एंकर न्युज

मेरा बा

‘सबैले आमाको भार लाग्छ भन्छन्, बाको चैँ भार लाग्दैन र !’

पुष्पा थपलिया


बा। यो शब्दै यस्तो हो जसले माया भन्दा बढी कठोरपनको झल्को दिन सक्छ। कठोरपन जसमा सन्तानको भविष्यप्रतिको चिन्ता मिसिएको हुन्छ। बा अर्थात् देखाएर माया गर्न नजान्ने सम्बन्ध। मनमा अथाह माया पक्कै हुन्छ नै। तर धेरैको अनुभवमा आमाझैँ खुलेर माया अभिव्यक्त गर्न सक्दैनन् बाहरूले। आफ्नो सन्तानको सफलतामा प्रलय गर्व महसुस हुँदा पनि खुलेर अभिव्यक्त गर्न सक्दैनन्।

सामाजिक संरचनाले नै बाहरूलाई आमाको तुलनामा अलि बढी नै कठोर देखाउँछ। सामाजिक संरचनाले बोकाउने दायित्व र जिम्मेवारीले माया कता कता थिचिएझैँ। हराएझैँ। केही डर, केही मायाको सम्बन्ध देखिन्छ धेरैको बासँग।

आज कुशे औशी। बाबुको मुख हेर्ने दिन। गायक–गायिकाहरूको मनमा आफ्ना बा प्रतिको धारणा कस्तो रहेछ भनेर उनीहरूको मन चियाउने प्रयास गरेको छ उकेराले।

 

'कहिल्यै पिटेनन्, तर सधैँ डर सधैँ लागिरह्यो'

-पशुपति शर्मा, लोक गायक

बा। घरको जिम्मेवारी सर्लक्क काँधमा बोकेर हिँड्ने व्यक्ति। अजिबको स्वभाव देखिन्छ बामा। अब त हामी ठुला भयौँ, आफै बाउ बन्यौँ। जिम्मेवारी हाम्रो काँधमा देऊ भन्दा उहाँहरूको मन नमान्ने।

आफूले जन्माएका सन्तान सधैँ सानो देख्ने भएकाले होला अझै बाले हाम्रो चिन्ता मानिरहनुहुन्छ। हामीले सम्झाइरहनुपर्छ। 

वर्षमा एक दिन आउने बाको मुख हेर्ने औँसीमा मात्रै बा सम्झने, सामाजिक सञ्जालहरूमा फोटो राख्ने परम्परा बढिरहेको देख्छु म। तर म खासै मान्दिन यस्तो। त्यसैले मैले सामाजिक सञ्जालतिर फोटो पनि राखेको छैन।

मलाई हाम्रो बा, अरूको भन्दा मायालु लाग्छ। अरूको बा आफूले मासु खान छाडे घरकैले छाडोस् भन्ने, गन्हायो भनेर मुख छोप्ने लगायतको देखेको छु। तर मेरो बाले त्यस्तो कहिल्यै गर्नुभएन। 

उहाँ १४ वर्ष फलाहारी बस्नुभयो। फलाहारी भनेको अन्नपात, नुन केही नखाई फलफूल खाएर बस्ने। त्यस्तो बेलामा आफू नखाए पनि हाम्रा लागि बाले मासुको पोको झुन्ड्याएर घर आउनुहुन्थ्यो।

बाले मलाई कहिल्यै पिट्नु भएन। तै पनि बा भन्ने बित्तिकै छुट्टै प्रकारको डर मनमा बसेको हुने। अहिले पनि बा भनेपछि डर लाग्छ। आमासँग झगडा गरिन्छ, बेला मौकामा थप्पड पनि लगाउँछिन् तर आमासँग डर लाग्दैन। बाले अहिलेसम्म हात हालेका छैनन् तर डर लाग्छ।

अहिले त आफू पनि बा भएको छु। बिहानै दुवैले हेप्पी फार्दश डने भनेर कामना गरिसके। मेरो छोरी त झनै ठुली भइसकिन्, छोरो सानै छ। 

