बच्चाले बिगारेको मोबाइल, मोबाइलले बिगारेका बच्चा

बच्चाले बिगारेको मोबाइल, मोबाइलले बिगारेका बच्चा

समय–समयमा आउने प्राकृतिक विपत्ति, रोग, महामारीले मानव जीवनलाई अस्तव्यस्त पार्ने गरेको छ। यतिखेर कोभिडको महामारीले मानिसलाई निकै सताइरहेको छ।

कोरोना महामारीले मानिसको बानी–व्यवहारमा धेरै परिवर्तन ल्याएको छ, विशेष गरी बालबालिकामा। अहिलेका बालबालिकाको दुनियाँ भनेकै मोबाइल बन्न पुगेको छ। मोबाइल भएपछि कोही चाहिँदैन, त्यसैमा अलमलिएर बस्छन् बालबालिका।

पहिला–पहिला बालबालिका घरबाहिर खेलिने लुकामारी, डन्डिबियो, भोगटेको भकुन्डो लगायतका खेलहरू खेल्थे। चौतारीमा जम्मा भएर साथीभाइसँग रमाउँथे। उमेर पुगेका केटाकेटीहरू मेलापात, पर्म, घाँस दाउरा, गोठाला पुग्थे। आफ्ना मनका कुरा साथीभाइसँग साट्थे। उनीहरू प्रत्यक्ष रूपमा प्रकृतिसँग समेत गाँसिएका थिए।

यस्ता क्रियाकलापले मानसिक र शारीरिक विकासमा महत्त्वपूर्ण योगदान दिन्छ। यस्तो वातावरणमा हुर्केका बालबालिका स्वस्थ र फुर्तिला हुन्छन्। तर जति–जति प्रविधिको विकास हुँदैछ, त्यति नै जनजीवन पनि खुम्चिँदै गएको छ। त्यसमा पनि बालबालिकाको जीवन त यो महामारीले कोठाभित्रै सीमित पारेको छ।

अनलाइन कक्षा सुरु भएसँगै बच्चाको दिनको सुरुवात मोबाइलबाटै हुन्छ र त्यो क्रम नसुतेसम्म रहन्छ। कतिपय बालबालिकालाई खाना खुवाउन पनि मोबाइल नभई हुँदैन। हामी अभिभावकले पनि सहजता खोज्दा आफ्ना बालबालिकालाई नराम्रो बाटोतिर पो लगिराको छौँ कि, विचार गर्नुपर्ने समय आएको छ।

आफ्नो काममा बाधा नपारोस् भनेर साना साना बच्चालाई मोबाइलमा कार्टुन देखाई राख्नाले पनि भविष्यमा त्यस्तै बानी बस्छ र आफैँ पछुताउनुपर्ने हुन्छ। भनिन्छ नि, ‘नानीदेखि लागेको बानी’।

अनलाइन कक्षाको बहानामा बच्चाहरू विभिन्न अनलाइन गेममा अलमलिन पुगेका छन्। लामो समयसम्म यस्ता गेममा अल्झिनाले बालबालिकामा विभिन्न किसिमका मानसिक र शारीरिक समस्या देखा पर्न थालेका छन्।

मोबाइलका कारण बच्चा एकोहोरो हुने, खाना खान मन नगर्ने, रिसाउने, पढ्न-लेख्न नचाहने, एक्लै बस्न मन पराउने, अरू मानिससँग बोल्न नचाहने, नयाँ मानिस देखेमा बोल्न नचाहने, चाडपर्व, जात्रामा नजाने, हाम्रा परम्परागत चाडपर्वलाई वास्ता नगर्ने, विदेशी पर्वमा रमाउने गरेको देखिन्छ।

आज बच्चाले बिगारेको मोबाइल कि मोबाइलले बिगारेको बच्चा भन्नेबारे केही कुरा राख्न चाहन्छु।

अनलाइन कक्षाको सुरुवातसँगै मोबाइल, ल्यापटप लगायतका सामानको माग बजारमा  बढेको छ। मोबाइल मर्मत गर्ने पसलहरूले यसै अवसरमा प्रशस्त आम्दानी गरिरहेका छन्। वर्षौँदेखि थन्किएका पुराना मोबाइलहरूको व्यापार ह्वात्तै बढेको छ।

साना साना बालबालिकाले अनलाइन कक्षा लिने क्रममा मोबाइल खसेर फुट्ने, बिग्रने हुनाले आजकल मोबाइल मर्मत गर्ने पसलहरूमा कामको भ्याइनभ्याइ देखिन्छ। साथै नयाँ मोबाइल किन्नेको भीड पनि उत्तिकै देखिन्छ।

