निराजन र श्रुतीका गुरु डम्बरबहादुरको आशंका- ‘त्यति माया गर्ने दाजुले बहिनीलाई मार्न सक्छन् र !’

निराजन र श्रुतीका गुरु डम्बरबहादुरको आशंका- ‘त्यति माया गर्ने दाजुले बहिनीलाई मार्न सक्छन् र !’
तस्बिर : कृष्पा श्रेष्ठ ।

सरदार भक्ति थापाका पुर्खा डम्बरबहादुर थापा अवकाशप्राप्त प्रहरी मात्रै हैनन्, तत्कालीन राजपरिवारका सदस्य निराजन र श्रुतीका गुरु पनि हुन्।

मासिक २३ हजार पेन्सन खाएर धापासीमा आराम गरिरहेका डम्बरको जागिरे जीवनको कथा र पुर्खाको इतिहास जति रोचक छ, उनको दरबारको सम्झना भने त्यति रोचक बनाएन हत्याकाण्डले।

‘दरबार हत्याकाण्डले मेरो मन छत्तविक्षत बनायो। अहिले पनि सपना जस्तै लाग्छ। त्यो दिन, त्यति बेलाका कुरा सम्झन पनि मन लाग्दैन,’ उनी भन्छन्। हत्याकाण्ड अगाडिका सम्झनाका पोका फुकाउँदा उनको बुढ्यौली मुहारमा देखिने चमकले देखाइरहेको थियो, उनी आफ्ना चेला-चेली सम्झँदा कति प्रशन्न हुन्छन् भन्ने। उकेराको नियमित स्तम्भ हिजोको कुरामा अब उनकै कुरा:

०००
उनका जिजु हजुर बुबा भक्ति थापा तत्कालीन लमजुङ राज्यका सेनापति। लमजुङ र गोरखाबीच लडाइँ हुँदा उनकै नेतृत्वमा रहेको फौजले गोरखालाई दुई पटक हराएको थियो। तर तेस्रो पटकको लडाइँमा सरदार भक्ति थापालाई गोरखाबाट समातियो।
त्यतिबेला भक्ति थापालाई 'ज्युँदै ल्याउनू' भन्ने आदेश थियो। सोहीअनुसार उनलाई गोरखा दरबार लगियो।

‘म लमजुङको मात्रै पानी खान्छु’ भन्ने जिद्धी गरेकाले भक्ति थापालाई दुई वर्षसम्म लमजुङको पानी बगाएर खुवाइएको थियो।

पछि एकीकरणका लागि गोरखाबाट पश्चिमको जिल्ला काँकडासम्म राज्य फैलाए। उनका छोरा हृदयसिंह थापा उनीभन्दा पहिले नै मारिए। हृदयसिंह थापाका दुई जना छोरा नैनसिंह थापा (५) र चैतसिंह थापा (७) लाई कप्तान पदवी दिएर लमजुङको राइनस मोहरिया कोटको बिर्ता दिइयो। उनले पुर्खाको इतिहास सम्झिए, 'चैतसिंहका एक भाइ छोरा भीमसेन थापा र नैनसिंहका ८ भाइ छोरा भए। भीमसेन थापाका छोरा नकुल थापा, नकुल थापाका छोरा कर्णबहादुर थापा मेरा बुबा।'

०००
डम्बरबहादुरका बुबा दोस्रो विश्वयुद्धमा लडाइँ गरेका एक योद्धा थिए। लडाइँपछि जापानले ९ वर्ष पानी जहाज गिराएर बन्दी बनायो कर्णबहादुरलाई। सन्धी भएपछि मात्रै आफ्नै पल्टनमा फर्किएका थिए। त्यही लडाइँपछिको बन्दी जीवनको चिसोले बिरामी परे उनी। भारतमा साढे दुई लाख खर्च गरी उपचार गरे पनि बाँचेनन् डम्बरबहादुरका बुबा।

२०२४ सालमा साढे दुई लाख रुपैयाँ पनि धेरै हुन्थ्यो। पल्टनमा कमाएको डेढ लाख र ठमेलको ४ रोपनी घर–जग्गा १ लाखमा बेचेर डम्बरबहादुरका बुबाको उपचार गराइएको थियो।

बुबाको निधनपछि १० वर्षका डम्बर सहित ७ वर्ष, ४ वर्ष र ४ महिनाका  सन्तान लिएर उनकी आमा राइनस मोहरियाकोटतिर लागिन्।