छोरीलाई यति धेरै माया गर्छु, तर पनि उनी म देखि डराउँछिन्। उनकी आमाले दुई चार झाप्पु लगाउँछिन् बेला मौकामा तर म सधैँ माया मात्रै गर्ने मान्छे किन पो डराएको होला जस्तो लाग्छ। सायद बासँगको सम्बन्ध भनेकै केही डर, केही माया र धेरै जिम्मेवारीसँग जोडिने भएर होला।

'मेरो बा कलाकार हो भन्दा बडो मज्जा आउँथ्यो'

-कवीन्द्र श्रेष्ठ, पप गायक

म पाँच वर्षको थिएँ होला, बासँग फिल्म हेर्न गएँ। काठमाडौँको रञ्जना हलमा फिल्म जिवनज्योति भन्ने फिल्म हेर्न गएका थियौँ हामी। त्यो फिल्मको याद किन पनि आउँछ भने, जिवनज्योतिमा शिव श्रेष्ठसँगै फिल्म खेल्ने अर्को कलाकार हाम्रो बा हुनुहुन्थ्यो। 

अहिले उहाँ अमेरिकामा हुनुहुन्छ। बिहानै भिडियो कल गरेर कुराकानी भइसकेको छ। अझै बेलुकीतिर पनि कुराकानी गर्ने भन्ने कुरा छ। बेलुकी सबै परिवार एकसाथ बसेर कुराकानी गर्ने हो।

मेरो बाको व्यवसाय थियो। त्यसैले मनमा कलाकारिताको भोक भए पनि धित मरुन्जेल यसैमा काम गर्न पाएनन्। त्यसैले खासै चर्चा कमाउनुभएन। तर मलाई भने स्कुलमा साथीभाइलाई मेरो बा कलाकार हो भन्दा बडो मज्जा आउँथ्यो।

त्यो समयमा हाम्रो घरमा गेट टुगेदर हुन्थ्यो। घरमा ठुला–ठुला कलाकार बाको साथी भन्दै आउने। मैले सानोमा मदनकृष्ण श्रेष्ठ अनि हरिवंश आचार्यसँग फोटो खिचेको थिएँ। त्यो फोटो अहिलेसम्म पनि छ। कलाकारसँग फोटो खिच्नु भन्दा पनि स्कुले साथीलाई ठुला कलाकार मेरो बाको साथी भनेर देखाएर फुर्ती लगाउन रमाइलो लाग्थ्यो।

मेरो बा, गितार पनि खुबै राम्रो बजाउनुहुन्थ्यो। सायद त्यसैको प्रभावले होला म  सङ्गीतमा ढल्किए।

‘द स्काइ ब्यान्ड’ ले एकताका तहल्का मच्चायो। ‘डाँडैमा मेला लागेछ’ बोलको गीतले हामीलाई चर्चित बनायो। म ब्यान्डको मुख्य भोकलिष्ट थिएँ। म चर्चित हुँदा बा धेरै खुसी हुनुभयो। सायद आफूमा भएको चर्चाको तिर्खा म मार्फत मेटाउनु भयो कि!

 

'परीक्षामा फेल हुँदा ट्वाइलेटमा थुनिदिन्थे'

-बिक्की कार्की, गायक

बा भन्ने बित्तिकै मलाई भगवानको मानव रूप हुन् जस्तो लाग्छ। भगवान् पनि अरू हैन, नारायणको असली रूप हुन् बा।

आमा शिक्षिका। ड्याडी ट्रक व्यवसायी सङ्घको कर्मचारी। आमा शिक्षिका भएकाले होला मलाई बासँग खासै डर लागेन, जति आमासँग लाग्थ्यो। आमाले बेला मौकामा पिटपाट पनि पार्नुहुन्थ्यो, ड्याडीले कहिल्यै हात हाल्नुभएन।

एक पटक भने मलाई ड्याडीले ट्वाइलेटमा थुनिदिनुभयो। कुरा के भयो भने, पाँच कक्षाको रिजल्ट आएको थियो। मेरो दाइ त्यो बेला सात कक्षामा पढ्थ्यो। हामी दुवै दाजुभाइ फेल भयौँ। दाइ त बाठो मामाघरतिर लाग्यो, म मात्रै घर गएँ।

