ओप-एड

ढुण्डीराज शास्त्रीसँग उकेरा संवाद

'शेरबहादुरजी र रामचन्द्रजीको समय सकियो, विमलेन्द्र र शेखरमा सम्भावना देख्छु'

सञ्जय पन्थी


तस्बिर : कृष्पा श्रेष्ठ।

समाजवादी चिन्तक एवं पूर्व मन्त्री ढुण्डीराज शास्त्री नेपाली काँग्रेसमा कृष्णप्रसाद भट्टराई निकट नेता मानिन्थे। सक्रिय राजनीतिमा रहँदा उनी काँग्रेसमा मौलाएको यही गुटका कारण पटक–पटक पेलाइमा परे।

धार्मिक निरपेक्षता भन्दा धार्मिक स्वतन्त्रताको पक्षधर उनी काँग्रेसको चौथौँ महाधिवेशनबाट काँग्रेसमा नयाँ नेतृत्व आउनुपर्ने पक्षमा छन्। वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अब अभिभावक भएर बस्नुपर्ने पक्षमा रहेका उनीसँग काँग्रेसको आसन्न महाधिवेशन वरपर रहेर सञ्जय पन्थीले गरेको कुराकानी :

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु भएको छ। नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन्। तपाईंलाई कसैले सम्झिएका छन्? 
अहिले त छैन! गत वर्ष रामचन्द्र पौडेलले फोन गर्नुभएको थियो। नयाँ बानेश्वरमा कार्यक्रम छ, लिन पठाउँ? भन्नुभएको थियो। पर्दैन, ट्याक्सी चढेर आउँछु भनें। पुगे पनि। त्यहाँ तारानाथ, दमननाथ, अर्जुननरसिंह केसी लगायतका नेताहरुको उपस्थिति रहेछ। भेट भयो। 

त्यहाँ रामचन्द्रलाई हाँसो गर्दै भनिदिएँ, ‘अहिले सत्ताको बोझ कम भएका बेला मात्र सम्झिनु भयो त!’ उहाँहरुलाई भन्न मैले किन डर मान्नु? यो वृद्ध अवस्थामा पनि आफ्नै खर्चमा ट्याक्सी चढेर पुगेको थिएँ। त्यतिबेला आगामी महाधिवेशनमा सभापति उठ्ने कुरा रामचन्द्रजीले गर्नुभएको थियो। मैले भनेको थिएँ– अब पनि तपाईंहरु किन उठ्नुहुन्छ? तपाईं र शेरबहादुरले यत्रो वर्ष नेतृत्वमा रहेर के गर्नुभयो? तपाईंं पनि २०४७ सालदेखि अहिलेसम्म कुनै न कुनै रुपमा पदमा हुनुहुन्छ। सभापति र प्रधानमन्त्री मात्र नहुनु भएको हो! 

कुन नैतिक बलले तपाईंहरुले पार्टी हाँक्ने? गिरिजाबाबुको वरिपरि रहेर सेवा र सुविधाका पद तपाईंंहरुले लिनु भएकै हो। शेरबहादुर पनि प्रधानमन्त्री, सभापति हुनुभयो। अब पनि किन मरिहत्ते? तपाईंहरुले नेतृत्व गरिरहँदा पार्टी बर्बाद भएको छ। त्यसैले दावी नगर्नुहोस्। अभिभावक भएर पनि त काम गर्न सकिन्छ,भनेको थिएँ। अहिले पनि आफ्नो भनाईंमा अडिग छु। 

अहिले पुनः शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा बधाई दिनुभएन? 
छैन। बधाई दिने जस्तो काम कसैले गरेकै छैनन्।

क–कसले गरे त बधाई दिनुपर्ने जस्तो काम?  
२०४८ सालपछि ओहो! भनेर बधाई दिनुपर्ने काम कसैले गरेका छैनन्। तर पनि स्मरण गर्नुपर्दा किसुनजी, मनमोहन र सुशीलले नराम्रो काम भने गर्नुभएन। अरु त धन आर्जन गर्नतर्फ लागे। नभए देश यस्तो हुने नै थिएन। 

