५२ बलात्कारीको बयान-२ :  बालिकाका अधिकांश बलात्कारी हिंस्रक र मानसिक रोगी 

५२ बलात्कारीको बयान-२ :  बालिकाका अधिकांश बलात्कारी हिंस्रक र मानसिक रोगी 

विकले श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि ललितपुरमा एक्लै बस्दै आएको, समूहमा खेल्ने सबैभन्दा सानी बालिका छान्दा आफू सुरक्षित हुने ठानेको बयान दिएका थिए। त्यसमाथि केही पैसा दिएपछि यो घटना बाहिर नजाने सोचेको उनले बताएका थिए।

अर्को घटना- २०७५। बलात्कारका अभियुक्त २८ वर्षे अनवर अन्सारीले आफ्नी छोरीसँग खेल्न आउने ४ वर्षीया बालिकालाई बलात्कार गरे। बालिकाको घरमा कोही नभएको बेला उनले बलात्कार गरेका थिए। त्यो बेला अन्सारीकी श्रीमती गाउँ गएकी थिइन्। श्रीमती घर गएको बेला शारीरिक सम्पर्क राख्न मन लागेर छोरीको साथी रोजेको उनले बताएका थिए।  

नेपाल प्रहरीको तीन वर्षको तथ्याङ्क हेर्दा कुल बलात्कृत महिलामध्ये ६० प्रतिशतभन्दा बढी बालिका छन्। बालिकाहरु बालकको मात्रै होइन, युवक, अधवैंसे तथा वृद्धको समेत सिकार हुन थालेका छन्।

नेपाल प्रहरी बागमती प्रदेशकी तत्कालीन प्रवक्ता एसएसपी मीरा चौधरीले बालिकालाई ताक्दा बलात्कारीले सुरक्षित महसुस गर्ने गरेको बताइन्। ‘उमेर धेरै भएका पुरुषले बालिका ताकेको देखिन्छ। यसो गर्नुको प्रमुख कारण घटना बाहिर जाँदैन भनेर नै हो,’ उनले भनिन्, ‘बालिकालाई चकलेट तथा स-साना कुरा दिएर पनि फकाउन सकिने हुँदा बालिका नै ताकेको पाइन्छ।’ 

पुरुषमा पैसाले यौन किन्ने, पैसा दिएपछि भुलिहाल्छन् भन्ने मानसिकता उनीहरुकै बयानबाट देखियो। उदाहरणको लागि २०६४ सालमा १२ वर्षकी किशोरीलाई ४० वर्षे पुरुषले रुपन्देहीमा ५ रुपैयाँ दिएर बलात्कार गरे। किशोरी रोइ-कराइ गरेपछि उनी भागेका थिए।

पिडकहरुले रक्सी खाएर होस गुमाएको बेला बलात्कार गरेको, एक्लै देखेर बलात्कार गरेको, श्रीमतीसँग सम्बन्धविच्छेद भएको कारण बलात्कार गरेको जस्ता बयान दिएका छन्। 

काठमाडौंको एक पोलिक्लिनकबाट गत वर्ष ६३ वर्षे पुरुष पक्राउ परे। उनले १४ वर्षीया किशोरीलाई बलात्कार गरेर गर्भवती बनाएको र गर्भपतन गराएको आरोप थियो। उनले भने किशोरीले अन्यत्रै सम्बन्ध राखी गर्भ बोकेको र आफूले गर्भपतन मात्रै गराएको बयान दिएका थिए। तर प्रहरी मुचुल्काले भने उनी दोषी रहेको प्रमाण गरेको थियो। 

परिचितबाटै हुन्छ बलात्कार 
आमाले दोस्रो विवाह गरेर छोरी साथै लिएर गएको छ भने छोरीलाई सौतेनी बाबुले समेत बलात्कार गर्ने गरेको पाइयो। २०७७ चैतमा ललितपुरमा घटेको घटनालाई हेर्ने हो भने यो कुरा खुल्छ।

एक महिलाले दोस्रो विवाह गरिन्। उनका साथमा पहिल्यै छोरी थिइन्। सौतेनी बुबाले ७ वर्षे बालिकालाई बलात्कार गरे। ‘दोस्रो विवाह गरेपछि आमाको अर्को बच्चा जन्मेको हुन्छ। अर्को बच्चा स्याहार्दा पहिलेको बच्चा असुरक्षित भएको पाइयो,’ ललितपुर महिला सेलकी तत्कालीन प्रमुख निरला भण्डारीले भनिन्, ‘पहिलो बच्चाको हेरचाह कम भएको, माया कम पाएको कारण जसले उनीहरुलाई माया बढी गरेको जस्तो गर्छ, उसैले ललाइफकाइ बलात्कार गरेका धेरै घटना छन्।’