आमाले खाजा बनाएर दिनुभयो, खाइयो रमाइलै भइरहेको थियो। करिब पाँच बजेतिर ड्याडी आउनुभयो। रिजल्ट देखा भन्नुभयो। देखाउने बित्तिकै उहाँले केही भन्नुभएन। जुरुक्क उठेर मेरो हात समाएर तान्नुभयो, ट्वाइलेटमा हुलिदिनुभयो र बाहिरबाट चुकुल लगाइदिनुभयो। यो कुरा म कहिल्यै भुल्दिन।

म सङ्गीतको क्षेत्रमा लागेको, गाँजाको बारेमा गीत गाएको पनि ड्याडीले खासै निको मान्नुहुन्थ्यो। अहिले पनि खासै केही भन्नुहुन्न। उहाँको भनाई ‘आफ्नो जिन्दगी हो, सजिलोसँग चला’ भन्ने नै हो। 

पहिले घरबाट पैसा पठाउनुहुन्थ्यो नि त। म गायक भएपछि भने उहाँले जे सुकै गर्, घरबाट पैसा आउँदैन, आफ्नो खर्च आफै जुटा भन्नुभयो। त्योपछि घरबाट पैसा माग्न परेको छैन। बरु सकेँ भने यतैबाट दुई चार हजार पठाउने गरेको छु।

'मेलामा चप्पल र रिबन किनेको त्यो क्षण'

-ज्योति मगर, लोक गायिका

मेरो बाउआमा रोल्पाको बिकट गाउँमा हुनुहुन्छ। त्यहाँ फोन पनि लाग्दैन। त्यसैले फोनमा कुरा नगरेको समेत कयौँ हप्ता भइसक्यो। फेरि म अरू भन्दा फरक स्वभावकी छु। एक दिन सामाजिक सञ्जालमा हल्लाखल्ला मच्चाएर ३ सय ६४ दिन बिर्सने मेरो बानी छैन। 

मेरो बा हुन्, फोनमा कुरा नगरे पनि, सामाजिक सञ्जालमा फोटो नराखे पनि मनमा सधैँ सँगै छन्। म मेरो बाको जिम्मेवार छोरी हुँ। म जिम्मेवार हुनु नै मैले उहाँलाई सम्मान गर्नु हो जस्तो लाग्छ।

नाच्न, गाउन र मानिसलाई हँसाउन मेरो बालाई कसैले जित्न सक्दैनन्। मेरो काका बाउँहरू पनि उस्तै रमाइला छन्। अझै भनौँ हाम्रो घर नै त्यस्तै छ। 

हामीलाई बच्चा बेलामा बासँग भन्दा आमासँग धेरै डर लाग्यो। बा रिसाएको, नरिसाएको थाहा हुन्थेन तर आमा रिसाएको थाहा हुन्थ्यो। 

हामी तीन जना सन्तान। दिदी, म अनि भाइ। हामी निकै ज्ञानी बच्चा हौँ। घरमा मानिस आएका बेला हाम्रो बाले सधैँ, मेरा छोराछोरी निकै ज्ञानी छन्, खल्तीमै पैसा छाडे पनि कहिल्यै निकाल्दैनन् भन्नुहुन्थ्यो। हामीले त्यस्तो उपद्रो पनि खासै गरेनौँ बच्चा बेलामा। 

बासँग मेला गइन्थ्यो। टाढा घुम्न हिँडेको भनेकै मेला जाँदा हो। सानो बेलामा एक डेढ घण्टा टाढाको मेला मात्रै लैजानुहुन्थ्यो। ठुलो भएपछि भने एक दिन बासै बस्ने मेला पनि गइन्थ्यो। हिँड्न नसकेर फुपूको घरमा बस्ने अनि बाउआमा फर्कँदा सँगै फर्कने पनि गरियो। मेलामा जाँदा बाले मलाई चप्पल, रातो रिबन किनिदिएको याद छ।

'बाको चैँ भार लाग्दैन र !'