आँट भएका भन्न सकिने नेताहरु? 
२०४६ सालको परिवर्तनपछि पदमा नबसे पनि गणेशमानजी हो। गिरिजाबाबु पनि हो। तर उहाँले दूरदर्शी र निष्पक्ष भएर काम गर्न सक्नुभएन। जगन्नाथ आचार्य आँट गर्ने नेता हो। तर अघि बढ्न दिइएन। 

तपाईंलाई पनि त अघि बढ्न दिइएन नि? 
पार्टीमा हामी ६ जनालाई किसुनजीको पक्षधर भएको आरोप लगाएर मन्त्रीबाट बर्खास्त गरियो। पछि २०५६ सालमा टिकट पनि काटियो। काट्न लगाउने खुमबहादुर खड्का र लक्ष्मण बस्नेत हुन्। बस्नेतलाई ट्रेड युनियन कांग्रेसको अध्यक्षमा टीका लगाएर पदमा नराख्न सुझाएको थिएँ। त्यसैले उनी मेरा विरुद्ध गिरिजाप्रसादलाई कुरा लगाउन पुग्दा रहेछन्। त्यस्ता मानिसका कुरा सुन्ने गिरिजाबाबु। पछि अन्तिम समयमा काटिएको (अर्घाखाँचीबाट) टिकट अर्काे स्थान (पाल्पा ३ नम्बर) बाट लिन भनेर गिरिजाबाबुले आफैं फोन गर्नुभयो। मैले अस्वीकार गरिदिएँ। 

मैले गिरिजाबाबुलाई भनिदिएँ, कुन शक्तिको आडमा मेरो टिकट काट्नुभयो मैले बुझेको छु। पाल्पाबाट तपाईंले टिकट दिएका मानिस अप्ठ्यारो अवस्थामा पार्टीलाई साथ दिएको परिवारका सदस्य (भगवती राज) हुन्। नैतिक हिसाबले पनि उनको टिकट काटेर म लड्न सक्ने अवस्था नै रहँदैन्थ्यो। त्यसपछि म चुनावै लडिनँ। 

मन्त्री हुँदाको एउटा प्रसंग, एक पटक किसुनजीले पार्टी सञ्चालन गर्न केही सहयोग (रकम) माग्नुभएको थियो। मैले, हजार हो भने हुनसक्छ नभए त छैन भनें। उहाँले ठट्टा गर्दै भन्नुभयो, यत्रो मन्त्री भएर पनि। मैले पनि भन्दिएँ, मन्त्री बनाएको घुस खान, पैसा कमाउन हो? त्यसो हो भने मैले मन्त्री खान्नँ, छाडिदिन्छु। लाख, लाख त खुमबहादुर, गच्छदार, वाग्लेजीहरुले गर्न सक्नुहुन्छ। मैले न खाएको छु, न गर्न सक्छु भन्दिएँ। हुन पनि हो, त्यही नखाएको भएर पार्टीमा अघि बढ्न नदिए जस्तो लाग्छ। तर कुनै आपत्ति छैन। आज पनि पार्टीप्रति म त्यत्तिकै जिम्मेवार छु। 

अहिले करिब आधा दर्जन नेताले पार्टीमा सभापति दावी र घोषणा गरिरहनुभएको छ। तीमध्ये क्षमता र ‘भिजन’ भएका को–को देख्नुहुन्छ? 
म सबैलाई राम्रोसँग चिन्छु। दावी गर्नेहरुमध्ये, विमलेन्द्र र शेखरमा त्यो सम्भावाना देख्छु। कल्याण गुरुङ युवा हुन्। उनी पनि राम्रा पारिवारिक संस्कारबाट आएका हुन्। उनको पितालाई समेत म राम्रोसँग चिन्छु। शेरबहादुरजी र रामचन्द्रजीको समय सकियो। अहिलेसम्म जे–जति खानुभयो, पाउनुभयो त्यत्तिमा चित्त बुझाउन सक्नुपर्छ। सकेसम्म सहमतिमै हुन सकोस्। प्रतिस्पर्धा नै हुने भए ‘विमलेन्द्र र शेखर’ बीच स्वस्थ प्रतिस्पर्धा हुन सकोस्। 