१० वर्षसम्म ठमेलमा हुर्केका डम्बरको मानसपटलमा त्यतिबेलाको ठमेलका सम्झनाहरु ताजै छन् अझै। त्यतिबेला ठमेलका कुनै पनि घरमा भुईंतलामा मान्छे बस्दैनथे, गाईवस्तु र गोबर मात्रै राखिन्थ्यो।

‘विष्णुमतीमा दिउँसो ३ बजे नै स्यालले लखेट्ने समय थियो त्यो। कपुरधाराभन्दा पर त मान्छेहरु खेल्न जानै सक्दैनथे,’ डम्बर सम्झन्छन्, ‘अहिले त्यही ठमेलमा हिँड्दा मलाई आफ्नो बाल्यकाल एकादेशको कथा जस्तै लाग्छ।’

लमजुङमा कक्षा ५ पछि पढ्ने कुनै विद्यालय नै थिएनन्। बन्दीपुर, गोरखाको आँप पिपल र लमजुङको कुन्छामा १-१ वटा हाइस्कुल थिए। तर त्यहाँ पढ्न जान सम्भव थिएन।

उनी सुरुमा ब्रिटिस आर्मीमा भर्ना भएका थिए। तर ६ महिनापछि मात्रै लाने खबर आएपछि साथीहरुको लहलहैमा इन्डियन आर्मीमा भर्ती हुन देहरादुन पुगे। त्यहाँ उनी छानिएनन्। त्यसपछि उनले आर्मी हुने रहर त्यागे।

०००
डम्बरका मामा गोपालबहादुर खत्री नेपाल प्रहरीमा थिए। उनी तत्कालीन राजा महेन्द्रको आजीवन एडिसी। मामाले चिठी लेखिदिएपछि २०३६ सालमा उनी प्रहरीमा जागिरे भए।

जगिरको सुरुदेखि नै उनले सवारी महाशाखामा काम गरे, जहाँ भिभिआइपी र भिआइपीको सवारीमा मात्रै ड्युटी गर्नुपर्थ्यो। उनले सुरुवाती समयदेखि २०५८ सालको दरबार हत्याकाण्डसम्म दरबारमै ड्युटी गरे।

सिपाहीमा भर्ना भएका डम्बरले सई भए। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले इन्स्पेक्टरमा प्रमोसन भएपछि जागिर छोड्न भनेका थिए। तर उनले लामो समय सई भएर काम गरेकाले धेरै ग्रेड हुने भन्दै नेपालको प्रस्ताव मानेनन्। सईमै प्रहरीको जागिर छाडे।

०००
पञ्चायतकाल थियो। बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराई नेपाल आउने हल्ला चल्यो। उनीहरु आउँदा विरोध प्रदर्शन हुनसक्थ्यो। त्यसको तयारीमा डम्बरसहित टिमलाई संगठनले अश्रुग्यास हान्ने तालिममा पठाइयो। त्यतिबेलासम्म उनलाई बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईबारे भने अत्तोपत्तो थिएन।

एक पटक ठमेलमा घुमिरहँदा केही पर्यटकहरुले ‘गणेशमान हाउस’ भनेर तस्बिर लिइरहेको देखे। मनमा कौतुहता जाग्यो। काकालाई गएर सोधे'गणेशमान सिंह भनेको को हो?'

उनी सम्झन्छन्, ‘काकाले गणेशमानलाई नेवारी राजा, जसलाई श्री ३ राणाहरुले पनि ३ तोपको सलामी दिन्थे, उनै राजाको नाति हो भन्नुभयो।'

गणेशमान कांग्रेसी हो, विदेशमा बस्छ र अब नेपाल आएर कांग्रेसले सरकार बनाउँछ भनेको उनी अहिले पनि सम्झन्छन्।

०००
२०३९ सालदेखि डम्बर तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या अनि युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र श्रुतिको ड्युटी गर्न थाले। उनीहरुको सवारी हुँदा उनी सहकर्मीहरुसँग स्कर्टिङ गर्न पुग्थे।

२०४० सालमा प्रहरीलाई स्टन्टहरु सिकाउन जापानी गुरु नेपाल आए। डिबी लामा आइजिपी थिए त्यो बेलामा। लिलानाथ पन्त, रामबहादुर बोहरा, गणेशबहादुर थापा, धर्म थापा, राधिका खड्का, शोभा थापा, रमोला गुरुङ लगायत उनलाई पनि मोटरसाइकल स्टन्ट ट्रेनिङ गराइयो। विटिङरिटिङ भनिने यसमा मोटरसाइकल उडाउनेदेखि धेरै चर्तिकला देखाउन सिके उनले।

