शब्दमाला

‘समानताको रिले दौड’ : ‘कन्जुस’ इतिहासकारलाई लेख्न सिकाउने पुस्तक 

प्रजु पन्त


काठमाडौं : कुनै पनि राष्ट्र निर्माणमा धेरथोर योगदान सबैको हुन्छ। तर नेपाली इतिहासका पुस्तक पल्टाउने हो भने राजा/महाराजा र तिनका धुपौरेहरुको महिमामण्डन बाहेक केही देखिँदैन। दलित, जनजाति, मधेसी, अल्पसंख्यक तथा महिलाको योगदानबारे अति न्यून मात्रै उल्लेख पाइन्छ त्यस्ता पुस्तकमा।

नेपाली इतिहासका पुस्तक पल्टाउँदा यस्तो लाग्छ, ती पुस्तक इतिहास पुरुषहरुको योगदान र उपलब्धिको दस्तावेजीकरण मात्रै हो। त्यो पनि सीमित जात र सीमित वर्गको।

राज्य सञ्चालनमा ब्राह्मण, क्षेत्री, ठकुरी पुरुषहरुकै हालिमुहाली थियो। केही जनजाति पुरुष सुरक्षा निकायमा कार्यरत थिए। आधुनिक नेपालको निर्माणमा उनीहरुको विरताको गाथा गाइएको छ।

तर, त्यतिबेला अन्य जातजाति र महिला कहाँ थिए? आधुनिक नेपाल निर्माणमा महिलाको कुनै योगदान नै थिएन त?

क्रान्तिको इतिहास लेखिँदा १९९४ सालमा चार सहिदले पाएको फासी, त्यसभन्दाअघिका प्रजातन्त्र प्राप्तिका लडाइँबारे समेत लेखिन्छ। समाजको त्यही कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा योगमाया नेउपानेले १९९८ साल असार २२ गते भक्तहरू समेतलाई समेटेर लिएको जलसमाधिबारे लेख्न किन कन्जुस्याइँ गरिन्छ? नेपालको इतिहास लेख्ने इतिहासकारले किन नेउपानेबारे अनुसन्धान गर्न कन्जुस्याइँ गर्छन्? 

प्रायः सबै नै इतिहासकार पुरुष। उनीहरुले महिलाको योगदान खोज्ने चेष्टा किन गरेनन्? महाराजाका दस्तावेजहरु खोज्दैजाँदा रानीबारे भेटिएका केही दस्तावेजलाई आफ्नो पुस्तकको एक शीर्षकमा स्थान दिए पनि विस्तृत खोजमा लागेको देखिँदैन। पुस्तकको पानामा स्थान त दिइन्छ। तर त्यो पनि खलनायकी र चरित्रहीनको रुपमा प्रस्तुत गर्दै। रानी राजेन्द्रलक्ष्मीबारे केही मुर्धन्य इतिहासकारले लेखेको पुस्तक हेरे यो कुराको पुष्टि भइहाल्छ। 

२००७ सालअघि त पुरुषको हालिमुहाली नै थियो सत्ता र शक्तिमा। त्यसपछि पनि महिलाको योगदान समेटिएका जति पुस्तक आउनुपर्ने हो, त्यति आएका छैनन्। किन केही सीमित जातका पुरुषको बाहेक अन्यको इतिहास लेख्न हात काम्छन् हाम्रा इतिहासकारहरुको?

