कोरोनाले दिएको एकपछि अर्को बज्रपात 

कोरोनाले दिएको एकपछि अर्को बज्रपात 

भनिन्छ, भोग्नेको पीडा देख्नेले बुझ्दैनन्। तर अहिलेको परिस्थिति देखेर असहज पीडा भइरहेको छ। एकपछि अर्को अकाल मृत्युको खबर सुनेर दिनहरू बितिरहेका छन्।

राति १० बजे दाइले फोन गरेर भन्यो, ‘अप्रिय घटना भयो, ठुलो मामा पनि बित्नु भो।’ लगभग निदाइसकेको मेरो मनमा भुमरी उत्पन्न भयो। झल्झल्ती आँखा अगाडि मामाको हँसिलो, तेजिलो अनुहार नाचिरह्यो। सुत्न प्रयत्न गरें, सकिनँ। दिमागमा विगतका सम्झना आइरहे। मन समाल्न गाह्रो भयो।

ठुलो मामा अर्थात् पण्डित मुरलिधर पोखरेल आफ्नो कान्छो भाइ विनोद पोखरेल बितेको ९औं दिनमा बित्नुभयो। कोभिडको कारणले अकालमा नै दाजुभाइको ज्यान गयो। भाइ बितेको छनक समेत नपाउनु भएका मामा विगत केही दिनदेखि अक्सिजनको सहारामा बाँचिरहनुभएको थियो। 

कोरोनाका कारण भएको मृत्युले धेरैलाई आहत पुर्याइरहेको छ। आफन्तको मृत्युका समाचारले समग्र समाजलाई नै पीडा दिइरहेको छ। कोरोनाले पीडासहित जीवनलाई नजिकबाट चिन्न तथा आत्मकेन्द्रित हुन पनि सचेत गराइरहेको छ।

मैले पनि कोरोनाले रिस, राग छोडेर सामाजिक जीवन जिउने पाठ सिकाइरहेको छ भन्ने सोचेर मन बुझाउने प्रयत्न गरिरहेको छु।

हुन त आफन्तको मृत्यु स्वीकार्ने सम्बन्धमा यहुदी पृष्ठभूमिकी अमेरिकी कवि लिण्डा पास्टनले लेखेको ‘फाइज स्टेजेज अफ ग्रिफ’ मा भनिए जस्तै दुःख व्यवस्थापन सहज कुरा होइन तर पनि यसलाई व्यवस्थापन गर्नै पर्ने रहेछ।

बिस्तारै सबै घटना बिर्सँदै अगाडि बढ्ने अदभूत क्षमताका कारण पनि मानव जातिले प्रगति गर्न सकेको होला। समय र समाज एकै ठाउँमा अडिन सक्दैनन्, निरन्तर अगाडि बढिरहन्छन्। टाइम हिएल्स्ले भनेझैं समयले घाउमा मल्हम लगाउने कार्य गर्दै जान्छ होला। तर हाललाई पत्याउन गाह्रो भयो।

०००

आफूलाई सम्झाउन खोज्दा पनि मामाको सम्झना आइनै रह्यो। परिवारको आशाका केन्द्र मामाले धेरै नै हन्डर खानुभयो जिन्दगीमा। बनारसको बसाइपश्चात् धरान हुँदै काठमाडौं आएर पुराण वाचनमा दत्तचित्त भएर लाग्नुभएका मामाले पुरानो घर भत्काएर नयाँ घर बनाउने र अलि व्यवस्थित भएर बस्ने चाहना जाहेर गर्नुभएको थियो।

विशेष गरी हजुरबुबाको मृत्युपश्चात् हजुरआमाको स्वास्थ्यमा समस्या भएपछि आफ्नो कर्मथलो काठमाडौं छोडेर बुधबारे, झापा जानुभएको थियो उहाँ। आमाको काकाको छोरा अर्थात् मामाको घर नजिकै भएको कारण हाम्रो आवत–जावत प्रायः दैनिक जस्तै हुन्थ्यो। मिठो–मसिनो बाँडेर खाएका थियौं। मामाहरूको उमेर आफ्नो जस्तै र कान्छो मामा त मभन्दा पनि कान्छो भएका कारण प्रायः सम्बोधन तँ–तँ र म–म कै थियो। बच्चा बेलामा त अझ मेरो बास मामाहरूको घरमा नै हुन्थ्यो। मामाघरको खाना खाएर मुख फेर्न अभ्यस्त नै थिएँ म। 

समय परिस्थिति बदलिँदै जाँदा हाल आएर सबै आ–आफ्नो पेसा–व्यवसायमा लागियो। मामाहरू बनारसबाट आउँदा ल्याउने सेतो प्रसाद मिठाइ खाँदै बनारसमा यस्तो हुन्छ, त्यस्तो हुन्छ भन्ने सुन्दा मलाई पनि बनारस जान बाल्य अवस्थामा ठुलो इच्छा थियो। मामाले क्षणिक मोह मात्र हो भान्जा बनारस भन्दै आफ्नै ठाउँमा पढ्नुपर्छ भन्नुहुन्थ्यो। 

सुरुका दिनमा मामाहरू तथा हाम्रो घर सामान्य फुसले छाएको थियो। पानी पर्दा छानोबाट चुहिएको पानी भाँडो थापेर तर्काउने प्रयास दुवै घरमा हुन्थे। सामान्य गाउँले जीवनशैली थियो। वरपर सबैको बारेमा जानकारी हुन्थ्यो।

