मानव सेवामा युवा मन : 'पैसा होइन, आत्मसन्तुष्टि'

मानव सेवामा युवा मन : 'पैसा होइन, आत्मसन्तुष्टि'

सुर्खेत  : कैलालीको बर्दगोरिया गाउँपालिका-१, कट्टीपुरका तपेन्द्र विक २६ वर्षका भए। सानै उमेरदेखि उनको रुचि थियो समाज सेवा गर्ने। तर परिवारको सपना थियो, आँखा सम्बन्धी डाक्टर बनाउने।

उनी जब २०६९ सालमा कक्षा ११ पढ्दा-पढ्दै उज्यालो नेपाल संस्थासँग जोडिए तब समाज सेवा गर्ने उत्प्रेरणा जाग्यो।

एक वर्षसम्म उक्त संस्थासँग काम गरे पनि घरको दबाबका कारण उनी आइएसी पढ्नका लागि भारतको पुने युनिभर्सिटी गए।

दुई वर्षको पढाइ सकेपछि २०७२ मा नेपाल फर्किएका तपेन्द्रको भेट सामाजसेवी बलबहादुर विष्टसँग भयो।

बलबहादुर असहायका लागि सहयोगी हातहरु भन्ने संस्थामा आवद्ध भएर मानव सेवा गरिरहेका थिए।

तपेन्द्र पनि त्यसमा जोडिएर औषधि-उपचार नपाएका, सडकमा कष्टकर जीवन बिताइरहेका नागरिकलाई सेवा गर्न थाले।

बेसहाराको सहारा बन्न पाउँदा आफूलाई आनन्द मिलेपछि घर-परिवारको सपनालाई छोडेर आफ्नो सपनातिर लागे।

लामो समयसम्म कैलालीको लम्कीस्थित ‘सहारा घर’ मा बसेर सुदूरपश्चिमका विभिन्न ठाउँमा रहेका सडक बालबालिका, महिला, परिवारविहीन वृद्धवृद्धा, अपाङ्गता भएका नागरिकलाई उद्धार गरी सेवा गरे।

२०७५ चैत २० यता सुर्खेत आएर तपेन्द्र जस्तै केही युवाहरु मिलेर ‘साझा घर नेपाल’ नामक संस्था दर्ता गरी निरन्तर मानव सेवामा लागिरहेका छन्।

उनी साझा घर नेपालका सचिव समेत हुन्।

अहिले साझा घरमा स्वयंसेवक र बालबालिका गरी ७२ जना रहेका छन्।

मानव सेवामा भविष्य देखेर लागे पनि सरकारले गर्नुपर्ने लगानी र सहयोग नहुँदा मुट्ठीदानबाटै चलाउनु परेको गुनासो उनको छ।

‘मेरो परिवारको सपना थियो, मलाई आँखाको डाक्टर बनाउने। तर मलाई मानव सेवा नै जीवनको अमूल्य काम हो। त्यसैले यो पेसा अँगालेर रमाएको छु,’ तपेन्द्रले भने।

०००
हेटौंडा उपमहानगरपालिका-५ की सिर्जना ओली ‘मानव सेवा आश्रम’ कर्णाली प्रदेशकी संयोजक हुन्। उनी मानव सेवा आश्रममा आवद्ध भएको पनि ८ वर्ष भयो। यहाँ जोडिनुभन्दा पहिले उनले सोच्ने गर्थिन्, धेरै पैसा कमाउनुपर्छ, आमा-बुबालाई खुसी पार्नुपर्छ। जब उनी मानव सेवामा आवद्ध भइन्, त्यसपछि सेवाभित्रका विभिन्न विषयहरुलाई बुझ्दै जाँदा उनलाई लाग्यो, सबथोक त पैसा होइन।

त्यसपछि मात्रै जीवन स्वतः परिवर्तन भएको महसुस गर्न थालिन्। ‘आफ्नो परिवारको लागि मात्र होइन्, यो समाज र देशका लागि केही गर्नुपर्छ भन्ने मनमा सेवा भाव आएपछि यो कर्ममा लागेकी हुँ,’ सिर्जनाले भनिन्, ‘जीवनमा सबैभन्दा ठूलो धन र मानवताको सन्देश अनि खुसी यहाँ पाएकी छु।’

धेरैले उनलाई सोध्छन्, कति तलब खानुहुन्छ? अफिसर रेभलको तलब त पक्का पनि खानुहुन्छ होला? यस्तो प्रश्न उनलाई बाहिरका साथीभाइ र चिनेजानेका मान्छेले मात्रै होइन, आफन्तले समेत सोध्छन्।

अनि आफूले गर्ने कामका बारेमा बुझाउँछिन्। यस्तो काम पैसाका लागि होइन, आत्मसन्तुष्टिका लागि गरिन्छ भनेर सम्झाउँछिन्। त्यसपछि उनलाई आफन्तले पनि काम गर्न हौसला दिन्छन्।

‘आजभोली घरमा बुबा-आमाले भन्नुहुन्छ, छोरीले आफ्नो लागि केही नगरे पनि समाजमा बेसहारा, दुःखी-पीडितको सेवा गरेकी छिन्। हामीलाई यो नै गर्वको कुरा छ,’ उनले भनिन्, ‘परिवारको यस्तो हौसलाले काम गर्न अझै जाँगर आउँछ।’

