चोर पुजिने चाड ‘चथाः’

चोर पुजिने चाड ‘चथाः’

कला–संस्कृतिमा वैभवशाली नेवार समुदायले महिनामा २/३ वटा पर्व मनाएकै हुन्छ। त्यसमध्ये चथाः अलि विशेष छ। चथाः दसैँसँग जोडिएर आउँछ। नेवारहरूले चथाः जति राम्रोसँग मनायो, दसैँ पनि त्यति नै राम्रो हुने विश्वास राख्छन्। 

नेवारहरूले मूर्ति पूजा गर्नुअघि प्रकृति पूजामा विश्वास राख्थे। प्रकृतिलाई नै देवता मानेर पूजा गर्थे। धर्ती माताको रूपमा पृथ्वीलाई नै सबैभन्दा ठुलो देवता मान्थे। अझै पनि मानवीय जीवनसँग सम्बन्ध रहेका आकाश, पृथ्वी, सूर्य, चन्द्रमासँगसँगै रुख, वन, पहाडलाई समेत नेवार समुदायले पूजा गर्ने चलन छ।  

पानीका मुहान, कुवा, इनार, नाग, भ्यागुता, काग, कुकुर, गाई, दाजुभाइ, कुमार, कुमारीसमेतलाई नेवार समुदायमा श्रद्धापूर्वक पूजा गरिन्छ। तर आश्चर्यको कुरा के छ भने– यो समुदायमा चोरलाई पनि पूजा गर्ने चलन छ। 

चोरलाई पुजेर मनाइने चाड हो चथाः(चौथी)। 

किन मनाइन्छ चथाः?

संस्कृतिविद् पुण्यरत्न बज्राचार्यका अनुसार परापूर्वकाल देखि नै यो चाड मनाइँदै आएको पाइन्छ।

जीवन द्वन्द्वात्मक छ। यो सुख–दुःख, राम्रो–नराम्रोको संगम हो। यी दुवैलाई समान रूपले अंगिकार गरी जीवन बिताउनु नै सुखमय जीवन हो। त्यसैले नेवार समुदायमा समाजका राम्रा मात्र होइन चोर जस्तो नराम्रो तत्त्वलाई पनि पूजा गर्ने चलन रहेको छ।

उनको विचारमा नेपाल उपत्यकाका आदिवासी नेवारहरूले चाड मनाउन जानेको बेलादेखि नै यो चाड पनि अस्तित्वमा आएको हुनुपर्छ। पछि विभिन्न पुराण र धर्मावलम्वीहरूले आ–आफ्नो तरिकाले यसको व्याख्या गरेको हुनुपर्छ।

नेवार समुदायले मूर्ति पूजा अगावै प्रकृतिको पूजा गर्थे। सबैभन्दा भव्य पूजा पृथ्वीको हुन्थ्यो, जहाँ मानिसको बसोबास हुन्छ। अनि पूजा हुन्थ्यो– पानीको। 

आकाश, सूर्य, चन्द्रमा, रुख, वन, पहाड आदि सबैलाई पुज्नु र त्यसका लागि चाडपर्व तोक्नु आदिवासी संस्कृतिको विशेषता हो। चथाः चन्द्रमा पूजासँग सम्बन्धित छ। चौथीमा गणेशको साथमा चन्द्रमाको पनि पूजा हुन्छ। तर चथाःमा चन्द्रमालाई चोर देवताको रूपमा पुजिन्छ। 

चथाःलाई चतुर्थी वा चौथी पनि भनिन्छ। ‘चौथी’ शब्द नै पछि ‘चथाः’ भएको हो। चथाःलाई गणेश चौथी र मंगल चौथी पनि भनिन्छ। 

चन्द्रमा कसरी चोर देवता भए? 

एकपटक देवलोकमा विष्णुको नेतृत्वमा सभा भइरहेको थियो। सभामा थुप्रै देवता थिए। गणेश थिए, चन्द्रमा पनि थिइन्। गणेशलाई चन्द्रमाले ‘सबै देवताको सुन्दर रूप तर गणेशको भने हात्तीको टाउको’ भनेर गिज्याइरहेकी थिइन्। 

यसरी गिज्याउँदा गणेशलाई रिस उठेछ। सहनै नसक्ने भएछन्। अनि चन्द्रमालाई ‘तिम्रो अनुहार हेर्ने जति सबै चोर कहलाउन्’ भनेर श्राप दिएछन्। 

गणेशको श्रापका कारण स्वर्गका देवताहरूले चोर भइने डरले चन्द्रमाको मुख हेर्नै छाडेछन्। कसैले पनि उनलाई नहेरेपछि चन्द्रमालाई अति लाज भएछ। चन्द्रमालाई अप्ठ्यारो भएको थाहा पाएर महादेव र अन्य देवीदेवताहरूले लड्डु, दूध, मूला, दुबो आदि चढाई चन्द्रमालाई क्षमा गरिदिनुपर्याे भनी गणेशसँग बिन्ती चढाएछन्। 

महादेवसमेत सबै देवताले अनुनय–विनय गरेकाले गणेशले पनि श्राप घटाएर भदौ शुक्ल चतुर्थीका दिन मात्रै श्राप लाग्ने गरी चन्द्रमालाई क्षमा दिएछन्। त्यही दिनलाई नेवारहरूले चोर देवताको रूपमा चन्द्रमालाई पुज्न थाले। 

‘जानी–नजानी चोरीको काम भएको होला वा नभए पनि पछि हुन सक्ला, यसकारण वर्षमा एकपल्ट मात्रै भए पनि चोरीको कामलाई पनि सम्मान गर्नुपर्छ’, नेवाः सांस्कृतिक चाडपर्वमा डा. चुन्दा बज्राचार्यले लेखेकी छिन्। 

यसै कथनमा आधारित भएर गणेशले चन्द्रमालाई दिएको श्रापको प्रभावले आफू चोर होइन्छ वा चोरको दोष लाग्छ भनेर भदौ शुक्ल चतुर्थीको दिन गणेशको पूजा गरी व्रत बसी चन्द्रमा नहेरी लुकेर बस्ने गरिन्छ। सूर्य अस्ताउने बित्तिकै झ्याल ढोका बन्द गरी गणेश पूजा गर्ने गरिन्छ। 

चन्द्रमा देखिने ठाउँ (कौसी)मा पूजा गर्ने थलोमा भुईँ लिपेर शुद्ध पारिन्छ। पूजामा चन्द्रमासँग सूर्यको मूर्ति राखी पूजा गरिन्छ। सूर्यको ढुङ्गाको मूर्ति प्रायः नेवारको कौसीमा राख्ने चलन छ। 

चन्द्रमालाई पूजा गर्दा काँक्रो, नासपती, केरा, स्याउ, अनार, लप्सी आदि चढाउने गरिन्छ। साथै भुटेको मकै, भटमास, बदाम, चना, केराउ, गहुँ, बकुल्ला, सिमी, मास आदि पनि चढाइन्छ। साथै उखु र अदुवाको बोट पनि चढाउने गरिन्छ। 

चथाःलाई नेवार समुदायले वडादशैंपूर्व मनाइने सानो दसैँका रूपमा लिने गर्दछन्। चथाः राम्रोसँग मनाए बडादसैँ पनि राम्रोसँग मनाउन पाइन्छ भन्ने जनविश्वास भएकाले सकेसम्म मीठो खानेकुराको जोहो गरिन्छ। 

२५ भदौ, २०७८, १७:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।