कलंकी सिनेमा हल जो क्रेताको पर्खाइमा छ

कलंकी सिनेमा हल  जो क्रेताको पर्खाइमा छ

‘यो हल सुरु हुँदा म भर्खरकी थिएँ। सबै मानिस नजिक हुन खोज्थे। यहाँ काम गर्ने मानिससँग सम्बन्ध बनाउन पाए सजिलै फिल्म हेर्न पाइने लोभ थियो होला नि!’

यो भनाइ कलंकी सिनेमा हलकी कार्यालय सहायक सानुमैयाँ नेवारीको हो। उनी कलंकी हलमा काम गर्ने एकमात्र पुरानी कर्मचारी हुन्।

हलका मालिक फेरिए, सहकर्मी फेरिए। पुराना पर्दा फेरिए, बस्ने सोफा फेरिए तर उनी जहाँको त्यहीँ छिन्। सानुमैयाँलाई अझै पनि पुराना दिन सम्झेर दिन कटाउने बानी परेको छ।

वि.सं. २०५३ साल। महिना र दिन भने याद छैन सानुमैयाँलाई। त्यही दिन कलंकी चोकभन्दा पारिपट्टि चक्रपथ बाहिर कलंकी सिनेमा हलको जन्म भएको थियो। उनलाई त्यो हालमा चलेको पहिलो फिल्म भने राम्रोसँग याद छ। 

पुरानो दिन सम्झँदै सानुमैयाँले भनिन्, ‘पहिलो स्क्रिनिङ भएकाले त्यो दिन सबैलाई हलमा फिल्म हेर्न निःशुल्क थियो। हलमा खुट्टा टेक्ने ठाउँ थिएन। त्यही समयमा फिल्म ‘अग्निपरीक्षा’ मा नायक राजेश हमाल देखिए। ‘सलाम, सलाम, छड्के सलाम मायाको मेरो हजुरलाई।’

राजेश हमाल गाडी चलाउँदै केटीको पछिपछि हिँडिरहेको दृश्यले हलभरि सिट्टी र ताली गुञ्जिएको थियो। त्यो क्राउड, त्यो भीडभाड अहिले उनका लागि एकादेशको कथा बनेको छ।

सानुमैयाँ भन्छिन्, ‘कोरोनाभन्दा अघिसम्म त यहाँ राम्रो फिल्म लागेको समयमा हाउस फुल नै हुन्थ्यो। जे गर्यो कोरोनाले गर्यो।’

कुरा गर्दा जाँदा उनी विगतमा पुगिहाल्थिन्। ‘टिकट काट्न राति तीन बजेदेखि काउन्टरमा लाइन लाग्थ्यो,’ उनले भनिन्, मेरो काम त सरसफाइ गर्ने हो। तर मानिसले धेरै सम्मानका साथ हेर्थे। टोलछिमेकमा यो त, फिल्म हलमा काम गर्छे भनेर कुरा गर्दा गर्व लाग्थ्यो। परिवारका मानिसलाई निःशुल्क फिल्म देखाइदिन्थें। उनीहरुका अगाडि सान नै फरक हुन्थ्यो। चिनेजानेकाले पनि टिकट काट्न लाइन बस्न पर्दैनथ्यो। मेरो पावर चल्थ्यो।’

सानुमैयाँ अझै रोकिइनन्, ‘सबैले पर्दामा देखेका मानिसहरु हलमा पनि आउँथे, राजेश हमाल, शिव श्रेष्ठ, करिष्मा मानन्धरहरु कहिलेकाहीँ हलमा आउँथे। अहिलेको जस्तो फोटो खिच्ने चलन थिएन तर पनि चिनेजानेका मानिसको अगाडि मेरै आँखा अगाडि यसरी कलाकार देखेको भन्दा आफू निकै शक्तिशाली भएको अनुभूति हुन्थ्यो।’

०००
लामो समयपछि भदौको पहिलो साता नेपाल सरकारले हल खोल्ने अनुमति दियो। हलका प्रोपाइटर विनोद श्रेष्ठले सानुमैयाँलाई काममा बोलाए। घरमा बस्दाबस्दा दिक्क बनेकी सानुमैयाँ हतारिएर कलंकी सिनेमा हलको कार्यालय आइपुगिन्।

सधैं चमकधमक, मानिसको भीडभाड र स्पिकरको आवाज आइरहने हलको अवस्था देखेर उनी एकछिन अक्क न बक्क बनिन्। दर्शक बस्न बनाइएको सिँढीमा टुकुक्क बसिन्। 

