युनिफाइड केन्द्रीय अस्पतालबाट प्रसूति पठाइएका जागेश्वर भन्छन् : मैले त्यस्तो जागिर पनि खान्छु ?

युनिफाइड केन्द्रीय अस्पतालबाट प्रसूति पठाइएका जागेश्वर भन्छन् :  मैले त्यस्तो जागिर पनि  खान्छु ?

स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुँदै अध्यादेशसँगै उनी युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख भएर आएका थिए। सोमबार मन्त्रिस्तरिय निर्णयबाट उनी हटे। उनको स्थानमा आए डा. रुद्र मरासिनी। मरासिनी युनिफाइड अस्पतालमा आउनु अगाडि ट्रमा सेन्टरमा कार्यरत थिए।

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको रूपमा कोरोना अपडेट लाइभ गर्न थालेपछि गौतम जनमानसबिच परिचित भएका थिए। उनी मन्त्रालयमा २०७७ जेठ २६ बाट २०७८ जेठ १२ गतेसम्म करिब एक वर्ष मन्त्रालयमा प्रवक्ता रहे।

त्यस अघि उनी प्रसूति गृहको निर्देशक थिए। आफू ६ वर्ष प्रसूतिमा निर्देशकको रूपमा काम गरेका थिए उनले। उनको रुखो शैली निकै आलोचित भयो। अध्यादेशसँगै जेठ ११ मा डा. गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पतालको) प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भए। युनिफाइड कमान्डको प्रमुख हुँदा पनि उनी विवादरहित रहन सकेनन्।

विवादको जरो अध्यादेश र कार्यशैली

केपी ओली नेतृत्वको सरकारले कोरोना भाइरस सङ्क्रमणको उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन भन्दै जेठ ६ मा कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश जारी गर्यो। अध्यादेशपछि उनी युनिफाइड केन्द्रीय प्रशासकीय अधिकारी नियुक्त भए।

मन्त्रिस्तरीय निर्णयबाट आर्थिक तथा प्रशासनिक अधिकार समेत प्रयोग गर्ने गरी अस्पतालमा आए लगत्तै उनी विवादमा पर्न थाले।

उनी नियुक्त भएपछि वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान छुट्टिएको दाबी गर्न थाले। युनिफाइड केन्द्रीय अस्पतालको रूपमा नियुक्त भएका डा. गौतमले आर्थिक तथा प्रशासकीय अधिकार आफूमा रहेको दाबी गर्दै एकलौटी निर्णय गर्न थाले। जसले विवाद बढायो।

उनी नियुक्त हुनासाथ अस्पतालको स्वामित्व विवाद भयो। वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ अनुसार प्रतिष्ठान मातहतको हो।  तर, अध्यादेशमा कतै उल्लेख नै छन्। 

सो ऐन वा ऐन अनुसार स्वामित्वमा रहेको वीर अस्पताल कसको मातहतमा चल्ने भन्ने अन्योल बढायो। प्रशासकीय अधिकारी नियुक्त भएसँगै अस्पतालको सबै आर्थिक तथा प्रशासनको अधिकारी उनले आफ्नो मातहतमा ल्याए।

०००

उनी नियुक्त हुनसाथ वीर अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटालाई हटाएर २ जना उपनिर्देशक आफूखुसी  नियुक्ति गरे। डा. गौतमले प्रशासकीय अधिकारीका रूपमा नियुक्त भएपछि वीर अस्पतालकै डा. अशेष ढुङ्गाना र राष्ट्रिय ट्रमा सेन्टरका डा. नवीन पोखरेललाई जेठ १४ गते उपनिर्देशक नियुक्ति गरे।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (बैठक सञ्चालन, पदाधिकारीको काम कर्तव्य र अधिकार एवं पारिश्रमिक र सुविधा सम्बन्धी) नियमावली २०६४ अनुसार उनी र उपनिर्देशकको नियुक्ति नियमसंगत देखिँदैन।

डा. गौतमले जेठ २८ गते विवादित बायो मेडिकल इन्जिनियर भावना बराललाई युनिफाइड केन्द्रीय अस्पतालमा नियुक्ति गरे। डा. गौतमले वीरको खरिद प्रमुख भगवती थपलियालाई हटाएर उपसचिव सागर मिश्रलाई दिए। थपलिया विवादित पात्र थिइन्।

