छोरा अनमोल बाहेकलाई कलाकारै नदेख्ने भुवनले भने' चलचित्रमा नेपोटिजम छैन'

छोरा अनमोल बाहेकलाई कलाकारै नदेख्ने भुवनले भने' चलचित्रमा नेपोटिजम छैन'
तस्बिर स्रोत : अनमोल केसीको इन्स्टाग्राम

काठमाडौँ : आफ्नो छोरा अनमोल केसी बाहेकलाई नायक लिन नचाहने अभिनेता तथा फिल्म निर्माता भुवन केसीले नेपाली चलचित्रमा नातावाद नभएको दाबी गरेका छन्।

भारतीय कलाकार सुशान्त सिंह राजपूतको आत्महत्याको अनेक कारणमध्ये बलिउडमा मौलाएको नातावाद समेत रहेको देखिएपछि नेपालमा पनि यसबारे बहस भएको थियो।

अभिनेत्री नम्रता सापकोटा, अभिनेता नाजिर हुसेन लगायतकाले केही समय अगाडि नेपाली फिल्म क्षेत्रमा रहेको नातावादबारे  सामाजिक सञ्जालमा लेखेकी थिइन।

नम्रता र नाजिरको धारणापछि नेपाली चलचित्र क्षेत्रमा बढ्दै गएको नातादारे राम्रै चर्चा भए पनि यो त्यतिकै सेलाएको थियो।

नातावादलाई बलियोसँग जरा गाड्न सघाएको आरोप लागेका निर्माता केसी आफैँले सेलाइसकेको विषयलाई पुन चर्चामा ल्याएका छन्। शनिवार आफूले अभिनय गरेको गीत ‘सम्झिने पानी छम्किने’ को भिडियो सार्वजनिक कार्यक्रममा 'नेपालमा नेपोटिज्म(नातावाद) छ भन्नु एकदमै गलत कुरा' भएको दाबी गरे।

'नेपाली फिल्ममा नेपोटिज्म छैन। यो एक–दुई जनाले हल्ला फिँजाएर अन्तर्वार्ता दिएर रमाउनका लागि बोलेका मात्र हुन्।’

उनले कलाकारको छनौटमा निर्माताले आफ्नो लगानी फिर्ता गर्ने कलाकार खोज्ने गरेको दाबी गरे। लगानी असुरक्षित हुने कलाकार छान्दा त्यसैलाई नातावाद भन्न नमिल्ने उनले दाबी गरे।

'लगानी फिर्ता नहुने कलाकारलाई निर्माताले लिँदैन। जो व्यक्तिले यस्तो कुरा फैलाइरहेका छन् उनीहरूमा निर्माताको लगानी फिर्ता गर्ने दम छ ?,' उनले भने 'यदि उहाँले खेलेको फिल्मले ३-४ करोड कमाउँछ भने म उहाँलाई ५० लाख दिएर फिल्म खेलाउँछु।'

उनले भने'नेपोटिज्म हल्ला मात्र हो।’

केसीले चलचित्र क्षेत्रमा नातावाद छैन भने पनि उनले निर्माण गर्ने फिल्ममा उनका छोरा अनमोल छुट्दैनन्। अन्य कलाकारले मुख्य भूमिकामा मौकै पाएका छैनन् पछिल्ला उनका चलचित्रमा। क्याप्टेन होस् या ड्रिम्स सबैमा अनमोलै देखिए मुख्य भूमिकामा। उनले निर्माण गर्ने घोषणा गरेका पारस र माइतीघर-२ मा पनि अनमोललाई नै लिने घोषणा गरिसकेका छन्। केसी सुपर काजोल फिल्मसको ब्यानरमा फिल्म बनाउँदै आएका छन्।

१७ साउन, २०७८, १९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।