कालिज व्यवसायमा रमाएका तीन सरकारी जागिरे

कालिज व्यवसायमा रमाएका तीन सरकारी जागिरे

सुर्खेत : वीरेन्द्रनगर-३ का डिकेन्द्र पौडेल भेरी गंगा नगरपालिकामा अमिनको जागिर खान्छन्। हप्ताको ६ दिन कार्यालयमा भेटिने पौडेल शुक्रबार बेलुकादेखि आइतबार बिहानसम्मको समय भने वीरेन्द्रनगर-१४ मा रहेको आफ्नै कालिज फर्मलाई दिन्छन्।

शुक्रबार कार्यालय छिट्टै बिदा हुने भएकाले डेढघन्टा टाढादेखि बेलुका कालिज फर्म पुग्छन् आइतबार समयमै कार्यालयको कामका लागि निस्कन्छन्।

पौडेलसँग वीरेन्द्रनगरकै अन्य दुई जना सरकारी जागिरे गणेश पौडेल र सन्दीप ढकालले पनि सहकार्य गरेका छन्। गणेश हुम्ला पशु सेवा कार्यालयमा खरिदार पदमा कार्यरत छन् भने सन्दीप दैलेख नापी कार्यालयमा अमिन छन्।

८ वर्षअघि सरकारी सेवामा प्रवेश गरेका तीनै जनाले दुई वर्षदेखि वीरेन्द्रनगर-१४, गोठी काँडामा ‘माउन्टेन वाईल्ड फुड प्रोडक्ट प्रालि’ नामक कालिज फर्म सञ्चालन गरिरहेका छन्।

२०७६ जेठ ७ गतेबाट सुरु गरिएको उक्त कालिज फर्ममा भेटेरिनरी पढेका एक जना युवासहित तीन जना कर्मचारी काम गर्छन्। १० वर्षको सम्झौता गरी एक बिघा जग्गा भाडामा लिएर तीनै जनाको बराबर लगानीमा उनीहरूले कालिज फर्म सुरु गरेका हुन्। करिब एक करोडको लगानीमा फर्म स्थापना गरेका उनीहरूले जग्गाको भाडा वार्षिक ८० हजार रुपैयाँ तिर्छन्।

पैसाको लागि अर्काको देशमा गएर मिहिनेत खेर फाल्ने युवाका लागि उदाहरण बनेका छन् उनीहरू। आफूहरूले बचेको समयलाई पनि उत्पादनको क्षेत्रमा खर्च गर्नुपर्ने सन्देश दिन खोजेको डिकेन्द्र बताउँछन्।

‘स्वदेशमा रोजगारी नपाएको भन्दै युवाहरू विदेशतिर होमिएका हुन्छन्। यस्तो अवस्थामा स्वदेशमै केही गर्नुपर्छ भन्ने सिकाइ हो होस् भन्ने हाम्रो उद्देश्य हो,’ डिकेन्द्र भन्छन्,‘म सँगका केही साथीहरू बेरोजगार भएँ भनेर बाहिर देश जानु भएको छ। यसरी बाहिर जानु भन्दा स्वदेशमा उद्यम गरेर आफूसँगै बेरोजगार बनेका युवालाई पनि रोजगारी दिने गरी लाग्नु पर्छ भन्ने हाम्रो उद्देश्य हो।’

केही वर्ष अघि यी तीन युवा घुम्न भनेर पोखरा गएका थिए। पोखरामा कालिज पालन गरेको देखेपछि सुर्खेतमा पनि यो व्यवसाय गर्ने योजना उनीहरूले बनाए। त्यहाँका व्यवसायीसँग परामर्श लिए। पोखरामा पाइने बेल्जियम र फ्रान्सको प्रजाति किनेर उनीहरूले सुर्खेतमा कालिज पालन सुरुवात गरेका हुन्।

‘सुर्खेत कर्णाली प्रदेशको राजधानी र पर्यटकीय क्षेत्र पनि भएकोले पर्यटकलाई लक्षित गरी कालिज व्यवसाय सुरु गरेका हौँ,’ डिकेन्द्रले भने, ‘जंगलमा पाइने यो प्रजाति व्यावसायिक रूपमा पाल्न थालियो भने जंगलमा हुने चोरी-सिकारी पनि रोकिन सक्छ। पर्यटन प्रवर्धनमा पनि टेवा पुग्न सक्छ।’

