गतिला किताब त्रिविकै कर्मचारीले बेचेर खान्थे, शिक्षक-विद्यार्थी चोरेर पढ्थे

गतिला किताब त्रिविकै कर्मचारीले बेचेर खान्थे, शिक्षक-विद्यार्थी चोरेर पढ्थे
तस्बिरहरू : कृष्पा श्रेष्ठ।

कोरोना महामारीका कारण यतिखेर त्रिवि केन्द्रीय पुस्तकालय बन्द छ। उकेरा टिम त्यहाँ पुग्दा पुस्तकालयका पुराना कर्मचारी दुर्गाराम महर्जन टेक्स्ट बुक शाखाको खाली कुर्सीमा गम खाँदै थिए, अवकाशपछिको जीवन बिताउने योजना बुन्दै।  

हाकिमको उर्दीलाई शिरोपर गर्दै केही महिनायता त्रिवि पुस्तकालयको पाँच शाखाको जिम्मेवारी एक्लै सम्हालिरहेका रहेछन् महर्जन।

टेक्स्ट बुक शाखा, अर्काइभ शाखा, रिफरेन्स शाखा, इतिहास र जियोलोजी सेक्सनका ९०० देख ९९९ सम्म र चन्द्रशमशेरका छोरा सिंहशमशेरको नाममा रहेको सिंह कलेक्सन यिनै महर्जनको निगरानीमा रहेछ। 

२०३३ सालबाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय टेक्स्ट बुक शाखामा कार्यरत महर्जन आउँदो पुस ९ गतेबाट बिदा हुँदै छन्।

अवकाशपछि कसरी समय बिताउने भन्ने चिन्तामा थिए महर्जन। तर उपाय फेला पारे, चिया पसल खोल्ने। शारीरिक काम गर्न बल छैन। पुस्तक पसल खोलौँ, आफ्नो घरको सटरमा चल्दैन। घरभन्दा बाहिर निस्कन उनलाई मन छैन। 

०००
२०३३ सालमा कीर्तिपुर मच्छेगाउँ निवासी महर्जनका पाँच भाइले चुल्हो अलग गर्ने सल्लाह गरे। महर्जन परे जेठो। सबैले आ–आफ्नो बाटो समाते। उनी त्यतिबेला कक्षा १० मा पढ्दै थिए। 

परिवार छुट्टिएपछि के गर्ने त? विवाह पनि भइसकेको थियो। महर्जनलाई जागिरको आवश्यकता थियो। स्थानीय राजनीतिकर्मीसँग सहयोग मागिरहे। फ्याट्ट अस्थायी कर्मचारीका रूपमा त्रिवि केन्द्रीय पुस्तकालयमा जागिर पाए। भनसुनको जमाना भएकाले उनलाई फाइदा पुग्यो।

अब परिवारको आधारभूत आवश्यकता जागिरले टर्न थाल्यो। महर्जनले सोही साल एसएलसी परीक्षा दिए। उत्तीर्ण पनि भए।

‘जागिर र पढाइ दुवै एकै पटक अगाडि बढाउन गाह्रो हुने भएकोले मैले जागिर मात्र रोजें,’ महर्जनले भने। तर समस्या जागिरमा पनि आयो। त्यति बेलाकी पुस्तकालय प्रमुख शान्ति मिश्रको अशान्ति प्रवृत्तिको सिकार पुस्तकालयका कर्मचारी बन्न पुगे। 

बाहिरका मान्छे भेट्नै नपाइने। कसैसँग पनि बोल्न नपाइने। पुस्तकालयमै काम गर्ने कर्मचारीले पनि पुस्तक पढ्न नपाउने समस्याले गाँजेको थियो रे त्रिवि पुस्तकालयलाई।

राजा महेन्द्रका दाइने हात भनिने व्यक्तिकी छोरी थिइन् रे शान्ति। उनलाई शान्तिका पिताको नाम भने याद छैन। राजपरिवारसँग उठबस भएका कारण पनि उनी विरुद्ध बोल्ने आँट कर्मचारीमा थिएन। तर दमन त कति सहन सकिन्थ्यो र? 