देशको राजनीतिक परिर्वतनमा सामाजिक रुपान्तरणमा महिलाको भूमिका ठूलो छ। चाहे बन्दुक बोकेर गरिने क्रान्तिमा होस्, चाहे घर–परिवारको सम्पूर्ण जिम्मेवारी लिएर पुरुषलाई सहयोग गरेर होस्, महिलाले आधुनिक नेपाल निर्माणमा अहं भूमिका निर्वाह गरेका छन्। तर पनि उनीहरुबारे लेख्न कन्जुस्याइँ गरिन्छ।

इतिहासका पुस्तक पढ्दा यस्तो लाग्छ, यो देशमा केही सीमित जातका केही थान पुरुष मात्रै थिए। महिला त कतै लुप्त थिए। उनीहरु खुवाउने र पिलाउने बेला मात्रै आउँथे। महिलाको कुनै भूमिका थिएन यो देश निर्माण हुनुमा। त्यसैले त नेपालको क्रान्ति भन्ने वित्तिक्कै प्रजापरिषद् सम्झने हाम्रो समझमा योगमाया नेउपानेको जलसमाधि आउँदैन। 

लेखक सावित्री गौतमले विभिन्न लेखमार्फत इतिहासमा महिलालाई गुमनाम गराएर, उनीहरुको योगदानलाई लुप्त गराएर ‘पुरुष मात्रको इतिहास’ लेखन भएकोमा असहमति राख्दै आएकी छन्। इतिहासमा त महिलालाई गुमनाम गराइयो नै, वर्तमान समयमा महिलाले गरेको योगदानलाई गुमनाम नगराइयोस् भन्ने मान्यतामा दृढ छिन् उनी। त्यसैले हुनसक्छ, मार्टिन चौतारीमार्फत गौतम, कैलाश राई र प्रत्युष वन्तको सम्पादनमा ‘समानताको रिले दौड’ पुस्तक प्रकाशन भएको छ। 

०००
अन्तर्वार्ताको शैलीमा रहेको पुस्तकमा १२ जनाको अन्तर्वार्ता समेटिएको छ। अर्थशास्त्री मीना आचार्य, लैंगिक अल्पसंख्यक दुर्गा थापा र चन्द्रा भद्राबारे यसभन्दा अघिकै समाज अध्ययन अंकमा प्रकाशित भइसकेका अन्तर्वार्ता हुन्। 

पुस्तकमा पञ्चायतकालदेखि हालसम्म केही महिलाले सामाजिक रुपान्तरणमा गरेको योगदानबारे उल्लेख गरिएको छ। लेखक सावित्री गौतमले ‘हर हिस्ट्रीको दस्तावेजीकरण’ शीर्षकमा लेखेकी छिन्, ‘महिलाको योगदान र उपलब्धिका अभिलेखीकरण पुरुषको तुलनामा नगण्य भएको छ। राजा पुरुष, उनको दरबारमा शास्त्रार्थ गर्ने पनि पुरुष, प्रचलित प्रेररणादायी उद्धरण सबै पुरुषका अनि ‘वीर’हरु पुरुष र विरताको गाथा पनि पुरुषकै। यसरी लगभग सबै सार्वजनिक वृत्तमा पुरुषको युगिन कब्जा छ। महिला आजसम्म पनि घर र परिवारजस्ता निजी वृत्तबाट पूर्ण रुपमा बाहिर आइसकेका छैनन्। निजी वृत्तको घेरा तोडेर सार्वजनिक वृत्तमा आइपुगेका केही महिलाको संघर्ष, योगदान र व्यक्तिगत अनुभूति समेतलाई दस्तावेजीकरण गर्ने उद्देश्यले हामीले यो किताबको अवधारणा बनाएका हौँ। र, हामीले यहाँ एक दर्जन महिलाको अन्तर्वार्ताको रुपमा अभिलेखबद्ध गरेका छौँ।’

परिचयमा गौतमले भने जस्तै महिलाले गरेको योगदान र सामाजिक एवं कानुन निर्माणमा उनीहरुले दिएको दबाबबारे पुस्तकमा उल्लेख छ। पुस्तकलाई समावेशी बनाइएको छ। मधेसी, जनजाति, दलित, लैंगिक अल्पसंख्यकलाई समेत समेटेर पुस्तकको ‘ओजन’ बढाइएको छ। 

