९० प्रतिशत छुटमा उपचार गर्ने टियुका विद्यार्थी बढ्न थाले

९० प्रतिशत छुटमा उपचार गर्ने टियुका विद्यार्थी बढ्न थाले

यशोदा आँखामा समस्या निम्तिएपछि ‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोष’ बाट उपचार सुविधा लिनका लागि क्याम्पसमा निवेदन दिन पुगेकी रहिछन्। उनले उकेरासँग भनिन्, ‘आँखामा समस्या भयो। उपचार गर्न विद्यार्थी स्वास्थ्य उपचार कोषबाट सुविधा लिने प्रक्रियामा छु।’

एक साताअघि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरमा अध्ययनरत अर्का विद्यार्थी पनि छुटमा उपचार सुविधा लिन त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुगेका थिए। नाम खुलाउन नचाहेका ती विद्यार्थीसँग बुधबार सम्पर्क गर्दा भिटामिन ‘डी’ को अवस्थाको जाँच गराएको सुनाए। उनले भने, ‘भिटामिन डीको जाँच गराएँ।’ ९० प्रतिशत छुट सुविधामा जाँच गराएका ती विद्यार्थीले सुविधा लिने प्रक्रिया झन्झटिलो नभएको अनुभव सुनाए।

०००
‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी स्वास्थ्योपचार कोष सम्बन्धी कार्यव्यवस्थापन प्रणाली-२०७१’ मा व्यवस्था भएअनुसार विद्यार्थीले स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट पाउँछन्। त्रिभुवन विश्वविद्यालय तथा यस अन्तर्गतका शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थीले एक लाखसम्म स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था छ। बिरामी परेको खण्डमा विद्यार्थीले देशभरका ६० वटा अस्पतालबाट स्वास्थ्य उपचारमा छुटको सुविधा पाइन्छ।

कार्यव्यवस्थापन प्रणाली-२०७१ बनेपछि ‘विद्यार्थी स्वास्थ्योपचार कोष’ स्थापना भयो। त्यसपछि विद्यार्थीले स्वास्थ्य उपचार खर्चमा छुट पाउने व्यवस्था भएको हो। स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले कोषबाट सुविधा लिन पाउँछन्।

सुविधा लिने बढ्दै
आरआरकी यशोदा र कीर्तिपुरका ती विद्यार्थीले जस्तै स्वास्थ्य उपचार सुविधा लिने विद्यार्थीको संख्या बढिरहेको पाइएको छ। रत्नराज्य लक्ष्मी क्याम्पसका ‘क्याम्पस विद्यार्थी कल्याण प्रमुख’ देवी घिमिरे स्वास्थ्य उपचार सुविधा लिनका लागि क्याम्पसमा निवेदन दिन पुग्ने विद्यार्थी केही दिनयता बढ्न थालेको बताउँछन्।

घिमिरे भन्छन्, ‘गतवर्ष ४/५ जनाले मात्रै सुविधा लिएका थिए। यो वर्ष केही दिनयता बढेका छन्।’

त्रिविका विद्यार्थीले स्वास्थ्य उपचारमा ९० प्रतिशत छुट पाउने विषयमा उकेराले २९ साउनमा समाचार सम्प्रेषण गरेको थियो।

त्रिविमा अध्ययन गर्ने विद्यार्थीका लागि स्वास्थ्य उपचारमा छुट पाउने ६० वटा अस्पतालमध्ये एक हो, त्रिवि शिक्षण अस्पताल (टिचिङ)।

त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले पनि केही दिनयता स्वास्थ्य उपचार सुविधा लिने विद्यार्थीको संख्या बढेको देखिएको जानकारी दिए।

उनले भने, ‘पहिला महिनामा ३/४ जना हुन्थे। अहिले हप्तामै अस्पतालमा ५/७ जना आउन थाले।’ अधिकारीसँग साउन २९ अघि उकेराको समाचार रिपोर्टिङको सिलसिलामा यस विषयमा जिज्ञासा राख्दा वर्षमा २०/३० जना विद्यार्थीले मात्रै शिक्षण अस्पतालबाट छुट लिएर उपचार गर्ने गरेको बताएका थिए।  

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयकी उपप्रशासक सरस्वती गुरुङ पनि लकडाउनपछि केही दिनयता स्वास्थ्य सुविधाको सिफारिस लिएर पुग्ने विद्यार्थीको संख्यामा केही बढेको देखिएको बताइन्। उनले भनिन्, ‘अहिले दैनिक २/३ जना विद्यार्थी क्याम्पसबाट पत्र लिएर आउनुहुन्छ। क्रमशः बढ्दै गएको देखिन्छ।’

क्याम्पस र विद्यार्थी संगठन नै जागरुक छैनन्
तर, स्वास्थ्य उपचार सुविधा लिने विषयमा कयौं विद्यार्थीलाई थाहा नै छैन। क्याम्पसहरुले नै विद्यार्थीलाई स्वास्थ्य उपचार पाउने विषयमा जागरुक गराएको देखिँदैन। नयाँ विद्यार्थी भर्ना गर्दा सहयोग डेस्क अगाडि राखेर सहयोगी जस्तो देखिने विद्यार्थी संगठनहरुले पनि विद्यार्थीलाई स्वास्थ्य सुविधा पाउने विषयमा जागरुक गराएको देखिँदैन।