एक वर्षअघि काठमाडौंमा र अहिले ललितपुरमा घटेको घटना उस्तै छ, उमेर मात्रै फरक। काठमाडौंकी ११ वर्षीया बालिका छिन् भने ललितपुरकी १६ वर्षे बालिका।  

सालीलाई भिनाजुले बलात्कार गरेको केस। दुई कोठा लिएर बसेका उनीहरु एउटै कोठामा सुत्ने गर्थे। राति पिसाब फेर्न उठेको बेला भिनाजुले भुईंमा सुतेकी सालीलाई बलात्कार गरे। दुवैले सालीलाई बलात्कार गरेको नभई सालीको ओछ्यानमा झुक्किएर लडेको र आफूलाई बित्थामा आरोप लगाएको बयानमा बताएका छन्। तर प्राप्त प्रमाणले भने उनीहरुलाई दोषी देखाएको छ। 

५२ ‘बलात्कारी’ को बयान-१ : जिज्ञासाले कलिलालाई पुर्याइरहेछ बलात्कारमा

खेलाउने निहुँमा बलात्कार
घटना २०७२ साल कैलाली धनगढीको हो। यो घटनामा संलग्न दोषी र बालिकाको उमेर छक्कै पार्ने खालको थियो। सानो खोकामा सिलाइ मेसिन राखी गुजारा गर्दै आएका ७१ वर्षे वृद्धले साँझ ६ बजेको समयमा ७ वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेर संवेदनशील अंगमा हात हाल्ने, घाउ बनाइदिने, माडिदिने गरे। पिडकले यो बयान सहजै स्वीकारे पनि।

बालिका बलात्कार गर्नेहरु चिने-जानेकै हुने मात्रै होइन, पानी खाने निहुँ र बच्चा खेलाउने निहुँ पारेर बलात्कार गरेको पनि पाइयो। काठमाडौंको धारापाटीमा १२ वर्षदेखि एउटै घरमा डेरा गरी बसेका उनीहरु २०७६ सालमा ५ वर्षे बालिकालाई गालामा किस खाने, संवेदनशील अंगमा छुने गरेको परिवारले थाहा पाए। तर ती युवकले आफूले गलत मनसाय नराखेको बयानमा भनेका छन्। उनको मुद्दा चलिरहेको छ। 

अर्को घटना २०७१ को। स्थान सर्लाही। विवाहमा गएका जन्तीले १६ वर्षे बालिकालाई बलात्कार गरे। दोषी करार भई थुनामा रहेका उनीहरुले जसरी पनि करणी गर्नुपर्छ भन्ने ठानी पटक-पटक आग्रह गर्दा पनि नटेरेपछि घर जाने बेला ढुकेर बारीमा लगेर बलात्कार गरेको बयान दिएका थिए।

त्यस्तै अर्को क्रुर मानसिकताले भरिएको काठमाडौंको घटना। ४५ वर्षे पुरुषले ७ वर्षे बालिकालाई बलात्कार गरे। उनले बालिका सुतिरहेको स्थानमा फ्रक उल्टिएको बेला यौनांग देखेपछि मन थाम्न नसकेर बलात्कार गरेको बयान दिए। 

छोरीलाई बुबाले बलात्कार गरेको घटना पनि नबाहिरिने होइनन्। २०७३ सालको  काठमाडौंकै एक घटना। श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि बुबाले आफूसँग बसेकी छोरीको संवेदनशील अंगमा छुने र निदाएको बेला बलात्कार गरेका थिए। बयानमा उनले छोरीको संवेदनशील अंगमा मात्रै छोएको र आमाले रिसिइबीले उजुरी हालेको बताएका थिए। तर १४ वर्षे छोरीको मेडिकल रिपोर्ट बलात्कार भएको आएपछि भने राति छोरीसँगै सुतेको तर के भएको थाहा नभएको बताएका थिए। 

स्वभावै थिचोमिचो

बलात्कार जस्ता जघन्य अपराध हुनुमा धेरै कारण हुने बताउने त्रिवि जेन्डर स्टडिजकी प्राध्यापक मीरा मिश्र पुरुषको स्वभाव थिचोमिचो गर्ने, आक्रमक हुने, मैले जे गरे पनि हुन्छ भन्ने पुरुषत्व हावी हुने हुँदा बालकदेखि वृद्धसम्म बलात्कारमा संलग्न गरेको बताउँछिन्।