त्यसपछि त राजाहरुको जन्मोत्सवमा उनले मोटरसाइकल उडाएर १४ वटा गाडीसम्म नाघे। एउटै मोटरसाइकलमा १८ जना राखेर पिरामिड बनाएर ८-९ राउण्ड घुमाए पनि।

पछि त तत्कालीन अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुती शाहलाई गाडी सिकाउने जिम्मा पनि उनैले पाए। उनीहरुले सामान्य रुपमा गाडी चलाउन जानेका थिए तर गाडी सम्बन्धी अन्य आधारभूत ज्ञान थिएन। त्यसैले सिकाउने जिम्मा उनले पाएका थिए।

सुरुमा राजाका छोराछोरीलाई गुरु भएर सिकाउन सकिएला र? भनेर हच्किएका पनि रहेछन् उनी। तर आदेश त मान्नै पर्यो। उनले सिकाउन थाले।

‘उहाँहरु गाडी कुदाउन जान्ने नै हुनुहुन्थ्यो। तर आधारभूत ज्ञान नभएको। जति स्पिडसम्म छ, त्यतिमै कुदाइहाल्ने। २४० सम्म कुदाउनुहुन्थ्यो। मैले यो स्पिड हाम्रो बाटोको लागि होइन भनेर ब्रेकडाउन र ब्याक गर्न सिकाए,’ उनी अनुभव सुनाउँछन्, ‘कहिलेकाहीँ  रोक्ने बेलामा अन्जानले जिउमा लाग्दा ‘सरी सरकार’ भन्दा ‘भन्नु पर्दैन, तपाईं हाम्रो गुरु हो’ भन्नुहुन्थ्यो। मैले भेटेका अहिलेसम्मकामा श्रुती र निराजन सरकार जस्तो भलाद्मी र नम्र व्यक्ति भेटेकै छैन।’

एक पटक निराजन र पुलिसको गाडी ठोक्किँदा निराजनले आइजिपीलाई फोन गरेर ‘प्रहरीको केही गल्ती छैन, मेरै गल्ती हो, कारबाही नगर्नू’ भनेको सम्झन्छन्। राजाको छोरा। त्यसो भनिरहनु पर्दैनथ्यो नि। तर आफ्नो कारण प्रहरीलाई कारबाही होला भनेर भनेका थिए उनले।

निराजनको त्यो व्यवहारवाट डम्बर थापा साह्रै प्रभावित भएछन्।

उनी श्रुती र निराजन मात्र होइन, तत्कालीन युवराज दीपेन्द्रको पनि प्रिय रहेछन्।

‘पूर्वाञ्चल र पश्मिाञ्चल भ्रमणमा सँगै जाँदा दीपेन्द्र मेरा लागि खाने, सुत्ने व्यवस्था कस्तो छ भनेर हेर्न आउनुहुन्थ्यो,’ डम्बर भन्छन्, ‘ड्रिक्स पनि लिने भए लिनूस् है भनेर जानुहुन्थ्यो।’

सामान्य कर्मचारीको पनि त्यसरी ख्याल गर्ने दीपेन्द्रको स्वभावबाट पनि उनी प्रभावित देखिए। उनीहरुबारे कुरा गर्दा बुढ्यौलीले छोप्दै गएको उनको अनुहार उज्यालो हुन्थ्यो।

दीपेन्द्रले कुरा गर्दा आफूहरुलाई पिएचडी पास गरेको राजा बन्छु भनेको सम्झिए उनले।

डम्बरलाई याद रहेछ, श्रुती सुत्केरी हुँदा तत्कालीन युवराज दीपेन्द्रले आफ्नो गाडीमा राखेर दरबार भित्रको बगैंचामा घण्टौं घुमाएको।

बहिनी श्रुती र भाइ निराजनलाई गरेको माया सम्झिए। एकछिन घोरिए। सुस्तरी भने, ‘त्यसरी माया गर्ने दाजुले बहिनीलाई मार्न सक्छ र?’

