अभिनेत्री नम्रताको प्रश्न : मैले बिहे नगरी सिङ्गल मदर हुन्छु भन्न किन नपाउने ?

अभिनेत्री नम्रताको प्रश्न : मैले बिहे नगरी सिङ्गल मदर हुन्छु भन्न किन नपाउने ?

२०७२ मा चलचित्र 'अन्तराल'वाट डेब्यु गरेकी अभिनेत्री नम्रता सापकोटाले यो बिचमा 'ब्रासलेट', 'छक्कापञ्जा', 'बिरानो' 'माया', 'समर लभ', 'होक्से' लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन्। उनले टन्नै म्युजिक भिडियो र विज्ञापनमा समेत काम गरिन्। कोभिड १९ सुरु हुनु अघि 'देशान'मा अभिनय गरेकी नम्रता अहिले म्युजिक भिडियोमै व्यस्त छिन्। लकडाउनपछि उनले २० वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। अहिले उनी सोसल मिडियामा 'म बिहे नगरी आमा बन्न चाहन्छु'  भन्ने भनाइबाट भाइरल छिन्। उनी आफू पनि पत्रकारिताको विद्यार्थी हुन्। अहिलेको ट्रेन्डिङमा आउन गरिने होडबाजीबाट उनी निराश छिन्। नम्रतासँग उनको चलचित्र यात्रा, साल्सा डान्स र पत्रकारिताको विषयमा रहेर गरेको कुराकानी :

आजभोलि केमा व्यस्त हो ?

कोरोनालेगर्दा चलचित्र, इभेन्टहरू ठप्पै छ। लकडाउन खुलेपछिका दिनमा म्युजिक भिडियोहरूमा  व्यस्त छु। अहिले म्युजिक भिडियोहरू पनि धेरै बन्दै छ । केही विज्ञापनहरूमा पनि अभिनय गर्दै छु।

स्कुल पढ्दा पढ्दै अभिनय यात्रामा आउनु भयो। के भएको थियो त्यो बेला?

एसएलसीपछि 'सिग्नेचर' नामक चलचित्रको अफर आयो। फुर्सदमै थिए। अभिनयमा रुचि थियो। फुर्सद पनि भएकाले त्यो मौका गुमाउन चाहिन र अभिनय गरे। तर त्यो चलचित्र रिलिजै भएन। पछि 'अन्तराल'मा अभिनय गरेपछि अभिनयमै लाग्न रुचि बढ्यो।

साल्सा डान्सरको रूपमा पनि चिनिनुहुन्छ? नेपाली चलचित्रमा साल्साको त्यत्ति क्रेज छैन। त्यतातिर मन जानुको कारण ?

नाच्न सारै मन पर्ने, बाबाले सानोमा क्लासिकल डान्स सिक्न लानुभयो। म एकदमै रमाएर क्लासिक डान्स गर्थे। ११ कक्षामा पढ्दापढ्दै साल्सा सिक्न पुगेँ। साल्सा सिके पछि म त्यस डान्समा अझै डुबेँ।

साल्सा कस्तो खालको डान्स हो?

अरू डान्सको तुलनामा यो अलि फरक खालको डान्स कल्चर हो। यसलाई बाहिर सोसल डान्स भन्ने गर्छन्। मलाई यो कल्चरबारे सिक्न थाले पछि मात्रै थाहा भयो। केटासँग डान्स गर्दा ब्वाइफ्रेण्ड वा श्रीमान् हुनु पर्दैन। बुबा, दाजु , भाइ जोसँग पनि गरिन्छ।

साल्सामा के कस्तो अनुभव बटुल्नु भयो ?

साल्सा डान्स लिएर धेरै ठाउँहरूमा सो गर्ने गयौँ। सिक्ने क्रममा त दरबारमार्ग, वसन्तपुरको सडकमा पनि गर्यौँ। हरेक हप्ता कहिले कता, कहिले कता सोसल डान्स भनेर पार्टीहरू हुन्थ्यो। कोभिडले गर्दा त्यो सम्भव भएन। मैले साल्साका धेरै इभेन्टहरू पनि गरेँ र साल्सा पनि सिकाउँथेँ।

यो डान्सले आफ्नो जीवनमा के कस्तो प्रभाव पार्यो?

हरेक डान्स बुझेर गर्यौँ भने मेडिटेसनको माध्यम पनि बन्न सक्छ। मेरो लागि साल्सा मेडिटेसनको एउटा पाटो बन्यो। रिल्याक्स र रिलिफको मलहम बन्यो। हरेक हप्ता साँझ ६ बजे देखि ८ बजे सल्मको साल्सा सोसल पार्टीले फिजिक्कली र मेन्टल्ली फिट हुन मलाई मज्जाले सघायो।

मेरो अस्तिको अन्तरवार्ता पछिका समाचारहरू हेरेर यति भन्न बाध्य भए कि अहिलेका धेरै पत्रकारहरूमा सोधेर लेख्ने धैर्यता रहेनछ। यसरी नेपाली मिडिया कहाँ पुग्छ होला, सबैभन्दा दुख कुरा यही लाग्छ।

त्यस्तो सोसल पार्टीहरूमा कस्ता व्यक्तिहरू बढी आउँछन् ?