हलको अवस्था चारैतिर हेरेर उनी बैराग बनेकी थिइन्। हलभन्दा माथिको छानो मुसाले खाइदिएछ। त्यहाँबाट पानी चुहिएर हलका सोफा कुहिइछन्। दर्शक बस्ने सोफामा पानी चुहिएकै कारण ढुसी गन्हाउन थालेछ।

लामो समयसम्म नबलेका लाइटहरु पनि झिमिक–झिमिक गर्दै बल्ने भएछन्। 

त्यही समयमा हलमा पसल राख्ने गरेकी अर्की महिला आइपुगिन्। उनले कोरोनो आउने बित्तिकै भएका सामान किराना पसलेलाई दिएकी रहिछन्। फेरि सामान राख्ने स्थिति बनेको छ या छैन भन्ने बुझ्नका लागि आएकी रहिछन् उनी।

एकैछिन्मा हलका प्राविधिक लक्ष्मण सिंह आइपुगे। उनले कलंकी हलमा फिल्मको प्राविधिक पाटो सम्हाल्न थालेको १५ वर्ष भएछ। २०६३ सालमा उनी कलंकी सिनेमा हलको प्राविधिक बनेका रहेछन्। 

भारतमा जन्मिएका लक्ष्मणलाई १० कक्षा पढेपछि हलमा फिल्म कसरी चल्छ भन्ने जिज्ञासा लागेछ। त्यसपछि पढाइ छाडेर उनी फिल्म चल्ने कडी खोज्न निस्केछन्। भारतका विभिन्न हलहरुमा फिल्मका पार्टपुर्जा बनाउने मेकानिक हुँदै उनी आफैं फिल्म चलाउन सक्ने ठाउँमा पुगेका रहेछन्।

नेपालमा भने उनी सुरुमा सिन्धुपाल्चोकको नमोबुद्ध चलचित्र मन्दिरमा काम गर्न गएछन्। नेपाल आउँदाको कथा रमाइलो पाराले सुनाए उनले। 

‘मलाई नेपाली भाषा आउँदैनथ्यो। न बोलेको बुझ्ने, न बोल्न आउने। एक जना साथीले नेपालमा हल खुलेका छन्, काम पनि पाइन्छ, पैसा पनि राम्रो हुन्छ भनेपछि उनकै पछि लागेर नेपाल आएँ,’ उनले सुनाए। सिंह भारतबाट सिधै सिन्धुपाल्चोक पुगेका रहेछन्। 

त्यहाँ उनले नेपाली सिके। दुई–तीन लाखमा नेपाल ल्याइएका बलिउड फिल्मबाट ४० लाखसम्म कमाएको उनकै आँखाले देखे सिन्धुपाल्चोकमा। नेपालीको फिल्म मोहबाट लक्ष्मण निकै प्रभावित बनेका रहेछन्।

जब माओवादीको द्वन्द्व चल्यो। सिन्धुपाल्चोकको नमोबुद्ध चलचित्र मन्दिर बन्द भयो। जागिर गएपछि उनी राजधानी आए। सुरुमा अष्टनारायण हलमा काम थाले। यो २०६३ सालतिरको कुरा हो।

‘अष्टनारायणमा पैसा निकै थोरै दियो। कलंकी हलमा प्राविधिक खोजिरहेको रहेछ,’ उनले कुरा अघि बढाए, ‘अष्टनारायणले भन्दा एक हजार बढी पैसा कलंकी सिनेमा हलले दिने भयो। साथमा खान–बस्नका लागि कोठा पनि निःशुल्क।’

उनले त्यो मौका फुत्कन दिएनन्। अहिले १५ वर्षपछि मात्रै उनी हात बाँधेर बस्नु परेको छ। बुढेसकाल लागिसकेकाले अबको जिन्दगी के होला उनले मेसो पाउन सकेका छैनन्।

बिक्रीमा कलंकी हल
अन्य हल धमाधम बन्द भइरहेका छन्। कलंकी हलको अवस्था के छ? जिज्ञासामा प्राविधिक लक्ष्मण सिंहले भने, ‘यो हल पनि बिक्रीमा छ। केही दिनअघि झापाका मानिसहरु किन्न आएका थिए। उनीहरुसँग आर्थिक मामिलामा कुरा मिलेन क्यारे, त्यसैले बिक्री भएन। 