आफ्नो लागि मात्र त पशुले पनि गरेको हुन्छ भने मानव भइसकेपछि अरुको लागि पनि केही गर्न सके मात्र जीवनको सार हुने उनको तर्क छ।

पहिला-पहिला उनलाई मानव सेवामा लाग्दा हिनताबोध पनि हुन्थ्यो। कारण-साथीभाइ, टिचर र आफन्तले के गर्दै छौ भन्दा आफूले गर्ने काम पनि भन्न अप्ठ्यारो लाग्ने गर्थ्यो।

तर, अहिले उनी निर्धक्का साथ भन्छिन्, ‘म मानव सेवाको महाअभियानमा लागेको अभियान्ता हुँ भनेर।’

सबै युवाहरुले सकरात्मक परिवर्तनका लागि अगाडि बढ्न सके देश परिवर्तन हुने उनको भनाइ छ।

०००
धुलिखेल नगरपालिक-११, काभ्रेकी २४ वर्षीय सञ्जिता गौतम वीरेन्द्रनगर-१२ स्थित मानव सेवा आश्रममा जिल्ला संयोजकको रुपमा काम गरिरहेकी छन्।

बाल्यावस्थामै सामाजिक सेवा गर्ने रहर उनमा जागेको थियो। उनका बुबा-आमाको सपना थियो, छोरी राम्रो ‘विजनेस म्यान’ बनोस् भनेर। पैसा कमाओस् भन्ने ठान्थे। बिबिएसको विद्यार्थी भएकोले पनि उनका आमा-बुबाको रुचि विजनेस भएको होला।

कोही बाटोमा मागेर बस्नेहरु हुन् या दुःख पाएका पीडितलाई सानै उमेरदेखि सहयोग गर्थिन् उनी।

पाँच वर्ष पहिले मानव सेवा आश्रमले ७ दिने ज्ञान हस्तान्तरण कार्यक्रममा सहभागी हुने मौका पाएपछि अझै मानव सेवामा लाग्न प्रेरित भइन्।

मानव सेवाको केन्द्रीय कार्यालय हेटौंडादेखि देशका विभिन्न शाखामा सञ्जिताले काम गरिसकेकी छन्।

‘मेरो बुबा-आमाको सोच थियो, म राम्रो व्यापारी बनुँ, मलाई सानैदेखि मानव सेवा गर्ने रुचि भएका कारण यो यता लागेकी हुँ,’ सञ्जिताले भनिन्, ‘अहिले पनि हामी खाना र बास बाहेक निःशुल्क रुपमा २४सै घन्टा आश्रमका आमा-बुबा, दाजुभाइ र दिदीबहिनीहरुको सेवा गरिरहेका छौं।’

यहाँ सेवा गरेपछि तलबभन्दा पनि आत्मसन्तुष्टि पाएको भन्दै आफ्नो काम देखेर घरमा बुबा-आमा पनि खुसी भएको उनले बताइन्।

०००
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१, वनशाहका २१ वर्षीय उद्वव जोशी मानव सेवा आश्रममा आवद्ध भएको डेढ वर्ष भयो।

कक्षा १२ सम्मको अध्ययन गरेका उनी आफ्नो भविष्य नै मानव सेवामा लगाउने सोचमा छन्।

चार जनाको जहान भएका उनी घरका जेठा छोरा हुन्। बुबाको निधनपछि घरको सबै व्यवहार उनीमाथि थुप्रिएपछि कोरियन भाषाको तयारीका लागि काठमाडौं गए। लिखित परीक्षामा पास पनि भए। तर स्किल टेस्टमा फेल भएपछि कामको खोजीमा भौंतारिएका उनी मानव सेवा आश्रमसम्म पुगे।

त्यहाँ पुगेपछि उनलाई मानव सेवा गर्ने रुचि जाग्यो। अनि निरन्तर मानव सेवा गर्ने सोचका साथ लागिरहेको उनी बताउँछन्।

‘बुबाको निधनपछि मलाई घरको जिम्मेवारी बढ्यो, कोरियन पढ्न काठमाडौं गएँ। स्किल टेस्टमा फेल भएपछि कामको खाजी गर्दै जाँदा आश्रमसम्म पुगें,’ उनले भने, ‘अब म यही कर्ममा जीवन बिताउँछु, घर-परिवारबाट पनि साथ सहयोग भएको छ।’

आश्रममा काम गर्दा धेरै बुबा-आमा आउने हुँदा पहिला-पहिला उनीहरुलाई त्यहाँको वातावरणमा घुलमिल गराउन गाह्रो हुने उनको भनाइ छ।

०००
वीरेन्द्रनगर-३ की २४ वर्षीय मञ्जुकुमारी शाह प्रशान्ति वृद्धाश्रममा अहेबका रुपमा काम गर्छिन्। उनले महिनाभरि आश्रमका बुबा आमाको स्वास्थ्य जाँच गर्छिन्।
खाजा खर्च बाहेक उनले आश्रमबाट अरु केही पाउन सकेकी छैनन्। तर पनि उनलाई यहाँ सन्तुष्टि मिलेको छ।

निजी क्लिनिक र अस्पतालहरुमा उनलाई कामको अवसर नआएका होइनन्। असहाय, दीनदुःखी आमा-बुबाहरुको सेवा गर्ने उद्देश्यले नै मञ्जुले वृद्धाश्रम रोजिन्।

१७ साउन, २०७८, १०:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।