अहिलेको तीज : बेला न कुबेला बजि नयला

अहिलेको तीज : बेला न कुबेला बजि नयला

तीज, समय र समाजको गति सँगसँगै हिँड्दै गरेको छ। 

पहिलेका तीज र अहिलेको तीजमा धेरै भिन्नता छ। पहिले छोरीहरूको रजस्वला नभई विवाह गरिदिने गरिन्थ्यो। यातायात र प्रविधिको विकास खासै नभएको बेला माइती टाढा हुनेहरू सधैं माइत जान पाउँथेनन्। त्यसो हुँदा, तीजका गीतमा महिलाले सासू, जेठानी वा श्रीमान्बाट पाएको वेदना वा भोगाइ पोखिने गर्थ्यो। 

तर, अहिले त्यो बेलाझैँ सासू–बुहारी सम्बन्धका उतार-चढाब, नन्द-अमाजूका खटपट, लोग्नेको खप्की आदि सहनुपर्ने अवस्था छैन। यस्ता गीत गाइरहनुपर्ने अवस्था पनि अहिले छैन। अहिले तीजलाई महिला सशक्तीकरणको अवसरका रूपमा लिन थालिएको छ। महिलामाथिको लैंगिक विभेद, दुर्व्यवहार र सदियौँदेखि भोग्दै आइरहेका अपमानजनक पीडाका व्यथा एवं वेदनालाई समाप्त पार्ने सामाजिक रूपान्तरणको अवसरको रुपमा लिन थालिएको छ। 

पहिले जस्तो दर खान तीजको अघिल्लो दिन कुर्नुपर्ने अवस्था पनि छैन। 

मुख्यतः आजभोलि सामूहिक परिवारको चलन पनि कमै छ। सहर-बजारतिर त प्रायः मानिसहरु एकल परिवारमा बस्न थालिसकेका छन्। त्यसैले नन्द-अमाजूको चित्त बुझाउनुपर्ने अवस्था पनि छैन। त्यसैकारण अहिलेका सासू-बुहारी, नन्द-भाउजू तथा अमाजू-बुहारीबीचको सम्बन्ध पहिले जस्तो तिक्ततापूर्ण हुन छाडेको छ। 

सारीको सप्को शीरमा राखेर हिँड्नु पनि पर्दैन। हिँड्दा कसैले पदचाप सुन्छ कि भनेर सतर्क रहनुपर्ने अवस्था पनि अहिले छैन। छोरीहरू सक्षम भएका छन्। धेरै छोरीहरू आमाबुबाको सहारा बनेका छन्, काजक्रिया गर्ने भएका छन्। त्यसैले तीज मनाउने शैलीमा आकाश-जमिनको भिन्नता हुनुलाई समय सान्दर्भिक मान्नु नै उपयुक्त हुन्छ।

तीजलाई कसरी लिन्छन् महिलाहरू?
साहित्यकार बाबा बस्नेतका अनुसार पहिले तीजसँग छोरीचेली अनि माइतीको विशेष सम्बन्ध हुन्थ्यो। सानो उमेरमा विवाह हुने चलन थियो। माइती घर जाने, दर खाने र गाउँ, टोल, धार्मिकस्थल तथा चौतारीमा जम्मा भएर मनाउने चलन थियो। 

बस्नेतका अनुसार सधैँ माइत जान सम्भव नभएकाले तीज पर्खनुपर्ने अवस्था थियो। फोन गरेर सञ्चो-बिसञ्चो सोध्न सम्भव थिएन। तर तीज अब सहर-बजारको रमझम भइसकेको छ। 

सौन्दर्यविद् सीता पाठक तीजलाई दुःख बिर्सने चाडको रुपमा लिन्छिन्। उनका अनुसार तीज माइती गाउँका आफन्त र प्रियजनहरूसँगको भेटघाट लगायतका रमाइला गतिविधिहरूले दुःख बिर्सने संस्कृति हो। 

उनलाई धरान (माइती)तिर दर खाने दिन खिर, पुरी, तरकारी, अचार, कुवा, सेलरोटी खाएको खुबै याद आउँछ। उनी भन्छिन्, ‘मिठाइ र फलफूल पनि दर खाने बेलै खाइन्थ्यो। दर खाँदै रातभरि नाचेर बसिन्थ्यो।’

गायिका सविना कार्की  पहिला र अहिलेको तीजमा आकाश-जमिनको फरक देख्छिन्। उनी भन्छिन्, ‘पहिला आफ्नै खेतबारीमा फलेका खानेकुरा दरका रुपमा खाइन्थ्यो। तर, अहिले होटेल, रेष्टुरेन्टबाट किनेर ल्याइन्छ। त्यसैले त्यो बेलाको तीजलाई अहिलेको सँग दाँज्दा मौलिकता हराउँदै गएको देख्छु।’

