गान्धी, १५ अगस्ट र स्वतन्त्र भारत

गान्धी, १५ अगस्ट र स्वतन्त्र भारत

१५ अगस्टलाई भारतमा ब्रिटिस उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको दिनका रूपमा स्मरण गरिन्छ। यस वर्ष भारतले ७४औँ स्वतन्त्रता दिवस मनाइरहेको छ। गान्धीको अहिंसात्मक आन्दोलनको बलमा भारतले १५ अगस्ट १९४७ मा स्वतन्त्रताप्राप्त गरेको हो। 

गान्धीको अहिंसाको प्रयोग कुनै समय विश्वमा मजाकको विषय बन्यो। ब्रिटिस महाराज जर्ज पञ्चमले समेत ‘इतिहासमा कहिल्यै अहिंसात्मक क्रान्ति भएको इतिहास छैन’, भनेका थिए। तर पछि उनै महाराजको बकिंघम प्यालेसमा उनै गान्धीसँग सन् १९३१ मा वार्ता गर्नुपर्यो। अहिंसामा जुन शक्ति छिपेको थियो, त्यो देख्ने दृष्टि गान्धीमा मात्र थियो। अहिंसामा भविष्य देख्न सक्ने दृष्टि र व्यवहार तत्कालीन विश्वमा सायदै कसैमा थियो। 

दुनियाँलाई के थाहा नैतिक बल हजारौँ संगीन भन्दा पनि शक्तिमान हुन्छ, भन्ने? गान्धीले भनेका छन् ‘जो सँग नैतिक बल नै छैन, उसले सत्यलाई आत्मसात नै गर्न सक्दिैन।’ जब आचार विचारमा स्वच्छता प्रकट हुन्छ, अनिमात्र ऊ सत्यवादी बन्न सक्छ। जसलाई मानवता र मानवीयताप्रति हार्दिकता प्रकट हुँदैन, त्यस्ता मानिसको विचार, बोली, व्यवहार र कर्ममा सत्य रूप प्रकट हुँदैन। 

जो दयावान र प्रेमी हुन्छ, उसको आत्माले सत्यसँग साक्षात्कार गर्न सक्छ। जो धूर्त र दुष्ट स्वभावको हुन्छ, उसले मात्र हिंसालाई सर्व शक्तिमान स्वीकार गर्छ। असत्य उसका लागि सहारा हुन्छ। गान्धीको विचारमा, असत्य र प्रतिशोध राखेर जिउने मानिस कहिल्यै पनि अहिंसावादी हुन सक्दैन। 

ज्ञान, ध्यान, साधना (कर्म), विवेकसँगै संयमता र उच्च बौद्धिक चेतनाले मात्र व्यक्तिमा नैतिक बल जागृत गराउँछ। नैतिक बल आर्जनका लागि मानिसमा सरलता, लगनशीलता, श्रम, मानवता र अहिंसात्मक चरित्र र भावना हुनुपर्छ। उल्लेखित गुण गान्धीमा रहेको पाइन्छ। गान्धीलाई वर्तमान विश्वले अहिंसाका पुजारी भनेर स्मरण गर्छ। उनको जन्मदिनलाई संयुक्त राष्ट्र सङ्घले विश्व अहिंसा दिवस घोषणा गरेर नै मनाउन लागेको प्रसङ्गबारे हामीलाई अवगत छ। मानिसको जीवनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कोही न कोही प्रेरणाको स्रोत हुन्छ। त्यस्तै गान्धीको जीवनमा अहिंसाको पहिलो प्रेरणाको स्रोत आमा पुतली वाई थिइन्। किनकि उनी कुशल हिन्दु गृहिणी थिइन्। 

उनमा धार्मिक संस्कार र व्रत व्यवहारको गुण भरिपूर्ण थियो। अन्य बहुजन उनका प्रेरणाका स्रोत छन्। अहिंसात्मक मार्गमा उनका लागि अन्य जनको पनि प्रभाव रहेको स्वयं उनले उल्लेख गरेका छन्।

जैन धर्मालम्भी श्रीमद् रायचन्द्रको जीवन दर्शनले उनलाई ठुलो प्रभाव पारेको छ। गान्धीको अहिंसा र व्रम्हचर्यको व्रतमा रायचन्द्रको प्रभाव रहेको छ। उनी पनि वैवाहिक जीवनपछि व्रम्हचर्यको पालना गरेका व्यक्ति थिए। जैन धर्ममा अहिंसाको जति सूक्ष्म चिन्तन र ठुलो महिमा छ, त्यसलाई अध्ययन गरेर नै गान्धीले साक्षात् जीवनमा अहिंसाको व्रत लिएको पाइन्छ। त्यसो त उनले भगवान बुद्धको जीवनीबाट समेत अहिंसाका बारेमा जानकारी लिएका थिए। बुझेको कुरालाई व्यवहारमा उतार्नु गान्धीको गुण हो।

