देउवालाई पार्टी कार्यालयभन्दा निवास नै प्यारो

देउवालाई पार्टी कार्यालयभन्दा निवास नै प्यारो

बालुवाटार सरेको पहिलो दिन नै पार्टीको १४औँ महाधिवेशनबारे पार्टी पदाधिकारीसँग सरकारी निवासमै छलफल गरेका देउवा प्रधानमन्त्री भएदेखि पार्टी कार्यालयमा पाइला टेकेका छैनन्। उनले सरकारी निवासमा पार्टीको बैठक राखेपछि सामाजिक सञ्जालमा विरोध भयो। त्यसपछि उनले आफ्नो निजी निवासमा पार्टीको बैठक राख्दै आएका छन्।  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जतिसुकै विरोध भए पनि पार्टीको बैठक बालुवाटारमै राखेर सरकारी सम्पत्तिको दोहन गरेरै बाहिरिए। कांग्रेस सभापति देउवाले भने लोकलाज छल्न भए पनि विरोधपछि पार्टीका नेताहरूसँग चिया गफ बाहेकका पार्टी बैठक निजी निवासमा राख्न थालेका छन्। कांग्रेसबाट प्रधानमन्त्री भएका देउवा पार्टी कार्यालयमा भने गएका छैनन्। 

‘उहाँ प्रधानमन्त्री भएपछि पार्टी कार्यालय आउनु भएको छैन,’ पार्टी कार्यालयका सचिव कृष्ण दुलालले भने, 'त्यसअघि बसेका केन्द्रीय समितिका बैठकमा भने आउनुभएको थियो।’

देउवा असार ४ गते बसेको केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा गएका थिए। त्यतिबेला उनी प्रधानमन्त्री नियुक्त भएका थिएनन्। प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न १४९ जना सांसदले बुझाएको हस्ताक्षर राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेर प्रतिनिधि सभा विघटन गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा दायर रिट विचाराधीन थियो। 

असार ४ गतेकै बैठकले पार्टीको १४औँ महाधिवेशनको संशोधित कार्यतालिका पारित गरेको थियो। असार २० गतेभित्र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि तोकिएको थियो। 

असार ३० गतेभित्रै क्रियाशील सदस्यताको सूचीमा सभापति देउवाले हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई बुझाउने दिन तोकिएको थियो। 

त्यसपछि साउन १२ गते कांग्रेसको गाउँ, नगरपालिकाको वडा अधिवेशन गर्ने संशोधित कार्यतालिका पारित गर्ने निर्णय असार ४ गतेकै बैठकले गरेको थियो। 

क्रियाशील सदस्यताको सूचिमा हस्ताक्षर गरेर केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अघिल्लो दिन देउवा प्रधानमन्त्रीमा नियुक्त भए। तर देउवाले सदस्यताको सूचीमा हस्ताक्षर गरेर बुझाउने दिनसम्म पनि छानविन समितिले प्रतिवेदन बुझाएको थिएन। 

छानविन समितिले देउवा प्रधानमन्त्रीमा नियुक्ति भएको १५ दिनमा बल्ल प्रतिवेदन बुझायो। विवाद समाधान नगरी बुझाएको सदस्यताको सूचीमा शीर्ष नेताहरूले सहमति जुटाउन सकेका छैनन्। महाधिवेशनको कार्यतालिका अनुसार कांग्रेसले भदौ १ र २ गते प्रदेश अधिवेशन गर्ने भनेको थियो। भदौ १६ देखि १९ सम्म काठमाडौँमा पार्टीको १४औँ महाधिवेशन गर्ने तालिका संशोधन गर्न कांग्रेस केन्द्रीय समितिको बैठकमा छलफल भइरहेको छ। 

वडा तहदेखिका साउन २६ गते हुने तालिका रहेको जिल्ला अधिवेशन प्रभावित भइसकेका छन्। भदौ १६ मा कांग्रेसको महाधिवेशन नहुने निश्चित भइसकेको छ। केन्द्रीय समिति बैठकमा महाधिवेशनको संशोधित कार्यतालिकालाई केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयका आधारमा टुङ्गो लगाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार बसेको बैठक पछि बताएका थिए। 

क्रियाशील सदस्यता विवाद समाधान नगरी कांग्रेसले असार ४ गते संशोधन गरेको महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले पहिला क्रियाशील सदस्यता टुङ्गो लगाउनुपर्ने माग बैठकमा केन्द्रीय सदस्यहरूले राखेका छन्। 

सदस्यता विवाद समाधान गर्न कांग्रेस पार्टी कार्यालयमा नेता कार्यकर्ता धर्नामा बसेपछि देउवाले केन्द्रीय समितिकै बैठक निजी निवासमा राखेका हुन्। तर नेता कार्यकर्ताले देउवाको निजी निवासमै पुगेर प्रदर्शन गरेका छन्। 

प्रधानमन्त्री निवासबाट पार्टी कार्यालय नगई निजी निवासमा बैठक राखेका देउवालाई नेता/कार्यकर्ता पनि उनकै निवासमा धर्ना दिन पुगेका हुन्।

२९ साउन, २०७८, १३:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।