भोटसँग डराएका भरतमणी

भोटसँग डराएका भरतमणी

प्रतिस्पर्धीले नै चर्चा नभएको शो भन्दै उडाउँदै आएको कमेडी च्याम्पियन अहिले एकाएक चर्चामा आयो। चर्चाको कारण बन्यो, च्याम्पियनका दुई दाबेदार भरतमणि पौड्याल र सिक्किमका विक्की अग्रवालको प्रस्तुति।

क्यारिकेचरलाई आफ्नो अस्त्रका रूपमा प्रयोग गर्ने पौड्याल र लजिकल कमेडीमा बढी झुकाव राख्ने अग्रवालको मात्र एपिसोड गत शनिबार देख्न पाए दर्शकले।

‘प्रफमर अफ द राउण्ड’ जितेर सिधै टप थ्रीमा प्रवेश गरेका पौड्यालको जति चर्चा भयो, विक्कीको प्रस्तुतिलाई जज सन्तोष पन्त विवादमा तानिए।

यहाँ हामीले चर्चा गर्न खोजेको विषय भने पौड्यालको चलाखी हो। अघिल्लो वर्षको गाईजात्रामा पूर्वयुवराज पारस शाहको नक्कल गरेका उनले केही एपिसोडअघि थोरै नक्कल गरेर दर्शकको मनमा पारेको उत्तेजनालाई समाते।

उसो त रामनारायण बिडारी, राजेन्द्र महतो, योगेश भट्टराई लगायतका नेताको नक्कललाई हुबहु निभाएका पौड्यालले पूर्वयुवराज शाहको नक्कलमा पनि कुनै कसर बाँकी राखेनन्। शारीरिक हाउभाउ, कथ्य शैली र विविध मनोदशामा देखिने रूपलाई पौड्याल सुन्दर ढङ्गबाट निभाउँछन्। यो उनको गम्भीर साधना हो, त्यसमा दुईमत छैन।

‘म जित्न नै आएको हुँ’ भन्दै आएका उनले टप थ्रीका लागि नै पारसको नक्कललाई जोगाइराखेका रहेछन्। उनले यो तथ्यलाई विभिन्न अनलाइन मिडियामा समेत स्वीकारेका छन्।

नेपालमा कमेडीको परिभाषा कलाकार अनुसार फरक छ। कसैलाई राजनीतिक गन्ध नभएको कमेडी,कमेडी लाग्दैन भने कसैको नौटङ्कीपन नभएसम्म हँसाउन सकिँदैन भन्ने मत छ। कसैलाई फरकपन अपनाउन मनपर्छ भने कोही पुरानै कमेडीको परम्परालाई थोरै परिमार्जन गरेर स्थापित हुने दौडमा छन्। त्यही दौडको निरन्तरता हो पौड्यालको कमेडी पनि।

उसो त विकृत शारीरिक रूप, कमजोरी र राजनीतिक प्रणीहरुको नक्कल नै नेपाली कमेडीको मानक बनेको छ आजकल। धुव्र हाडा, मह जोडी लगायतका केही कमेडियनलाई छाड्ने हो भने नेपाली कमेडीमाथि भनिएको मानककै परिधिमा रुमलिएको पाइन्छ। हाम्रा दर्शकको चेतना र चाहना समस्यामुलक कमेडी हो। कसैको समस्या, कमजोरीमाथि व्यंग्य, नक्कल गरियो भने नेपाली दर्शकलाई हँसाउन गाह्रो छैन।

कमेडी वियोगान्त तथ्यबाट जन्मन्छ भन्ने सिद्धान्तको विकृत रूपलाई बोकेर हुर्किएको नेपालको कमेडीलाई दर्शकले मन पराएका छन्। तर कमेडियनले भने कमेडीको विविध आयाम र विधालाई मनन र अभ्यास गर्नु जरुरी देखिन्छ।

विगत ५ वर्षभन्दा बढी समयबाट विभिन्न साना-ठूला स्टेज प्रस्तुति दिँदै आएका पौड्यालले नेपाली दर्शकको कमेडी चेतना र उनीहरूको उद्वेगको संवेदना च्याप्पै समातेका छन्। त्यसको निखार रूप गत शनिबारको उनको प्रस्तुति हो।

उति उग्र रूपमा राजनीतिक व्यंग्य पौड्यालले यस सिजनमा प्रस्तुत गरेनन्। उनका स्टेज प्रस्तुति हेर्ने हो भने माथि भनिएको परम्परागत कमेडी नै मुख्य देखिन्छ। राजनीतिक व्यक्तिमाथि व्यंग्य,कसैका कमी कमजोरी, द्विअर्थी शब्दको प्रयोग र नक्कलमा थोरै कथात्मक कथ्य यो नै पौड्यालको देखिँदै आएको कमेडी थियो।

यस सिजनमा पौड्यालले राजनीतिलाई चटनीको रूपमा मात्र प्रयोग गरे। उनी विभिन्न नेताका नक्कल गर्थे। दर्शक र जजहरूको हाँसोको फोहोरा पौड्यालको घाँटीले छुटाइहाल्थ्यो। सामाजिक विषयवस्तुलाई पनि उनले चटनीका रूपमा भन्दा फरक मानेनन् यस सिजनमा। मुलत: उनी चरित्र प्रधान भएर प्रस्तुत हुन रुचाउँछन्। यो पौड्यालको सेफ ल्यान्डिङको एक रणनीति हो।