यसै अवसरको फाइदा उठाउँदै मोबाइल पसलहरूले पुराना मर्मत गरिराखेको तर लिन नआएको मोबाइलहरू धमाधम बिक्री गरिरहेका छन्।

कोरोनाको महामारीले सम्पूर्ण व्यापार व्यवसाय धरापमा परे पनि अनलाइनमार्फत अफिसियल कामहरू साथै अनलाइन कक्षा सुरु हुनाले मोबाइल, कम्प्युटर, ल्यापटपको बिक्री बढेको छ। साथै कम मूल्य पर्ने (अनलाइन कक्षाका लागि उपयुक्त) मोबाइलहरू बजारमा पाउन छोडिसक्यो।

एक त कोरोनाको कारणले उत्पादन नै कम भइरहेको र बजारमा बढी माग हुनाले पनि कम आयस्रोत भएका अभिभावकहरू मारमा पर्ने गरेका छन्। यसै सन्दर्भमा बच्चाले बिगारेका, फुटाएका मोबाइलहरू त बन्न सक्लान् तर २४ घण्टा मोबाइलमा रमाउन थालेका बालबालिकालाई कसरी सुधार्ने होला? यो एक गम्भीर प्रश्न हामी सबैको मनमा उठेको होला।

मोबाइल नदिँदा बच्चाले पढ्न पाउँदैनन्, दिँदा पनि अनलाइन कक्षाको बहानामा कोठा बन्द गरी घन्टौँ भित्र बसी अनावश्यक कुराहरू हेर्ने गर्छन्। झन् कामकाजी अभिभावकको लागि त अनलाइन कक्षा एक परीक्षा नै भएको छ।

लकडाउन खुलेसँगै आफू रोजगारीमा लाग्नुपर्ने र दिनभर बच्चाहरू मात्र घरमा रहनाले उनीहरूको मानसिक अवस्थामा नकारात्मकताको मात्रा बढेको अभिभावकको गुनासो छ।

अनलाइन कक्षामा रहँदा पनि भिडियो बन्द गरी आफूलाई मन परेको कुरा गरिरहनाले उनीहरूको पढाइमा पनि नकारात्मक असर परेको देखिन्छ। अब त स्कुल खुले पनि भौतिक रूपमा जान नपरे हुन्थ्यो भन्ने बालबालिकाको मनस्थिति देखिन्छ।

कोभिड अगाडि कक्षामा राम्रो गर्ने बालबालिकाको पढाइ अनलाइन कक्षामा निकै नै खस्किएको शिक्षकहरू नै बताउँछन्। अनलाइन कक्षामा भौतिक कक्षामा जस्तो नियन्त्रण गर्न पनि नसकिने हुनाले बालबालिकालाई सक्दो मिहिनेत गरी पढाउँदा पनि परिणाम सन्तोषजनक नभएको गुनासो शिक्षक-शिक्षिकाको छ।

मोबाइल लगायतका आधुनिक प्रविधिले मानव जीवनलाई सहज पार्ने भए पनि बालबालिकाको सामाजिकीकरणमा नकारात्मक असर पारिरहेको देखिन्छ। विभिन्न प्रविधिले हाम्रो समाजलाई पनि विश्व परिवेशमा सामेल गरेको छ तर यी राम्रा कुरासँगै नकारात्मक कुराहरू पनि भित्रिँदै छन्। त्यसबारे बेलैमा सजग हुनु जरुरी छ।

अभिभावकले पनि आफ्ना जीवन भोगाइका कुराहरू बेलाबेलामा  बालबालिकालाई सुनाउनु जरुरी छ। जसबाट बालबालिकाले आफ्ना अभिभावकको दुःख, पीडा बुझ्ने मौका पाउन्। र, आफूले पाएका सुविधालाई सही रूपमा प्रयोग गर्न सकुन्।

कतिपय अभिभावक आफूले त दुःख पाइयो, अब छोराछोरीलाई सुख दिन्छु भन्दै आफ्ना कुराहरू सुनाउँदैनन्। जसले गर्दा  बालबालिकाले दुःख, पीडाबारे थाहा नै पाउँदैनन् र अभिभावकले जसोतसो दुःख गरेर दिएको सुविधाले  मात्तिन पनि सक्छन्। बिग्रिन पनि सक्छन्।

त्यसैले बालबालिकालाई सानैदेखि सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान पनि दिन जरुरी छ। बालबालिका भनेका काँचो माटो जस्तै हुन्। बेलैमा सही आकारमा ढाले मात्र भविष्यमा पछुताउनु पर्दैन।

२० भदौ, २०७८, ०७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।