अनुसन्धानमा छुटेको एसएमएसको महत्त्वपूर्ण ‘क्लु’

अनुसन्धानमा छुटेको एसएमएसको महत्त्वपूर्ण ‘क्लु’

छोरीमैयाँ खै शृंखला अन्तर्गत पाँचौं भागमा हामीले छोरीमैयाँको मोबाइलबाट हराएको दिन राति ८ बजेतिर कान्छी छोरी सुधाको मोबाइलमा आएको एसएमएसबारे चर्चा गरेका थियौँ। साथै, अंग्रेजी टाइप गर्न नजान्ने भनिएकी उनको मोबाइलका पुराना एसएमएस डिटेल प्रहरीले अनुसन्धान गर्दा एउटा शंकास्पद  एसएमएस पठाएको देखिएको विषय समेटेका थियौँ।

छोरीमैयाँको मोबाइलका दुई वटा एसएमएस शंकास्पद देखिए।

एउटा, राति ७ बजेर ५३ मिनेटमा छोरीमैयाँको मोबाइलबाट सुधाको मोबाइलमा आएको जसमा लेखिएको थियो- ‘Ma manakamana ma chu sathi pani cha parsi aaochu’

अंग्रेजी टाइप गर्न नआउने छोरीमैयाँको मोबाइलबाट आएको यो एसएमएसको अनुसन्धान महत्त्वपूर्ण क्लु हुनसक्थ्यो। तर प्रहरीले यसलाई मिसिलमा समेत राखेन र अदालतले घटनाको ११ महिनापछि एसएमएस आएको हो कि होइन भन्दै टेलिकमलाई पत्र लेख्ने र टेलिकमले मेसेज डिलिट भइसकेको जानकारी दिने काम भयो।

अर्को, घटनाभन्दा ४२ दिनअघि बिहान ९ बजेर १७ मिनेटमा नेपाल टेलिकमको प्रिपेड मोबाइल ९८४१***३३४ मा पठाइएको एसएमएस। त्यसमा लेखिएको थियो- 4 dat.i cant take dis nymore i cant live lyk dis…

छोरीमैयाँको पारिवारको तस्बिर नियाल्दै आमा हिरामाया महर्जन।

यसको रहस्य बताउनुभन्दा पहिले हामी यस्तै खालको एसएमएस जोडिएको एउटा केसबारे बताउन तपाईँलाई एकैछिन बेलायततिर लैजाँदैछौँ।

नसुल्झिएको रहस्य

फोटोमा देखिएकी यी किशोरीको नाम हो- ड्यानियल जोन्स।

१८ जुन २००१ का दिन कान्छी छोरी ड्यानियल इस्ट टिलबरीस्थित आफ्नो घरबाट स्कुल जाँदै थिइन्। उनलाई अन्तिम पटक स्कुल बस चढ्न जाँदै गरेको देखिएको थियो।

तर, न उनी स्कुल पुगिन्, न बस नै चढेको देखियो।

कहाँ गइन्, कता पुगिन्- २० वर्ष भयो, अझै पत्ता लागेको छैन।

अनुसन्धान गरिरहेको प्रहरीले किशोरीको हत्या भइसकेको ठहर गरिसक्यो। तर अहिलेसम्म शव भेटिएको छैन। उनलाई कहाँ के गरियो भन्ने क्लुसम्म पाउन सकिएको छैन।

हराएकै दिन उनको मोबाइलबाट अङ्कल स्टुअर्ट जेम्स क्याम्पबेलको मोबाइलमा एसएमएस गएको थियो जसमा लेखिएको थियो- "HI STU THANKZ 4 BEIN SO NICE UR THE BEST UNCLE EVER! TELL MUM I'M SO SORRY LUVYA LOADZ DAN XXX"

अनुसन्धान गरिरहेको प्रहरीको सुरुकै शंका उनै क्याम्पबेलप्रति नै थियो। र, हराएको पाँच दिनमै गिरफ्तार पनि नगरिएको होइन। तर ठोस प्रमाण जुट्न सकिरहेको थिएन।

अन्ततः डेढ वर्षपछि उनैलाई अभियुक्त बनाई अदालतमा पेस गरियो र अदालतले पनि अपहरणका लागि १० वर्ष र हत्याका लागि २० वर्ष जेल सजाय सुनायो।

#ChhoriMaiyaKhai शृंखला-६ : सुन्नुस्

लास नै फेला नपरे पनि हत्यामा दोषी ठहर गर्नका लागि त्यही एसएमएस र अन्य केही परिस्थितिजन्य प्रमाणहरु प्रस्तुत गरिएका थिए। नत्र त क्याम्पबेलले इन्कारी बयान नै गरिरहेका थिए।