अहिलेको तीज उनले भोगेको तीजभन्दा फरक छ। तर उनले भोगेको तीज उनको आमाले भोगेको तीजभन्दा फरक थियो। ‘आमाको पालामा सकेसम्म राति सुत्दैनथे। दर खाँदै, नाच्दै गर्दा बिहान हुन्थ्यो। त्यसबेला ३ बजे नै उठेर नुहाएर, शिवालयमा गएर पूजा गरेर ब्रत सुरु गर्थे। दिनभरि पानी पनि नखाई, भोलिपल्ट सूर्यलाई अर्घ दिएर पानी खाएर ब्रत तोड्ने चलन थियो’, उनी भन्छिन्, ‘आमाहरू पानी खायो भने श्रीमान्को रगत खाए सरह हुने धारणाले भोकै बस्नुहुन्थ्यो।’ 

सीताले पनि आमाको सिको गर्दै ७ वर्षको उमेरदेखि नै ब्रत बस्न थालेकी हुन्। पूजापाठमा रुचि भएकाले पनि उनले धेरथोर आमाले गर्ने रीतिरिवाजलाई अँगालेर अघि बढिन्। 

गायिका हरिदेवी कोइराला तीज र यसका भाकालाई अभिव्यक्ति स्वतन्त्रताको बिम्वको रुपमा लिन्छिन्। आमनेपालीमा राजनीतिक चेतना नआइसकेको र पित्तृसत्तात्मक सामाजिक संरचना रहेको हुँदा नेपाली चेलीहरूले आफूमाथि श्रीमान् र सासू भएका हिंसालाई तीजका गीतबाट अभिव्यक्त गर्ने गरेको उनको बुझाइ छ। 

वर्ष दिनको तीजमा बाबा लिन आएनन्
साउने झरीझैं रुन्छ मेरो मन 
   

कोइरालाका अनुसार माइतीबाट चेली लिन कोही नआएपछि उनीहरू यस्ता गीत गाएर आफ्नो बह पोख्थे। उनी भन्छिन्, ‘पहिले तीज लागेपछि माइतीबाट बाबुआमा वा दाजुभाइ आएर चेलीलाई लिएर जाने परम्परा थियो, अहिले त साथीसङ्गी समेत निम्ता गर्छन्। विभिन्न संघसंस्थाहरूले पनि तीजको कार्यक्रम राख्छन्। दर खुवाउँछन्। गीत गाउँछन्, नाच्छन्। अब माइती लिन नआए पनि चेलीहरूले पहिले जस्तो दुखेसो नगर्ने समय आइसकेको छ।’ 

डा. नम्रता पाण्डे पनि अहिलेको तीज समयसापेक्ष भएको स्वीकार्छिन्। अहिलेका आमा, दिदी बहिनीहरू त्यति बेलाको जस्तो पीडामा छैनन्। उनको बाल्यकालको तीज लमजुङमा देखेकी थिइन्- जहाँ उनका हजुरआमा, आमा र फुपूहरू एक अर्कालाई मनको बह पोख्थे। भेट भएदेखि वर्ष दिनको गुनासो सुनाउँथे। 

उनी भन्छिन्, ‘वर्षमा हप्ता दिन माइती बस्न पनि हप्ता दिनको लागि घाँस, दाउरा, पानीको जोहो गरेर बल्ल आउन पाइन्थ्यो। फुपूहरूले घर गरिखान गाह्रो भयो भनेर हजुरआमालाई गुनासो पोख्नुहुन्थ्यो।’ 

नम्रतालाई धमिलो सम्झना छ- त्यसबेला गाउने गीतहरूमा श्रीमान् र सासूले दिएको दु:ख, छोरी र बुहारीमा गरिने फरक व्यवहार, हातखुट्टा फुटेको, राम्रो लुगा लगाउने चाहना भरिएका गीतहरू हुन्थे। ती गीत उनीहरू आफैँ बनाउँथे। 

उनलाई सबैभन्दा अचम्म त तब लाग्थ्यो, जब आफ्नो छोरी घरमा आउँछे भनेर बुहारीलाई माइती पठाउँदैथे। त्यतिबेला उनको कलिलो मगजले किन यस्तो भइरहेको छ भन्ने भेउ नै पाएको थिएन। 

अहिले पाण्डे समाजका यस्ता समस्याहरू राम्ररी बुझ्छिन्। उनका अनुसार सासू-बुहारीमा भौतिक सुविधा अभाव भएको कारण उनीहरूमा प्रज्ञाको अभाव हुन्छ। परम्पराभन्दा पर उनीहरू जानै सक्दैनन्। 

अहिले तीज त परिस्कृत भयो तर मौलिकता भने रहेन। पहिले परिवार र घरभित्रै तीजको रौनक हुन्थ्यो। अहिले विलासिता खोज्दै जाँदा तीजको मर्म नै लोप हुने सम्भावना छ। 

