेर्न थालेकोमा दुखी छिन्। सपनाका जुम्ल्याहा छोरीहरू छन्, चार वर्षका कायरा र कियारा। दुवैलाई आफ्नै हातमा मोबाइल चाहिन्छ, अनि दुवैलाई टिकटक। 
अहिले सपना बिलखबन्दमा छिन्। सपना पहिले टेलिभिजनमा कार्टुन लगाएर दुवैलाई पालैपालो खाना खुवाउँथिन्। अहिले दुवै जना मोबाइल हातमा लिएर टिकटक नै हेर्न खोज्छन्। 

छोरीहरू टिकटकमा बानी परेदेखि भने उनी आफैले टिकटक हेर्न पाएकी छैनन्। सपना आफैलाई पनि टिकटक हेर्न र बनाउन मन पर्छ। तर मोबाइल एउटै छ। दुवै छोरीहरूको झगडा एउटै भएको मोबाइलका लागि पर्छ। उनी भन्छिन्, ‘दुवैलाई नसुताएसम्म मोबाइल हातमा पर्ला भन्नु छैन। उनीहरूकै झगडा मिलाउँदा ठिक्क छ।’

अभिभावक नै दोषी   
आजभोलि खाना खाने समयमा बालबालिकालाई खाना सँगै ‘कन्टेन्ट’ चाहिने भएको छ। बालबालिकालाई खाना खुवाउन सजिलो बहाना नै कन्टेन्ट देखाउनु भएको छ। 

अङ्ग्रेजी गीतका ‘राइम’हरूबाट सुरु भएको उनीहरूको खाना खाने समयको कन्टेन्ट, यति बेला टिकटकमा पुगेको छ।  एक समय त बालबालिकाले खाना खाने समयमा हेर्ने गतिलो कन्टेन्ट भएन भनेर अभिभावकले आवाज पनि उठाए।

केही बाल अधिकारका बालबालिकालाई देखाउन नेपाली कन्टेन्ट नभएको, विदेशी हेर्दा हाम्रो भाषा साहित्य विनाश भएको भन्ने आवाज पनि उठ्यो। 

गीतकार तथा सङ्गीतकार आभाषले यही समस्यालाई सम्बोधन गर्दै नेपाली भाषा सिकाउने गीतहरू बनाए। एनिमेसन गरेर बनाइएका नेपाली, हिन्दी र अङ्ग्रेजी कन्टेन्टहरू पनि सामाजिक सञ्जालमा प्रशस्त उपलब्ध छन्। तर पनि बालबालिका त्यस्ता कन्टेन्टतिर कमै आकर्षित छन्। 

उनीहरू अस्वस्थ कन्टेन्टसँगै खाना खाइरहेका छन्।यो सबैको दोषी अभिभावक भएको बताउँछन्, साइबर कानुन विशेषज्ञ बाबुराम अर्याल। उनी भन्छन्, ‘डिजिटल सम्बन्धी जे जस्तो समस्या आउँछ, ती सबैको दोषी अभिभावक नै हुन्। यसमा न बालबालिकालाई दोष लगाउन मिल्छ, न प्रविधिलाई नै।’

उनी बालबालिकालाई खाना खुवाउँदा टिकटक र कार्टुन देखाउने प्रवृत्तिको विरोध गर्छन्। ‘बालबालिकालाई खाना खुवाउँदा टिकटकमात्रै होइन, जे देखाए पनि त्यो अस्वस्थ हो। एक छिनको सजिलोका लागि बालबालिकाको भविष्यमाथि अभिभावकले खेलबाड गरिरहेका छन्’, उनले भने।

अर्याल आफैँ दुई बालबालिकाका अभिभावक हुन्। उनका छोरीहरू पनि मोबाइल हेरेर मात्रै खाना खान्छु भन्छन्। तर उनी छोरीहरूलाई खाना खाने समयमा मोबाइल दिँदैनन्। उनी भन्छन्, ‘पहिले खाना खाएर सक अनि मोबाइल दिन्छु भनेर कन्भिन्स गराउँछौँ। मोबाइल हेर्न पाउने आशामा उनीहरू खाना खान्छन्।’