अनि महामन्त्रीमा? 
गगन थापाले घोषणा नै गरे क्यारे। उनी एक उपयुक्त उम्मेदवार हुन् जस्तो लाग्छ। त्यसो त उनी पहिला पनि आफ्नै ससुरासँग लड्ने हिम्मत गरेका युवा पनि हुन्। उनको त्यो आँटलाई मेरो सम्मान छ। अहिलेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा पनि तार्किक र क्षमता भएका युवा लाग्छ। उनको लगनशीलता र क्षमता राम्रो लाग्छ। यी दुवैले एक अर्काबीच सहमति गरेर उक्त पदमा युवा पुस्ता ल्याउन सके राम्रो। त्यसो त अरु पनि दावेदार हुनुहोला, सन्दर्भले उहाँहरुको नाम लिएको छु। 

अहिले पार्टीको चुनावमा धर्मको एजेन्डा पनि जोडिन पुगेको छ, के भन्नुहुन्छ?
धर्मको एजेन्डालाई पार्र्टी राजनीतिमा जोडेर पक्ष–विपक्षमा विभक्त हुनु राम्रो हैन। मेरो सुझाव ‘धर्म निरपेक्ष’ भन्दा ‘धार्मिक स्वतन्त्रता’ भन्ने पक्षमा कांग्रेस लाग्न सकोस्। त्यतिबेला सबै जाति, धर्म, संस्कृतिको उत्तिकै सम्मान र संरक्षण हुनसक्ने अवस्था रहन्छ। निरपेक्षताका नाममा लगानी भित्र्याएर, धर्म परिवर्तन गराइनु नराम्रो हो। 

कांग्रेसलाई एउटा आरोप पनि लाग्दै आएको छ, कम्युनिष्टका एजेण्डामा समाहित हुँदै आयो? 
मैले त्यसरी बुझ्दिनँ। गणतन्त्र समयको माग भइसकेको थियो। गणतन्त्र ल्याउन माओवादीको योगदान छ। संघीयताको सवालमा भने उनीहरुको मात्र हैन, मैले २०५० सालमा कांग्रेसमा लिखित रुपमा पाँच विकास क्षेत्रलाई पाँच प्रदेशमा लैजाउँ भनेर प्रस्ताव पेस गरेको थिएँ। मलाई लाग्छ, संघीयताको पहिलो प्रस्ताव गर्ने मै हुँ। 

तत्कालीन नेतृत्वले ध्यान दिएन। त्यतिबेला जुन नेतामा विचार र भिजन छ, त्यस्तो नेताले न देश बनाउन सक्छ, न पार्टी नै भनिदिएको थिएँ। दुई वटा बुढा (गिरिजा र किसुनजी) मुखामुख गर्नुभएको थियो। त्यसको साक्षी अरु पनि थिए। भन्छन्–भन्दैनन् तर विमलेन्द्रले त्यो कुरा स्मरण गर्दै आएका छन्। मैले त्यतिवेला नै पार्टीमा संघीयता प्रस्ताव गरेको हो। पार्टीले पछि आएर स्वीकार ग¥यो।

कांग्रेस सधैं सत्ताको विकेन्द्रीकरणको कुरा गर्दै आए पनि व्यवहारमा कार्यान्वयन गर्न नसक्दा पछि परेको हो। तर पार्टीको सवालमा ‘समाजवादी विचार’ अंगिकार गर्दै आएको छ, बुझ्न नसक्नु विचारको कमजोरी हो। बिपीका विचार, योजना र सोच अध्ययन गरे भइहाल्यो नि।

के अहिलेको नेतृत्व भिजन नै नभएको हो? 
त्यसरी सबैलाई अवमूल्यन पनि नगरौं। भएर पनि अवसर नपाउनेहरु पनि छन्। कांग्रेसमा त्यतिबेला, बिपी, सुर्वण, गणेशमान र किसुनजी जस्ता त्याग र निष्ठा भएका नेताहरु थिए। उनीहरु सहित हामी जस्ता कार्यकर्ताको सदाचारले पार्टी यहाँसम्म आएको हो। अहिलेको नेतृत्वले खै, बुझ्न सकेको? 

