स्वास्थ्य

गाउँमा कोरोना फैलिँदा सरकार बेखबर, अस्पतालमा छैन बेड

उपेन्द्र खड्का


काठमाडौँ : देशका सात वटै प्रदेशमा केही सातायता कोरोना संक्रमितको संख्या बढेको छ। संक्रमित बढेसँगै अस्पतालमा बिरामीको चाप पनि बढिरहेको छ।

केही प्रदेशमा संक्रमितले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको छ। तर तेस्रो लहरमा सातै प्रदेशले अक्सिजनको भने अभाव हुन नदिने दावी गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ७ सय ६१ जना आइसियु र १ सय ७६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। नेपालमा मंगलबार सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ रहेको छ भने संक्रमणका कारण थप ३५ जनाको मृत्यु भयो। 

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० भन्दा धेरै पुगिसकेको छ। 

भिडभाड हेर्दा कोरोना संक्रमण नियन्त्रण भइसके झैँ देखिए पनि तथ्याङ्कमा त्यस्तो देखिँदैन। 

प्रदेश १ : २८८ मध्ये आधा आइसियु भरिए 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढिरहेको छ। यातायातको चाप तथा भिडभाडका कारण थेग्नै नसक्ने गरी संक्रमणको ग्राफ उकालो लाग्ने हो की! भन्ने चिन्ता देखिएको छ। 

प्रदेश १ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको अस्पताल विकास तथा चिकित्सक सेवा महाशाखा कोभिड–१९ रिपोर्टिङ सचिवालयका संयोजक डा. रवीन्द्र निरौलाले परीक्षण गरेकामध्ये करिब ३० प्रतिशत व्यक्तिमा संक्रमण देखिने गरेको जानकारी दिए। डा. निरौलाले भने,‘३० को संक्रमणदर राम्रो त हैन। ३० को संक्रमणदर हुनु भनेको नियन्त्रणमा छैन भन्ने देखाउँछ।’ 

पहिलो लहरको गत कार्त्तिकमा सबैभन्दा बढी ८ सय ७० जना संक्रमित भएको र अहिले दैनिक परीक्षण गरेकामध्ये ८ देखि १२ सयको हाराहारीमा संक्रमित देखिएको डा. निरौलाले जानकारी दिए। उनले भने,‘अहिले पनि पहिलो लहरको पिक भन्दा माथि नै छौँ।’ 

धरान, विराटनगर, इटहरी, झापाका जनघनत्व धेरै भएका ठाउँमा संक्रमण बढी देखिएको डा. निरौलाले बताए। 

कोभिडका लागि छुट्टाइएका २ सय ८८ आइसियुमध्ये आधा भन्दा धेरैमा कोरोना संक्रमितको उपचार भइरहेको छ। ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। 

तत्काललाई अस्पतालमा बेड नै नपाउने अवस्था भने नरहेको उनले बताए। मंगलबारसम्ममा संक्रमणका करण मृत्यु हुनेको संख्या १ हजार ४ सय ४१ पुगेको छ। 

अक्सिजन प्लान्ट व्यवस्थापनको प्रक्रिया अघि बढेकाले अक्सिजनको भने अभाव नहुने संयोजक डा. निरौलाले दाबी गरे। उनले भने,‘अक्सिजन प्लान्ट यसपालिको कार्यक्रममा सबै जिल्लामा जोड्ने नै भनेको छ।’ योजना अनुरूप काम अघि बढी रहेको उनले बताए। 

विराटनगरको ‘कोसी कोभिड–१९ उपचार केन्द्र’मा करिब डेढ महिनामा अक्सिजन प्लान्ट जडान भइसक्ने उनले जानकारी दिए। 

प्रदेश २ : भेन्टिलेटरमा राख्नुपर्ने संक्रमित छैनन् 

प्रदेश २ मा भने अहिले कोरोना संक्रमण भएर अस्पताल पुग्नेको संख्या बढेको छैन। कोरोना परीक्षण भने घटेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिए। उनले भने,‘अस्पतालमा भर्ना हुने दर पनि घटेको छ। जाँच पनि घटेको छ।’

जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा संक्रमण बढ्ने जोखिम रहेको झाले बताए। प्रदेशमा अक्सिजन अभाव भने नहुने उनको दाबी छ। निर्देशक झाले २ नम्बर प्रदेशका सिराहा र लहान अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको जानकारी दिए। उनले नारायणी र अन्य जिल्लामा पनि अक्सिजन प्लान्ट जोड्ने प्रक्रियामा रहेकाले अक्सिजनको तत्काल अभाव नहुने बताए। 

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ मा भेन्टिलेटरमा राख्नु पर्ने कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छैनन्। ४ जना संक्रमित आइसियुमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ। 

सक्रिय संक्रमितको संख्या ३ सय २१ जना रहेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। 

