सुर्खेतमा थप २८ हजारलाई कोरोना विरुद्धको खोप लगाइँदै

सुर्खेतमा थप २८ हजारलाई कोरोना विरुद्धको खोप लगाइँदै

सुर्खेत : सुर्खेतमा भोलि (सोमबार)देखि कोरोना भाइरस संक्रमण विरुद्धको खोप अभियान सुरु हुने भएको छ। 

२८ हजार ७ सय १२ जना नागरिकलाई खोप लगाउने उद्देश्यले अभियान सुरु हुन लागेको हो। 

कार्यतालिका अनुसार भोलि ११ गते ५५ वर्ष उमेर पुगेका र खोपको पहिलो मात्रासमेत नलगाएका नागरिकलाई खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय, सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए। 

खोप लगाउन जाँदा उमेर खुल्ने कागजात (नागरिकता, सवारी चालक अनुमति पत्र वा वडाको सिफारिस)ं अनिवार्य लिनुपर्ने छ।

त्यस्तै १२ गते विश्वविधालयका प्राध्यापक, शिक्षक, कर्मचारी र सार्वजनिक यातायातका चालक तथा सहचालकलाइ खोप लगाइने भएको छ। खोप लगाउन जाँदा विश्वविद्यालयका कर्मचारीले संस्थाको आधिकारिक परिचय पत्र र सार्वजनिक यातायातका चालक र सहचालकले यातायात व्यावसायी संघको सूची जिल्ला प्रसाशन कार्यालयबाट प्रमाणित गराई परिचयपत्र लिनुपर्ने छ।

आधिकारिक परिचय पत्र नभएकाले भने खोप लगाउन पाउने छैनन्। सबै स्वास्थ्य संस्थामा एक साथ कोरोनाविरुद्धको खोप (भेरोसेल)को पहिलो मात्रा लगाइने छ। तर, कोरोनाको लक्षण भएका, सिकिस्त बिरामी र कोरोना भएको ३० दिन ननाघेका नागरिकलाई खोप नलगाउन सुझाव दिइएको छ। 

भेरोसेल खोप अभियान सकिएपछि थप २३ हजार नागरिकलाई अमेरिकी जोनसोन खोप लगाइने छ। जोनसोन खोप ५० देखि ५४ वर्ष उमेर समूहका, खोप अनिवार्य गरिएका देशमा जाने नागरिक, ‘क’ र ‘ख’ वर्गका अपांग, स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइने छ। जोनसोन खोपको एउटा मात्रा लगाए पुग्ने भएका कारण विदेश जाने नागरिकलाई पहिलो प्राथमिकता दिइने प्रमुख वाग्लेले बताए।

सुर्खेतमा हालसम्म ३३ हजार ४ सय ४९ जनाले कोरोनाको पहिलो मात्रा र १४ हजार २ सय ७९ जनाले दोस्रो मात्रा खोप लगाएका छन्। सुर्खेतमा १८ हजार ७ सय ७ जना कोभिसिल्डको दोस्रो मात्रा लगाउने पर्खाइमा छन्।

१० साउन, २०७८, १५:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।