०००
पहिलो अध्यायमा अर्थशास्त्री मीना आचार्यको ‘अध्ययनशील नेतृत्वले मात्र महिला आन्दोलन हाँक्नसक्छ’ छ। यो अध्यायमा आचार्यको टोलीले गरेको ‘नेपाली महिलाहरुको मर्यादास्तर’ बारे चर्चा छ। उनीहरुको अध्ययनले नेपाली महिलाले निर्वाहमुखी क्षेत्रमा ठूलो योगदान गरेको तथ्यमा आधारित रिपोर्ट प्रकाशन समेत गर्‍यो।

आचार्यको भनाइ अनुसार ‘घरायसी आम्दानीमा महिलाको ५४ प्रतिशत र पुरुषको ४६ प्रतिशत योगदान रहेको सार्वजनिक भयो। घरायसी काममा पुरुषको तुलनामा महिलाको बोझ ४४ प्रतिशत बढी भएको पनि पत्ता लगायो। पुरुषले ७.५१ घण्टा काम गर्ने र महिलाले १०.८१ घण्टा काम गर्ने गरेको देखायो। त्यस्तै धान खेतीबाहेक मकै, कोदो, गहुँ र तरकारी जस्ता खेतीमा महिलाको संलग्नता पुरुषको भन्दा बढी थियो।’

यो ‘द स्टेट्स अफ विमेन इन नेपाल’ ले सन् १९८१ मा गरेको अनुसन्धान थियो। त्यसयता यसरी गहिरो अनुसन्धान भएको छैन। अर्थशास्त्री आचार्यले अनुसन्धानमा आधारित महिला आन्दोलन हुनुपर्नेमा जोड दिएकी छन्। सुरुआतमा महिला सम्बन्धी अनुसन्धान गर्दा तत्कालीन सरकारी कर्मचारीको छेडखानीको पनि पुस्तकमा राम्रोसँग चर्चा छ। 

आचार्यको अन्तर्वार्ता पढ्दा यस्तो लाग्छ, देशको अर्थतन्त्र सबल बन्नुमा महिलाको पुरुषको भन्दा धेरै भूमिका छ तर यसलाई लुप्त गराइएको छ। निर्वाहमुखी अर्थतन्त्रमा महिलाले गरेको योगदान र त्यसलाई व्यावसायिक बनाउन राज्यले कुनै पहल नगरेको प्रष्ट हुन्छ। 

दोस्रो अध्यायमा चाँदनी जोशीको अन्तर्वार्ता छ। महिला विकास कार्यक्रमकी पूर्वप्रमुख जोशीसँग महिला विकास कार्यक्रम कसरी सञ्चालन भयो? महिला विकास कार्यक्रम अन्तर्गत सुरुआती चरणमा महिला अधिकृत खोज्न कतिसम्म कठिन भयो भन्ने फेहरिस्त छ अन्तर्वार्तामा।

महिला विकास अधिकृतलाई कसरी अन्य सरकारी कार्यालयका ‘पुरुष हाकिम’ ले आफूसरह मान्दैनथे। महिलालाई हाकिम पद दिँदा हाँक्न नसक्ने सुरुआती चरणको पुरुष कर्मचारीको प्रतिक्रिया कसरी फेल खायो भन्ने विषयलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ। 

तेस्रो अध्यायमा प्राध्यापक चन्द्रा भद्रासँग पुस्तककी सम्पादक सावित्री गौतमले लिएको लामो अन्तर्वार्ता छ। अन्तर्वार्तामा भद्राले कसरी लैंगिकतालाई त्रिविको पाठ्यक्रममा समावेश गरियो। पितृसत्तामा पुरुषलाई समेत कसरी हिंसा भएको छ भन्ने बुझेको उल्लेख गरेकी छन्।

लामो समय लैंगिकता सम्बन्धी पढाएकी भद्राले महिलाको अवस्थामा परिवर्तन हुनुपर्छ भन्ने सोचाइ समाजमा आएको बताएकी छन् भने समानताको लागि लडिरहनुपर्ने पनि उल्लेख गरेकी छन्।

