दिवा खाजाका नाममा ६ करोड अनियमितता

दिवा खाजाका नाममा ६ करोड अनियमितता

महालेखा परीक्षक कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार १३ गाउँपालिकाले १६६ विद्यालयलाई २०७७ वैशाख, जेठ र असारमा  दोस्रो र तेस्रो चौमासिकको दिवा खाजाको ६ करोड ३ लाख ५६ हजार निकासा गरेको देखिएको छ। विद्यालय बन्द भएको अवस्थामा उक्त अवधिको खाजा रकम यकिन गरी असुल गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ।

दिवा खाजा रकम विद्यालयलाई निकासा दिँदा अभिभावकलाई नगद वितरण गर्ने व्यवस्था नभए पनि परोहा नगरपालिका रौतहटले १ करोड १७ हजार निकासा गरेको छ। तर, अभिभावकले बुझेको भरपाई प्राप्त नभएको महालेखा परीक्षक कार्यालयले जनाएको छ।

विद्यालय बन्द रहेको अवस्थामा सबैला नगरपालिका धनुषाले १ करोड १३ लाख, सिराहा नगरपालिका सिराहाले १ करोड ३८ लाख, फतुवा नगरपालिका रौतहटले ९७ लाख, गरुडा नगरपालिका रौतहटले ७७ लाख, गणेशनाथ चारनाथ नगरपालिका धनुषाले ८१ लाख समेत २८ नगरपालिकाले २०७७ वैशाख, जेठ र असारमा  महिनामा वास्तविकता यकिन नगरी दोस्रो र तेस्रो चौमासिकको पुरै दिवा खाजाको पैसा निकासा गरेका छन्। ती नगरपालिकाहरुले १४ करोड २१ लाख ६८ हजार ५८२ विद्यालयलाई निकासा गरेका छन्।

दुर्गा भगवती गाउँपालिका रौतहटले १ करोड २१ लाख ७१ हजार, यमुनामाई गाउँपालिका रौतहटले ७४ लाख ९९ हजार, छिन्नमस्ता गाउँपालिका सप्तरीले ५९ लाख ८६ हजार, जनक नन्दिनी गाउँपालिका धनुषाले ५५ लाख ९६ हजार, कौडेना गाउँपालिका सर्लाहीले ५४ लाख ७२ हजार समेत १३ गाउँपालिकाले १६६ विद्यालयलाई २०७७ वैशाख,  जेठ र असारमा दोस्रो र तेस्रो चौमासिकको दिवा खाजाको ६ करोड ३ लाख ५६ हजार निकासा गरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा लेखिएको छ।

५ भदौ, २०७८, ०९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।