मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

काठमाडौँ : साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’ सार्वजनिक भएको छ।




उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुङ्गेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्व सचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रूपमा विमोचन गरेका छन्।

कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका कुरा उठाएको बताए। उनले भने ‘उपन्यास पढ्दा पाठकलाई हरेक घटनामा आफू पनि सँगै रहेको भान हुन्छ।  आप्रवासन या शरणार्थी हुनु रहर नभएर बाध्यता भएको कुरा उपन्यासले राम्ररी स्थापित गरेको छ । मानवअधिकारका दृष्टिले ‘दुङाल’ पाठकलाई रोचक र घोचक कोसेली हो।’

पूर्व स्वास्थ्य सचिव डा. शर्माले पुरुष लेखक भएर पनि महिलाका भावनाको गहिराइ छोएर शरणार्थीको कथा भन्न सक्नु उपन्यासको सफलता भएको टिप्पणी गरिन्।

उनले भनिन् ‘शरणार्थी केटी कार्चुङको कथा उनकै आँखाबाट भनिएको छ । लेखक संवेदनशील हुने हो भने महिला पात्रले न्याय पाउने रहेछन् । अरू लेखक पनि मालिका केशरीजस्तो हुने हो भने मानवअधिकारमा पनि सुधार हुने रहेछ । यो उपन्यास समाजका यथार्थलाई चित्रण गर्न सफल छ । यो मननीय, संग्रहणीय र पठनीय छ।’

तिब्बती शरणार्थीको परिवेशको उपन्यास भए पनि यसले विश्वभरि नै विस्थापन र शरणार्थीको पीडा भोगेका मानिसको पक्षमा बोलेको उनको भनाइ थियो म।

इतिहासकार डा. ढुङ्गेलले ‘दुङाल’ले लगभग हराउन थालेको र बिर्सन लागेको शरणार्थी समस्यालाई साहित्यमार्फत उजागर गरेको बताए।

उनले भने‘साँच्चै भन्ने हो भने पछिल्लो समय शरणार्थी समस्या बिर्सन लागिसकेका थियौँ। उनीहरूका दुःख, पिर, वेदना र उकुसमुकुसलाई दुङालले अभिव्यक्त गरेको छ। आँखैले देखेजस्तो छ हरेक घटना। एक बसाइमा पढिसकिन्छ। अन्तिम अध्यायमा नपुगेसम्म पाठकलाई तानिरहन्छ।’

कार्यक्रममा आख्यानकार मालिका केशरीले आफ्नो बाल्यकालदेखिको शरणार्थी शिविरसँगको सामीप्यताका कारण ‘दुङाल’ जन्मेको बताए।

'देशमा बस्न नसकेपछि जीवन खोज्दै यहाँ आइपुगेका शरणार्थीप्रति हामीले गरेको व्यवहार सही छन् त भन्ने प्रश्नले घचघच्याएपछि उपन्यास नलेखी बस्न सकिनँ' उनले भने।

मालिका केशरीका यसअघि बौद्ध दर्शनमा आधारित उपन्यास ‘पुनरुत्थान’ र ‘सुवर्णलता’ प्रकाशित छन्। साङ्ग्रिला बुक्सले प्रकाशन गरेको ‘दुङाल’ उनको तेस्रो उपन्यास हो। उनी बौद्ध दर्शनका अध्येता हुन्।

५ भदौ, २०७८, १९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।