‘यो त रिले दौड जस्तै हो। आफू पनि सकुन्जेल दौडिरहन र नयाँ पुस्तालाई ‘रिले ब्याटन हस्तान्तरण गर्ने निरन्तरको अभियान। समाजमा एक जना मात्रै पनि महिलाको अवस्था लैंगिक रुपमा असमान रहुन्जेल हामीले यो दौड जारी नै राख्नुपर्छ,’ उनले अन्तर्वार्ताको क्रममा भनेकी छन्। 

चौथो अध्यायमा ‘बेवास्तामा पारिएका छन्, आदिवासी–जनजाति महिला’ शीर्षकमा आदिवासी–जनजाती महिलाबारे अध्ययन–अनुसन्धान र लेखनमा आबद्ध यशोकान्ती भट्टचनसँग कुराकानी गरिएको छ।

भट्टचनले मुलधारले महिला आन्दोलनमा कसरी जनजाति महिलाको आन्दोलन जोडिन सकेको छैन भने प्रष्टसँग केलाएकी छन्। मुलधारे महिला आन्दोलनले जाँड–रक्सी विरुद्ध सशक्त अभियान चलाउने गर्थ्यो। अहिले आमा समूह, महिला वचत समूहले गाउँ–टोलमा यस्तै अभियान चलाएको र जसले गर्दा जनजाति महिलाको जीविकोपार्जनमा समस्या आएको उनको ठहर छ।

उनले भनेकी छिन्, ‘राज्यले आदिवासी–जनजातिको भूमि, दैनिक जनजीवन चल्ने स्रोत–साधन, अतिक्रमण गर्दा जनजाति महिलाको जीविकोपार्जनको अन्तिम उपाय हुने गरेको छ। यो काम गर्न सहरमा बस्ने आदिवासी–जनजाति बाहेक सबैसँग हुन्छ। यो आदिवासी–जनजाति महिलाको प्रथाजन्य सिपको अभिन्न अंग हो। यसको उत्पादन र भोगचलनमा प्रतिबन्ध लगाउँदा आदिवासी–जनजातिको सामाजिक–सांस्कृतिक अधिकार हनन मात्र भएन, उनीहरुको जीविकोपार्जनको माध्यम समेत खोसिन पुग्छ। तर त्यतापट्टि सोचिँदैन।’

जातीय विविधता स्वीकार्ने तर त्यसको सांस्कृतिक पक्षलाई बेवास्ता गर्दा कसरी जनजाति महिला हेपिएका छन् भन्नेबारे स्पष्ट बुझ्न सकिन्छ यो अध्याय पढेर।

पाँचौँ अध्यायमा डाक्टर रेणु अधिकारीको अन्तर्वार्ता छ। जसमा महिलावादीले सधैं आफूभन्दा पछि आउने पुस्तामा नेतृत्व विकास गर्दै लैजानुपर्ने उल्लेख गरिएको छ। 

ओरेककी संस्थापक हुन् अधिकारी। उनी बेचिएका महिलाको स्वास्थ्य परीक्षणको लागि मुम्बई समेत पुगेकी थिइन्। मुम्बईमा बेचिएका महिलालाई नेपाल ल्याउँदा एचआइभी लागेका महिलालाई ल्याएको भन्दै विरोध खेप्नु परेको, ठाउँठाउँमा स्वास्थ्य शिविर राखेर महिलाको स्वास्थ्य जाँच गराइएको, आङ खस्ने महिलाको समस्याबारे आवाज बुलन्द पारेको उनले उल्लेख गरेकी छिन्।
 
छैटौं अध्यायमा ‘स्वास्थ्य सम्बन्धी समस्या सामाधान गर्न डाक्टर, नर्स र अस्पतालमा उपलब्ध स्वास्थ्य साधन मात्र होइनन्’ शीर्षकमा डा. अरुणा उप्रेतीको अन्तर्वार्ता लिइएको छ। परोपकार प्रसूति गृह अस्पतालमा काम गर्दा असुरक्षित गर्भपतन गराएर अस्पताल ल्याइएकी एक महिलाको ज्यान गएपछि सुरक्षित गर्भपतन गराउने अभियानमा होमिएकी उप्रेतीको अन्तर्वार्ता निकै रोचक छ।

