दम नभएको स्टारडम

दम नभएको स्टारडम

स्टार भन्ने वित्तिकै तपाईंको दिमागमा के आउँछ? राति आकाशमा देखिने स्टार (तारा) लाई बिर्सने हो भने चर्चित व्यक्ति वा धेरैले चिन्ने आर्कषक व्यक्तित्व नै हाम्रो समाजमा चलिआएको स्टारको परिभाषा हो।

समाजका हरेक क्षेत्रमा समयानुकुल स्टारहरु जन्मिने गर्छन्। तिनै स्टारको प्रभावकारितालाई हामी स्टारडम भनेर बुझ्दै आएका छौं।

यतिबेला हामी नेपाली चलचित्रका स्टार र स्टारडमका बारेमा कुरा गर्दैछौं। के स्टार हुँदैमा स्टारडम हुन्छ त? उसो त नेपाली चलचित्र क्षेत्रमा स्टारको खाँचो छैन। आफैंले आफैंलाई स्टार घोषण गरेर होस् वा समाजले विकल्पको रुपमा स्वीकारेर हाम्रो चलचित्र उद्योगले धेरै स्टार पाएको छ। तर सधैं चलचित्रकर्मीको गुनासो भने किन उस्तै छ, ‘दर्शक नै छैनन्।’ 

किन बाँध्न सक्दैनन् ती स्टारले दर्शकलाई आफ्नो कलाको दयारा भित्र? रातमा आकाशको स्टार जस्तै निश्चित समय चम्कनु र दिन भएसँगै बिलाएर जानु अनि अन्ततः अस्तित्वहीन हुनु नै स्टार हुनुको नियति हो त? 

‘स्टार भनेकै राति चम्किने हो। निश्चित समयमा आफ्नो काम गर्ने र बिलाउने नै हो,’ निर्माता तथा कलाकार दीपकराज गिरी भन्छन्, ‘हामीले स्टारको प्रभावशीलतालाई उसको स्टारडम भन्ने गर्छौं। हाम्रो चलचित्र क्षेत्रमा स्टारडमको मानक के भन्ने कुरा आउँछ।’

नेपाली फिल्म क्षेत्रमा दुई किसिमको स्टारडम रहेको दावी गर्छन् गिरी। उनका अनुसार नेपाली चलचित्र क्षेत्रमा व्यावसायिक र  सोसल स्टारडम कायम छ। व्यावसायिक स्टारडमले उद्योगलाई चलायमान बनाउँछ भने सोसल स्टारडमले कलाकारप्रतिको सम्मान र विश्वासलाई जीवित राख्छ।

‘हाम्रो समाजमा सोसल स्टारडम मह जोडी, राजेश हमाल लगायतका अग्रज कलाकारहरुसँग छ। उहाँहरुलाई समाजले सम्मानित नजरले हेर्ने गर्छ। लामो समयको योगदानलाई स्वीकार गरेका कारण उहाँहरुको कुरा समाज अनुशरण गर्न तयार हुन्छ,’ गिरी भन्छन्, ‘अर्को व्यावसायिक स्टारडम छ। जहाँ दर्शकलाई हलसम्म वा उत्पादनलाई ठूलो माससम्म पुर्याउन यस्तो स्टारडम बढी प्रभावकारी छ भन्ने कसीमा राखेर हेरिन्छ।’

नायक पल शाह, अनमोल केसी, प्रदीप खड्का लगायतका पछिल्ला पुस्ताका कलाकारको आफ्नै स्टारडम रहेको गिरीको तर्क छ। त्यस्तै नायिका प्रियंका कार्की, स्वस्तिमा खड्का, साम्राज्ञी राज्यलक्ष्मी लगायतका नायिकाको पनि विषेष किसिमको स्टारडम रहेको र उनीहरुलाई हेर्न दर्शक हलसम्म आउने गरेको उनको भनाइ छ।

नेपाली चलचित्रका स्टार र स्टारडम
नेपाली चलचित्र क्षेत्रको सुरुवाती समयबाट नै स्टारको महत्वले नेपाली समाजमा विषेष अर्थ राख्ने गरेको कलाकार गिरी उकेरासँग बताउँछन्। उनका अनुसार भुवन केसी, शिव श्रेष्ठका पुस्ताको जति स्टारडम आजका कलाकारमा देखिँदैन। 