साल्सा सिक्न र साल्साको पार्टीहरूमा हरेक प्रोफेसनलका व्यक्तिहरू आउँछन्। डाक्टर, पाइलट, कोरियोग्राफर, शिक्षक, नर्स, इन्जिनियर, विजनेस म्यान आदि क्षेत्रकाहरुको उपस्थिति हुन्छ। मेरो साल्सा डान्स पार्नर इन्जिनियर हुनुहुन्छ।

पत्रकारिता पढेको व्यक्ति कसरी चलचित्र र नृत्यमा व्यस्त हुनुभयो?

मैले प्लस टु होटेल म्यानेजमेन्टमा गरेको थिए। त्यति बेलै म फिल्म र डान्समा लागि सकेको थिए। प्लस टु पढ्दै ब्याचलर चाहिँ मास कम्युनिकेसनमा गर्छु भन्ने सोची सकेको थिए। मेरो करियर त अभिनय र नृत्य नै हो। तर जीवनमा सबै पक्षको ज्ञान चाहिँ हुनु पर्छ भन्ने मान्यता चाहिँ पहिले देखि थियो।

पत्रकारिता पढेको त खेरै गयो हैन त ?

मैले पत्रकारिता पढेकोले नै अहिलेको पत्रकारिताको होडबाजीलाई सही होइन भन्ने मूल्याङ्कन गर्नै सक्छु नि। पत्रकार मार्ग दर्शक र ऐना बन्नु पर्ने हो, अहिले त राम्रा केही मिडिया बाहेक धेरै पत्रकारिताको खोल मात्रै ओढेको पाउँछु। जुन मिडिया इतिहासको लागि विडम्बना पनि हो।

यही पत्रकारिताको विडम्बनाकै उपज हो त 'म बिहे नगरी आमा बन्न चाहन्छु' भन्ने  भाइरल अभिव्यक्ति ?

बिहेको लागि त कि आफूले मन पराएको व्यक्ति हुनु पर्यो कि घरबाट खोजेको। अहिले न मैले कसैलाई मन पराएको छु न मेरो घरले कसैलाई खोजेको छ। यी दुवै अहिले नभएको अवस्थामा मलाई विवाह गर्नु भन्दा बच्चा पाउन चाहिँ मन छ है भनेको कुरालाई सर्ट कट , हाई लाइट परिपाटीले गर्दा ती कुरा मात्रै हाई लाइट भयो। अन्तरवार्तामा त धेरै कुराहरू थियो नि त।

बिहे नगरी बच्चा पाउन मन छ त भनेकै हो नि?

हो, भनेको हो। अहिले आमा बन्न बिहे नै गर्नुपर्छ र? अहिले अनेक प्रविधि आएको छ जसले विवाह नगरेर पनि बच्चा पाउन सकिन्छ त। यदि मैले बिहे गरिन भने कि बच्चा एडप्ट गर्छु वा अहिले आएको सिस्टमहरूबाट सिङ्गल मदरको रूपमा बच्चा पाउँछु भनेको हो। मलाई बच्चाहरू मन पर्छ। त्यही भएर बिहे गरिन भने पनि बच्चा चाहिँ पाउँछु भनेको हो। भनिरहन्छु।

बच्चा पाउन बिहे गर्नैपर्छ भन्ने छैन नि अहिले। विज्ञानले धेरै विधिहरू जन्माइ सकेको छ। त्यसकै प्रयोग गरेर बच्चा जन्माउन सकिँदैन र!  तर भोलि नै कोही मान्छे मन परेर केही महिनामा बिहे पनि हुन सक्छ कि। आज पनि भन्छु यदि बिहे नभए पनि म आमा चाहिँ बन्छु। मैले यस्तो भन्नै नपाउने हुन्छ र? बिहे भएन भने पनि म सिङ्गल मदर हुन्छु भन्न किन नपाउने? म आमा बन्न  किन नपाउने?

अहिलेको मिडियाको दौडलाई कसरी हेर्नु भएको छ ?

केही मिडिया बाहेक धेरै मिडियाले जिम्मेवारी बहन गरेको देख्दिन। सही समाचार छायाँमा पर्न थालेको देख्छु। त्यस्तै मान्छेहरू पनि सर्ट कटमा हेर्ने भए। मान्छेको भावनासँग मतलबै छैन। सर्ट कटमा जज गर्ने थालेको छ। जीवन त लामो छ त, सर्ट कट होइन। म त भन्छु अहिले हामीमा सुन्ने र बुझ्ने क्षमता नै छैन।

मान्छेले कसैको कुरा पनि पुरा सुन्न सक्दैनन्। यदि सुन्नै सक्दैनन् भने त्यसले के बोलेको त्यसको ज्ञान पनि हुँदैन। अनि लेख्नेहरूले पनि बुझेर लेख्दैनन्। मलाई अचम्म लाग्छ, मैले तपाईँ बाहेक अर्को एउटा मिडियासँग मात्रै यसरी कुरा गरेको छु। तर असङ्ख्य मिडियामा मेरो कुरालाई लिएर नम्रताले यसो भनिन्, यसो भन्न खोजेको थियो भनेर समाचारहरू देख्छु। मेरो अस्तिको अन्तरवार्ता पछिका समाचारहरू हेरेर यति भन्न बाध्य भए कि अहिलेका धेरै पत्रकारहरूमा सोधेर लेख्ने धैर्यता रहेनछ। यसरी नेपाली मिडिया कहाँ पुग्छ होला, सबैभन्दा दुख कुरा यही लाग्छ।

९ साउन, २०७८, १८:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।