सन् २००२ मा संसदबाट गर्भपतनको कानुनलाई पारित गर्न निरन्तर लेखेर, बोलेर दबाब दिएको कुरा उल्लेख गरेकी छन् उनले। गर्भपतनको अधिकारको विधेयक नेपाली कांग्रेसले पेस गरे पनि कांग्रेसकै एक जना नेतृले ‘गर्भपतनको अधिकार दिए सबै नेपाली महिलाले वेश्यावृत्तिको बाटो अपनाउँछन्’ सम्म भनेको तर यसलाई चिर्दै राजनीतिज्ञलाई लेखमार्फत बुझाएको उल्लेख गरेकी छन्। 

उप्रेतीले भनेकी छिन्, ‘अहिलेको पुस्ताले पहिलेका महिला अधिकारवादीले के गरे र? भन्ने प्रश्न गर्दैगर्दा अहिलेका पुस्ताले अघिल्लो पुस्ताले काम गरेका महिलाबारे अध्ययन नगरेको प्रष्ट हुन्छ। अहिले जति पनि अधिकार उपलब्ध भएका छन्। अग्रज महिलाको निरन्तर संघर्षकै परिणाम हुन् भन्न हिच्किचाउन पर्दैन। अहिले प्राप्त भएका समानताको अधिकार नीति–निर्माणमा बसेकाहरुले किस्तीमा राखेर दिएका होइनन्।’

महिलाको शरीरमा कसरी ओभर मेडिकलाइजेसन गरिएको छ, कसरी गर्नै नपर्ने अप्रेसन गरिएको छ भनेर समेत उल्लेख गरेकी छन् उप्रेतीले। सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिलाउन सकिएको, पाठेघर खस्ने समस्यालाई राज्यले आफ्नो दायित्व सम्झेको, छाउपडी प्रथाबारे फौजदारी अभियोग अन्तर्गत राख्न सकिएको, पैतृक सम्पत्तिमा समान हकको लागि निरन्तर सामूहिक आवाज उठाएको उप्रेतीको तर्क छ। 

सातौं अध्यायमा ‘कथित मुलधारे महिला आन्दोलन असमावेशी चरित्रको छ’ भन्ने शीर्षकमा दुर्गा सोवको अन्तर्वार्ता छ। २५ वर्षदेखि जातीय विभेद तथा छुवाछुत विरुद्धको आन्दोलनमा सक्रिय राष्ट्रिय दलित आयोगकी सदस्यसचिव समेत रहेकी सोवले दलित महिलाले कसरी जातीय, वर्गीय र लैंगिक हिंसाको तेहेरो हिंसा भोगेका छन् भन्नेबारे उल्लेख गरेकी छन्। 

अध्याय आठमा अश्मिना रञ्जितले कलामार्फत कसरी पितृसत्तालाई चुनौती दिइन् भन्नेबारे उल्लेख छ। फेमिनिस्ट आर्टिस्टको रुपमा परचित रञ्जित ‘चरित्रहीन चेली’ अभियानकी सुरुवातकर्ता समेत हु्न्। यौनलाई कलामार्फत प्रस्तुत गर्दा भोग्नुपरेका तिता–मिठा अनुभूति केलाएकी छिन् रञ्जितले। 

नवौं अध्यायमा ‘कानुनले हिंसा विरुद्ध बोल्ने आधार दिन्छ’ भन्ने शीर्षकमा मीरा ढुंगानासँग अन्तर्वार्ता छ। ढुंगाना र उनी आबद्ध संस्थाले ७० देखि ८० हाराहारीमा सार्वजनिक सरोकारका विषयमा सर्वाेच्च अदालतमा रिट हालेको र कसरी अधिकार प्राप्तिको लागि लडाइँ लडियो भन्ने व्याख्या छ।