रत्नराज्य लक्ष्मी क्याम्पसका घिमिरेले स्वास्थ्य उपचार सुविधा लिने सवालमा कमै विद्यार्थीले मात्रै थाहा पाउने गरेको स्वीकारे। उनले भने, ‘कमै विद्यार्थी जानकार छन्। कतिले त यो सुविधा लिन झन्झट होला भन्ठानेर लिँदैनन्।’

यो विषयमा विद्यार्थीले देख्नेगरी क्याम्पसहरुले सूचना टाँसेको समेत देखिँदैन। विद्यार्थीका लागि स्वास्थ्य उपचार सुविधा कार्यान्वयनको सुरुवातमा क्याम्पसले स्वास्थ्य सुविधा लिने सम्बन्धी सूचना टाँसेको घिमिरे बताउँछन्। उनी भन्छन्, ‘सुरुमा सूचना टाँसेको थियो।’

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली पनि विद्यार्थीले स्वास्थ्य उपचार सुविधा पाउने विषयमा प्रचारप्रसारको कमी भएको स्वीकार गर्छन्। उनी भन्छन्, ‘हामीले लडेर प्राप्त गरेको उपलब्धि हो। कार्यान्वयन फितलो भयो कि जस्तो लाग्छ मलाई।’

विद्यार्थीले स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था कार्यान्वयनका लागि विश्वविद्यालय तथा क्याम्पसहरुको प्रभावकारी गतिविधि नभएको उनको तर्क छ। यसको कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्नुपर्ने अध्यक्ष पराजुली बताउँछन्। विद्यार्थीको स्वास्थ्य सुविधाको कार्यान्वयनका लागि थप प्रभावकारी ढंगले रचनात्मक कार्यक्रम गर्ने अध्यक्ष पराजुलीको दावी छ।

नेविसंघका अध्यक्ष राजीव ढुंगाना पनि विद्यार्थीले स्वास्थ्य उपचार सुविधा लिने विषय प्रभावकारी रुपमा कार्यान्वयन नभएको बताउँछन्। उनले प्रभावकारी कार्यान्यनका लागि उपकुलपतिसँग केही समयअघि छलफल भएको जानकारी दिए। अध्यक्ष ढुंगानाले भने, ‘उपकुलपतिसँग कुरा गरेका छौं। उहाँले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभएको छ।’

स्वास्थ्य उपचार सुविधाका लागि सीमित अस्पताल तोकिएकाले पनि विद्यार्थीलाई सुविधा लिन असहज भएको उनको तर्क छ। अध्यक्ष ढुंगानाले भने, ‘मुल कुरा त अस्पताल अपायक भएकाले पनि विद्यार्थीलाई समस्या परेको छ।’

क्याम्पसहरुले प्रभावकारी रुपमा प्रचारप्रसार नगर्दा विद्यार्थीले स्वास्थ्य उपचार सुविधा लिनबाट बञ्चित भएको हुनसक्ने त्रिवि स्वास्थ्य उपचार कोषका शाखा प्रमुख सुरेश महर्जन बताउँछन्। पैसा तिरे पनि स्वयं विद्यार्थीलाई पनि केको पैसा तिरेको भन्ने बारेमा खासै चासो नहुँदा स्वास्थ्य उपचार सुविधा लिनबाट बञ्चित भएको हुनसक्ने महर्जनको तर्क छ। उनले भने, ‘जानकारी गराउने काम क्याम्पसको हो। क्याम्पसले नोटिस राख्नुपर्ने हो। विद्यार्थीलाई पनि केको पाँच सय तिरेको भन्ने मतलब नै छैन।’

पाँच सय शुल्क
क्याम्पस भर्ना गर्दा नै विद्यार्थीले स्वास्थ्य उपचार शुल्क वापत पाँच सय रुपैयाँ बुझाउनुपर्छ। क्याम्पसमा बुझाएको सो शुल्कवापत विद्यार्थीले एक लाख बराबरको स्वास्थ्य उपचारमा सुविधा लिन पाइन्छ। क्याम्पस भर्ना हुँदा स्वास्थ्य उपचार शुल्क बुझाएका प्रत्येक विद्यार्थीले यस्तो सुविधा लिन पाउने व्यवस्था छ।

आरआर क्याम्पस पुगेकी यशोदाले क्याम्पस भर्ना गर्दा नै बिलमा स्वास्थ्य उपचार सम्बन्धी पाँच सय शुल्क तोकिएको देखेकी थिइन्। भर्ना गर्दा नै स्वास्थ्य उपचार वापत पाँच सय शुल्क तिरेको थाहा पाएकी उनले आँखामा समस्या भएपछि यो सुविधा लिनका लागि प्रक्रिया थालेको बताइन्। उनले भनिन्, ‘भर्ना गर्दा बिलमा स्वास्थ्य सेवा शुल्क देखेँ र त्यतिबेला नै यसको बारेमा सोधखोज गरेर जानकारी लिएँ।’

 

१० भदौ, २०७८, ११:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।