कभर स्टोरी

कान्ति हराएको मेलम्ची : फर्किएला रौनक ?, फेरि बन्ला व्यापारिक हब ?

ईश्वरकुमार मैनाली


काठमाडौं : असार १ गते इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीले तीव्र गतिमा सहरीकरण भइरहेको मेलम्चीलाई एकाएक बगर बनाइदियो।

हरेक बर्खामा आउने बाढीकै स्वरुपमा सुरु भएको बाढीले विस्तारै लेदो पनि बोकेर ल्यायो। र, मेलम्ची नगरपालिका वडा नम्बर ६, ७, ९, १०, ११ र १२ का अधिकांश भू-भाग पुरिदियो।

बाढीले हजारौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरायो भने करोडौं लगानीका पक्की घरहरु लेदोले पुर्यो।

सिन्धुपाल्चोककै व्यापरिक केन्द्रको रुपमा रहेको मेलम्ची बजार तहसनहस भइसकेपछि यतिखेर विभिन्न तर्क-वितर्कहरु हुन थालेका छन्। मेलम्चीलाई पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ वा सकिन्न?, के मेलम्ची पुन: व्यापारिक हबकै रुपमा फर्कन सक्ला? अहिलेका अनुत्तरित प्रश्न हुन् यी।

पूर्ववत् अवस्थामै फर्कन समय लागे पनि मेलम्ची व्यापारिक हब भने बनिरहने तर्क गर्छन् मेलम्चीका पुराना बासिन्दा गजेन्द्र श्रेष्ठ। ‘मेलम्ची व्यापारिक हब थियो, रहन्छ,’ श्रेष्ठ भन्छन्, ‘बाढीले मेलम्चीको तल्लो बजार मात्र सखाप बनाएको हो। माथिल्लो बजार त छँदै छ नि।’

बजारको ६५ प्रतिशत हिस्सा बाँकी रहेकाले पनि मेलम्ची व्यापारिक रुपमा उत्तिकै चहलपलह देखिन्छ भन्नेमा विश्वस्त छन् सिन्धु विकास बेकका बैंक म्यानेजर सीताराम दुलाल।

‘करोडौंको लगानी खोलाले खाइदिँदा मेलम्ची सुरक्षित छैन की भन्ने प्रश्न उठेको छ। तर अहिलेको जस्तै बाढी फेरि आए पनि वस्ती र बजारलाई असर नगर्ने गरी पुनःनिर्माण तथा संरचनाको विकास गर्दा मेलम्ची व्यापारिक केन्द्र बनिरहन सक्छ,’ दुलाल भन्छन्, ‘बाढीबाट मेलम्ची उठ्न खोज्दैछ। जनता आफ्नो सम्पत्तिको संरक्षणमा जुटेका छन्। चाँडै नै मेलम्ची उही लहमा फर्किने छ।’

स्थानीय पत्रकार तथा रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारती मेलम्चीको अव्यवस्थित सहरीकरणलाई ध्यानमा राखेर अझ ठूलो र भव्य व्यापारिक केन्द्र बनाउनुपर्ने तर्क गर्छन्।

‘मेलम्ची भौगोलिताका कारणले पनि बनेको बजार हो। त्यसकारण मान्छेको चाप हुनु स्वभाविक हो,’ भारती भन्छन्, ‘मेलम्चीलाई उठाउन राज्य तथा जनस्तरबाट काम हुँदैगर्दा मेलम्ची फेरि परिस्कृत भएर अझ सम्भावना बोकेको व्यापारिक केन्द्र बन्नेछ भन्ने मेरो विश्लेषण छ।’

भैगोलिकताले जन्माएको बजार
मेलम्चीको बजारको इतिहास त्यति लामो छैन। तर त्यति छोटो पनि होइन। मेलम्ची बजार अस्तित्वमा आउनुभन्दा पहिले खेतीको लागि रोजाइको भूमि थियो। निरन्तर खोलाले बदलिरहने धारका कारण मेलम्चीले  २०२९, २०३३ र २०७८ मा नदिने आफ्नो धारलाई प्रष्टै देखिनेगरी परिर्वतन गर्यो। त्यसभन्दा पहिले पनि खोलाको स्थायी धार यही भन्ने यकिन नभएको बताउँछन् मेलम्चीका पुराना बासिन्दा गजेन्द्र श्रेष्ठ।

‘खोलाको धार यही नै भन्ने पहिला पनि हुँदैनथ्यो। यो खोला नाचिनै रहेको हुन्छ,’ श्रेष्ठ भन्छन्, ‘खोलाको बहन क्षेत्र कहिले खुम्चिने र कहिले बढ्ने हुन थाल्यो।’

२०२१ सालमा नापीमा उल्लेख भएका जग्गामा पछि खोला कुद्यो।  खोलामा भएको जग्गा २०४० को नापीसम्म आइपुग्दा कोही मानिसको खातामा गए त कोही बहन क्षेत्र नै भएर बस्यो।  

‘हाल रेडियो मेलम्ची भएको ठाउँमा २०४३ सालसम्म भँगालो थियो,’ स्थानीय पत्रकार भारती उकेरासँग भन्छन्, ‘मान्छेले के-के गरेर आफ्नो पारे। कोही त्यसै खेतीपाती गरिरहेका थिए। कति त अझै गरिरहेका पनि छन्।’