पुस्तकालयका कर्मचारीले मोर्चाबन्दी गर्न थाले। तर शान्ति मिश्रलाई खास फरक भने परेन।

२०३३ सालदेखि २०४६ सालसम्म शान्ति पुस्तकालय प्रमुख नै भइरहिन्। महर्जन भन्छन्, ‘राजपरिवारसँग उठबस भएपछि हामीजस्ता कर्मचारीका कुरा कसले सुन्ने? उनी निरंकुश नै भएर बसिन्। अब त अति भयो भनेर हामीले २०४६ सालमा भोक हडताल गर्यौं।’

प्रजातन्त्र बलियो हुने बाटोमा देश अघि बढ्दै थियो। महर्जन लगायतका उनका साथीहरूलाई पनि प्रजातान्त्रिक आन्दोलनले अप्रत्यक्ष रूपमा बल दियो। उनीहरूले एक हप्ते भोक हडताल गरे। अन्ततः शान्ति मिश्रले पुस्तकालय प्रमुखबाट राजीनामा दिइन्। 

शान्ति हटेपछि कर्मचारीलाई केही स्वतन्त्रता भयो। तर त्यो स्वतन्त्रता झुटको खेतीमा अड्किन पुग्यो। ‘हामीलाई केही सहज त भयो तर साना कर्मचारी गलत प्रवृत्ति हेरेर श्वास फुलाउन बाध्य भए,’ महर्जनले भने।

उनलाई व्यक्तिगत रूपमा नै समस्या पर्न गयो।

‘हाकिमको घरमा पानी लाने अनि बिल तिर्ने पुस्तकालयले,’ महर्जन भन्छन्, ‘पुस्तकालयमा चाहिँ पानी नहुने। पानीको लागि पैसा पनि आएकै हुन्थ्यो। मैले हाकिमसँग गुनासो गरें। यो गलत भयो भनें। धेरै समयसम्म ती हाकिमको आँखाको तारो बनिरहें।’

उनी ती हाकिमको नाम भने भन्न चाहँदैनन्। जीवनको चार दशक त्रिवि पुस्तकालयमा बिताएका उनी त्रिविको धेरै कमी–कमजोरीको साक्षी हुँ भन्छन् आफूलाई।

०००
त्रिवि पुस्तकालय राजनीतिको अखडा जस्तै थियो पहिले। आज पनि प्रभाव त छ तर न्यून। महर्जन पुस्तकालय प्रमुख र विभाग प्रमुखहरूको बदमासी सम्झन्छन्। तर उनी तिनीहरूको नाम भन्न चाहँदैनन्। 

‘तिनीहरूको पनि परिवार छ। मेरा बा यस्ता खराब रहेछन् भन्ने सन्तानलाई थाहा किन दिनु,’ उनी भन्छन्‘ किताब किन्न भनेर पैसा आउँथ्यो। किताब पनि किनिन्थ्यो। तर सय वटा किताब किन्ने पैसा छ भने तीन वटा किताब मात्र आउँथे लाइब्रेरीमा।’

सबैभन्दा पहिले हाकिमलाई कमिसन, त्यसपछि विभाग प्रमुखलाई। उनीहरूलाई समर्थन गर्ने कर्मचारी पनि हुन्थे। तीनको नाममा पनि थोरै जाने नै भयो। पुस्तक किन्ने ठेकेदारले पनि खान्छ नै। उसको त व्यापार नै हो। अनि लाइबे्ररीमा चाहिने किताबको जहिल्यै खाँचो। महर्जनले एकै श्वासमा त्रिवि पुस्तकालयको विसंगति सुनाए।

‘अहिले त धेरै कम भयो राजनीति र भ्रष्टाचार। पहिले त हरिबिजोग नै थियो,’ महर्जन भन्छन्, ‘किताब किन्दा त घोटाला गरे-गरे, पुस्तकालयका किताब समेत आफ्ना मान्छेलाई दिएर पठाउँथे कर्मचारीले।’ 

पहिले-पहिले पुस्तकालयका कर्मचारी चिया र चनामा पनि बिक्थे। केही पैसा समातेर पनि महत्वपूर्ण किताब पठाइदिन्थे। हाकिमका आफन्तलाई पुस्तकालयमा पुस्तक लान छुट थियो। यसै भन्छन् महर्जन।

‘कति गतिला किताब त त्रिविकै कर्मचारीले चोरेर बेचे। कति आफन्तलाई पठाए। कति दाइ-दाइ भन्नेहरूलाई बक्सिसमा दिए,’ महर्जनले सुनाए।

कति पुस्तक हराए भन्ने लेखाजोखा आज पनि छैन पुस्तकालयसँग। त्यही चोरी रोक्न डिजिटल कार्डको व्यवस्था गरेपछि भने केही कम भएको महर्जनको अनुभव छ।