‘बालिका नै निशानामा पर्नुको कारण उनीहरु मानसिक रुपमा कमजोर हुने भएर हो,’ मिश्रले भनिन्, ‘बलियाले जहिले पनि आफूभन्दा निर्धा खोज्छन्। बल प्रयोग गरेर बलात्कार गर्न निर्धालाई नै रोज्ने गरेको पाइन्छ।’

बालिका ताक्छन् मानसिक रोगी

मनोविद् गोपाल ढकाल हजुरबुबाले नातिनी उमेरकालाई बलात्कार गर्नुमा डिमेन्सिया अर्थात् बिर्सने रोग एउटा प्रमुख कारण भएको बताउँछन्। ‘यो रोग लागेका व्यक्तिको होस गुमेर जान्छ। विवेक हुँदैन। के गरिरहेको हुन्छु भन्ने नै थाहा पाउँदैनन्,’ ढकालले भने, ‘मानसिक स्वस्थ्यका कारण पनि यस्ता घटना घटेको देखिन्छ। त्यस्तै बालकमा भने यौन शिक्षाको अभाव देखिन्छ। यौन शिक्षा, बिर्सने रोग, यौन विचलन र जाँड-रक्सीका कारण पनि घटना हुने गरेका छन्।’

हामीले उनीहरुको बयान पढ्दा बालिकाले यौन सम्बन्ध राखौं भन्दा नमानेकोले जबरजस्ती गरेको, घर आइरहने भएकाले जबरजस्ती गरेको, रक्सीको नशामा भएकाले बलात्कार गरेको, श्रीमतीले छाडेर गएकाले, झुक्किएर बलात्कार गरेकोसम्म पाइयो।

एउटा उदाहरण २०६७ सालको दिपायलको घटना। बुबाका साथी ४० वर्षे युवकले १६ वर्षे बालिकालाई बलात्कार गरे। बलात्कार गरेको कसैलाई थाहा भएन। पीडितले घरमा भन्दा पनि कसैले वास्ता गरेनन्। उनले माघमा बच्चा जन्माइन्। बच्चा जन्माएपछि अभियुक्त पक्राउ परे। उनले बयानमा घरमै सुतेको ठानी वैशाख/जेठमा यौनसम्बन्ध राख्ने इच्छा भई करणी गरेको स्वीकारे। 

घटना २०७१, सुनसरी। २६ र २७ वर्षका युवकले बलात्कार गरे त्यो पनि ५ वर्षकी बालिकालाई। उनीहरुले बलात्कार गर्नुको कारण खोलेनन्। उनीहरुले आफूलाई करणी गर्न मन लागेर एक रुपैयाँ दिएर फकाएको जिकिर गरे। 
इडोफेलिया रोग भएकाले ताक्छन् साना बालिका 
युवक, अधवैंसे र वृद्धको टार्गेटमा बालिका पर्नुको एउटै कारण देखिएन। उनीहरुमध्ये केहीले अस्वीकार गरे पनि धेरैजसोले यौनइच्छा भएको कारण बलत्कार गरेको बयान दिए।

यसबारे मनोविद् गोपाल ढकाल मेनिया भन्ने मानसिक रोगीले जसलाई पनि बलात्कार गर्ने बताउँछन्। 

मनोविद् गोपाल ढकाल भन्छन्-
सुस्त मनस्थितिको अवस्थाको मान्छेले ९/१० वर्षको बच्चालाई बलात्कार गरेको पाइन्छ। अर्को जाँड-रक्सी धेरै सेवन गर्नेले पनि बलात्कार गरेको पाइएको छ। त्यो बेला धेरै यौन चाहना भयो मैले थाहा पाइनँ भन्ने गरेका छन्।
त्यस्तै धेरैजसो बलात्कार गर्नेहरुमा यौन कुलत पनि हुन्छ। जति यौन सम्बन्ध राखे पनि सन्तुष्ट नहुने, चाहना बढी हुने, पार्टनर फेरिरहनेहरु हुन्छन्।

आफैं यौन दुर्व्यवहारमा परेका छन् भने पनि उनीहरुले बलात्कार गरेको पाइएको छ। उमेर अनुसारका बलात्कारीको मनोभावना पनि फरक हुन्छ। ठूलो उमेर समूहले एकदमै सानालाई बलात्कार गर्नु भनेको इडोफेलिया रोग भएकाहरुले त्यसो गरेका हुन्छन्। यौन सन्तुष्टिका लागि आफूभन्दा सानोलाई ताक्ने हुन्छन्। उनीहरुलाई सानैसँग मात्रै इन्ट्रेस्ट हुन्छ।’

२० साउन, २०७८, १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।