पश्चिम-बंगाल पथमा नेपालको कम्युनिष्ट आन्दोलन

पश्चिम-बंगाल पथमा नेपालको कम्युनिष्ट आन्दोलन

भारतको संविधानका पिताका बिआर अम्बेडकरले ‘हाम्रो लोकतन्त्रको सुन्दर पक्ष भनेको ‘एक व्यक्ति एक मत हो’ भनेका छन्।

अम्बेडकरको भनाइको अर्थ, संविधानले समानता,न्याय र समतामा आधारित शासन व्यवस्था स्थापित गरिदिएको छ, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसक्नु शासकको चरित्रको दोष हो।

भारतको संविधान निर्माणमा पनि नअटाएका शब्द हाम्रो संविधानमा ‘समाजवाद र लोकतन्त्र’ उल्लेख गरेर प्रगतिशील संविधान बनाइएको छ। संविधानले अंगिकार गरेको समाजवादलाई दलहरूले व्यवहारमा कार्यान्वयन गरेर देखाउन चुकिरहेका छन्।

संविधान (३, असोज २०७२) जारीपश्चात् निर्वाचनबाट (२०७४ सालमा) बनेको पहिलो सरकारले एकै कार्यकालमा दुई–दुई पटक संविधानको मर्म र भावनालाई प्रहार गर्दै मध्यरातमा संसद् विघटन गर्न पुग्यो। संसद्मा ठुलो दल नेकपा एमाले यही अवधिमा सत्ताकै कारण विभक्त हुन पुगेको छ। बुधबार मात्र विधिवत् विभाजित भएको नेकपा एमाले अब ‘नेकपा एमाले–समाजवादी’ बनेसँगै विभक्त हुन पुगेको प्रमाणित भएको छ।

त्यसको फाइदा प्रमुख प्रतिपक्ष कांग्रेसलाई हुन पुगेको छ। यसै पनि पार्टी विधिवत् विभक्त नहुँदै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अदालतको परमादेशबाट सत्ताच्युत भएपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुन पुग्यो। देउवा गठबन्धन सरकारले पूर्ववर्ती केपी ओली सरकारले जस्तै हठात् अध्यादेश जारी गरेर नेकपा एमालेलाई दल विभाजनका लागि मार्ग प्रशस्त गरिदियो।

त्यसैको परिणाम स्वरूप ‘नेकपा एकीकृत समाजवादी’ नामको नयाँ पार्टी जन्मियो। अध्यादेशकै कारण महन्थ ठाकुरले पनि प्रसव पीडाका बीच नयाँ दलको न्वारन गरेका छन्। सन्दर्भले त्यसको भन्दा धेरै महत्त्व यतिबेला एकीकृत समाजवादीको हुन पुगेको छ। किनकि ७० वर्षको कम्युनिस्ट आन्दोलनको इतिहासमा एकीकृत समाजवादीको जन्मले नयाँ अध्याय थपिदिएको छ। साथै बागमती प्रदेश सरकारको सत्ता परिवर्तन गराउन सफल भएको छ।

शक्ति सन्तुलन मिलाउन डोरमणि पौडेल (मुख्यमन्त्री) लाई एकाएक राजीनामा गराएर नेकपा एमालेले यसअघि असन्तुष्ट भनिएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तामा आरूढ गराएको छ।

पछिल्ला घटना हेर्दा नेपालको राजनीतिमा अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबानी शैलीलाई पनि माथ गर्ने किसिमबाट विकसित भइरहेका छन्। अमेरिका विरुद्ध अफगानिस्तानमा तालिबानलाई समर्थन (जनमतको कदर) गरेर अभिव्यक्ति दिने कतिपय नेपाली कम्युनिष्ट नेता एवं कार्यकर्ताले यता आफैँले वर्षौँदेखि नेता मानेको नेतृत्वलाई निसंकोच गद्दारको उपमा दिइरहेका छन्। को गद्दार र को सरदार इतिहासले नै मूल्याङ्कन गर्ला।