व्यावसायिक कालिज पालनका लागि उनीहरूले पोखरामा बसेर एक सातासम्म प्रशिक्षण लिएका थिए। अहिले पनि युट्युबमा भिडियोहरू हेरेर र फोन मार्फत आवश्यक जानकारी लिने गरेको अर्का युवा सन्दीप ढकालले बताए।

‘माउन्टेन वाइल्ड फुड प्रोडक्ट प्रालि’ का रूपमा रहेको उक्त फर्ममा ६०० भन्दा बढी कालिज छन्। पोखराका व्यवसायी मार्फत अर्डर गरी बेल्जियम र फ्रान्समा पाइने कालिजको प्रजाति सुर्खेत ल्याइएको थियो।

पहिलो वर्ष सबै खर्च कटाएर १५ लाख नाफा कमाएका उनीहरूले दोस्रो वर्ष पनि आधा मात्रै कालिज बेचेर पनि १० लाख नाफा कमाएका छन्।

अहिले व्यावसायिक रूपमा कालिज पालिरहेका उनीहरूले छिट्टै ‘कालिज रेस्टुरेन्ट’ स्थापना गर्ने योजना समेत बनाएका छन्। त्यसैले पनि अहिले उनीहरूले फर्मबाट कालिज बिक्री गरेका छैनन्। लगानी धेरै भएकाले कालिजबाट मात्रै लगानी उठाउन गाह्रो पर्ने हुँदा थोरै लगानी थपेर रेस्टुरेन्टसमेत सञ्चालन गर्ने गरी अगाडि बढेको पौडेलको भनाइ छ।

अहिले उक्त फर्ममा दुई जना युवाले स्थायी रूपमा रोजगारी पाएका छन् भने दुई जना अस्थायी छन्। फर्मको हिसाब-किताबका लागि एक जना लेखापाल पनि राखिएको छ।

डिकेन्द्रको जागिर सुर्खेतमै भएकोले फर्मको सबै व्यवस्थापन उनले मिलाउँछन्। दैलेखमा भएका सन्दीप हप्तामा एक पटक फर्ममा आएर रेखदेख गर्छन्। यस्तै हुम्लामा भएका गणेश महिना-दुई महिनाको एक पटक फर्ममा आउँछन्। फर्ममा भएका गतिविधि र आवश्यकता परेका सामग्री र जानकारीबारे डिकेन्द्रले भिडियो कल गर्छन् तीनै जनाले आवश्यक छलफल गरेर निर्णय लिन्छन्।

हप्तामा ६ दिन कार्यालयको काममा व्यस्त हुने उनीहरू आफ्नो फर्मका लागि पनि योजना बनाउन भ्याउँछन्। हप्ताभरका लागि फर्ममा चाहिने सामान, पैसा, संरचना थप गर्नुपर्ने जस्ता योजना बनाउँछन्।

कर्मचारीलाई काम अह्राएर आइतबार बिहान फेरि कार्यालयको काममा जान्छन्।

शनिबार दिनभर सुतेर वा घुमेर बिताउने समय फर्म खुलेपछि सदुपयोग भएको उनीहरूको भनाइ छ।

अहिले उक्त प्रालिमा रहेका कालिजबाट हप्तामा ६०० वटासम्म अन्डा उत्पादन हुने गरेको छ। वीरेन्द्रनगरमा चल्ला उत्पादन गरी एक महिना पछि पुनः फर्ममा लगेर पाल्ने गरिएको छ।

उनीहरूको फर्मबाट जाजरकोट, जुम्ला, चितवन र सुर्खेतका विभिन्न ठाउँमा चल्ला बिक्री भइरहेको छ।

एक महिनाको एउटा चल्ला दुई हजार रुपैयाँसम्म बिक्री हुने गरेको उनीहरू बताउँछन्। यस्तै ठुला कालिजलाई ३५ सय रुपैयाँसम्म बिक्री गर्ने गरिएको छ।

उक्त फर्ममा कालिज बाहेक लोकल कुखुरा, टर्की, बट्टाई, खसी र फ्यान्टम (जापनिज प्रजाति) जातका कुखुरा पनि पालिएका छन्।

उनीहरूले कर्णाली प्रदेश सरकारको कृषि मन्त्रालयले प्रदान गर्ने सहुलियत ब्याज अनुदान कार्यक्रम अन्तर्गत एक करोड रुपैयाँ ऋण लिएका छन्। जसअनुसार सात प्रतिशत ब्याज मन्त्रालयले तिर्ने र दुई प्रतिशत ब्याज आफैँले तिर्नुपर्ने व्यवस्था छ।

२६ साउन, २०७८, ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।