गान्धीले वैवाहिक जीवन पश्चात् व्रम्हचर्यको व्रत लिन सकिन्छ भन्ने प्रेरणा जैन धर्मावलम्बी रायचन्द्र र प्रसिद्ध रुसी साहित्यकार टाल्स्टायको जीवनीबाट लिएको पाइन्छ। गान्धी (बापु) ले चार सन्तान (रामदास, मणिलाल, हरिलाल र देवदास) को जन्म पश्चात् श्रीमती कस्तुरबाको सहमतिमा सन् १९०६ देखि व्रम्हचर्यको व्रत लिएका थिए। यौन प्रसङ्ग जोडेर उनको जीवन विवादित तुल्याउन खोज्नेहरूका बारेमा अन्य स्तम्भमा चर्चा गरौंला। 

सुख आफ्नै हृदयमा छ, अन्त तलास गरेर प्राप्त हुँदैन भन्ने कुराको प्रथमतः ज्ञान र जानकारी दिने व्यक्ति पनि उनै रायचन्द्र नै थिए। गान्धीको व्रम्हचर्यपालना र अहिंसाको सारथि बन्नमा रायचन्द्र, टायल्स्टाय र रस्किनको ठुलो प्रभाव छ।

टायल्स्टायको स्वर्ग तिमी मै छ, र रस्किनको अन्टुदिस लास्टलाई गान्धीले अनुवाद नै गरेका छन्। यी पुस्तक अध्ययनले जीवनमा ठुलो परिवर्तन नै ल्याएको गान्धीले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन्। रायचन्द्रको बेदान्त जैन दर्शनको टिप्पणीले गान्धीलाई सत्पुरुष बन्नमा प्रभाव पारेको छ।

धर्म, शिक्षा,, नैतिकता र समाज संरचनाका बारेमा ज्ञान दिने गुरु टायल्स्टाय थिए। जससँग गान्धीको १९१० मा पत्राचार भएको थियो। उनको ‘वार एन्ड पिस’ कृति पढेपछि गान्धीलाई झनै ठुलो प्रभाव प¥यो। जुन कृतिका लागि नोबेल पुरस्कार प्रदान गर्दा सन् १८७० मा टाल्स्टायले अस्वीकार गरेका थिए। त्यसो त गान्धी पनि पाँच पटकसम्म मनोनयनमा परे पनि उक्त पुरस्कारले सम्मानित हुन पाएनन्। 

गान्धीको जीवनमा प्रभाव पार्ने अर्का विदेशी नागरिक हुन् रस्किन। जो स्वयं ब्रिटिस नागरिक थिए। गान्धीमा उनको ‘माई इङ्गल्यान्ड’ को प्रभाव देखिन्छ। गान्धीले सन् १९०९ मा ‘हिन्द स्वराज’ लेखेका छन्। दुवै कृति आ–आफ्ना देशको सन्दर्भ र प्रसङ्गको बारेमा लेखिएको भए पनि विषयवस्तुका बारेमा आलोचना र नकारात्मक टिप्पणी गरिएका छन्। 

रस्किन आफ्नो युगका अर्थशास्त्री, समाज शास्त्री र कलाकार समेत थिए। त्यसका अतिरिक्त नेता पनि। त्यसो त गान्धी पनि समाज सुधारक, राजनीतिक आन्दोलनका सारथि र दार्शनिकका रूपमा परिचित छन्। 

शासक र शासित देशका नागरिक भए पनि गान्धी र रस्किनमा ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामय’ आदर्श विचारले प्रभावित गरेको पाइन्छ। गान्धीको अहिंसात्मक आन्दोलनमा प्रसिद्ध अमेरिकी साहित्यकार हेनरी डेविड थारोको पनि प्रेरणा पाइन्छ। उनले थारोले अमेरिकामा सन् १८५० देखि १८५४ सम्म चलाएको रजौटाहरू विरुद्धको आन्दोलन सविनय अवज्ञाको सिद्धान्तमा आधारित थियो। थारो पनि रजौटाहरूको शासन विरुद्ध अहिंसात्मक आन्दोलन गर्दा अमेरिकामा जेल गएको इतिहास छ।

गान्धीले जीवनमा विभिन्न व्यक्तिबाट प्रत्यक्ष र अप्रत्यक्ष प्रेरणा लिएका छन्। तर सबैभन्दा ठुलो प्रेरणा समग्र भारतको गरिबी, गुलामी र गीताबाट लिए। उनले एकसरो धोती लगाउन थाल्नुको एउटा रोचक प्रसङ्ग छ। सन् १९१७ मा नेपालको बोर्डर चम्पारण आइपुगेका बेलाबाट उनले धोती लगाउन सुरु गरेका हुन्। त्यसबेला उनले तीन कठिया कर विरुद्ध सत्याग्रह गरेका थिए। जुन सत्याग्रह गान्धीको भारत आगमनपछिको पहिलो सत्याग्रह थियो। 