बागमती प्रदेश : अस्पतालमा बेड भरिँदै 

काठमाडौँ उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा चिकित्सक सेवा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाइले अस्पतालमा बेडहरू भरिँदै गएको जानकारी दिए। संक्रमण देखिने दर अहिले २० प्रतिशत रहेको उनले तथ्याङ्क दिए।

संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनको व्यवस्थापन गरिरहेको उनले जानकारी दिए।

८ सय ९ आइसियुमध्ये ५ सय भन्दा धेरै आइसियु संक्रमितले भरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

कोभिडका लागि ४ सय १६ भेन्टिलेटर छुट्टाइएको छ। १ सय ४ वटा भेन्टिलेटरमा कोरोना संक्रमितको उपचार भइरहेको छ। ४ हजार ३ सय २६ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

गण्डकी प्रदेश : दक्ष जनशक्तिको अभाव 

गण्डकी प्रदेशमा हप्ता दिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अस्पताल विकास तथा चिकित्सक सेवा महाशाखा प्रमुख डा. रामबहादुर केसीले संक्रमित बढ्न थालेको बताए। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप संक्रमित भर्ना गर्न नसकिने अवस्था आएको डा. केसीले जानकारी दिए। उनले ५० बेडको अस्पतालमा सबै बेड भरिएको बताए। 

संक्रमित हुनेको संख्या बढ्दा अस्पताल पुग्ने संख्या पनि बढेको केसी बताउँछन्। उनले दक्ष जनशक्तिकै अभाव भएकाले सोचे अनुरूप सेवा दिन नसकिएको स्विकारे।

सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ९६ रहेको डा. केसीले जानकारी दिए। जसमध्ये १ सय ६५ जनाको अस्पतालमा उपचार भइरहेको उनले बताए। 

कोरोना संक्रमणका कारण एक हजार १ सय ४१ जनाको मृत्यु भएको छ। अक्सिजनको अभाव भने नहुने डा. केसीको दाबी छ। ‘अक्सिजन सिलिन्डर जिल्लामा पठाएका छौँ। सिलिन्डरको अभाव पनि छैन,’ उनले भने,‘मनाङबाहेक सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना र सञ्चालन गरिसकेका छौँ।’ जसले गर्दा अक्सिजन अभाव नहुने उनले दाबी गरे।

लुम्बिनी प्रदेश : बेड नै नपाउने अवस्था छैन  

लुम्बिनी प्रदेशस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पुष्पराज पौडेलले पछिल्लो हप्ता कोरोना भाइरस संक्रमित भएर अस्पताल पुग्नेको संख्या बढिरहेको बताए। 

डा. पौडेलले भने,‘अस्पतालमा आउनेको चाप बढ्दो छ। संक्रमित हुनेको संख्या उकालो लाग्दै गएको देखिन्छ।’ तर, अस्पतालमा संक्रमितले बेड नै नपाउने अवस्था भने नहरेको उनले बताए। 

उनले समुदाय स्तरबाट संक्रमितहरु अस्पताल पुग्ने क्रम बढेको जानकारी दिए। डा. पौडेलले भने,‘पहाडी जिल्लामा एन्टीजेन टेस्ट गर्दा धेरै पोजेटिभ आएको भन्ने छ। तर, ठुलो क्षति भएको अथवा क्रिटिकल केयर चाहिएको भन्नेचाहिँ रिपोर्टिङ छैन।’ संक्रमितहरु घरैमा आराम गरेर ठिक भएको पाइएको उनले जानकारी दिए।

सक्रिय संक्रमितको संख्या १ हजार १ सय ८७ पुगेको छ। प्रवक्ता डा. पौडेलले परीक्षण गरिएकामध्ये २२.१७ प्रतिशतमा संक्रमण देखिने गरेको जानकारी दिए। उनका अनुसार मृत्युदर २.०१ प्रतिशत रहेको छ। 

अक्सिजन जडान गर्ने काम अन्तिम चरणमा पुगेकाले तत्काललाई अक्सिजन अभाव नहुने उनको दाबी छ। प्रवक्ता डा. पौडेलले भने,‘हाम्रो प्रदेशको १२ वटा नै जिल्लामा अक्सिजन प्लान स्थापना गर्ने काम भइरहेको छ।’ 

डा. पौडेलले कोरोनाका लागि छुट्याइएकोमध्ये २०.५ प्रतिशत आइसियु कोरोना संक्रमितले भरिएको जानकारी दिए। कोरोना संक्रमणका कारण १ हजार ६ सय ३२ जनाको मृत्यु भइसकेको छ। 

