संसदीय समितिमा पनि एमालेका दुई पक्षबीच ‘दोहोरी’ 

संसदीय समितिमा पनि एमालेका दुई पक्षबीच ‘दोहोरी’ 

संसद् पुनःस्थापनापछि पहिलो पटक आज (आइतबार) बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमालेका दुई पक्ष (अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल)बीच भनाभन भएको हो। 

बैठकमा ओली पक्षका सांसद नारदमुनि रानाले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई कटाक्ष गर्दै बोलेपछि एमाले दुवै पक्षबीच ‘दोहोरी’ भएको हो। 

उनले नेपाल पक्षलाई कटाक्ष गर्दै भने, ‘संसद् चाहिनेहरू वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिइरहेका बेला कहाँ थिए ?’ 

साथै उनले संसद् जनताले नभई सर्वोच्च अदालतले पुनःस्थापना गरेको बताए।

त्यसअघि बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संसद् पुनःजीवित भएकोमा खुसी व्यक्त गरेका थिए। साथै उनले संघर्षबाट संसद् पुनःस्थापना भएको बताएका थिए। 

नेपाल पक्षप्रति सांसद रानाले कटाक्ष गरेपछि नेपाल पक्षका सांसद दीपकप्रकाश भट्ट आक्रोशित भएका थिए। उनले बैठकमा सांसद रानालाई ‘प्रतिगमनका मतियार बाहिर जानुस्’ भनेका थिए। 

बैठकमा सांसद् रानाले अनावश्यक कुरा गरेको भन्दै एमाले (नेपाल समूह) र कांग्रेसका सांसदले असन्तुष्टि जनाएका थिए।

१० साउन, २०७८, १७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।