नेपाल गणतन्त्र त अहिलेकै नेताहरुका पालामा भयो। ‘भिजन’ नभएको कसरी भन्नु?  
गणतन्त्र त भारत र माओवादीको जोड–बलले आएको हो। पर्दा पछाडि भारतको पनि भूमिका छ। त्यसरी बनेको माहोलमा अरु पार्टी राजा ज्ञानेन्द्रले लत्याएपछि मात्र समावेश भएका हुन्। अवस्थालाई गिरिजाबाबुले सम्हाल्नुभएको हो। तर देशमा भिजन भएको नेता भने देखिएनन्।

गणतन्त्रको जस त पूरै माओवादीलाई दिनुभयो नि? 
त्यसरी पनि नबुझौं। तर विषयलाई रुपान्तरण पनि गर्नु हुँदैन। कहीं न कहीं उनीहरुलाई जस दिनुपर्छ। माओवादी समस्या बढ्दै गर्दा मैले त गिरिजाबाबुलाई यो समस्या बेलैमा समाधान गरौं। उनीहरुका माग सम्बोधन गर्न वा, डर देखाएर हुन्छ, पद दिएर वा अन्य कुनै व्यक्तिगत अवसर दिएर भए पनि बेलैमा समाधान गरौं भनेको थिए। मैले गिरिजाबाबुलाई भन्दा शेरबहादुर र रामचन्द्र पनि सँगै थिए। गिरिजाबाबुले हुन्छ, हुन्न केही पनि भन्नुभएन। 

त्यसो त निर्वतमान प्रधानमन्त्री केपी ओली पनि राष्ट्रवादी देखिनुभयो। यसबारेमा यहाँको भनाइ?  
उनका त कुरै नगरौं। सुरुमा केही गर्छन् कि भन्ने आशा जगाएका थिए। तर पछि बतुराएभन्दा पनि हुन्छ। उनले धरातल नै बिर्सिए। प्रधानमन्त्री जस्तो मान्छे जे पायो त्यही बोल्न थाले। त्यस्तो पनि हुन्छ। 

यहाँ त समाजवादी चिन्तक पनि, नेपालमा समाजवादको भविष्य कस्तो देख्नुहुन्छ?
समाजवाद भनेर मात्र आउँदैन। त्यसको तथ्य र मर्म बुझ्न सक्नुपर्छ। समाजवादको अभ्यासका लागि भय र अभावबाट समाज मुक्त गराउन सक्नुपर्छ। त्यसपछि ज्ञान र विज्ञानले उनीहरुलाई चिन्तन र उत्पादन आफैं गर्नसक्ने बनाउनुपर्छ। यस्तो अवस्थामा समाजवादको अभ्यास भएको भनेर कसरी विश्वास गर्नु?

१२ पास गरेको युवालाई सोध्यो भने बाहिर जानेभन्दा कुरै गर्दैन। अझै पनि नेताहरुले समाजवादको कुरा गर्न छाडेका छैनन्। अन्तर्राष्ट्रिय, श्रम बजारमा नेपालको जनशक्ति पुगेको छ। उनीहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ। शासकहरु भ्रष्टाचारमा लिप्त, युवापुस्ता विदेश पयालन, यस्तो अवस्थामा देश कसरी समुन्नत बन्ला? तर पनि भन्छु, देशका लागि समाजवाद नै हो। त्यसका लागि चरित्र र व्यवहार भने चाहिन्छ।  
 

