डोरीले बाँधेर युवक कुटेको आरोपमा वडाअध्यक्ष पक्राउ

डोरीले बाँधेर युवक कुटेको आरोपमा वडाअध्यक्ष पक्राउ

सुर्खेत : जाजरकोटमा एक युवकलाई सार्वजनिक स्थलमा कुटपिट गरेको आरोपमा वडाअध्यक्ष पक्राउ परेका छन्। 

जुनीचाँदे गाउँपालिका—२ का सर्पे दमाईलाई हातखुट्टा बाँधेर कुटेको आरोपमा सोही वडाका वडाअध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका हुन्। 

वडाअध्यक्ष नेपालीले युवकलाई डोरीले हातखुट्टा बाँधेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई बिहीबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक खडानन्द पाण्डेले जानकारी दिए। वडाअध्यक्ष नेपालीमाथि सार्वजनिक मुद्दा लगाउने तयारी रहेको उनले बताए।

गत शुक्रबार वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको समयमा वडाअध्यक्ष नेपालीकै भतिजा नाता पर्ने दमाईले मदिरा सेवन गरी होहल्ला गरेका थिए। वडाअध्यक्ष नेपालीले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। उनलाई नियन्त्रणमा लिने क्रममा बल प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

‘भिडियो बाहिरिएसँगै हामीले स्थलगत निरीक्षण पनि गरेका थियौं। सर्पे दमाईले मापसे गरेको, होहल्ला गरेको र गालीगलौज पनि गरेका रहेछन्,’ प्रहरी निरीक्षक पाण्डेले भने, ‘वडाअध्यक्ष नेपालीले उनलाई प्रहरीको जिम्मा लगाउनुको साटो आफैले हातपात गरेको, डोरीले बाँधेको देखियो। मदिरा सेवन गरेर कसैले होहल्ला गरे पनि वडाअध्यक्ष नेपालीले आफै कारबाही गर्ने अधिकार छैन।’

उनका अनुसार अहिलेसम्म सर्पेको परिवारले जाहेरी दिएका छैनन्।

‘पीडित परिवार उहाँकै आफन्त रहेछन्। उहाँहरूले जाहेरी दिन मान्नुभएको छैन। उहाँहरूलाई आज सदरमुकाममा बोलाएका छौं। हामी काउन्सिलिङ गर्छौं। यदि उहाँहरूले जाहेरी दिन मान्नुभएन भने पनि हामी कानुनी प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने, ‘सामाजिक सञ्जालमा आएको भिडियोलाई नै आधार मानेर प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ।’

स्थानीयका अनुसार वडाअध्यक्षले ती युवकलाई डोरीले बाँधेर कुटपिट गरेपछि बुधबार प्रहरी बोलाएर मिलापत्र गरिएको थियो। घटना मिलाउन इलाका प्रहरी कार्यालय, पञ्चालाको टोली खटिएको थियो। 

२१ साउन, २०७८, १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।