यो केसलाई टुङ्गोमा पुर्याउन यो एसएमएसमा गरिएको अनुसन्धान पनि प्रमुख थियो।

क्याम्पबेलले हराएकी भान्जीले आफूलाई एसएमएस पठाएको प्रमाण पेस गरेका थिए। त्यतिबेला आफू जुन ठाउँमा रहेको भनेर उनले दावी गरेका थिए, त्यो ठाउँमा उनको मोबाइल लोकेसन पनि देखिएन।

ड्यानियलका अरु मेसेजहरु हेर्दा जहिले पनि लोअर केसमा मेसेज पठाएको भेटियो। यसमा भने अप्पर केसमा। ‘फरेन्सिक अथरसिप एनालाइसिस’ले त्यो एसएमएस ड्यानियलले नलेखेको ठहर गर्यो। बरु त्यसको स्टाइल क्याम्पबेलको जस्तो पो देखियो। बेलायतमा मर्डर केसमा लिङ्ग्विस्टिक एभिडेन्स प्रयोग भएको यो पहिलो केस थियो।

ड्यानियलले एसएमएस पठाउँदा र क्याम्पबेलले पाउँदा उनीहरुको मोबाइल एउटै क्षेत्रमा एक्टिभ भएको पनि देखियो जसले त्यो मेसेज क्याम्पबेल आफैंले ड्यानियलको मोबाइलबाट आफूलाई पठाएको भनियो।

चार वर्षअघि बिबिसीलाई कोट दिँदै एक प्रहरी अधिकारीले भनेका छन्, ‘यो केस क्लोज भएको छैन। ड्यानियलको लास नभेटिँदासम्म र परिवारलाई नफर्काउँदासम्म केस ओपन नै रहनेछ।’

यो मुद्दामा एसएमएसलाई प्रमाणका रुपमा राखेर चर्चा भएपछि युनिभर्सिटी अफ लेस्टरले अपराध अनुसन्धानमा यस्ता मेसेजहरुको अथरसिप एनालाइसिसको फरेन्सिक रिसर्चबारे अध्ययन गरेको थियो।

‘क्लु’ बनेको एसएमएस

अब हामी तपाईँहरुको ध्यान फेरि एक पटक इंगल्यान्डकै नर्थ योर्कसायरस्थित रिचमण्ड एरियातर्फ लान चाहन्छौँ।

१९ वर्षीया जेनी निकोल त्यहाँ आफ्नो परिवारसँग बस्थिन्।

‘म आज राति फर्किन्नँ है। साथीहरुसँग हुन्छु, घुमघाम गर्छौँ’, ३० जुन २००५ का दिन जेनी यसो भनेर घरबाहिर निस्केकी थिइन्। उनले क्याम्पिङका सामानहरु पनि साथै लगेकी थिइन्।

साँझ ६ बजे निस्किएकी उनी त्यसपछि घर फर्किनन्।

जेनी अन्तिम पटक देखिएको घरबाहिर निस्कँदै गर्दा नै हो।   

छोरी सम्पर्कमा नआएको पाँच दिनपछि प्रहरीलाई परिवारले खबर गर्यो।

त्यसको ९ दिनपछि प्रहरीले त्यतिबेला ४५ वर्षका डेभिड हडसनको बयान लियो। दुई सन्तानसहित विवाहित यिनको निकोल १४ वर्षकी हुँदादेखि अफेयर रहेछ। छोरीहरु र जेनी एकै स्कुलमा पढ्ने रहेछन्।

प्रहरीले पहिलो पटक सोधपुछ गर्दा यिनले आफ्नो सम्बन्ध पनि नरहेको र बेपत्ता भएको घटनामा आफ्नो केही संलग्नता नभएको इन्कारी बयान दिए।

तर, त्यसको भोलिपल्ट जेनीको मोबाइल स्विच अन भयो र त्यसबाट केही एसएमएसहरु पठाइए। त्यसको लोकेसन घरभन्दा धेरै टाढा देखियो।  

दुई वटा एसएमएस साथीहरुलाई पठाइएको थियो।

त्यसको पाँच दिनपछि एउटा एसएमएस बुबालाई पठाइयो।

अनुसन्धानकर्मीहरुलाई सुरुदेखि नै यो एसएमएस जेनीले नभएर उनका हत्याराले पठाएकोमा शंका थियो। पछि उनीहरुले त्यसलाई अदालतमै पुष्टि गर्न सफल भए।

