'मेरो त बुबा नै बेस्टफ्रेन्ड'

'मेरो त बुबा नै बेस्टफ्रेन्ड'

नायिका सञ्चिता लुईंटेल सानैदेखि बुबा माधवप्रसाद लुईंटेलसँग सबैभन्दा नजिक थिइन्। बुबा नै उनका बेस्ट फ्रेण्ड थिए। 

दुई दिदी–बहिनी र आमासँगै भए पनि सञ्चिता बुबाकै आसपासमा हुर्किइन्। बिहान पत्रिका पढेर सुनाउने बहानामा होस् वा स्कुल जाँदा–आउँदाको समयमा, उनी बुबासँगै रमाउँथिन्। 

सञ्चिताले जीवनमा जे–जस्तो निर्णय लिँदा वा काम गर्दा बुबाले आँखा चिम्लेरै साथ दिए। चलचित्र क्षेत्रमा प्रवेश गर्ने बेलामा परिवारका अन्य सदस्यले उति चासो नदिँदा बुबाले नै साथ दिएका थिए। बुबाकै कारण उनी चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्।

अहिलेसम्म पनि उनी सबैभन्दा बढी कुरा बुबासँगै सेयर गर्छिन्। दुई सन्तानकी आमा सञ्चितालाई सम्बन्धहरु बढ्दै गए पनि बुबासँगप्रतिको माया र फ्रेण्डसिप उस्तै छ। आज बुबाको मुख हेर्ने दिन सञ्चिता आफ्नो बुबाको बारेमा उकेरासंग भन्छिन्ः

मेरो ड्याडी मेरो बेस्ट फ्रेन्ड। मेरा हरेक कुरा म ड्याडीसँग सेयर गर्छु। बच्चैदेखि म ममीसँगभन्दा ड्याडीसँग बढी नजिक भए। स्कुल जाने बेलामा पनि ड्याडी अफिस जाने र म स्कुल जाने एउटै समय हुन्थ्यो। ड्याडीसँगै हात समातेर स्कुल जाने र फर्कने र फर्केने गर्थें। स्कुले जीवनमा मैले लामो समय ड्याडीसँगै यात्रा गरें।

घरमा पनि सँगै बसेर पढ्ने र बिहान उठिसकेपछि पनि घरमा आउने सबै पत्रिका मैले नै ड्याडीलाई पढेर सुनाउँथें। ड्याडीलाई मैले पत्रिका पढेको सुन्न साह्रै मन पर्छ। अनि सधैं मलाई टिभीको समाचार वाचिका बन्नु भन्नुहुन्थ्यो। 

मेरो व्यक्तिगत र इमोसनल कुराहरु पनि ममीलाई भन्दा अगाडि ड्याडीलाई नै भन्ने गर्छु। अहिलेसम्म पनि ड्याडीसँग त्यस्ता कुराहरु सेयर हुन्छ।

अहिले म धनगढीमा फिल्म सुटिङमा आएको छु। यहाँ हुँदा पनि बिहान उठ्नेवित्तिकै पहिलो कल नै मेरो ड्याडीका लागि लागि हुन्छ। जहिले पनि बिहान उठ्नासाथ बुबासँग कुरा गर्ने मेरो बानी नै भइसकेको छ। उहाँ मेरो यस्तो साथी हो, जस्तो कुरा पनि भन्न सक्छु। हामीबीच प्रिय मित्रताबीच छ।

मैले जीवनमा गरेका कुनै पनि कुरामा उहाँले रोकटोक गर्नुभएन। सम्झाउने, बुझाउने कुरा गर्ने तर आफूले गर्ने काममा आँट र हौसला दिने व्यक्ति भने मेरो ड्याडी नै हो। 

मलाई चलचित्रमा काम गर्न पहिलो पटक डा. भोला रिजालले अफर गर्दा घर–परिवारले चलचित्रमा काम नगर्ने कि भन्ने कुरा गर्दा ड्याडीले उसको व्यक्तिगत कुरा हो, उसकै निर्णय हुन्छ भनेर हौसला दिनुभएको थियो। यदि ड्याडीले परिवारमा त्यति नभनिदिएको भए सायद यस क्षेत्रमा आउँदैनथें होला।

हामी तीन जना दिदी–बहिनी, सबैलाई फ्रिडम पनि दिने। हामीले सबै कुराहरु ड्याडीलाई भनिरहने हुँदा कुनै पनि कुरामा रोकावट भएन। पढाइमा होस्, बाहिर जान होस्, साथीभाइसँग भेटघाट नै किन नहोस्। 

त्यतिबेला धेरैले छोराको चाहना गर्थे। हामी लगातार तीन छोरी जन्म्यौं। तर ड्याडीले मेरा छोरी नै छोरा हुन भन्नुभयो। अहिले पनि कसैले तपाईंको त छोरा रहेनछन् भन्दा उहाँले मेरा छोरी नै छोरा हुन् भन्नुहुन्छ।

म सबैभन्दा ठूली छोरी। एक प्रकारको जिम्मेवारी मैसँग छ। मैले जीवनमा जतिसुकै काम गरें, त्यसमा ड्याडी–ममीकै सहयोग छ। आज म दुई सन्तानको आमा भइसक्दा पनि यसरी बाहिर आएर काम गर्न सक्नुको कारण पनि ड्याडी नै हो।

मेरो बच्चाहरु साना भए पनि ड्याडीले काममा हौसला दिनुहुन्छ। ‘अहिले बच्चाको अनलाइन क्लास छ, केही छैन हामी छँदै छौं, तिमी आफ्नो काम गर्दै गर’ भनेर साथ दिनुहुन्छ।

म ड्याडीलाई असाध्यै माया गर्छु र ड्याडीले पनि मलाई धेरै माया गर्नुहुन्छ।

२२ भदौ, २०७८, २१:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।