कर्णाली प्रदेश : सबै जिल्लामा सय वटा सिलिन्डर 

कणाली प्रदेशमा पनि एक हप्ता यता संक्रमण बढ्न थालेको छ। प्रदेशस्थित सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख बिर्षबहादुर शाहीले तत्कालै व्यवस्थापनमा चुनौती नदेखिए पनि संक्रमण बढ्न थालेको जानकारी दिए। उनले भने,‘समस्याकै रूपमा त आएको छैन। सय जनामा १५/२० जनामा संक्रमण देखिन थालेको छ।’ बेड अभाव पनि तत्काललाई नहुने उनको दाबी छ।

कोरोना संक्रमणका कारण ४ सय ३० जनाको मृत्यु भएको छ। पहिलेको तुलनामा अक्सिजनको अभाव भने नहुने महाशाखा प्रमुख साहीको दबी छ। सबै जिल्ला अस्पतालहरूमा सय वटा भरेका अक्सिजन सिलिन्डर भएको तथा अस्पतालहरूमा अक्सिजन प्लान्ट पनि जडान भएकाले अक्सिजन अभाव नहुने उनको दबी छ। उनले भने,‘सय वटा सिलिन्डर लगभग सबै जिल्लामा छ।’

अक्सिजन कन्सन्ट्रेटर तथा सिलिन्डरको पनि व्यवस्थापन भएको शाहीले बताए। 

सुदूरपश्चिम प्रदेश : परीक्षण नै कम

सुदूरपश्चिम प्रदेशमा संक्रमण कम देखिएको छ। सुदूरपश्चिम प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले सुदूरपश्चिममा परीक्षण पनि कम भएकाले संक्रमितको संख्या कम देखिएको हुनसक्ने बताए। प्रवक्ता कार्कीले भने,‘म त टेष्टिङ कम भन्छु। लक्षण देखिएपछि मात्रै टेस्ट गर्न आउँछन्।’

कोरोना संक्रमणको अवस्था स्थिर भए पनि जोखिम भने रहेको उनले जानकारी दिए। प्रवक्ता कार्कीले भने,‘संक्रमितको चाप स्थिर छ। संक्रमणदर कम छ। तर, जोखिम छ।’ 

गाउँ–सहर जुनसुकै भीड हुने ठाउँमा संक्रमणको जोखिम रहेको उनले बताए। गाउँतिर परिवारका एक जना सदस्यलाई कोरोना भए सबैमा देखिने गरेको उनले सुनाए। 

सुदूरपश्चिम प्रदेशका सेती र डडेलधुरा अस्पतालमा अक्सिजन जोडिएको र अन्य ८ अस्पतालमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया अघि बढेकाले तत्काललाई अक्सिजनको कमी नहुने प्रवक्ता कार्कीले बताए। 

प्रवक्ता कार्कीले भने,‘सम्झौता भएर अक्सिजनको सामान आउने र जडान हुने काम भइरहेको छ। भदौ सम्ममा सबै जडान हुन्छन् भन्ने अनुमान छ।’ अक्सिजन कन्सन्ट्रेटर पनि पर्याप्त भएको उनले जानकारी दिए।

आइसियुमा उपचार हुने संक्रमितको संख्या ८ रहेको छ। भेन्टिलेटरमा ७ जनाको उपचार भइरहेको छ। संक्रमणका कारण ४ सय ४९ जनाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कैलालीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

अस्पतालमा १२ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको छ भने २ जना भेन्टिलेटरमा छन्।

आजबाट एस्ट्राजेनिकाकाे दाेश्राे मात्रा खाेप लगाइँदै

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडाैं महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा दोस्रो डोज खाेप कार्यक्रम....

काेभिड-१९ का कारण एक लाख ८० हजार स्वास्थ्यकर्मीकाे ज्यान गएकाे डब्ल्यूएचओकाे अनुमान 

याे मृत्यु सङ्ख्या सन् २०२० काे जनवरीदेखि सन् २०२१ काे मेबीचकाे हाे।  डब्ल्यूएचओका प्रमुख टेड्राेस एडहानाेमले भने, 'स्वास्थ्यकर्मीलाई खाेपमा उच्च प्राथमिकता दिइनुपर्छ।' उनले खाेपकाे वितरणमा....

सराङकोटका विपन्न परिवारका महिलाले स्तनबाट पीप बग्दा समेत रोग लुकाएर राखे

अति विपन्न परिवारमा रहेका दुई जना महिलाले स्तनबाट पिप बग्दा समेत रोग लुकाएर राखेको पाइएको उनले बताए।  गैर आवासीय नेपाली सङ्घको आर्थिक सहयोगमा सराङकोट र....

कर्णाली प्रदेश अस्पतालमा बिहान ७ बजेदेखि नै विशषेज्ञ सेवा

बिहानको समयमा विशेषज्ञ सेवा लिन आउने बिरामीहरूको लागि भने विशेषज्ञ सेवा शुल्क बापत प्रत्येक व्यक्तिले चार सय र ओ.पी.डी.कार्ड शुल्क २५ तिर्नु पर्ने प्रदेश अस्पतालका....