तराई-मधेश समृद्धि कार्यक्रम : भएका घर भत्काएर ठेकेदार बेपत्ता, २४ परिवारको बिचल्ली

तराई-मधेश समृद्धि कार्यक्रम : भएका घर भत्काएर ठेकेदार बेपत्ता, २४ परिवारको बिचल्ली

मर्चवार : रुपन्देहीको कोटहीमाई गाउँपालिका-१, परस्पुरका ६० वर्षीय राम उजागिर हरिजन परिवार सहित फुसको छानोमुनि बस्थे। फुसको छानो भएको घर पुरानो भएपछि वर्षायाममा पानी चुहिने समस्याले उनलाई बेलाबेला सताइरहन्थ्यो।

स्थानीय तह गठन भएपछि उनीसहित मर्चवारका धेरै नागरिकको फुसको छानो उतारेर नयाँ घर बनाउने योजना बनायो। उजागिर सहित कोटहिमाईका २४ घर-परिवारलाई नयाँ घर बनाइदिने आश्वासन दिँदै पुराना घर भत्काइएको थियो।

‘तराई-मधेश समृद्धि कार्यक्रम’ अन्तर्गत निर्माणाधीन २४ घर समयमा निर्माण नहुँदा उनीहरु बिचल्लीमा परेका छन्। रुपन्देहीको कोटहीमाई गाउँपालिकामा ठेकेदारको चरम  लापरबाहीका कारण विपन्न परिवार बिचल्लीमा परेका हुन्। २४ घरपरिवार आफ्नो बास नभएपछि अरुको घर र त्रिपालको ओतमा बस्न बाध्य छन्।

गाउँपालिकाले फुसको छानो हटाएर टिनको छानो सहितको घर बनाउन सुरु गरेपछि उनको पुरानो घर भत्काइयो। अहिले घर अगाडि त्रिपालले बनाइएको टहरामा उनको परिवार बसेको छ। उनले भने, ‘पुरानो घर भत्किए पनि नयाँ घर बन्ने आशले खुसी भएको थिएँ। तर घर निर्माण कार्य बीचमै अलपत्र भएपछि पहिलाभन्दा बढी सास्ती खेप्नुपरेको छ।’

घरकै ढोकामा त्रिपालको घेरा बनाएर उनका छोरा, बुहारी र नातिनातिनी बसेका छन्। त्यही घेरामा खाना पकाउने र घरका सबै लत्ताकपडा र सरसमान राखिएको छ। घरभन्दा केही पर तुफानी मल्लाहले खाना पकाउने दाउरा राख्ने फुसको झुपडीमा उनी बस्दै आएका छन्। तर एक महिनादेखि ठेकेदारको कुनै अत्तोपत्तो छैन। उनले गुनासो गरे, ‘हामी कहिलेसम्म यसरी दुःख पाएर बस्नुपर्ने हो।’

कोटहीमाई-१ कै तिवारीपुर टोलमा दैनिक ज्यालादारीमा काम गरी फुसले बनाइएको छानोमा ७ जनाको परिवारसहित बस्दै आएको बलिराम राजभरको पीडा पनि उस्तै छ। ३ महिनादेखि निर्णाधीन जस्तापाता (टिन) को एककोठे घरको हालत पनि उस्तै छ। पानी पर्न थालेपछि छाता, प्लास्टिक ओढेर कुनकाप्चामा बस्नु परेको उनको गुनासो छ।

उनका छोरा अनिल राजभर गुनासो गर्छन्, ‘ठेकेदारसँग घर निर्माणबारे कुरा गर्दा आफूसँग पैसा छैन, पैसा भएपछि बनाइदिन्छु भनेर जवाफ फर्काउँछन्। वडाका जनप्रतिनिधिसँग भन्दा ‘हुन्छ म ठेकेदारलाइ जानकारी गराइदिन्छु’ भनेर आश्वासन मात्र दिने गरेका छन्। ठेकेदार र जनप्रतिनिधिले समयमा काम नगरेपछि हामी कहाँ गएर बस्ने त।’

कोटहीमाई-३, कुडसरका त्रिलोकी धोबी स्थानीय क्षेत्रमा दैनिक ज्यालादारीमा काम गरी ५ जना छोराछोरी सहित ७ जनाको परिवारलाई पालेका छन्। दुई कोठा भएको जीर्ण अवस्थाको छाप्रो हटाएर माघ महिनादेखि गाउँपालिकाले जिम्मेवारी दिएको ठेकेदारले अहिलेसम्म भित्ता मात्र ठड्याएको छ।

