कोरोना महामारीले बढायो शैक्षिक विभेद

कोरोना महामारीले बढायो शैक्षिक विभेद

इटहरी : सुनसरीको इटहरी १३ मनमोहन माध्यमिक विद्यालयको कक्षा ५ मा पढ्ने नन्दनी मल्लिक स्कुल नगएको ४ महिना पुरा भयो। अघिल्लो शैक्षिक सत्रमा पनि ९ महिना स्कुल जान पाइनन्।

विद्यालय बन्द भएपछि उनलाई खेल्ने समय मिलेको छ। उनीसँगै उनका दुई जना भाइ त्यसैमा दङ्ग छन्। भदौ २५ गते परीक्षाको मिति तोकिएको भए पनि कहाँ र कसरी परीक्षा दिने दोधारमा छन् उनीहरू। 

आमा सुनाखरी मल्लिक बजारमा मजदुरी गर्छिन्। आमाको एकल स्याहारमा हुर्किएका उनीहरू दिनभर बजारमै खेल्छन्। अनलाइन कक्षा भनेको केही नबुझ्ने उनीहरू लामो समय पढाइबाट वञ्चित भए। सुनाखरीलाई पनि अनलाइन भनेको केही थाहै छैन। 

नन्दनी जस्तै रामधुनी नगरपालिका ३ का अभिषेक चौधरीले पनि अनलाइन कक्षाबारे केही बुझेका छैनन्। स्कुल बन्द भएदेखि पढ्न नपाएका उनी खेलेरै दिन कटाउँछन्। पन्चायतन माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत अभिषेक प्रविधिको पहुँच बाहिर छन्। विद्यालयले केही दिन अनलाइन मार्फत पढाउने व्यवस्था मिलाएको भए पनि विद्यार्थी सहभागी हुन सकेनन्। 

त्यही बेला निजी तथा केही सामुदायिक विद्यालयका बालबालिका भने अनलाइन कक्षा लिइरहेका छन्। जसरी पनि मासिक शुल्क तिर्नुपर्ने बाध्यता भएपछि अभिभावकले अनलाइन कक्षाको व्यवस्था मिलाउने गरेका छन्। 

 कोभिड–१९ को महामारीसँगै शिक्षा क्षेत्र नराम्ररी थला परेको छ। त्यसमा पनि निम्न वर्गका विद्यार्थी तथा अभिभावक समस्यामा परेका छन्। निजी तथा केही सामुदायिक विद्यालयले प्रविधिको प्रयोग गर्दै अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्।

प्रविधिको पहुँच नभएका विद्यार्थीहरू शैक्षिक गतिविधिबाट वञ्चित छन्। मोरङ सुन्दरहरैचाको साजीलाल उच्चमाबिले अङ्ग्रेजी माध्यमको मात्र अनलाइन कक्षा सञ्चालन गरेको छ। नेपाली माध्यममा पढ्ने विद्यार्थीको लागि भने कुनै वैकल्पिक उपाय प्रयोगमा ल्याइएको छैन। 

विद्यालयका प्रधानाध्यापक कल्याण सिटौला अनलाइन कक्षा विद्यार्थी भुलाउने माध्यम भएको बताउँछन्। पछिल्लो समय १० प्रतिशत विद्यार्थी पनि कक्षामा सहभागी नभएको उनको भनाई छ। प्रविधिसँग पहुँच नभएका विद्यार्थीको हकमा केही गर्न नसकिएको उनले स्वीकार गरेका छन्। 

दूर शिक्षा अन्तरगत रेडियो र टेलिभिजन मार्फत पढाउने पद्धति पनि सरकारले अगाडी सारेको छ। तथापि त्यसको प्रभावकारिताको विषयमा अन्योल कायमै छ।

घरमै शिक्षक कार्यक्रम 

इटहरीकै सरस्वती माध्यमिक विद्यालयले भने घरमै शिक्षक कार्यक्रम ल्याएको छ। हरेक टोलमा विद्यार्थी भेला पारेर पढाउने गरी कार्यक्रम ल्याइएको प्रधानाध्यापक लेखनाथ भट्टराईले बताए। यस कार्यक्रम मार्फत गरिब तथा विपन्न वर्गका बालबालिकाहरू शिक्षाको पहुँच बाहिर नजाउन् भन्ने उद्देश्य राखिएको उनले सुनाए। 

प्रविधिको पहुँच नभएको कारण पढ्न नपाएका विद्यार्थीको विषयमा कुनै नयाँ कार्यक्रम आएको छैन। प्रविधिसँगै घुलमिल भएको पहुँचवाला विद्यार्थीमा भने भिडियो गेमको लत बढेको छ। यस विषयमा राष्ट्रिय सभाकी सांसद तारादेवी भट्टले पब्जी र फ्री फायर जस्ता गेम बन्द गर्नुपर्ने धारणा राखेकी छिन्। बालबालिका कुलतमा फस्दै गएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्। 

पढ्ने र पढ्न नपाउने वर्गको जन्म भयो 

शिक्षाविद् तथा समाज शास्त्री डाक्टर चन्द्र उपाध्याय शिक्षा क्षेत्र बन्चितीकरणमा परेको बताउँछन्। सीमित वर्ग बाहेक निम्न वर्गका विद्यार्थीले पढ्नै नपाउने अवस्था सृजना भएको उनले बताए। यसले गर्दा पढ्ने र पढ्नै नपाउने वर्गको जन्म हुने उनको बुझाई छ। 

‘पछिल्लो समय निजी स्कुलका विद्यार्थी सबैले पढ्न पाए भन्ने बुझाई छ। तर त्यसो हैन। निजी विद्यालय पढाउने तर प्रविधिसँगै नजिक हुन नसकेका बालबालिका पढाइबाट वञ्चित छन्। निरन्तरमा मूल्याङ्कन मार्फत कक्षा बढाउने हुनुपर्ने थियो। त्यो हुन सकेको छैन,’ उनले भने, ‘फेरि प्रविधिले कतिपय हिसाबमा बालबालिकालाई नकारात्मक क्षेत्रमा डोर्याउने काम समेत गरेको छ। त्यतातर्फ हाम्रो ध्यानै गएको छैन। वैकल्पिक शिक्षाको सम्भाव्यता अध्ययन नगरी सुरु हुने कार्यक्रमले राम्रो परिणाम निकाल्न सक्दैन। त्यसैको परिणाम हो शिक्षामा बढ्दो विभेद।’

‘विद्यालय र कक्षा कोठा नै व्यवस्थित नभएको ठाउँमा इन्टरनेटको व्यवस्थापन होला भनेर कसरी भन्ने। यो निक्कै जटिल विषय हो। अनलाइन कक्षाको लागि पाठ्यक्रम नै तयार नभएको अवस्थामा हामी जबरजस्त अभ्यस्त हुन लागेका छौ,’ उनले थपे। 

६ भदौ, २०७८, १०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।