-आस्था राउत, लोक पप गायिका

बिहे गरेर गएको भए पो यादको कुरा गर्नु। म बाबा सँगै छु। सँगै भएपछि याद आउने मौकै पाएको छैन। म मेरो आमा बाको एक्लो सन्तान हो। त्यसैले उहाँहरूको जिम्मेवारी मेरो काँधमा छ। सानो बेलामा मेरो जिम्मेवारी बाबाले निभाउनुभयो, अब पालो मेरो आएको छ। 

भन्न त मानिसहरूले फिलोसफी झारी भन्लान् तर म जे बोल्छु मनैदेखि बोल्छु। सबैले आमाको भार लाग्ने भन्छन्। बाको चाहिँ भार लाग्दैन र? आमा घर हो भने, बाबा त झनै छानो हो नि। बाबा नभए घर घर रहँदैन। 

नजिकको हिसाबले म पनि बाबाको तुलनामा आमासँगै नजिक छु। आमा मेरो वेस्ट फ्रेण्ड हो। बाबासँग सङ्गीतका बाहेक अन्य गफ खासै हुँदैन। आमा मेरो बाबासम्म कुरा पुर्‍याइदिने पुल हो। त्यसो भन्दैमा बाबासँग मेरो एट्याचमेन्ट छैन भन्ने हैन। 

मेरो बाबा वरिष्ठ लोक गायक हुनुहुन्छ। उहाँकै मार्गमा हिँडेर त म पनि गायिका बनेकी हुँ। अझै सानो बेलामा म रुँदा कसैले फकाउन सक्दैनथे रे। बाबाले गितार बजाएपछि मात्रै म चुप लाग्थेँ रे। भनेपछि हामी बाउ छोरीको कनेक्सन त झनै गहिरो छ। हामीलाई गफ गरिरहन पर्दैन।

अहिले हामी कहिले मार्स डने, कहिले फादर्स डने मनाइरहेका छौँ। तर हामीकहाँ सानो छँदा मर्ला कि, ठुलो भएपछि मार्ला कि भन्ने उखान निकै प्रचलित छ। त्यो भनेको त हामी छोराछोरीहरूले जिम्मेवारी बोध नगरेको हो नि।

अर्को कुरा। मेरो छोरो त ठिकै थियो, बुहारी आएपछि बिग्रियो रे। अनि, ए छोरा जन्मिएछ, बुहारीलाई त हो नि रे। म त छोरीहरूलाई प्रश्न गर्छु, यदि श्रीमानको बाबुआमालाई आफ्नै बाबुआमालाई जति सम्मान गर्दैनौ भने तिमी सन्तान हुन लायकै छैनौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विद्यालयको सटरमा वडा अध्यक्षको छोराको रक्सी पसल

विद्यालयले व्यापारिक प्रयोजनका लागि परिसरमै ६ वटा सटर बनाएर भाडामा दिएको छ। त्यही सटरहरूमध्ये एक सटर हो ‘जे एस लिक्वेयर्स्’ को। अनि त्यसका सञ्चालक हुन्....

पार्टी फुट्ने डरले मन्त्री छान्न सकेन जसपाले, राजकिशोरले नयाँ दल खोल्ने भयमा यादव 

उनले भनेको अध्यादेश हो राजनीतिक दल सम्बन्धी, जसको आधारमा जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बन्यो। त्यसकै आधारमा एमाले फुटाएर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी....

नेपाली कांग्रेसको महाधिवेशन : आफ्नै गुटका आकांक्षीका कारण सकसमा रामचन्द्र पौडेल

अघिल्लो महाधिवेशनका घाइते पौडेल सबैलाई मनाएर एक पटक पुनः नेतृत्वका लागि मैदानमा जान चाहन्छन्। तर, आफ्नो समूह भित्रका आकांक्षी व्यवस्थापन गर्न नसक्दा अन्तिममा उनले मैदान....

चोर पुजिने चाड ‘चथाः’

कला–संस्कृतिमा वैभवशाली नेवार समुदायले महिनामा २/३ वटा पर्व मनाएकै हुन्छ। त्यसमध्ये चथाः अलि विशेष छ। चथाः दसैँसँग जोडिएर आउँछ। नेवारहरूले चथाः जति राम्रोसँग मनायो, दसैँ....

कम्पनीले कागजात नबनाइदिँदा साउदीमा ४० नेपाली कामदार अलपत्र

काठमाडौं : बर्दियाका गजेन्द्र भण्डारी रोजगारीको लागि साउदी अरब गएको साढे ३ वर्ष भयो। कोरोना महामारीका कारण पाँच महिनाअघि नै रोजगारी गुमाएका भण्डारी स्वेदेश फर्कन भने....