छोरीलाई छोरासरह पैतृक सम्पत्ति प्राप्तिको लागि २०५० सालमा हालेको रिटमा सर्वोेच्च अदालतले २०५२ सालमा नेपालको हिन्दू संस्कार नबिग्रने गरी अन्य देशमा भएका पैतृक सम्पत्ति सम्बन्धी भएका कानुनी व्यवस्थाबारे अध्ययन र मनन गरी संसदमा उपयुक्त विधेयक प्रस्तुत गर्ने तत्कालीन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो।

त्यस्तै वैवाहिक बलात्कार सम्बन्धी रिट, कार्यालयमा हुने यौनजन्य दुर्व्यवहारको रिटले पनि कसरी सर्वाेच्चले रिटको पक्षमा फैसला गर्‍यो भन्ने उनले उल्लेख गरेकी छन्। 

आमाको नाममा नागरिकता नपाउने अहिलेको विद्यमान अवस्थामा समेत निरन्तर लडिरहनुपर्ने बताएकी छन् उनले। नागरिकताको सवालमा उनले भनेकी छिन्, ‘यो राज्यले त घुमाउरो पारामा विदेशीसँग विहे गर्‍र्यौ भने देश निकाला गर्छु भनेर घोषणा गरेझैँ भयो। देश निकाला विरुद्धको अधिकार संविधानमै व्यवस्था गरिएको हुँदाहुँदै त्यसो भन्न पाइन्छ?’ नेपाली महिलाले विदेशीसँग विवाह गरेर नेपालमै बसेको खण्डमा उसका सन्तानले अंगीकृत नागरिकता पाउने तर महिलाको पुरुषको खण्डमा भने वंशजको आधारमा नागरिकता पाउनुले विभेद भएको उनको ठहर छ। 

दसौँ अध्यायमा ‘अपांगता भित्र लैंगिक समानता र महिला आन्दोलन भित्र आफ्नो विशेष स्थान खोजिरहेका छौँ’ टीका दाहालसँग कुराकानी गरिएको छ। दाहाल नेपाल अपांग महिला संघको संस्थापक समेत हुन्। उनले अन्तर्वार्तामा अपांगता भएका महिला कसरी यौन दुर्व्यवहारमा परेका छन् भन्नेबारे उल्लेख गरेकी छन् भने पुरुष अपांगता हुनु र महिला अपांग हुँदा समाज र परिवारले गर्ने व्यवहार नै फरक भएको उनको भनाइ छ।

यस अध्याय पढेर कसरी अपांगता भएका महिलाले लैंगिकतासँगै अपांगताको विभेद खेप्नुपर्छ, कसरी उनीहरुमाथि परिवार समाज र राज्यले दुर्व्यवहार गरेको छ, यस विरुद्ध केके काम भइरहेको छ भन्ने प्रष्ट हुन सकिन्छ। 

एघारौँ अध्यायमा ‘मधेस र मधेसी महिलाका सवाल अतिरञ्जित र सशंकित तरिकाले उठाइएको छ’ शीर्षकमा रीता साहको अन्तर्वार्ता छ। अन्तर्वार्ताका क्रममा साहले मधेसी महिला कौलपति देवी र यमुना देवीले २००७ सालकै आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै मधेसी महिला राज्य र सामाजिक कुसंस्कारले कसरी जगडिएका छन् भन्ने कुरा बताएकी छिन्।

नागरिकताको सवालमा महिला र पुरुषबीच गरिएको विभेदको चर्काे आलोचना गरेकी साहले विदेशी बुहारीलाई अंगीकृत नागरिकता प्रदान गर्दा राज्यको प्रमुख पदमा पुग्न नसक्ने व्यवस्थाको विरोध गरेकी छन्।