सुरुमा अभिभावकले जस्तो सिकायो, जे कुरामा बानी लगायो, बालबालिकाले त्यसैलाई पछ्याउँदै जाने अर्यालको भनाइ छ। उनले एक छिमेकीको उदाहरण दिँदै भने, ‘घरमा छोरालाई सधैँ दालसँग मात्रै खाना दिइने रहेछ। अझ भनौँ जे पकाए पनि झोल हालेको कुरालाई दाल भनिने रहेछ।

एक पटक पाहुना लाग्न जाँदा त्यो घरमा चाउचाउको सुप बनाएर त्यसैसँग खाना खुवाइदिएछन्। सधैँ दालको मात्रै स्वाद चाखेको त्यो बालकले घरमा बुबालाई भनेछ, “बाबा चाउचाउको दाल पो मिठो हुने रहेछ है।” 

बेला ‘प्रो प्यारेन्टिङ’को
अर्यालका अनुसार प्रविधिसँगै यसका सकारात्मक र नकारात्मक कुराहरू भित्रिन्छन्। बालबालिकालाई कुन बाटोमा लैजाने, त्यो अभिभावकको हातमा छ। 

उनका अनुसार नेपालमा अभिभावकभन्दा बालबालिका प्रविधिमा पोख्त भए। जसले गर्दा उनीहरू कुन बाटोमा गइरहेका छन् भन्ने अभिभावकले पत्ता लगाउन सकेनन्। 

नेपाल टेलिकमले बालबालिकाका लागि डिजिटल गाइडलाइन बनाएको भन्दै अर्यालले भने, ‘उक्त गाइडलाइनमा बालबालिका मात्रैलाई अनलाइनमा एक्लै नछाड्न भनिएको छ। अहिले अनलाइन कक्षा भइरहेका बेला अभिभावक अनिवार्य रूपमा विद्यार्थीसँग बस्नुपर्ने हो तर त्यस्तो हामीकहाँ सम्भव छैन।’

अर्याल अबको अवस्था ‘प्रो प्यारेन्टिङ’को हो भन्ने कुरामा जोड दिन्छन्। अभिभावक बालबालिकाभन्दा प्रविधिमा एक पाइला अगाडि हुनुपर्छ। तर नेपालमा भने बालबालिका चलाख भए। यो भविष्यमा गम्भीर चुनौतीको विषय हुने उनले बताए।

टिकटकमा ‘एडल्ट कन्टेन्ट’ पनि आउँछ। भाइरल हुनका लागि मानिसहरूले हद पार गरेर बनाएको भिडियो बालबालिकाले हेर्दा उनीहरूको दिमागमा नकारात्मक प्रभाव पर्छ।

यही कुरामा जोड दिन्छिन्, बाल मनोविश्लेषक तथा प्राध्यापक डाक्टर गङ्गा पाठक। उनी टिकटकले बालबालिका मात्र नभएर अभिभावकलाई पनि लत लगाएको बताउँछिन्। 

मोबाइलका लत लागेका बालबालिका आफूसँग परामर्श गर्न आउने गरेको बताउँदै उनले भनिन्, ‘बालबालिकाको दिमाग नै स्थिर नहुने, मोबाइल हातमा नहुँदा के  गरौँ   कसो गरौँ भइरहने समस्या सानै उमेरमा देखिएको छ।’

स्क्रोल गरिरहनु पर्ने एपकै कारण बालबालिका अस्थिर बन्दै गएको उनको बुझाइ छ। ‘टिकटकलार्ई पनि स्क्रोल गरिरहनुपर्छ’, पाठकले भनिन्, ‘मन परेको भिडियो आए केही सेकेन्ड रोकिएलान् नत्र छिन छिनमै स्क्रोल गरिरहँदा बालबालिका एकै कुरामा स्थिर रहन सक्दैनन्।’ 

यसै कारण बालबालिकामा पढाइमा ध्यान दिन नसक्ने, चिडचिडे स्वभावका हुने, झर्को फर्को गर्ने स्वभाव विकास हुने पाठकले बताइन्। ‘कोभिडको समयमा अनलाइन कक्षा पढेका आठ वर्षभन्दा कम उमेरका बालबालिकामा यो समस्या झनै पाइएको छ’, उनले भनिन्।

२६ भदौ, २०७८, ०७:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।