‘सुरुवाती समयलाई हेर्ने हो भने नेपाली समाजले चलचित्रका स्टारलाई देवत्वकरण नै गरेको पाइन्छ,’ गिरी भन्छन्, ‘शिव श्रेष्ठ, भुवन केसीको पुस्ताका चलचित्रकर्मीलाई कतै सडकमा देखे पब्लिक भगवानकै दर्शन पाएझैं गर्थे। उहाँहरुको जस्तो लोभलाग्दो स्टारडम आज छैन।’

मनोरञ्जनको साधन धेरै नहुनु, वर्षमा सीमित चलचित्र मात्र बन्नु र दर्शकसँग विकल्प नहुनुले त्यसबेला लोभलाग्दो स्टारडम सिर्जना गरेको गिरीको तर्क छ।

चलचित्र निर्देशक तथा समीक्षक दीपेन्द्र लामा गिरीको तर्कमा सहमत छन्। उनका अनुसार आजका दर्शकसँग मनोरञ्जनका लागि धेरै विकल्प उपलब्ध छन्। जसका कारण स्टार धेरै जन्मिए। तर उनीहरुले आफ्नो प्रभाव दर्शकमा लाद्न सक्ने अवस्था भने भएन। त्यसैले स्टारडम फितलो हुन पुग्यो।

‘पहिलो कुरा त स्टारडम भन्ने कुरा नै कृत्रिम हो,’ लामा भन्छन्, ‘तर पनि समय-समयमा स्टार फेरिन्छन् र समाजमा तिनीहरुको प्रभावकारिताले पनि फरक पर्छ।’

नेपाली चलचित्र क्षेत्रमा सरदर स्टारको आयु बढीमा १ दशक मात्र रहेको विगत कोट्याउँछन् लामा। उनका अनुसार शिव श्रेष्ठ, भुवन केसी, सरोज खनाल लगायतका स्टारहरुको स्टारडम समयसँगै राजेश हमालमा सर्यो। त्यसपछि राजेशसँगै दिलिप रायमाझी, निखिल उप्रेतीको पुस्तालाई नेपाली समाजले  स्टारको रुपमा मान्न थाल्यो।

‘निखिलहरुपछिको पुस्ता भनेको दयाहाङहरु र त्यसपछि सँगसँगै हिँडिरहेको अनमोलहरुको पुस्ता हो। उनीहरुलाई दर्शकले स्टार मानेका छन्,’ लामा भन्छन्, ‘समाजमा चर्चा हुँदा स्टार बन्नसक्छ तर समाजलाई विश्वासमा लिन नसक्दा स्टारडम बन्दैन। नेपाली चलचित्र उद्योगमा अनमोलका फिल्मले तीन दिनसम्म दर्शक तान्न सक्छन्। दयाह्याङका फिल्मले लागानी उठाउन सक्छन्। पल शाहका म्युजिक भिडियो धेरै हिट छन्। उनले पनि एक/दुई दिन हल फुल गाराउन सक्छन्। त्यतिले मात्र स्टारडम पुग्छ जस्तो चाहिँ लाग्दैन।’

नेपाली चलचित्र क्षेत्रमा स्टारडम रहेको तर उति प्रभावकारी नरहेको लामाको तर्क छ।

अर्का निर्देशक तथा समीक्षक मनोज पण्डित स्टारडम दर्शकको रुचिले निर्धारण गर्ने भएकाले दर्शकको भावना चलचित्रकर्मीले बुझ्न आवश्यक रहेको बताउँछन्।

‘अनमोल केसीलाई स्टार बनाएको पनि यही समाजले हो र प्रदीप खड्कालाई पनि,’ मनोज भन्छन्, ‘उनीहरुलाई स्टार किन बनायो त नेपाली समाजले? समाजलाई नयाँ अनुहार र नयाँ सिर्जनासँग लगाव हुन्छ। दर्शकलाई विश्वास भयो त्यसैले ती कलाकारलाई स्टार बनाए।’

नेपालमा स्टारडम कलाकारको मात्र हुन्छ भन्ने गलत बुझाइलाई पनि चिर्न स्टारहरु लागिपर्नुपर्ने उनी बताउँछन्। पण्डितका अनुसार निर्देशक, लेखक, तथा कलाकार सबैको स्टारडम हुन्छ।