अन्तिम अध्यायमा ‘फरक यौनिकता प्राकृतिक कुरा हो’ शीर्षकमा दुर्गा थापाको अन्तर्वार्ता छ। यस अध्यायमा समलिङ्गी, तेस्रोलिंगी, पारलिंगी, द्विलिङ्गी, ट्रान्ससेक्सुअल,  कोएर के हो भन्नेबारे जानकारी दिइएको छ। साथै फरक यौनिकता भएकै कारण नेपाली सेनाबाट निकालिएकी थापाको व्यक्तिगत अनुभूति समेत अन्तर्वार्तामा उल्लेख छ। 

फरक यौनिकता हुनु प्राकृतिक भए पनि समाजमा जगडिएर बसेको कुरितीले कतिसम्म अप्ठ्यारो परेको छ, कानुनी बाटो सहज नहुँदा भएका अप्ठ्याराहरुको चिरफार गरिएको छ यो अध्यायमा।  

०००
पुस्तक समावेशी छ। पुस्तकमा उठाइएका सवालहरु बहस भएका, केही अधिकार प्राप्त भएका, केही अधिकार प्राप्त हुन बाँकी रहेका छन्। त्यसमा अधिकारवादी महिलाहरुको निरन्तर संघर्षको गाथा केही पात्रबाट भए पनि पुस्तकले समेट्न खोजेको छ। सम्पादक गौतमले पुस्तकको नाम ‘समानताको रिले दौड’ राख्नुको कारणबारे भनिन्, ‘प्राध्यापक चन्द्रा भद्राले ‘अधिकार कर्म एउटा पुस्ताले समापन गर्नसक्ने कामै होइन। यो त एउटा पुस्ताले अर्काे पुस्तालाई रिले ब्याटन हस्तान्तरण गरे जस्तै हो’ भन्नुभएकाले यहीबाट प्रेरित भएर राखिएको हो।

तर, यस पुस्तकमा पञ्चायतकालमा काम गर्दै महिला अधिकार पक्षमा लाग्ने र २०४६ सालमा महिला अधिकारको लागि लड्ने महिलाको विषयमा मात्रै उल्लेख छ। पञ्चायतअघि कसले रिले ब्याटन हस्तान्तरण गरेछ भन्ने लागिरहन्छ पाठकलाई।

मार्टीन चौतारीले इतिहासमा सोधखोजका पुस्तक प्रकाशन गरिरहेकै हुन्छ। यस पुस्तकमा पनि कम्तीमा २००७ सालअघि नारी शिक्षा कसरी आयो भन्नेमा कुनै महिलाको अनुसन्धानात्मक रिपोर्ट भएको भए पुस्तकको शीर्षक अुनसार रिले ब्याटनको सार्थकता मजबुत हुन्थ्यो।

पुस्तकमा समावेश जो–जो पात्र छन्, उनीहरुले पढ्न पाउनुमा पनि नारी शिक्षाको लागि कसै न कसैले आवाज उठाएको भएर सम्भव भएको हो। अघिल्लो पुस्ताका महिलाबारे नआउँदा केही न केही अपुग देखिन्छ पुस्तकमा। यसबारे सम्पादक गौतमले लेखेकी छन्, ‘यो नै अन्तिम दस्तावेज हैन।’ आशा गरौँ, पञ्चायतअघिका महिलाले गरेको संघर्षबारे पनि पुस्तकमा अगामी दिनमा आउने छ।  

त्यस्तै लैंगिक अल्पसंख्यक दुर्गा थापाको अन्तर्वार्ता चौतारीले केही वर्षअघि लिएको हो। त्यो बेला उनी आफू समेत समलिङ्गी रहेको र (निल हिरा समाज) जसले लैंगिक अल्पसंख्यकको हितमा काम गर्छ, त्यो संस्थामा आबद्ध थिइन्। तर निल हिरा समाजले दिएको जानकारी अनुुुसार उनी अहिले विदेशी पुरुषसँग विवाह गरेर श्रीमानकै देशमा बसेकी छन्।