चरित्र प्रधान हुँदैमा कसरी चलाखी हुन्छ? पौड्यालको सुरुवाती प्रस्तुतिबाट नियाल्ने हो भने चरित्रमा नै उनको विषयवस्तु लुक्छ। गत शनिबार पनि उनले त्यसै गरे।

चरित्र प्रधान हुँदा कलाकारलाई चरित्रसँग र उसको मनोदशासँग घेरिएर प्रस्तुति दिने छुट हुन्छ। चरित्रको मनोदशाको परिष्कृत रूपमा पनि सीमितता हुन्छ। त्यसैले सबै समेट्नुपर्छ भन्ने हुँदैन। एक हिसाबले चरित्र प्रधान कमेडी कलाकारको लागि सर्वप्रिय हुने उपाय पनि हो। र, यो गाह्रो प्रस्तुति माध्यम पनि हो। यसो भनिरहँदा कमेडीको अन्य पक्ष समेट्ने चाहिँ सर्वप्रिय हुँदैनन्? भन्ने प्रश्न उठ्न सक्छ। 

यहाँ हामी पौड्याल र उनको प्रस्तुतिगत प्रधानताका विषयमा मात्र कुरा गर्दैछौँ।

चरित्रगत प्रस्तुतिमा दर्शकलाई नबिच्क्याउने उपाय पौड्यालले जानेका छन्। आफ्ना दर्शक को हुन् र कस्ता छन् भन्ने चेत उनमा प्रबल छ। त्यसैले प्रस्तुतिमा समाज पक्ष/विपक्षमा बाँडिने प्रस्तुति उनले दिँदैनन्। उनी सबैलाई आफूतिर तान्न खोज्छन्। उनलाई भोट नआउला कि भन्ने पिरले खुबै सताएको छ। उनी अहिले खुल्मल-खुला ‘मेरा बा-आमा ताप्लेजुङमा चिया बेच्छन्। पैसाको चलखेल भएन भने जित्छु’ भन्दै आएका छन्। यसले पनि उनी भोटसँग कति डराएका छन् भन्ने देखाउँछ।

आफ्नो क्षमताको भरपुर प्रयोग गर्नुका अलावा उनी सबै पक्षलाई रिझाएर भोट बटुल्ने रणनीतिमा सुरुवाती समयबाट नै लागे। कसैलाई बिच्क्याएनन्, बिझाएनन्। र, उनी बनिरहे कमेडी च्याम्पियनका मणि ‘भरतमणि’।

तर, गत शनिबार पारस शाहको प्रस्तुतिपछि उनलाई राजावादीका फोनहरू आए। उनले धन्यवाद पनि खाए। आफ्नो प्रस्तुति हेरे पूर्वयुवराज शाह खुसी हुने केही सञ्चार माध्यममा दावी गरे। उनी खुसी पार्न नै लागिपरेका छन् भोटका लागि। उसो त गत शनिबारको प्रस्तुतिमा प्रगतिशील भनिनेलाई पनि उनले खुसी पार्न र प्रगतिशील भनिनेहरूबाट बच्न ‘व्यवस्थापन गलत’ लगायतका एक दुई पञ्च लाइन अस्त्रका रूपमा छाडे। 

पारस शाहलाई सकारात्मक दृष्टि चेतले प्रस्तुत गरेका पौड्यालले अफगानिस्तानको उदाहरण दिँदै भने, ‘हामी त यही छौँ’ यो लाइनले धेरैलाई सोच्न बाध्य पनि बनायो। चरम राजनीतिक वितृष्णाको सिकार भइरहेको वर्तमान समयमा राजा नै पो ठिक थिए कि भन्ने जनभावले स्थान ओगटिरहँदा पौड्यालको प्रस्तुतिले राजावादीलाई बल पुग्यो।

हत्तपत्त नउभिने र उभिए पनि अरू उभिएको देखेर ‘उभिँदैन’ भन्ने आरोप लाई चिर्न बाध्यताबस उभिने जज सन्तोष पन्तले पहिलो पटक च्याम्पियनको इतिहासमा दुई पटकसम्म उभिएर पौड्याललाई सम्मान दिए। यसले पनि राजावादीहरू यो प्रस्तुतिलाई सकारात्मक लिन्छन् भन्ने देखिन्छ।

अनि, अर्कोतर्फ प्रगतिशील भनिने खेमाले केही विरोध गर्ने तथ्य भए पनि उति चर्को आलोचना गर्नुपर्ने प्रस्तुति र कथ्यमा भरतमणिले स्थान दिएनन्। उनी जोगिए। प्रजातान्त्रिक खेमाका लागि पूर्वयुवराजको नक्कल आफै‌ंमा रमाइलो थियो। कतै बिच्किने, बिच्क्याउने ठाउँ उनले दिएनन्।

यो सबैको  पछाडि भरतमणिको रणनीति के हो भने उनी कसैलाई पक्ष/विपक्षमा धेरै नपारी, सबैलाई समेटेर निर्विवाद विजेता बन्न चाहन्छन्। 

तर, युवा पुस्तामा आस गरिएका, दर्शक र समाजको हाँस्य चेतलाई केही हद बुझेका पात्र पौड्यालले सुरक्षित अवतरण नखोजी आफ्नो क्षमतामा नयाँ प्रयोग गर्दै जानु उचित हुनेछ। 

१४ भदौ, २०७८, १०:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।