उनको अनुहारको भाव बदलियो। तर उनी यहाँभन्दा अगाडि बढ्न मानेनन्। उनी दरबार हत्याकाण्डतिरभन्दा पुरानै स्मृतिमा फर्किन चाहे।

उनले दीपेन्द्रसँगको अनुभव सुनाउन थाले , ‘उहाँले गाडी एकदमै स्पिड चलाउने। दरबारवाट ५ मिनेटमै सोल्टी पुग्ने तर कहिल्यै दुर्घटना गर्नुभएन। दसैंमा भक्तपुरस्थित दत्तात्रयको जमरा राजपरिवारबाट निकाल्नुपर्ने चलन थियो। एक पटकको दसैंमा जमरा निकाल्न दीपेन्द्र सरकारसँगसँगै जाँदा उहाँको गाडी र मेरो बाइक ९ मिनेटमा पुगेको थियो। उहाँले २४० को रफ्टारमा कुदाउनुभयो। सवारीका बाइकहरु पनि २४० कै रफ्तारमा कुद्छन्। त्यतिबेला निकै खुसी भएर मलाई धाप मार्नुभयो। हामी फर्केर जाँदा अरु सवारीका मोटरहरु कोटेश्वरमा भेटिए।’

अहिले पनि समय निकालेर समयसमयमा दरबार परिसर घुमिरहन्छन् डम्बर। त्यहाँ पुग्दा बिताएका मिठा पलहरु झल्झली आँखामा आउँछ। राजपरिवारका सदस्यको अनुहार नाच्छन् रे आँखामा। दरबारभित्रै छन् सबै जनाझैँ लाग्छ रे उनलाई।

उनलाई लाग्ने मात्र त हो। त्यो दरबार अहिले त संग्रहालय बनिसक्यो। उनलाई पनि थाहा नभएको त हैन। तर मनै त हो।

‘लामो समय बिताएको ठाउँलाई कहाँ भुल्न सकिन्छ र? अहिले दरबार देख्दा रुन मन लाग्छ,’ उनी भावुक भए, ‘दरबार वरिपरि झारै–झार, २४ घण्टा नै बलिराख्ने बत्ति पनि निभिसक्यो। साह्रै विरक्त लाग्छ देख्दा।’  

वीरेन्द्रको वंश नै नास हुनेगरी भएको दरबार हत्याकाण्डको आधा घण्टाअघि मात्रै उनले दीपेन्द्रलाई दरबार छोडेर फर्केका रहेछन्।

उनी त्यो घटनाबारे धेरै बोल्न चाहन्छन् भन्ने उनको भावले नै देखाइरहेको थियो। तर बोल्दा आफैँ संकटमा पर्ने हो की भन्ने भय पनि।

दरबार हत्याकाण्डबारे धेरै कुरा थाहा भए पनि साना मान्छेले धेरै बोल्न नमिल्ने बताए उनले।
 
‘दरबार हत्याकाण्डले मेरो मन छत्तविक्षत बनायो। अहिले पनि सपना जस्तै लाग्छ। त्यो दिन, त्यति बेलाका कुरा सम्झन पनि मन लाग्दैन,’ उनले भने।

उनलाई अझै नेपालमा राजतन्त्र फर्कन्छ कि भन्ने आस भने रहेछ। दीपेन्द्रले विध्यार्थीकालमा गरेका केही बदमासी उनलाई थाहा रहेछ। तर तत्कालीन राजा वीरेन्द्रले उनलाई सुधारेर आफू जस्तै बनाइसकेको दाबी गरे उनले।

राजाको छोरी पनि राजगद्दीमा बस्न पाउने नियम बने श्रुतिको छोरी कतै रानी हुन्छिन् कि भन्ने आस रहेछ उनलाई। भने' कहिले राजाको शासन, कहिले जनताको शासन। छोरीलाई पनि राजा बनाउने भनेर जनमत सङ्ग्रह हुने हो भने श्रुतीको छोरी राजा हुन सक्छिन् भन्ने लाग्छ मलाई। श्रुतीको छोरी राजगद्दीमा बस्ने दिन आउन पनि सक्छ नि।'

०००
दरबार हत्याकाण्डपछि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, माधव नेपालको ड्युटी पनि गरे। माधव नेपाल प्रधानमन्त्री हुँदा उनले जागिरबाट अवकाश लिए।

डम्बरले ३७ हजार ५ सय रुपैयाँमा धापासीमा ५ आना जग्गा किनेका थिए उतिबेलै। अहिले उनी त्यही जग्गामा घर बनाएर बसेका छन्।

उनी साथी, आफन्त र सन्तानलाई आफ्ना पुर्खाको इतिहास अनि राजदरबारबारे सुनाउन पाउँदा निकै दंग हुन्छन्। तर जब दरबार हत्याकाण्डको प्रसंग आउँछ उनी निरास हुन्छन्।

कुनै न कुनै दिन डम्बरले दरबार हत्याकाण्डबारे मनमा परेको गाँठो पक्कै फुकाउलान्।

थप हिजोका कुरा

२१ साउन, २०७८, १९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।