गणतन्त्रमा पनि राजनीतिको भाष्य यति छिटो–छिटो बदलिएको छ, कुनै बेला आफ्ना विरुद्ध षडयन्त्र गरियो भन्ने अष्टलक्ष्मी शाक्य माधव नेपालले पार्टी दर्ता गर्न निवेदन दिएकै दिन मुख्यमन्त्रीको शपथका लागि तम्तयार हुन पुगिन्। त्यसलाई कसरी बुझ्ने? नीति, सिद्धान्त र निष्ठाको धरातलबाट राजनीति कसरी च्युत भइरहेको छ? पार्टीमा वर्षौँ अनुशासन आयोग (विभाग) को जिम्मेवारी सम्हालेका शाक्य पति अमृत बोहरालाई कसैले यो कस्तो अनुशासन हो? भनेर जिज्ञासा राखे के भन्लान्? अर्को जिज्ञासाको विषय भएको छ। त्यसो त शाक्यलाई, तपाईँ मुख्यमन्त्री (बागमती) बन्ने कुरा थियो, पछि कसरी मोडियो? भन्ने जिज्ञासा (२, चैत २०७६) यो स्तम्भकारले राखेको थियो।

त्यति बेला उनको जवाफ थियो, ‘हो, मेराबारे केही षड्यन्त्र हुन पुग्यो। पार्टीमा मौलाएको गुटबन्दी, षड्यन्त्र र जालझेलले त्यस्तो भएको हो। तर पनि पार्टीले मलाई प्रदेश प्रमुख बनाएको छ। पार्टीले देखाएको विश्वासप्रति म सन्तुष्ट छु। मुख्यमन्त्री बन्न पाइनँ भन्ने गुनासो छैन। राष्ट्रिय सभामा सदस्य भएकी छु। दुई पटक मन्त्री भएँ। प्रतिनिधिसभा र संविधानसभामा सदस्य भइसकेकी मान्छे हुँ। सधैँ अवसर एउटैले पाउनुपर्छ भन्दिनँ। मुख्यमन्त्री बन्ने सवालमा षड्यन्त्र नगरिएको भए हुन्थ्यो। दोहोर्याएर भन्छु, केहीले मेरा बारेमा षड्यन्त्र गर्नु भयो। त्यसैको सिकार हुन पुगे।’

गत मंगलबारसम्म यही भनाइमा अडिग शाक्य मुख्यमन्त्रीको पद पाउने भएपछि एकाएक भोलिपल्ट बिहानीको मिर्मिरे पनि नपर्खी रात्रिकालीन अवस्थामा मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएर पद सम्हाल्न पुगिन्। अघिल्लो दिनसम्म उनलाई पार्टी विग्रहकी जड भन्ने एमालेजनहरु बुधबार राति नै पहिलो महिला मुख्यमन्त्री भनेर बधाई दिन आतुर देखिए।

त्यसो त शाक्यलाई राजनीतिमा आफूभन्दा जुनियर विद्या भण्डारी राष्ट्रपति भएको चित्त बुझेको थिएन। संविधान जारी भएपश्चात् २०७२ सालमा पार्टी सरकारमा जाँदा पनि उनले आफूलाई अफर गरिएको मन्त्री पद अस्वीकार गर्दै पार्टीकै अर्की अबला नेतृलाई मन्त्री पदमा विराजमान गराएकी थिइन्।

२०७२ सालमा उनले भण्डारी राष्ट्रपति भएको अवस्थामा मन्त्री बन्ने अवसरलाई पर्गेलेर भण्डारी सामु निहुरिएर शपथ खानुभन्दा नखाएरै आफ्नो कद उच्च बनाएकी थिइन्।

२०७४ मा त्यही निष्ठालाई कायम राख्न शाक्यले केन्द्रमा भन्दा प्रदेशको भविष्यलाई नियालिन्। प्रदेश सांसद भएको अवस्थामा पनि अन्तिम समयमा पार्टीको गुटका शिकार हुनु पर्यो। उनी मुख्यमन्त्री बन्नबाट च्युत भइन्। एमालेमा असन्तुष्टिको पहिलो बीजारोपण नै शाक्यलाई मुख्यमन्त्री नबनाइँदा भन्नेहरू अहिले पनि छन्।

त्यसैले भन्न सकिन्छ, यतिबेला देश स्वार्थ र पदलोलुप जमातको कब्जामा छ। यहाँ आदर्श, सिद्धान्त, मूल्य-मान्यता र निष्ठाका लागि कसैले पनि राजनीति गरिरहेका छैनन्। यस्तो अवस्थामा अहिलेको नेतृत्वबाट मुलुकले युगानुकुल परिवर्तन पाउँछ भन्नु मृगमरिचिका मात्र हो।