०००
अवकाशपछि पनि महर्जनले सबैभन्दा बढी सम्झने अनुहार विद्यार्थीको हो।  रोपाइँको बेला होस् वा ज्यानलाई आराम नहुँदा, विद्यार्थीले पुस्तक चाहियो भन्नेवित्तिकै सकभर आइपुग्थे। विद्यार्थीहरू पनि धेरैजसो उनी आउने दिन पारेर नै पुस्तक लिन आउँथे रे। 

‘रिटायर्ड भएपछि त काम गर्दाका किस्सा सम्झने त हो,’ महर्जन सुनाउन थाल्छन्–
१) एक पटक म चिया खाँदै थिए जर्नल सेक्सन छेउ उभिएर। एक जना विद्यार्थी आए। यताउता हेरे। मान्छे देखेनन्। झ्यालबाट एउटा किताब बाहिर फाले। केहीबेर अरू किताबसँग घोत्लिएर बसे। मैले तिनलाई देखिरहको थिएँ। उनी बाहिर निस्के। म उनी निस्कने वित्तिकै अगाडिबाट निस्केर किताब टिपेर ल्याएँ। उनी पुस्तकालयको पछाडिबाट घुमेर आए। किताब नभेटेपछि एकछिन रन्थनिएर फर्किए। प्रायः लाइब्रेरी आइरहने ती व्यक्ति त्यो घटनापछि कहिल्यै देखिएनन्।

२) जनकपुरका एक विद्यार्थी थिए। लाइब्रेरीबाट किताब लगिरहन्थे। एक दिन तिनले बठ्याँईं गरे। किताबको कभर जस्ताको तस्तै राखेर किताब झिकेछन्। त्यो कभरमा अर्को किताब गमले टाँसेर ल्याएछन्। मेरो हातमा पर्नेवित्तिकै अर्कै किताब समातेको जस्तो लाग्यो। ४४ वर्ष भइसक्यो काम गरेको। कसले, कसरी के गडबड गर्छ म पत्ता लाइहाल्थें। तिनलाई हाकिमकहाँ पुर्याएँ। पछि तिनले माफी मागे। 

३) एक दिन दुई झोला (करिब ४० वटा) किताब बोकेर एक जना शिक्षक पुस्तकालयमा आए र मलाई बुझ्न भने। सबै किताबमा पुस्तकालयको छाप थियो। मैले कसरी पाउनुभयो भनेर सोधें। तिनले उत्तर दिए, ‘मेरो कलेजमा रहेछ र ल्याइदिएको।’ पुस्तक बुझाएर हतारहतार बाहिरिए। ती शिक्षक सधैं किताब चोरेर लैजाँदा रहेछन्।

४) एक पटक त्रिविको होस्टेलमा बस्ने विद्यार्थीको कोठामा लाइब्रेरीका किताब छन् भन्ने सुराक आइपुग्यो। कोठा छापा मार्दा २ सयभन्दा बढी किताब भेटियो। ती किताब कसले लगेको हो भन्ने लाइब्रेरीसँग रेकर्ड नै थिएन। 

०००
महर्जनका हातबाट किताब लिनेहरू आज देशका विभिन्न ओहोदामा छन्। त्यसको एक उदाहरण हुन् बालकृष्ण खाँण। उनी सुनाउँछन्, ‘बलाकृष्ण खाँण अहिलेको गृहमन्त्री मसँग नै पुस्तक लान्थे। आत्मविश्वासी र अलि आँटिला थिए उनी। राजनीतिमा पनि सक्रिय थिए। खुब पढ्थे पनि।’

स्वर्गीय रवीन्द्र अधिकारी,  शंकर पोखरेल, नयनराज जोशी लगायतका धेरै विद्यार्थीले उनका हातबाट दिएका किताब पढेका छन् रे। तर महर्जन आफूले भने पुस्तकालयका किताब उति पढेनन्। 

उनी भन्छन्, ‘सुरुमा अंग्रजी नबुझेर काम गर्न पनि गाह्रो भयो। किताब सबै अंग्रेजीमा हुन्थे। पछि काम गर्दागर्दै अंग्रजी अलि सहज भयो। तर पढ्न जाँगर भएन।’

आफूले पढ्न मन नगरे पनि पढ्नेका लागि भने उनले सधैं वातावरण बनाइरहे। तर, विद्यार्थीले छुट र माहोलको गलत प्रयोग गर्दा भने उनको मन दुख्छ रे। भन्छन्, ‘किताब कसैले च्यात्छ? त्रिविका ५० प्रतिशत किताबका भित्री पाना च्यातिएका छन्। आफूले पढेपछि अरूले पनि पढून् भन्ने संस्कार नै छैन।’

