प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, ६ जना पक्राउ

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, ६ जना पक्राउ

मोरङ : प्रहरी जवानका लागि लिइएको परीक्षामा पनि नक्कली परीक्षार्थी फेला परेका छन्। १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान पदको परीक्षामा नक्कली परीक्षार्थी फेला परेका हुन्।

अर्काको नाममा परीक्षा दिन आएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय सङ्गम राई, १९ वर्षीय सरोज राई, २७ वर्षीय राज कुमार राई र २१ वर्षीय खपाङ राई छन्।

प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनी सङ्गम राईबाट १ लाख १८ हजार रुपैयाँ, सागर राईबाट नगद १ लाख १८ हजार रुपैयाँ  र सरोज राईबाट २ लाख रुपैयाँ लिएको खुलेपछि उनीहरूलाई १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूलाई शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) बमोजिम परीक्षा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद लिई थप गरेर अनुसन्धानका लागि हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

 

२१ साउन, २०७८, १३:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।