लुम्बिनी अञ्चलका पुराना कम्युनिष्ट (८२) वर्षीय गुणनिधि भुसालले आजीवन कम्युनिष्ट भएर गरेको योगदान खेर गएको बताए। भुसाल पुष्पलाल समूह हुँदै नेकपा माले र एमालेका संगठक समेत हुन्। त्यसो त उनकी छोरी सावित्री भुसाल र ज्वाइँ बलराम बास्कोटा यतिबेला नेकपा एकीकृत(समाजवादी) केन्द्रीय सदस्यमा मनोनीत छन्। तर पनि उनै भुसाल भन्दै छन्, ‘अहिलेको फुटको कुनै अर्थ छैन। भ्रष्ट्राचारका मुद्दामा सबै एकै स्थानमा छन्। चरित्र र प्रवृत्ति उही छ। पद, धन र वैभवको आर्जनमा रुमलिएका कम्युनिष्टहरुलाई विश्वास गर्न सक्ने आधार छैन।’  भुसाल अहिलेको कम्युनिष्ट राजनीतिबाट आजित प्रतिनिधि पात्रमध्ये एक हुन्।

उनी भन्छन्, 'म जस्ता कैयौँ पात्र छन् जसले जीवन र ऊर्जा पार्टीका लागि खर्चिए, अहिले के पाए त? निराशा र धोका मात्र! यस्तो अवस्थामा मुलुकको राजनीतिले कस्तो भविष्य लेला भन्न सकिने अवस्था छैन। नेपालको ७० वर्षको इतिहासमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि राजनीति भने परिवर्तन भएको छैन। जसरी रणोद्दिपको हत्यापछि वीर शमशेरको उदय भएको थियो, अहिले पनि राजनीति त्यही स्थान र दिशामा छ। २०५८ सालको राजदरबार हत्याकाण्ड त्यसैको पुनरावृत्ति मान्नु पर्छ। त्यसपछि भएका शासन व्यवस्थाको परिवर्तन होस् वा सत्ताको परिवर्तन राणाकालीनभन्दा फरक छैन।

नभए, आफैँले विघटन गरेको संसद् न्यायालयले ब्युँताइदिँदा सत्ताको हकदार बनेर केपी ओलीले नै शासन गरिरहने थिएनन्। पार्टीभित्रबाट विकल्प खोज्न सक्थे। तर त्यसो नगरेर बरु हुँदाहुँदैको सत्ता नै गमाए। तर सहयात्रीलाई स्वीकार गरेनन्। अनपेक्षित रूपमा सत्ताबाट च्युत भएपछि विपक्षी शेरबहादुर देउवाको गाथमा सुम्पिए तर पार्टीभित्र लोकतान्त्रिक पद्धतिको अभ्यास गर्न उनी राजी भएनन्। रातपछि दिन र दिनपछि रात आउँछ भन्ने सामान्य सिद्धान्त पढ्न मार्क्सवाद नै पढ्नु पर्दैन। त्यति पनि बुझ्न नसक्दा नेकपा एमालेमा अहिलेको अवस्था आएको हो।

सामान्य रूपमा बुझ्ने हो भने म नै सर्वेसर्वा हुँ भन्दै २०७५ जेठ ३ गते गरिएको पार्टी एकीकरण स्वाभाविक विधि पद्धति र सिद्धान्तको अन्तरघुलनबाट भएको थिएन। जालझेल र कुटिलताबाट भएको थियो। त्यसैको परिणाम हो, यतिबेला नेकपा एकीकृत (समाजवादी) को उदय जे-जस्तो अवस्थामा भएको भए पनि त्यसको बीजारोपण ३ जेठ २०७५ मा नै भएको मान्नुपर्छ। एकीकृत समाजवादीको गठनसँगै कसैलाई सत्ताको ताज प्राप्त भएको छ। पार्टीमा कैयौँको भविष्य निस्पट्ट भएको छ।

आदर्श र सिद्धान्तको रटान गरेर हीन चरित्र अवलम्बन गर्दाको प्रतिफल हो, यतिबेला एमालेको फुट। त्यसो त कम्युनिष्ट पार्टीको इतिहास केलाउँदा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना अन्तर्द्वन्द्व र विभाजनबाट अगाडि बढेको इतिहास छ। कम्युनिष्ट पार्टीको आदर्श, सिद्धान्त र इतिहास केलाउँदा कांग्रेसलाई सती-सावित्री सिद्ध गरेको पनि नबुझियोस्।

नेपाल प्रहरीको दलहरू सम्बन्धी दस्ताबेजमा ७० भन्दा धेरै पटक टुटफुट र संगठनबाट नेपालको कम्युनिष्ट पार्टी अहिलेको अवस्थामा आइपुगेको उल्लेख छ।

