शिक्षा

कोरोनाको ‘रेड जोन’मा विद्यालय खुलाउने तयारी

विज्ञ भन्छन्– ‘अहिले बालबालिकालाई स्कुल पठाउनु त पापै हुन्छ’

उपेन्द्र खड्का 


काठमाडौंः उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहे पनि विद्यालय खुलाउने तयारी गरिएको छ। काठमाडौं जिल्लामा विद्यालय खुलाउने विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले बताएकी छिन्। 

स्वास्थ्य मापदण्ड अपनाएर कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल भएको उनले बताइन्। 

सहायक प्रजिअ घिमिरेले उकेरासँगको कुराकानीमा भनिन्– ‘आइतबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्त्वमा काठमाडौंको शिक्षा समन्वय एकाइ प्रमुख, प्रत्येक पालिकाको शिक्षा प्रमुखहरू, सुरक्षा प्रमुखहरू सबै बसेर छलफल गर्‍यौं।’

स्मार्ट लकडाउन पालना गरेर मात्रै विद्यालय खोल्न सकिने भए पनि अनिवार्य खोल्न नभनिएको उनले बताइन्। ‘हामीले लेखेको आदेशमा पनि स्मार्ट लकडाउनको पालना गरी भनिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले भनिन्, ‘खोल्न अनिवार्य भनेको छैन। रेड जोन भएको ठाउँमा विद्यालय नखोल्ने, अन्यन्त्रचाहिँं खोल्न सक्ने अवस्था रहन्छ भन्न खोजेको हो।’ 

काठमाडौं जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्थाअनुसार विद्यालय खोल्ने वा नखोल्ने भन्ने विषयमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले समन्वय गर्ने उनले जानकारी दिइन्।  

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ १७ गते जारी गरेको आदेशमा ‘शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठन–पाठन गर्न÷गराउन नपाउने’ उल्लेख छ। जारी आदेशमा भनिएको छ, ‘गर्नैपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालनको निर्णय लिन सक्ने।’
 
विद्यालयमा भौतिक रुपमा पठनपाठनका लागि सबै शिक्षक÷कर्मचारीहरूले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको हुनुपर्ने लगायतका मापदण्ड हुने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताइन्।

रेड जोनमा काठमाडौं, बालबालिका उच्च जोखिममा

काठमाडौं उपत्यका संक्रमणको ‘रेड जोन’मा छ। पाँच सयभन्दा बढी संक्रमित भएको क्षेत्रलाई ‘रेड जोन’का रुपमा लिने गरिन्छ। 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक हेर्दा काठमाडौं उपत्यकामा मात्रै ७ हजारभन्दा बढी सक्रिय संक्रमित छन्। काठमाडौं जिल्लामा मात्रै ३ हजार ९ सय सक्रिय संक्रमित छन्। 

त्यसैले चिकित्सकहरूले भने विद्यालय खोलेर भौतिक रुपमा पठनपाठन गर्दा पुनः कोरोना भाइरस संक्रमणको अवस्था बिकराल हुन सक्ने चेतावनी दिएका छन्।

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका पूर्व प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतम स्वास्थ्य मापदण्ड पालना गर्न नसके विद्यालय खुलाउन नहुने बताउँछन्। उनी भन्छन्–‘स्वास्थ्य मापदण्ड पालना गरिएन भने फेरि अवस्था विकराल बन्छ।’ 

दोस्रो लहर शुरु हुने समयमा पनि विद्यालयलाई स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्नुपर्ने निर्देशन भए पनि स्वास्थ्य मापदण्ड पालना भएको थिएन। सोही अवस्था दोहोरिँदा जोखिम हुने भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन्।

काठमाडौं उपत्यकाको जनघनत्व बढी भएको हुँदा एउटा पालिकामा कम संक्रमण देखिए पनि एक पालिकाबाट अर्को पालिकामा सहजै संक्रमण फैलिन सक्छ। 

जोखिम कायमै रहेको बेला ‘फी’ उठाउने बाहनामा निजि विद्यालय सञ्चालकहरूले विद्यालय खुलाउन जोड गरिरहँदा बालबालिका प्रभावित हुने सम्भावना बढेको छ।
 
कलिलालाई विद्यालय पठाउनु पाप

डा.गौतमले ६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई अहिले विद्यालय पठाउनै नहुने बताए। बालबालिकालाई विद्यालय पठाउनु ‘पाप’ हुने उनको तर्क गरे। 

डा. गौतमले भने, ‘अहिले ६ वर्ष भन्दा मुनिका बच्चालाई स्कुल पठाउनु हुँदैन। उनीहरूलाई संक्रमण भयो भने त पापै हुन्छ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन भौतिक रुपमा विद्यालय सञ्चालन हुँदा बालबालिकामा कोरोना भाइरस संक्रमणको जोखिम हुने बताउँछन्। जोखिम कायमै रहेकाले अहिले भौतिक रुपमा विद्यालय खुलाउन उपयुक्त वातावरण नभएको उनले बताए। 

क्रिटिकल अवस्था कायमै

महाराजगञ्जस्थित कान्ति अस्पतालका बालरोग विशेषज्ञ डा. कृष्णप्रसाद विष्ट पनि विद्यालय खोल्दा बालबालिकामा कोरोनाको जोखिम हुने तर्फ सचेत गराउँछन्। नेपालमा दैनिक संक्रमणको दर ११ प्रतिशतभन्दा बढी देखिन्छ। 

नेपाल कोरोना संक्रमणको क्रिटिकल अवस्थामा नै रहेको डा. विष्ट बताउँछन्। उनले भने,‘१० प्रतिशत भन्दा बढी पोजेटिभ आउनु क्रिटिकल हो। क्रिटिकल अवस्थामा नै सबै कुरा खोलेपछि त अब भन्नै गाह्रो छ।’ 