हल बिक्री भए पनि तत्कालै बन्द भने नहुने सिंहको अनुमान छ। उनले भने, ‘यो हलमा भर्खरै नयाँ सिटहरु राखिएको छ। पुरानो पर्दा हटाएर नयाँ राखिएको छ। लागत खर्च नै उठेको छैन। त्यसैले अहिले नै यो हल बन्द भने हुँदैन।’

पान खाएर भित्ताभरि थुकेका दागहरु, नजिक रहेको शौचालयबाट जतिखेरै पिसाबको गन्ध आइरहने, खुट्टा भाँचिएका कुर्सी फेरेर सफा हल बनाउने बित्तिकै कोरोना आयो। नयाँ बनाउन जति खर्च लागेको छ, त्यो उठाउनै नससकेको सिंह बताउँछन्।

सिंहका अनुसार कोरोनाको पहिलो चरण सकिएपछि केही फिल्म हलमा लागे। ‘यस्तो प्रेम कहानी’, ‘गोर्खे’ र एउटा हिन्दी फिल्म लागेको थियो। ती फिल्म हेर्न दर्शककै आएनन्। तर पाँच जना आए पनि फिल्म भने चलाइएको थियो। फिल्म चलाएको पैसाले बिजुलीको बिल तिर्न र खाजा खर्च समेत उठेन। पछि फेरि सरकारले बन्दको घोषणा ग¥यो।’

पाँच महिना पनि फिल्म चलाउन पाएनन् नयाँ साहुले

कलंकी हलका नयाँ साहु हुन् विनोद श्रेष्ठ। भाडामा रहेको उक्त हल उनले २०७६ सालको सुरुवाततिर आफ्नो बनाए। फोहोरेको डंगुर थुप्रिएको हललाई उनले सफा बनाए। बाटोमा रंगिबिरंगी लाइट जडान गरे। गेटमा फूलका गमला पनि राखे। मल्टिप्लेक्समा फिल्म हेर्न जाने दर्शकलाई तान्न उनले निकै कोशिस गरे। हलमा नयाँ पर्दा, नयाँ सोफा ल्याएर हललाई हलजस्तै बनाए। 

भदौबाट पुनःनिर्माणसँगै हल सञ्चालनमा आयो। माानिसले उनको मिहिनेतलाई मन पनि पराए। श्रेष्ठले हौसिँदै भने, ‘पहिले चप्पल लगाउने मानिस मात्रै हलमा आउँथे। पछि त मोटरसाइकल, कहिलेकाहीँ गाडी पार्किङ गर्नेहरु समेत आएका थिए।’

भदौदेखि पुससम्म हल हाउसफूल नै भयो। दर्शकको भीडभाड देखेर श्रेष्ठ मख्ख थिए। तर फागुनबाटै फिल्महरुले प्रदर्शनका मिति अनिश्चित समयका लागि सार्न थाले। चैतको पहिलो साताबाट त सरकारले लकडाउन नै ग¥यो। त्यो बेलादेखि सुनसान बनेको कलंकी सिनेमा हल अहिलेसम्म मौन छ।

फिल्म चलाउन हल तयार छ तर फिल्म छैन


अब भने नेपाल सरकारले हल सञ्चालनका लागि अनुमति दिएको छ। पहिलो चरणको कोरोनापछि पनि हल नखुलेका हैनन्। त्यो समयमा सरकारले सबै क्षेत्र चलायमान बनाए पनि फिल्म क्षेत्रलाई खुला बनाएको थिएन। हल व्यवसायीहरुले विरोध स्वरुप आफैं हल खोले र कोभिडको पहिलो लहरको मर्कामा परेका ‘आमा’, ‘सेन्टी भाइरस’ लगायतका फिल्म लगाउन थाले। तर दर्शक हलमा गएनन्। पछि सरकारले ५० प्रतिशत अकुपेन्सी सहित हल खुलायो। तर दर्शक हलमै नगएपछि फिल्म अगतिलो परेको, यस्ता फिल्मले हल जाने दर्शकलाई समेत भड्काउने भन्दै प्रायः बन्द जस्तै बने। 

अहिले सरकारले हल खोल्न अनुमति दिए पनि हलवालासँग फिल्म छैन। कलंकी सिनेमा हलका कामदारहरु पनि हल चिटिक्क बनाउनेतिर लागेका छन्। प्राविधिक लक्ष्मण सिंह त आफू फिल्म चलाउन तयारी अवस्थामा रहेको बताउँछन्। तर बिडम्बना, हलमा फिल्म छैन। हलवाला फिल्म आउला र चलाउँला भनेर तयारी अवस्थामा छन्।

२१ भदौ, २०७८, ०७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।