‘भारतमा हेर्ने हो भने निर्देशकको स्टारडमले चलचित्र चलेका धेरै उदाहारण छन्। विश्व सिनेमामा पनि विधागत स्टारडमले काम गर्छ। तर नेपाली चलचित्रमा पर्दामा देखिने बाहेकको स्टारडम न्यून छ,’ मनोज भन्छन्, ‘किनभने हामीले समाजले खरिद गर्न खोजेको वा उपभोग गर्न खोजेको सामग्री कति बनायौं। कुनै पनि व्यक्तिप्रति आर्कषित भएर दर्शकले उनीहरुलाई विश्वास किन गर्ने? दर्शकले खोजेको कुरा भयो भने समाज आफैंले स्टार बनाउँछ र समाजको विश्वासलाई स्टारले टिकाइरह्यो भने मात्र स्टारडम टिक्न सक्छ।’

नेपाली चलचित्रका स्टारले समाजलाई आफ्नो कलाले रिझाउन नसकेको कारण नै स्टारडम धरापमा परेको पण्डित उकेरासँग बताउँछन्।

स्टारडम समाजको उपभोग्य वस्तु मात्र
स्टारडम सापेक्ष हुने भएकाले समाजले समाजको रुचि अनुसार आवश्यकताको पूर्ति गर्ने माध्यमका रुपमा स्टारडमको विकास गराउने तर्क गर्छन् निर्देशक तथा चलचित्र समीक्षक पण्डित।  

उनका अनुसार कुनै पनि स्टारलाई समाजले खरिदयोग्य वस्तुको रुपमा मात्र हेर्ने गर्छ। त्यसैले स्टारडम भनेको समाजलाई मन परुन्जेल मात्र रहन्छ।

‘स्टारडम समाजको मुडमा भर पर्छ,’ उनी भन्छन्, ‘आफूले खोजेको कुरा स्टारले दिए भने समाजले एक हिसाबले विश्वास दिइरहन्छ र स्टारलाई सहज हुन्छ। जब स्टार र समाजको कुरा मिल्दैन तब स्टार, स्टार रहन सक्दैन। स्टारडम त स्टार नै नभएपछि रहने कुरै भएन।’

नेपाली चलचित्र क्षेत्रमा स्टारको स्टारडममा उति प्रभाव नहुनुको मुख्य कारण समाजले खरिद गर्न योग्य उत्पादन नै हुन नसक्नु भएको उनको दावी छ।

‘एउटा, उदाहारणः पछिल्लो समय पल शाहलाई कोरोनाले झन् प्रभाव बढाउन सहयोग ग¥यो,’ मनोज भन्छन्, ‘कोरोनाले उद्योग सुस्तायो। त्यहीबीच उनले धेरै भिडियो गरे। उनको विकल्प पनि कम भयो। समाजले उनको सुन्दरता र मुस्कानलाई छाती खोलेर स्वागत ग¥यो। उनका कारण मनोरञ्जन क्षेत्र चलायमान पनि देखियो।’

नेपाली चलचित्रमा स्टारडम नभएकै जाती
‘हाम्रो चलचित्र उद्योग विकासको लयमा छ। यस्तो बेलामा स्टारडमले चलचित्र क्षेत्रलाई धरापमा पार्न सक्छ,’ निर्देशक तथा समीक्षक दीपेन्द्र लामा भन्छन्, ‘हामीलाई स्टारभन्दा पनि राम्रो चलचित्रकर्मी चाहिएको छ।’ 

लामाका अनुसार राम्रा चलचित्रकर्मी हुँदा समाजलाई राम्रो उत्पादन दिन सक्छन्। ती उत्पादनले सिने क्षेत्रलाई चलायमान बनाउँछ। समाजमा झन् आर्कषण बढाउँछ।

लामाको तर्कमा सहमत छन् निर्देशक पण्डित। उनका अनुसार  समाजको चहनालाई समात्न सकियो भने चलचित्रलाई समाजले स्वीकार्छ। जब चलचित्रलाई समाजले स्वीकार्छ तब आफ्नो कलाको माध्यमबाट कलाकर्मीले विश्वास जित्न सक्छन्।

‘एकै स्टारलाई लाखौं लगानी गर्नुभन्दा राम्रा चलचित्र बनाउन ध्यान दियौं भने उद्योग नै उकासिन्छ,’ पण्डित भन्छन्, ‘उपभोक्तावादतिर लम्किएर स्टारडमको नाममा वस्तु मात्र बन्नुभन्दा म वस्तु होइन ‘सब्जेक्ट’ हुँ भन्ने चेत राखेर कलाकर्म गर्दा समाजलाई पनि मार्गनिर्देश गर्न सकिन्छ, हाम्रो चलचित्र उद्योग पनि फस्टाउँछ र कलाकर्मीको प्रभाव पनि समाजमा दिगो हुनपुग्छ।’

७ भदौ, २०७८, १३:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।