उनले युनिफाइडमा २० करोडको टेन्डर गरे। जसमा १५ करोडको ठेक्का आफ्ना व्यापारिक साझेदार म्याक्सिमलाई दिए। विवाद भएपछि उनले म्याक्सिमका प्रमुख आफ्नो भाइ भएको स्वीकार गर्दै टेन्डर भने पारदर्शी रूपमा गरेको दाबी गरेका थिए।

उनलाई जिम्मेवारीबाट हटाउने बहाना बन्यो कर्मचारीको आन्दोलन। आइतबार वीरका स्वास्थ्यकर्मीले उनलाई थुनेका थिए। प्रहरीले ढोका फुटाएर निकाल्न परेको थियो। सोमबार सरुवा नै निस्कियो।

गौतमको दाबी : राम्रो गर्दागर्दै हटाए

डा. गौतम भने अस्पताल सुधारका लागि ६५ दिनमा उल्लेखनीय काम गरेको दाबी गर्छन्।

उनले नयाँ सर्जिकल भवन कोभिड अस्पतालका रूपमा सुरु गरेको, अक्सिजन प्लान्ट र ट्याङ्क हालेको उनले बताए।

डा. गौतमले भने,‘दुवै जडान भएर अहिले चलिरहेका छन्। अर्को एउटा प्लान्ट आउँदै छ। सर्जिकल पट्टी दुई वटा थपियो। पुरानो पट्टी एउटा थप्ने प्लान थियो मेरो।’

उनले अब १० वर्षसम्म अस्पतालमा एक हजार कोभिडका बिरामी राख्दा पनि पुग्ने अक्सिजनको व्यवस्था गरेको दाबी गरे।

उनले पुरानो भवनमा ५ सय र नयाँ सर्जिकल भवनमा ५ सय गरी अस्पताललाई एक हजार बेडको बनाएको, २ सय वटा आइसियु बेड, २ सय मनिटर, एक सय ५० वटा भेन्टिलेटरको व्यवस्था गरेको उनले जानकारी दिए।

डाक्टरलाई समयमा आउने जाने बनाइदिएको उनको दाबी छ। अस्पतालमा एक वर्षसम्म केही पनि सामाग्री खरिद नभए पनि आफू गएर २० करोडको उपकरण लगायत सामग्री खरिद गरेको उनले बताए।

अस्पतालमा रहेको ६ सय ८७ मा ८ सय ३१ दरबन्दी थपेर १५ सय पुर्याएको उनले बताए। वीर अस्पताल परिवर्तन सम्भव छ भन्ने आफूले देखाइदिएको उनको दाबी छ।

मन्त्रालयले डा. गौतमलाई प्रसूति गृहमा पुरानै दरबन्दीमा काज फिर्ता पठाएको जनाएको छ। तर, उनले प्रसूति गृहमा पदस्थापन भए पनि केही दिन बिचार गरेर सरकारी सेवाबाट अवकाश लिन सक्ने बताए।

डा. गौतमले भने,‘मेरो पुरानै ठाउँमा फर्काइदिएर डाइरेक्टर पनि खोसिदियो। त्यस्तो जागिर पनि डा. जागेश्वरले खान्छ।’

अबको योजना के त? उनको जवाफ छ,‘प्रसूति गृहमा गएर हाजिर हुन्छु। २-४ दिन राम्रो ठाउँको लागि ट्राई गर्छु। दिएनन् भने आफ्नो व्यवसाय गरेर खान्छु। भिख माग्नुपर्ने छैन मलाई।’

आफूले गरेको कामको मूल्याङ्कन नभए सरकारी सेवाबाट अवकाश लिने उनले बताए। डा. गौतमले भने,‘प्रमुख प्रशासकीय अधिकारी त दिएनन् दिएनन्। प्रसूति गृहको निर्देशक त दिन सक्थे नि। अथवा मन्त्रालयको कुनै महाशाखा दिन सक्थे नि।’

१८ साउन, २०७८, २१:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।