विद्यार्थीको बदमासीकै कारण पुस्तकालय जस्तो खुला ठाउँमा समेत सिसिटिभी राख्नुपर्ने, झ्याल–ढोका थुनिराख्नुपर्ने, विद्यार्थीको पछिपछि लागेर हिँड्नुपर्ने अवस्था छ। पुस्तकालयसँग प्रेम र पठन संस्कृतिको राम्रो अभ्यास नभएसम्म पुस्तकालय सुध्रिने बाटो नै देख्दैनन् उनी।

‘राजनीतिलाई मात्र दोष दिएर हुन्छ? मास्टर्स पढ्ने विद्यार्थी मात्र आउँछन् यहाँ। उनीहरू नै किताब च्यात्छन्। चोर्छन्। कीर्ते गर्छन्। पढेलेखेका भन्नेहरू नै यो देशको ठूलो समस्या हो जस्तो लाग्छ कोही बेला त,’ महर्जन भन्छन्।

अवकाशको दिन नजिकिँदै गर्दा पुराना किताबको हेरचाह झन् बढी गर्न थालेका छन् महर्जन। कुन किताब कहाँ छ, फ्याट्टै  निकाल्न सक्छन्। कुन किताब कस्तो हालतमा छ, कुन किताबको कुन पाना छैन, मर्हजनलाई सबै याद छ।

०००
उनले जनतले राखेका पुस्तक २०७२ को भूकम्पमा तितरबितर भए। ‘भूकम्पको बेला हामीलाई आपत् थियो। सेना र सशस्त्र प्रहरी पुस्तक व्यवस्थापनमा सहयोग गर्न आएका थिए,’ उनी सुनाउँछन्, ‘त्यसबेला पुस्तकालयका १५ हजारभन्दा बढी पुस्तक हराए।’ 

उनी एक प्रसंग कोट्याउँछन्, ‘पुस्तक मिलाउँदै गर्दा धेरै पुस्तक हराए। सशस्त्रका एक जवानले पुस्तक झ्यालबाट बाहिर फाले। मैले देखिरहेको थिएँ। भिलेज प्रोफाइल भन्ने किताब थियो। तिनले पछि त्यो किताब लगे,’ महर्जन भन्छन्, ‘सेना र सशस्त्रले त्यसरी कति किताब लगे हेक्का नै छैन। उनीहरूले मागेर लगेको भए पनि पुस्तकालयले दिन्थ्यो होला। दुःखको बेला साथ दिएका थिए, पुस्तक व्यवस्थापन गर्न।’

आर्मी, सशस्त्र र कर्मचारी बाहेक बाहिरका मान्छे थिएनन् रे पुस्तक व्यवस्थापन गर्दा। आर्मी र सशस्त्रका जवानहरूले पनि पुस्तकालयको पुस्तक चोरी गरेको देख्दा उनलाई विरक्त लाग्छ रे।

‘राष्ट्रपति आउँछन् सिधै प्रमुखकोमा। मन्त्री आउँछन्, नेता आउँछन्, सबै सिधै हाकिमकहाँ जान्छन्। यसो पुस्तकालय डुल्नु। हामी कर्मचारीलाई पनि के-कस्तो छ, पुस्तकालयको समस्या के छ सोध्नु,’ महर्जन भन्छन्, ‘न नेता, न शिक्षक, न विद्यार्थी, न सुरक्षाकर्मी, कसैलाई पुस्तकालयको माया नै छैन। ज्ञानको भण्डारमा गलत नियतले हेर्नेहरु मात्र देख्छु म।’

महर्जन आफ्नो अवकाशपछि आउने कर्मचारी पुस्तकप्रेमी होस् भन्ने चाहन्छन्। 

नयाँ भवन बन्दै छ। पुस्तकालय डिजिटल पनि हुँदैछ। आफ्नो कार्यकालपछि आउनेलाई राजनीति, भ्रष्टाचारले नछोओस्।  विद्यार्थीको पनि मति फेरियोस्।  किताबलाई माया गर्नेहरूको वर्चस्व होस् पुस्तकालयमा भन्ने चाहन्छन् दुर्गाराम महर्जन।

उनी अवकाशपछिको योजना सुनाउँछन्, ‘अब पुस्तक जसरी कपलाई माया गर्ने। विद्यार्थीलाई जसरी ग्राहकलाई स्नेह देखाउने। पुस्तक दिए जसरी मिठो स्वादको चिया दिने। पाठक कुरे जसरी ग्राहक कुर्ने।’

महर्जन किताबको धुलो पुछ्न थाल्छन्।

२१ भदौ, २०७८, १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।