अघिल्लो केसमा जस्तै यो केसमा पनि फरेन्सिक लिङ्ग्विस्ट प्रोफेसर माल्कोम कोल्टहार्डको सहयोग लिइयो।

अनुसन्धान टोलीले प्रोफेसरलाई यी तीन वटा शंकास्पद एसएमएस र जेनीले पठाएका ११ र आरोपीले पठाएका १०० वटा स्याम्पल दिइयो।

छोरीमैयाँ खै श्रृंखला

यस्ता थिए पठाइएका एसएमएसहरु-

जेनीकी साथी जेनिफर ह्विलानलाई जुलाई ९, २००५ मा पठाइएको-

"hi jen tell jak i am ok know ever 1s gona b mad tell them i am sorry.living in scotland wiv my boyfriend.shitting meself dads gona kill me mum dont give a shite.hope nik didnt grass me up.keeping phone of.tell dad car jumps out of gear and stalls put it back in auction.tell him i am sorry"
 
जेनीकी साथी निकोला गोस्नोल्डलाई जुलाई ९, २००५ मा पठाइएको-
"Thought u wer grassing me up.mite b in trub wiv me dad told mum i was lving didnt giv a shit.been2 kessick camping was great.ave2 go cya"

जेनीका पिता ब्रायन निकोललाई जुलाई १४, २००५ मा पठाइएको-
"Y do u h8 me i know mum does.told her i was goin.i aint cumin back and the pigs wont find me.i am happy living up here.every1 h8s me in rich only m8 i got is jak.txt u couple wks tell pigs i am nearly 20 aint cumin back they can shite off She got me in this shit its her fault not mine get blame 4evrything.i am sorry ok just had 2 lve shes a bitch no food in and always searching me room eating me sweets.ave2 go ok i am very sorry x"

नर्दनइकोमा त्यतिबेला प्रकाशित अन्तर्वार्तामा प्रोफेसर कोल्टहार्डले शंकास्पद तीन एसएमएस जेनीले पठाएको हुन नसक्ने आधार यसलाई बनाएका थिए-

•    to लाई जेनीले 2 लेख्ने गर्थी। शंकास्पद मेसेजमा पनि 2 नै लेखिएको छ। तर जेनीले 2 पछि स्पेस राख्दिन थिइन् तर शंकास्पद मेसेजमा स्पेस थियो। उदाहरणका लागि ‘ave 2 lve’

•    जेनीले सामान्यतया ‘Im’ र ‘Im not’ लेख्थिन् भने शंकास्पद मेसेजमा ‘I am’ र ‘aint’ लेखिएको थियो।

•    जेनीले my, cu र fone लेख्थिन् भने शंकास्पद मेसेजमा ‘me’, ‘cya’, र ‘phone’ लेखिएको थियो।

यति आधारमा उनले यो जेनीको लेखाइ होइन भन्ने निष्कर्षमा पुगे।

आरोपी हडसनको लेखाइ हो कि होइन भनेर उसका स्याम्पल टेक्स्टहरु हेर्दा off लाई of मात्र लेख्ने, might लाई mite लेख्ने गरेको मिल्यो।

उनको निष्कर्ष यो एसएमएस हड्सनले नै पठाएको भन्ने निश्चित नभए पनि उनका टेक्स्ट र शंकास्पद एसएमएसका केही विशेषता समान छन् भन्ने भयो।

यो एउटा महत्त्वपूर्ण टर्निङ प्वाइन्ट भयो केसका लागि।

थप परिस्थितिजन्य प्रमाणहरु पनि भेटिए। एसएमएस पठाइएका साथीहरुले त्यसका केही सन्दर्भहरु आफूहरुले नबुझेको अदालतमा बताए। आमाले आफू रिचमण्ड पुलिसमा काम गरेको र आफ्नी छोरीले पुलिसलाई सुङ्गु (पिग्स)को साटो अर्को कुनै सम्मानजनक शब्द प्रयोग गर्थे होला भन्ने बयान दिइन्।  

टेलिकम कम्पनीबाट एसएमएस पठाउँदाको लोकेसन पत्ता लाग्यो।

एउटा कार भाडामा लिने कम्पनीले त्यो एसएमएस आउँदा हड्सनले कार भाडामा लिएको र त्यसको माइलेज रेकर्ड एसएमएस आउँदा एक्टिभ भएको मोबाइलको लोकेसनसँग मिल्ने भनियो।

यसरी एसएमएसकै क्लुमा लास अहिलेसम्म नभेटिए पनि हड्सनलाई हत्यारा ठहर गरी १८ वर्षको कैद सजाय सुनाइयो।