६ असोज २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको हो। २०११ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन काठमाडौँमा भएको थियो। दोस्रो महाधिवेशन २०१४ सालमा भएको पाइन्छ। यस महाधिवेशनमा नै कम्युनिष्ट आन्दोलन केशरजंग रायमाझीको संवैधानिक ‘राजतन्त्र’ पुष्पलालको ‘संसदीय प्रजातन्त्र’ र शम्भुराम श्रेष्ठको ‘गणतन्त्र’ गरी तीन विचारधारामा विभक्त हुन पुगेको पाइन्छ।

२०१७ साल काण्डपश्चात् कम्युनिष्ट पार्टी पूर्णतः विखण्डित हुँदै अघि बढ्यो। २०१७ सालको दरभंगा प्लेनममा रायमाझी पक्षले ‘वैधानिक राजतन्त्र’ र निर्देशित प्रजातन्त्र, पुष्पलाल लगायतले संसद्को पुनर्स्थापना र मोहनविक्रम सहितको केहीले संविधान सभाको निर्वाचन अलग कित्तामा विभक्त भएको कम्युनिष्ट पार्टी गणतन्त्रकालीन अवस्थामा आइपुग्दा पनि त्यही पृष्ठभूमिको वरिपरि नै अलमलिएको अवस्था छ।

तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले २०७५ जेठ ३ गते ‘टुटफुट हुँदै एकजुट हुँदै आइपुगेको कम्युनिष्ट आन्दोलन अब नेपालको भविष्य र भाग्य बनेर उदाएको छ’ भन्ने उद्घोष गरेका थिए। आफ्नो वचनको ध्वनि पातालमा अस्त नहुँदै उनै प्रचण्ड अढाई वर्ष पुग्दा-नपुग्दै सत्ता प्राप्तिको कुटिल खेलमा लागे। परिणाम २०७७ फागुन २३ गते आयो। परिणाम अपेक्षा गरेभन्दा भयावह बन्न पुग्यो।

२०५४ सालमा वामदेवको राष्ट्रवादी खेमा विरुद्ध चट्टानी अडानमा रहेका केपी शर्मा ओली र माधव नेपाललाई प्रचण्डले तहस-नहस बनाइछाडे। तत्कालीन समयमा एमालेको विभाजनबाट माओवादी पार्टीलाई बृहत् आकार दिन सफल भएका भए पनि यस पटक एमालेको विभाजनले कम्युनिष्ट पार्टीको भविष्यलाई अन्धकारतर्फ धकेल्न प्रचण्ड उद्यत रहे भन्दा अतिशयोक्ति हुने छैन।

वयोवृद्ध समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता ढुण्डिराज शास्त्रीका शब्दमा ‘कम्युनिष्ट आन्दोलनको भविष्य पार्टीको नीति र कार्यक्रमले निर्धारण गर्छ। नीति र कार्यक्रम समय सापेक्ष बन्न सकेमा भविष्य उज्ज्वल रहन्छ। विपरीत हुन गएमा भविष्य अन्धकारतर्फ उन्मुख हुन्छ।’

शास्त्रीका भनाइलाई आधार मान्दा यतिबेला नीति र सिद्धान्तभन्दा पनि व्यक्तिगत दम्भ, इगो र प्रतिशोधबाट तप्त नेपालको कम्युनिष्ट पार्टी पश्चिम बंगालमा जस्तै पतनको दिशामा उन्मुख छ भन्दा आपत्ति नहोला।

त्यसो त पश्चिम बंगालमा ३० वर्ष राज गरेको भाकपा मार्क्सवादी नीति र कार्यक्रम समय सापेक्ष हुन नसक्दा एकादेशको पार्टी बन्न पुग्यो। कुनै बेला प्रधानमन्त्रीको पद अफर भएको पार्टी गत वर्ष भएको विधान सभाको निर्वाचनमा एक सिटमा चित्त बुझाएर बस्नु परेको छ।

नेपालको कम्युनिष्ट पार्टीको गठन र नेकपा माले (पछि एमाले) पश्चिम बंगालको भूमिबाट प्रेरित पार्टी हो। कम्युनिष्ट पार्टीको पश्चिम बंगालमा अस्तित्व नै विलीन भएको अवस्थामा नेपालमा कम्युनिष्ट फेरि जागृत हुन्छ, जनवादी सत्ता कायम गर्छ भन्नु जनताप्रतिको धोका मात्र हो भनेर बुझ्दा अन्यथा हुने छैन।

४ भदौ, २०७८, १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।