बिस्तारै टिनको छानो हालेर एकडा बेरा जुन बाँसको भाटाले बनाइन्थ्यो र त्यस समयमा हाम्रोतिर चलन चल्तीको घर बनाउने पद्धति थियो, त्यतातिर लाग्यौं र पछि पक्की घर बनाउन सक्यौं।

बुबाको जागिर स्थायी भएका कारण हाम्रो घर बनाउने आधार तयार भयो। तर मामाहरूको घर पुरानै अवस्थामा थियो। परिवारमा आयको स्थायी स्रोत केही थिएन। हजुरबुबाले कर्मकाण्ड गर्नुहुन्थ्यो। कर्मकाण्डको प्रसङ्ग उठ्दा चक्र मामा र मेरो हजुरबुबाले पूजाआजाबाट ल्याउनु भएको सेल रोटी तथा अन्य प्रसाद खान एकदमै होडबाजी चल्थ्यो।

हजुरबुबा एक्लैले कमाएको पैसाले घरधन्दा चलाउन कठिन हुन्छ भनेर हामीले पारिवारिक रूपमा समेत मेची राजमार्ग रुँघेर बस्नुभन्दा त्यहाँको जग्गा बेचेर अलि भित्रतिर अर्को जग्गा किनेर व्यवस्थित घर बनाउन पनि सुझाव दिएका थियौं। परिस्थितिमा सुधार गर्दै बिस्तारै सोही ठाउँमा अलि व्यवस्थित तवरले घर बनाएर बसोबासको प्रबन्ध मिलाउने ठूलोमामाको सोच थियो। 

घर बनाएर व्यवस्थित तरिकाले बस्ने मामाको आत्मबल देख्दा रमाइलो लाग्थ्यो। लामो सङ्घर्षपछि काठमाडौंमा बसेर अलिअलि कमाइ भएपछि घर बनाउने पुरानो सपना साकार बनाउन मामाले सुरुवात गर्नुभएको थियो। तर सुरुवाती चरणमा नै घर बनाएर नसक्दै मामाको दुखद अन्त्य भयो।

मामाहरूको व्यवस्थित बसाइको सपना साकार हुनै लाग्दा परिवारमा एकपछि अर्को बज्रपात भयो। कान्छो मामाको मृत्युको खबरले ठुलो मामालाई आघात पुग्ने देखेर मृत्युको खबर समेत सुनाइएको थिएन। तर भाइ बितेको ९ दिनमा नै दाइको पनि मृत्यु भयो। 

मामाहरूलाई कोरोनाले लग्यो। तर अहिले मुटुको बिरामी हजुरआमाको स्वास्थ्य स्थिति सम्झँदा पनि कहाली लाग्न थालेको छ।

कोरोनाबाट लामो समय थलिएर स्वास्थ्य स्थितिमा केही सुधार भएपछि डिस्चार्ज हुनु भएको र हाल अक्सिजन दिएर घरमा नै राखिएको अवस्थामा ठुलो मामाको निधन भयो भने कान्छो मामाको काम गर्दागर्दै, स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै एक्कासि स्वास्थ्यमा जटिलता आएर मृत्यु भयो।

मृत्यु अकाट्य, अनिवार्य तथा अन्तिम सत्य भए तापनि कतिपय मृत्युको खबर झुटो साबित भए हुन्थ्यो जस्तो लाग्ने रहेछ। मलाई पनि मामाहरूको मृत्युको खबर सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ। 

आफैं रोगले थलिएको अवस्थामा परिवारको मियोको रूपमा रहेका जेठा छोराको मृत्युले क्षतविक्षत हुनु भएकी हजुरआमालाई भगवानले सहने शक्ति प्रदान गरुन्। तितो यथार्थलाई स्वीकार्नु बाहेक विकल्प नभएको अवस्थामा माइजूहरू तथा भाइबहिनीहरूमा पनि सहन गर्ने शक्ति मिलोस् भन्ने कामना बाहेक केही गर्न नसक्ने गरी निरीह भएको छु। 

धार्मिक तथा सांस्कृतिक सचेतनाको माध्यमबाट हिन्दु धार्मिक मूल्य–मान्यताहरूको प्रचार गर्दै समग्र विश्व शान्तिको कामना गर्ने अभिप्रायले ठुलो मामाले विश्व शान्ति अभियानका लागि गैरनाफामुलक संस्था चलाउने प्रयत्न गर्नुभएको थियो। विभिन्न सामाजिक संघ–संस्थाहरू सञ्चालन तथा विकासका लागि धार्मिक अनुष्ठानहरूको माध्यमबाट दान सङ्कलन गर्नका लागि नाम मात्रको शुल्क लिएर तथा कहीँ निःशुल्क नै पुराण वाचन गर्ने अभियान जारी नै थियो। तर अब त्यो कार्य अपुरो नै रहने भयो। 

भर्खर तीन दशक पार गर्नुभएका कान्छो मामाको दिनचर्या सङ्घर्षमा नै बित्यो। घर चलाउने सङ्घर्ष जारी नै रहँदा सानै उमेरमा मामाले विश्राम लिनुभयो।

बितेर जानेहरू त गइहाले तर बाँच्नेहरूले जिन्दगीको रथ चलाउनै पर्ने बाध्यता छ। त्यसैले परिवारको बिछोडको पीडालाई समयले मल्हम लगाउँदै जाओस्। मामाहरूको आत्माले शान्ति पाओस्। अलबिदा मामाहरू!       

 

२२ भदौ, २०७८, १२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।