पछिल्लो समय अपडेट हुनुभएन छ नि? भन्ने उकेराको प्रश्नमा पुस्तककी सम्पादक गौतमले किताब निर्माणको प्रक्रियामा ४ वर्ष लागेको बताइन। ‘यो अन्तर्वार्ता लगभग तीन वर्ष अगाडि नै सकिएको हो,’ उनले भनिन्,‘अन्तर्वार्ता लिँदाको दिनसम्म उहाँको ‘सेक्सुअल ओरियन्टेसन’ जे थियो त्यसमा केन्द्रित रहेर लिएको अन्तर्वार्ता हो।' उनले कोही व्यक्ति बायोसेक्सुअल हुनसक्ने बताइन्। 

अहिले थापा कहीँ कतैबाट पनि लैंगिक अल्पसंख्यको अधिकारको पक्षमा लागेकी छैनन्। बाध्यता वा रहर जे पनि हुनसक्छ, एक पटक सम्पादन मण्डलले कुराकानी गरेको भए राम्रो हुने थियो। 

तसर्थ, यो पुस्तक पढ्दा महिलाले कति असमान महसुुस गर्छन्, सामाजिक संस्कारका खातिर महिला कतिसम्म पीडित छन्  भन्ने त थाहा हुन्छ नै। सामाजिक कुसंस्कारका लागि संघर्षरत महिलाको व्यक्तिगत अनुभूति सहित उनीहरुले गरेका कामको फेहरिस्त थाहा हुन्छ। 

विगतमा महिलाबारे इतिहासमा लेखिएन। तर पञ्चायतकालदेखि गणतन्त्रसम्म आउँदा राजनीतिक बाहेक सामाजिक रुपान्तरणमा महिलाको यो समाजमा के भूमिका थियो भनेर पछिका पुस्ताले इतिहासका पुस्तक पल्टाउँदा आजको पुस्तालाई सराप्ने छैन। किनभने ‘समानताको रिले दौड’ पुस्तकले महिलाको इतिहास लेख्न ढोका खोलेको छ।

पुस्तकको नाम : समानताको रिले दौड 
प्रकाशक : मार्टिन चौतारी 
मूल्य रु. ४००/– 
सम्पादक : सावित्री गौतम, कैलाश राई, प्रत्युष वन्त 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुङ्गेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्व सचिव एवं साहित्यकार डा. सुधा शर्मा....

मलाई पुस्तक ‘नयाँ घर’ मन पर्छ किनकि यसले सिङ्गो समाज बोलेको छ

पुस्तक ‘नयाँ घर’ ले सिंगो समाजका विषयवस्तुलाई समेटेको छ। प्रेम, प्रकृति, महिला, दलित, धनी–गरिब, भोका–नांगा, राजनीति समग्र विषयलाई जोडेको यो एउटा पूर्ण पुस्तक हो। यसै....

जनमत साहित्यिक मासिक डिजिटल भर्सनमा

जनमत प्रकाशनले १ सय ५० बढी पुस्तक-ग्रन्थ समेत प्रकाशित गरिसकेको छ। १ सय ७६ जना वाङ्मय सेवीहरूको सम्मान गरिसकेको छ। प्रधान सम्पादक मोहन....

'अलोकप्रिय हुने डरले मधेसीले नागरिकता नपाएको विषयमा कसरी मौन बस्नु ! त्यसैले लेख्न छाड्दिनँ'

आफ्नो पुस्तक पाठकसमक्ष गएपछि लेखकलाई कस्तो महसुस हुन्छ? जतिसुकै पाको लेखक भए पनि पुस्तक बजारमा गएपछि केटौलीपन आइहाल्ने रहेछ। मलाई पनि यस्तै भएको छ।....

राउटे समुदायमा आधारित उपन्यास कदम सार्वजनिक

स्थलगत अध्ययन गरी राउटे समुदायको जीवनशैली, इतिहास, हालको अवस्था, उनीहरूका सुखदुख, परिवार, जीविका, प्रेम र प्रणयलगायत अनेक पाटा केलाएर वाग्लेले आख्यान तयार पारेका हुन्।  वाग्लेको....