संख्यात्मक रुपमा कोरोना भाइरस संक्रमण घटेको देखिए पनि नेपालमा अझै कोरोना भाइरसको जोखिम कम नभएको डा. पुनले बताए।
डा. पुनले पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिका बढी संक्रमित र मृत्यु भएको स्मरण गराए। 

डा. गौतमले पनि स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने र खोप पनि नभएकाले बालबालिका नै बढी प्रभावित हुने तर्फ सचेत गराएका छन्। उनले भने,‘बालबालिकाले जन स्वास्थ्यको मापदण्ड पालना गर्न सक्दैनन। खोप पनि पाएका छैनन्।’

विद्यालयमा विशेषगरी बालबालिकामा मास्क लगाउने, भौतिक दूरी कायम गर्नेलगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन कठिन हुने भएकाले बालबालिका संक्रमणको जोखिममा पर्ने चिकित्सकहरूले बताएका छन्। अन्य उमेर समूहको तुलनामा बालबालिकाको मृत्युदर कम भएपनि स्वास्थ्य मापदण्ड पनि नअपनाउने र खोपको पनि व्यवस्था नरहेकाले जोखिम कायम रहेको चिकित्सक बताउँछन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण १९ वर्ष मुनिका ५३ जनाले ज्यान गुमाइ सकेका छन्।

यसरी खुलाउन सकिन्छ विद्यालय

डा. गौतमले विद्यालय खुलाउने नै भए कक्षामा आधा विद्यार्थी मात्रै राखेर एक दिनमा तीन घण्टा पढाउनु पर्ने सुझाव दिएका छन्। 

उनकाअनुसार कक्षा नै जोर–बिजोर गरी सञ्चालन गर्नुपर्ने हुन्छ। आइतबार, मंगलबार, विहीबार बिजोर कक्षा र सोमबार, बुधबार, शुक्रबार जोर कक्षा चलाउन सकिने डा. गौतमको सुझाव छ। 

उनले भने, ‘१, ३, ५, ७, ९ कक्षा बिजोर बारमा चलाउने र २, ४, ६, ८ र १० कक्षा जोर बारमा चलाउन सकिन्छ।’ विद्यालय सञ्चालनका लागि यो वैज्ञानिक आधार हुने उनी बताउँछन्।

शिक्षा मन्त्रालय भन्छ– विद्यालय सञ्चालन गर्नमा मन्त्रालयको भूमिका हुँदैन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोरोना संक्रमणको अवस्थामा विद्यालय सञ्चालनमा मन्त्रालयको खासै भूमिका नहुने भन्दै पन्छिएको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले संक्रमणको प्रकृतिअनुसार विद्यालय सञ्चालन गर्न सक्ने बताए। उनले भने, ‘यसमा मन्त्रालयको खासै भूमिका हुँदैन।’

प्रवक्ता शर्माले डिसिसिएमसीको राय परामर्शमा नै स्थानीय तहले विद्यालय खोल्न सक्ने बताए। उनले भने,‘यदी रेड जोन हो भने भौतिक रुपमा कक्षा चलाउन मिल्दैन। ग्रिन जोन हो भने जनस्वास्थ्यका मापदण्ड पालना गरेर स्कुल चलाउन मिल्छ।’

कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ पनि बनेको छ। सो ढाँचामा विद्यालय सञ्चालन सम्बन्धी मापदण्ड, प्रक्रिया तथा उत्तरदायित्व लगायतको बारेमा उल्लेख गरिएको छ। 

तर, विद्यालयले सो कार्यढाँचा पालना नगरेको अवस्थामा विद्यालयलाई प्रश्न उठाइने प्रवक्ता शर्माको भनाइ छ। हाल कति विद्यालयले भौतिक रुपमा पठन–पाठन गराइरहेका छन् भन्ने यकिन तथ्यांक मन्त्रालयसँग नभएको पनि उनले बताए। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आगोगले जारी गर्‍यो पूर्वमनोनयनको सूचना

‘आयोगले पूर्वमनोनयनको सूचीमा सूचिकृत भएका उमेद्वारले असोज ७ गतेभित्र आफू पूर्वमनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी अनिवार्य रूपमा आयोगलाई....

रुपन्देहीमा आजदेखि भौतिक उपस्थितिमा विद्यालय सञ्चालन 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना सङ्क्रमणको दर कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि स्वीकृति दिएसँगै रुपन्देहीका विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा पठन पाठन सुरु हुन....

ललितपुर महानगरका विद्यालय असोज १ गतेदेखि खुल्ने 

महानगरपालिकाले स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरी भौतिक उपस्थितिमा पठन पाठन गराउन विद्यालयहरूलाई नै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।  विद्यालयमा मास्क, साबुन, पानी,....

असोज १ बाट पोखराका विद्यालय खुल्ने

विद्यालय सञ्चालन गर्दा कक्षाकोठा, फर्निचर, शौचालय, यातायातका साधन तथा विद्यालय प्राङ्गण पूर्णरूपमा निर्मलीकरण गरेर मात्र सञ्चालन गर्न पाइनेछ। पोखरा महानगर शिक्षा समितिको भदौ २८ गतेको....

कक्षा १२ को परीक्षा ‘होम सेन्टर’ मै लिने तयारी

 राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता दुर्गाप्रसाद अर्यालका अनुसार परीक्षा ‘होम सेन्टर’ (जुन विद्यालय पढेको हो त्यही विद्यालय) बाट लिने तयारी भएको हो। होम सेन्टरमै परीक्षा लिने....