आफ्ना भाइसित सम्बन्ध भएको देखेर रिसले उनले हत्या गरेको भनी अनुसन्धानको निचोडमा अदालत सहमत भयो।

०००

छोरीमैयाँका बुबा कान्छा महर्जन।

बेलायतबाट अब नेपाल फर्कौँ।

हामीले अघिल्लो अङ्कमा छोरीमैयाँको मोबाइलबाट उनी हराउनुभन्दा ४२ दिनअघि नेपाल टेलिकमको प्रिपेड मोबाइलमा अंग्रेजीमा लेखिएको एउटा मेसेज पठाइएको फेला परेकोबारे बताएका थियौँ।

छोरीहरुको दावी अनुसार आमा छोरीमैयाँलाई अंग्रेजीमा टाइप गर्न आउँदैनथ्यो। प्रहरी अनुसन्धानले आमाको मोबाइल छोरीहरुले पनि कहिलेकाहीँ चलाउने गरेको देखिएको थियो। तीन छोरीमध्ये एक छोरीको आफ्नै मोबाइल थिएन।

त्यो एसएमएस छोरीमैयाँकी तीनमध्ये एक छोरीले आफ्ना त्यतिबेलाका ब्वाइफ्रेन्डलाई पठाएका रहेछन्। जसको नम्बरमा त्यो एसएमएस पठाइएको थियो, तिनै व्यक्तिसँग ती छोरीको घटनाको केही वर्षपछि विहे पनि भइसकेको हामीले पायौँ। (गोपनीयतालाई ध्यानमा राख्दै हामीले परिचय खुलाएका छैनौँ)

यो त भयो घटना अगाडिको एसएमएसको नालिबेली।

अनि हराएको दिन आएको एसएमएसको नि?

यदि छोरीहरुको दावी सही हो भने डिस्प्ले बिग्रिएको सो मोबाइलबाट एसएमएस पठाउन सम्भव नै दिखँदैन। आमालाई अंग्रेजी टाइप गर्न नआउने र कहिल्यै मेसेज नै नगर्ने दावी सही हो भने त्यो एसएमएस पक्कै छोरीमैयाँले नभएर उनीसित भएको अर्कै व्यक्तिले पठाएको हुनुपर्छ भन्ने त निश्चित नै हो।

तर, अनुसन्धानका लागि यति महत्त्वपूर्ण क्लुलाई किन छुटाइयो?

किन कल डिटेल जस्तै एसएमएस डिटेल मिसिलमा संलग्न गरिएन?
 
किन यो एसएमएस कसले र किन पठायो भन्नेबारे अनुसन्धान भएन?

माथि बेलायतका दुई घटना जस्तै यसमा पनि त्यो एसएमएसका भाषागत विशेषतालाई ध्यानमा राखी अनुसन्धान गर्न सकिन्थ्यो र अझै सकिन्छ।

‘Ma manakamana ma chu sathi pani cha parsi aaochu’

यो वाक्यमा केही विशेषता छन्।

जस्तै aaochu

आउँछुलाई रोमनमा लेख्ने विभिन्न तरिका हुन्छन् । जस्तै-

auchu, aauchu, auchhu, aauchhu

‘छ’ लाई रोमनमा ch मा लेखेको देखिन्छ यसमा, chh पनि प्रयोग गर्नेहरु छन्।

अनुसन्धानको दायरा साँघुरो पार्दै बाँकी भएका शंकास्पदहरुका एसएमएसहरुको स्याम्पलबाट छोरीमैयाँको मोबाइलमा आएको यो एसएमएसको भाषागत प्रवृत्ति अध्ययन गर्न सकिन्थ्यो।
 
मिसिलमा नराखिएको तर अनुसन्धानका लागि प्रहरी समक्ष पुगेको एसएमएस डिटेलमा हामीले अर्को पनि शंकास्पद मेसेज भेटयौँ।

all the wood Esau saw to saw, Esau sought to saw. Oh, the wood Wood would saw! And, oh the wood-saw with which Wood would saw wood! But one day, Woods wood-saw would saw no wood, and thus the wood Wood sawed was not the wood Wood would saw if Wood?s wood-saw would saw wood. Now, Wood would saw wood

हराएको दिनको भोलिपल्ट अर्थात् फेब्रुअरी २९, २०१२ राति ७ बजेर ३१ मिनेटमा छोरीमैयाँको मोबाइलमा यस्तो मेसेज आएको छ।

के यो कुनै कोडवर्ड थियो?

यो र थप जानकारीहरु #ChhoriMaiyaKhai सिरिजका आगामी अंकहरुमा जारी रहनेछ।

(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा।)

३१ साउन, २०७८, १८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।