त्यस क्रममा उनले देश गरिबीबाट आक्रान्त छ भने मैले कसरी टाई सुट लगाउन सक्छु? भन्ने उद्घोषका साथ झकिझकाउ पहिरन लगाउन छाडेका थिए। बरु आफूले लगाउने धोती पनि आफैँ चर्खा चलाएर बुनेको खादीबाट लगाएर जीवन निर्वाह गरे। आइपर्ने समस्या र घटनाबाट उनले कैयौँ प्रेरणा लिएको पाइन्छ।

१५ अगस्टको दुखद प्रसङ्ग 

९ अगस्त १९४२ मा गान्धीले ‘करों या मरो’ नारा उद्घोष गरे। अर्थात् अन्तिम लडाइँ, ‘भारत छोडो’ आन्दोलन। त्यही दिन बम्बईबाट गान्धी गिरफ्तारमा परे। उनीसँगै उनका स्वकीय सचिव महादेव भाइ देसाई पनि गिरफ्तार भए। भोलिपल्ट उनकी श्रीमती कस्तुरबा पनि गिरफ्तार भइन्। सबैलाई आगाँखानप्याले (जेल) मा राखियो। उक्त जेलमा गान्धीसँगै देसाई, कस्तुरबा, शुसिला नैयर, मनुबेन, प्यारेलाल, सरोजनी नायड, मीराबेन सबैलाई राखिएको थियो। सबै गान्धीका परिवारका सदस्य जस्तै थिए।

१५ अगस्टका दिन महादेव देसाइको ‘हार्ट अट्याक’ का कारण आकस्मिक निधन हुन पुग्यो। जो गान्धीसँग सन् १९१७ देखि निरन्तर सहयोगी बन्दै आएका थिए। उनी सिद्धहस्त लेखक थिए। कतिपय लेख त उनकै लेखलाई गान्धीले एमके गान्धी भनेर पत्रिकामा छपाएका प्रसङ्ग पनि छन्।

उनको देहान्तपछि उनले सम्हाल्दै आएको काम ६ जनाको सचिवालयले सम्हाल्नुपरेको अनुभव उनका पुत्र नारायणभाइ देसाइले सुनाएका थिए। गान्धी र महादेवबीच बाबु छोराको जस्तो सम्बन्ध थियो। उनको मृत्युमा गान्धी दुःखी हुनु स्वाभाविक थियो। गान्धीकी श्रीमती कस्तुरबाले महादेव तुम कहाँ गए भन्दै डाँको नै छाडेर रोएको तथ्य डा. सुशील नैयरको ‘बापु की कारावास कहानी’ अध्ययन गर्दा जानकारी हुन्छ। 

उनको अन्तिम संस्कारका लागि सरकारले बाहिर लैजान अनुमति दिएन। दंगा भड्किन सक्छ भन्ने डर थियो। जेलको कम्पाउन्ड भित्रै उनको दाहसंस्कार गर्नुपरेको थियो। उनलाई दागबत्ती दिँदै गान्धीले ‘महादेव आजसम्म तँ मेरो छोरो बनेर सेवा सुश्रुवा गरिस् तर आज म तेरो सन्तान बनेर दागबत्ती दिँदै छु’, भनेर दागबत्ती दिएका थिए। देसाई पुत्र नारायणभाइ देसाई (९० वर्षीय) ले सन् २०१४ मा यो स्तम्भकारसँग भनेका थिए, ‘निधनको ४२ दिन पछि मात्र घरमा खबर पुर्याइएको थियो। त्यति बेला म मात्र १७ पुगेको थिएँ।’ 

त्यस दिन गान्धीले देसाई सामुन्ने बसेर गीताको बाह्र अध्यायदेखि अठार अध्यायसम्म पाठ गरेका थिए। वर्ष दिनको तिथिका दिन उनको समाधीस्थललाई गाईको गोबरले लिप्न लगाई फूलले ओम लेख्न लगाई ईशोपोनिषद्को पहिलो र अन्तिम श्लोक स्वयं गान्धीले पाठ गरेका थिए।

त्यस दिन जेलका कैदी बन्दीलाई एक छाक भोजन समेत गराएका थिए। त्यसपछिका वर्षमा १५ अगस्टलाई गान्धीले देसाई स्मृति दिवसका रूपमा स्मरण गर्दै आएका थिए। संयोग त्यही दिन १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र हुन पुग्यो।

१५ अगस्ट मध्यरातको सभामा गान्धी उपस्थित थिएनन्। भारत–पाकिस्तान विभाजन र हिन्दु–मुस्लिमबीचको खुनी हिंसाले गान्धी स्वतन्त्रता प्राप्तिमा खुसी नभएर विक्षिप्त थिए।

३१ साउन, २०७८, २१:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।