प्रधानमन्त्री पत्नी आरजुको ‘इन्ट्रेस्ट’ ट्रमा अस्पताल प्रमुखमा

प्रधानमन्त्री पत्नी आरजुको ‘इन्ट्रेस्ट’ ट्रमा अस्पताल प्रमुखमा

काठमाडौँ : राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ-सिनियर चिकित्सकलाई पन्छाएर दशौँ तहका डा प्रमोद जोशीलाई नियुक्त गर्ने तयारी भएसँगै वरिष्ठ चिकित्सकहरू विपक्षमा उभिएका छन्।

ट्रमामा ११ औँ तहका चिकित्सहरु समेत कार्यरत छन्। तर प्रधानमन्त्रीको सचिवालयको दबाबमा कनिष्ठलाई नियुक्तिको तयारी गरेपछि ११ औँ तहका चिकित्सक तथा विभागीय प्रमुखहरूले जोशी नियुक्त भए उनलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्।

जोशी धनगढीको सेती प्रादेशिक अस्पतालबाट करिब ४ महिना अघि मात्रै काज सरुवामा ट्रमामा आएका हुन्। उनलाई अस्पतालको प्रमुखमा नियुक्त गर्न प्रधानमन्त्री शेर बहादुर देउवा पत्नी आरजु राणा सक्रिय रहेको दाबी ट्रमाका चिकित्सकहरू दाबी गर्छन्।

जोशीलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढेको सूचना पाएपछि ट्रमामा कार्यरत चिकित्सकको एक समूहले आइतबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर  स्वास्थ्य सचिव रोशन पोखरेललाई पत्र बुझाएका छन्।

आइतबार बिहान करिब साढे १० बजे चिकित्सकको टोली मन्त्रालय पुगेर बुझाएको पत्रमा कनिष्ठलाई अस्पताल प्रमुख बनाए काम गर्न नसक्ने उल्लेख छ। प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य सचिवलाई पत्र बुझाउने चिकित्सकमा ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनी, डा. ममता भट्टराई, डा. रुपेश यादव, डा. अभयकुमार पोखरेल, डा. शिलु श्रेष्ठ, डा. विनोद शेरचन छन्।

साढे १०-११ बजेतिर ट्रमा सेन्टरका चिकित्सकहरू मन्त्री श्रेष्ठलाई भेन्ट पुगे पनि के विषयमा भेट्न पुगेका हुन् भन्ने विषय आफूलाई जानकारी नभएको राज्यमन्त्री श्रेष्ठका निजी सचिव कपिल तिमल्सेनाले जानकारी दिए।

उनले भने,‘ट्रमा सेन्टरका डाक्टरहरूले मन्त्रिज्यूलाई भेट्नु भयो। तर, के विषयको लागि आउनु भएको हो मलाई थाहा भएन। भेट्नचाँहीं भेट्नुभयो।’

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पनि ट्रमाका चिकित्सकहरूले पत्र बुझाएको पुष्टि गरे। उनले भने,‘पत्र दिनुभएको हो, मन्त्रीज्यूलाई। बोधार्थ मलाई हो।’

उनले कसलाई ट्रमा सेन्टरको प्रमुख बनाउने प्रक्रिया सुरु गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको दाबी गरे।

अहिले पनि ट्रमामा १० औँ तहका डा सन्तोष पौडेल प्रमुख छन्। चिकित्सकहरूले बुझाएको प्राप्त पत्रमा ‘नेपाल सरकार अन्तर्गत रा.प्र.प्रथम श्रेणी (एघारौँ तह) का चिकित्सकहरू राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत रहँदा पनि दसौँ तहका कनिष्ठ चिकित्सकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएकाले दैनिक कार्यमा कठिनाइ भइरहेको’ उल्लेख छ।

११ औँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (प्रमेसु) को दरबन्दी  भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा अपमानित भएको पत्रमा उल्लेख छ।

पत्रमा चिकित्सकले भनेका छन्,‘नेपाल सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहीन भएको महसुस गरेका छौँ।’

पहुँचको आधारमा गरिने गलत परम्पराको अन्य गरी कार्यदक्षता र वरिष्ठताको आधारमा स्वास्थ्य सेवा ऐन तथा नियमावली अनुसार जिम्मेवारी दिने परिपाटीको सुरुवात गर्न पत्रमा माग गरिएको छ।

ट्रमा सेन्टरको निमित्त प्रमुख बन्ने चर्चामा रहेका डा. जोशीले भने आफू प्रमुखमा नियुक्त हुन लागेको कुरामा अनभिज्ञता जनाए। उनले भने,‘खै मलाई पनि थाहा भएन। जसलाई नियुक्त गर्छ उही हुने त होला नि।’

यसअघि साउन १९ मा पनि प्रधानमन्त्री देउवाको दबाबमा कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त प्रमुख प्रशासकीय अधिकारीमा १० औँ तहका चिकित्सक डा. भूपेन्द्र बस्नेत नियुक्त भएका थिए।

पहिला ११ औँ तहका चिकित्सक डा. रुद्र मरासिनीको नियुक्ति भएको थियो। रातारात निर्णय परिवर्तन गर्दै बस्नेतलाई निमित्त प्रमुख बनाइयो। बस्नेतको नियुक्तिमा प्रधानमन्त्री पत्नी आरजुले प्रभाव पारेको चिकित्सकहरूले दाबी गरेका थिए।

डा. बस्नेत नियुक्त हुनअघि युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम थिए।

१३ भदौ, २०७८, १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।