अन्त्यमा, महाधिवेशनमा होमिएका कांग्रेसका नेता–कार्यकर्तालाई यहाँको सुझाव?
नेतृत्व आस्थावान र निष्ठावानको हातमा जानुप¥यो। भ्रष्टाचारले देश चुर्लम्म डुबेको छ। यस्तो बेलामा ठेकदारका पैसा खर्च गरेर नेतृत्व हत्याउने नेताले के गर्न सक्लान्? गिरिजाबाबुले २०४८ पछि भ्रष्टाचारको जग हाल्नुभयो। खुमबहादुर, गच्छदारहरुले अघिपछि गर्दै पैसा आसार्ने काम गरे। आज उनीहरु कहाँ छन्? पार्टी कहाँ छ? 

त्यसैले बुद्धि, विवेक सहितको ज्ञान भएका नेता–कार्यकर्तालाई चयन गरौं। जसले विधि र पद्धति अपनाएर बेथिति विरुद्ध सुशासनको जग बसाल्न सकोस्। त्यो जिम्मेवारी कांग्रेससमक्ष आएको छ।

अध्ययन र ज्ञान भएको नेताले मात्र देश र जनताका बारेमा सोच्छ। त्यसको ज्वलन्त उदाहरण बिपी कोइराला हो। हाम्रा पालामा भएका नेताहरुले शक्ति आर्जन गरेर सम्पत्ति सम्पत्ती थुपार्न र चुनाव जित्न खर्चिन बाहेक अरु खासै काम गर्नु भएन।

त्यसैले अब कांग्रेस कार्यकर्ताले विवेक प्रयोग गर्ने बेला आएको छ। त्यसैले नेतृत्व चयन गर्दा गुट र पार्टीको भविष्य मात्र नहेरेर देशको भविष्यलाई हेर्न सक्नुहोस् भन्न चाहन्छु। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

'राष्ट्रिय पुस्तकालय प्राधिकरण एक्लैले रोकेको हो र, प्रधानमन्त्रीसँग छलफल गरेर रोकिएको हो नि !'

रानीपोखरी पुनर्निर्माणदेखि समयमै भूकम्प पीडितले राहत तथा आवास पाउन नसकेको भन्दै उनको आलोचना हुँदै आएको छ। ज्ञवालीले पुरातात्त्विक महत्त्वको काष्ठमाण्डप गत वैशाख १२ मै पुनर्निर्माण....

अनि हजुरबा फेरि एक्ला भए

परिवारका चारभाइ छोरामध्ये मेरा हजुरबा जेठा। दाजुभाइ छुट्टिने कुरा चल्यो। प्रत्येक भाइको भागमा आयो, माना बिउ लाग्ने जमिन।  हजुरबा थिए, शुद्ध किसान। उनी हलो बनाउँथे,....

बच्चाले बिगारेको मोबाइल, मोबाइलले बिगारेका बच्चा

समय–समयमा आउने प्राकृतिक विपत्ति, रोग, महामारीले मानव जीवनलाई अस्तव्यस्त पार्ने गरेको छ। यतिखेर कोभिडको महामारीले मानिसलाई निकै सताइरहेको छ। कोरोना महामारीले मानिसको बानी–व्यवहारमा धेरै परिवर्तन....

अहिले राजनीतिक अस्थिरताको उधुम मच्चिएको छ : महन्थ ठाकुर

बुधबार अबेर साँझ उनले उत्साहित मुद्रामा उकेराकर्मी अनिलकुमार कर्णसँग कुराकानी गरे। मानक मैथिली भाषामा कुराकानी आरम्भ गरेका ठाकुर स्वभावविपरीत धेरै पटक हाँसे। हाँसेरै उनले केही....

तनाव व्यवस्थापन गर्ने सूत्र

सकारात्मक परिवर्तनले मानव जीवन उन्नतिको शिखरमा पुग्छ भने नकारात्मक परिवर्तनले जीवनलाई नर्क बनाउँछ। त्यति मात्र होइन कतिपयले त आत्महत्याको बाटोसम्म रोज्न पुग्छन्। यो संसारमा सबैलाई....