नम्रता दुःखै-दुःखको बीचमा पनि पहिलेको तीजमा जुन आनन्द पाउँथिन्, आजभोलि पाउँदिनन्। पहिला तीन पुस्ता एउटै आँगनमा बसेर नाच, गान गर्दै दर खाँदै तीज मनाउँथे। अहिले सम्बन्धहरू साँघुरिएसँगै तीज पनि साँघुरिएको उनले महसुस गरेकी छिन्। परिवार र आफन्तको महत्व नै घटेको उनको अनुभव छ।

व्यवसायी लिमा अधिकारी दिदीहरूसँग सिद्धार्थ बनस्थलीको होस्टेलमा बसेर पढेकी हुन्। उनले विद्यालयले बुबाको मुख हेर्ने दिन, तीज र ऋषिपञ्चमी गरेर ३÷४ दिन नै बिदा दिन्थ्यो। बिदा हुनासाथ कान्छी माइजू उनलाई र दिदीहरूलाई लिन आउँथिन्। अनि मिठो–मसिनो खाएर नाच्दै-गाउँदै तीज मनाउँथे उनीहरू। 

त्यसैले तीज भन्नासाथ उनलाई पारिवारिक भेटघाट र आत्मीयताको पर्व भन्ने भान हुन्छ। तर हिजोआजका तीज नाममा मात्र सीमित भएको देख्दा र प्रतिस्पर्धाको चाडको रुपमा उत्परिवर्तन हुँदै गर्दा उनलाई बाल्यकालको तीजले झस्काइरहन्छ। 

गायिका सविना कार्की  पहिला र अहिलेको तीजमा आकाश-जमिनको फरक देख्छिन्। उनी भन्छिन्, ‘पहिला आफ्नै खेतबारीमा फलेका खानेकुरा दरका रुपमा खाइन्थ्यो। तर, अहिले होटेल, रेष्टुरेन्टबाट किनेर ल्याइन्छ। त्यसैले त्यो बेलाको तीजलाई अहिलेको सँग दाँज्दा मौलिकता हराउँदै गएको देख्छु।’

उनका अनुसार पहिला महिलाको लागि तीज एकदमै महत्वपूर्ण थियो। 

‘महिनौंसम्म चेली तीज पर्खन्थे, माइती तीजलाई पर्खन्थ्यो। अहिले त दुई-तीन महिना अगावै दर खाने, नाचगान गरेर मनाउने गर्न थालिएको छ,’ उनले भनिन्, ‘यो राम्रो होइन। यस्ता विकृतिले संस्कृतिलाई धराप पार्न सक्छन्।’ 

बेला न कुबेला बजि नयला 
ज्योतिष रति जोशीका अनुसार तीजको व्रत निरहार बस्नुपर्ने कुरा वर्ष कृत्य दीपकमा उल्लेख भए पनि दर खानुपर्ने कुरा कतै उल्लेख छैन।  

नेपाल भाषमा एउटा उखान छ- बेला न कुबेला बजि नयला। 

अरु नै सन्दर्भमा भन्ने गरिएको यस उखानले हाल तीजको सन्दर्भमा अर्थ राख्न थालेको छ। निरहार बस्नुपर्ने दिनको अघिल्लो दिन खाइने दर अहिले बेला न कुबेला खान थालिएको छ। 

उनी अहिलेको तीजमाथि प्रश्न गर्छिन्। उनी भन्छिन्, ‘महिनौंअघिदेखि दर खाने अनि दर खाएको भोलिपल्ट व्रत चाहिँ नबस्ने? दर मात्र किन खाने? यो अस्वाभाविक भएन र?’

उनी यस्ता कार्यलाई सामाजिक, धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक दृष्टिले उचित नभएको बताउँछिन्। उनका अनुसार तीन दिन मनाइने तीजमा दर खाने दिन, हरितालिका तीज र ऋषिपञ्चमी ब्राह्मण, क्षेत्रीहरूका लागि विशेष छ भने गणेश चर्तुथीका दिन नेवारहरूले चथा पर्व मनाउ“छन्। चतुर्थीमा पर्ने चथा पर्वको दिन मिठो भोज खाए दसैं पनि राम्रोस“ग मनाउन पाइन्छ भन्ने नेवारहरूमा विश्वास छ।

अन्त्यमा  
अहिले तीजलाई रमाइलो गर्ने माध्यमको रुपमा स्वीकार्दै अघि बढेको पुस्ताले पक्कै पनि तीजको महिमा र त्यसको सांस्कृतिक र धार्मिक महत्त्वलाई सँगसँगै लैजाने आश गरिएको छ। समय सापेक्ष तीजलाई महिलाको उत्सवको रुपमा विकास गर्दै जाऔं। हरितालिका तीजको सबैलाई शुभकामना।

२४ भदौ, २०७८, १८:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।