गर्मीयाममा उनको परिवारले खुला आकाशमुनि बिताए। वर्षायाम सुरु भएपछि निर्माणाधीन घरको घेराभित्र पुरानो च्यातिएको त्रिपाल मिलाएर बसेको धोबीको गुनासो छ। उनले भने, ‘गाउँपालिका अध्यक्षलाई कहिल्यै भेट्न सकिनँ तर ठेकेदार उनकै छोरा हुन्। उनलाई भन्दा पैसा निकासा भएको छैन, भएपछि गर्ने भनी आलटाल गरिरहेका छन्। काम गर्ने मान्छे महिनाका १÷२ दिन मात्र आउने गरेका छन्।’

माटोको बनेको फुसको छानाको २ कोठामा २ वटा मात्र विस्तारा देखिने कप्तान मुसलमान (नाउ)का ८ जनाको परिवार बस्दै आएका छन्। उनकी श्रीमतीले ७ वटा बाख्रा पालेकी छन्, त्यो बाख्रा त्यही घरमा राख्दै आएकी छन्। पानीले भित्ता फाटेको र भत्किने अवस्थामा रहेको देखाउँदै वर्षामा घरमा पानी चुहिने उनले दुःखेसो गरिन्।

गाउँपालिकाले बनाइदिने भनेको घरको लागि ४ इञ्चवाला एउटा भित्ता मात्र ठड्याइएको उनले बताइन्। बाँकी इँटा उस्तै राखिएको छ।

यी त केही उदाहरण मात्र हुन्। कोटहीमाई–३ का समसुद्दीन दर्जी, कोटहीमाई-२ का ढुनमुन लोनिया, हरिचरन चमार, इस्लाम पठान, वडा नम्बर ५ का बुद्धु मुसलमान, नकबुल चमार, वडा नम्बर ७ का दरबारी लोध, पियारे चमार, नरेश यादव लगायतको अवस्था पनि उस्तै छ। कोही अरुको घरमा बास बसेका छन् त कोही त्रिपालले घेरिएको सामान्य हावाहुरीले उडाउन सक्ने झुपडीमा।

गाउँपालिका अध्यक्षले आफ्नै छोरालाई ठेक्का दिएर गरिब घरपरिवारसँग खेलवाड गरेको कोटहीमाई-१ का चन्दन तिवारीको आरोप छ। यस्तो लापरबाहीबारे गाउँपालिकाको प्राविधिक शाखालाई पटकपटक जानकारी गराए पनि कामप्रति कुनै वास्ता नभएको तिवारीको भनाइ छ। यस्तो समस्याप्रति गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवलाई जानकारी भए पनि ठेकेदार आफ्नो छोरा भएकोले आफ्नो कर्तव्यबाट पन्छिन खोजेको तिवारीको आरोप छ।

गाउँपालिका अध्यक्ष यादवकै छोरा विकास यादवले ठेक्का पाएका छन्। निर्माण कार्यको म्यादभन्दा आर्थिक वर्ष पार गरिसक्दा पनि सबै घरहरु अलपत्र रहेका छन्। अन्सुमन निर्माण सेवा नामक उनको कम्पनीले २०७७ मंसिर ८ गते नै २०७८ जेठ २५ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २४ वटा घरको ६१ लाख ४ हजारको लागतमा बनाउने सम्झौता भएको थियो।

कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरबिन्दकुमार यादवले जेठ २५ मै सम्पन्न गर्नुपर्ने उक्त कार्य निर्माण कम्पनीले कोरोना महामारी, निषेधाज्ञा र वर्षाको कारण ढिलाइ भएको बताए। निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा कार्यको म्याद थप गर्न निवेदन दिएको तर म्याद थपको प्रक्रिया अगाडि बढाए पनि म्याद थप नभएको यादवले जानकारी दिए। कम्पनीले गरेको कार्यको मूल्यांकन गरी गाउँपालिकाले करिब ५० प्रतिशत मात्र भुक्तानी गरेको र बाँकी रकम भुक्तानी नगरेको उनले बताए।

इञ्जिनियर यादवले निर्माण कम्पनीलाई दबाब दिएर भए पनि निर्माण कार्य सम्पन्न गराउने बताए। ‘निर्माण कम्पनीले काम गर्न आनाकानी गरेको अवस्थामा कारबाही प्रक्रियामा जान्छौं,’ यादवले भने।

गरिब घर परिवारको समस्याबारे आफूलाई पनि जानकारी आएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौडले बताए। गौडले भने, ‘गाउँपालिका अध्यक्षको छोरोको निर्माण कम्पनी हो, उनले जति काम गरेका छन्। प्राविधिकको मूल्यांकन अनुसार त्यति मात्र भुक्तानी गरिएको छ। सबै घर समयमै सम्पन्न गर्नुपर्ने हो। कम्पनीले के–कति कारणले काम गर्न नसकेको हो, गाउँपालिका अध्यक्षसँग सल्लाह गरेर बुझ्छु।’ आवश्यक परे कानुनी कारबाहीमा जाने गौडको भनाइ छ।

१० साउन, २०७८, १०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।