भौगोलिक रुपमा काठमाडौं जान र तिब्बत जानको लागि मेलम्ची केन्द्रमा पर्थ्यो। पाँचपोखरी, हेलम्बु तथा पाल्चोकको पनि केन्द्रको रुपमा मेलम्ची देखियो।

चन्द्रशमशेरले विसं. १९९२ मा इन्द्रावती खोलामा झोलुङ्गे पुल निर्माण गरेपछि व्यापारिक रुपमा जग बसेको मेलम्ची २०४६ को राजनीतिक परिर्वतनपछि मौलाउन थाल्यो। २०६२/०६३ को जनआन्दोलनपश्चात् मेलम्चीले सहरीकरणको रुप लियो। २०७२ सालको भूकम्पपछि दायाँबायाँका गाउँलेहरु बजार झरे र मेलम्ची बजार सानो सहरमा परिणत हुन पुग्यो।

‘मेलम्ची बजार भौगोलिकताले नै जन्माएको बजार हो। यो तिब्बत र राजधानी जाने नाकाको रुपमा विकसित भयो। विस्तारै सुविधा बढे।  बैंकहरु आए। बैंकले ऋण दिन थाले। घरहरु बढ्न थाल्यो। हरेक घरमा कुनै न कुनै व्यापार सञ्चालन हुन थाले। सहरको झल्को दिन सेवा-सुविधा बढे,’ मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत धिताल भन्छन्, ‘भौगोलिकताको कारण चन्द्रशमशेरले पुल बनाए। पछि सेवा-सुविधाको आडमा बजार सानो सहरको रुपमा विकसित भयो। र, व्यापारिक केन्द्र बन्ने दौडमा होमियो।’

मेलम्चीको वस्ती र नगरको मापदण्ड
मेलम्ची नगरपालिकाले युनिसेफले गरेको अध्ययनलाई आधार मानेर २०७४ मा भवन निर्माणको मापदण्ड बनायो। जसअनुसार खोलाको केन्द्रबाट सम्म भए १०० मिटर र कान्लो वा डिल भए ८० मिटरको दूरी राखेर भवन निर्माण गर्न पाइने उल्लेख गरियो। तर समस्या बनिसकेका घरहरुको थियो।

‘मापदण्ड नपुगी बनेका घरहरु सार्नसक्ने अवस्था थिएन। हामीले अनुरोध त गर्यौं। तर स्थानीयहरु आफ्नो पुर्खादेखि बस्दै आएको थातथलो नछोड्ने जोडमा रहे,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिताल भन्छन्, ‘नगरपालिका आएपछि बनेका निजी आवास संरचना मापदण्डभित्र नै छन्। तर कति भने नगरको अनुरोध नकार्दै निर्माण गरिएको घटना पनि देखियो।’

धितालले मेलम्चीको वस्तीलाई खोलाले प्रभाव पार्ने उल्लेख आजसम्म भएका कुनै अध्ययनले नदेखाएको उकेरासँग दावी गरे।

‘इन्द्रावती खोलाको जति पनि विगतमा अध्ययन भएका छन्। तिनले मेलम्चीको वस्ती जोखिममा रहेको देखाएका थिएनन्,’ धिताल भन्छन्, ‘भौगोलिकताले जन्माएको बजारलाई प्रकृतिको बितण्डा रुपले असज अवस्थामा ल्याइलियो।’

बगरमा विकासले निम्त्याएको विनास
स्थानीय पत्रकार डम्बर रसिक भारती बगरमा भएको विकासले विनास निम्त्याउन सहयोग गरेको हो की भन्ने तर्क गर्छन्।

‘मैले देखिकन मेलम्चीको बगरमा धेरै परिर्वतन आयो,’ भारती भन्छन्, ‘ठूला-ठूला ढुंगाहरु थिए। ती फोरेर कस-कसले खाए। बगर मान्छेका नाममा पनि देखिए।’

भारतीका अनुसार बगरलाई निश्चित गर्न नसक्दा भू-माफियाहरुको चंगुलमा परी सोझा नेपालीका करोडौं रुपैयाँ मेलम्चीमा पुरिन पुग्यो।

मेलम्ची नगरपालिकाका पूर्व वरिष्ठ इन्जिनियर अरुण २५ वर्षअघिको मेलम्ची सम्झन्छन्। जिल्ला विकासमा इन्जिनियर रहेर आफ्नो पेसा सुरु गरेका झा २५ वर्षदेखि सिन्धुपाल्चोकको विकासमा खटिएका थिए।  

‘२५ वर्षदेखि म मेलम्ची र सिन्धुपाल्चोकको अधिकांश ठाउँको विकासको साक्षी छु,’ पछिल्लो समय मेलम्ची नगरपालिकाको वरिष्ठ इन्जिनियर पदबाट राजीनामा दिएका झा भन्छन्, ‘मेलम्चीको बगर क्षेत्र ठूलो थियो। खोलामा ठूलाठूला ढुंगा थिए। ती ढुंगाहरु सबै बेचेर खाए दलाली गर्नेहरुले।’

खोलामा ढुंगा नहुनु र बहन क्षेत्रमा मानिसले अतिक्रमण गर्नु नै मेलम्चीको  दुर्दशाको कारण रहेको वरिष्ठ इन्जिनियर झा उकेरासँग दावी गर्छन्।

उनका अनुसार नगरपालिक आइसकेपछि पनि बगर अतिक्रमणको काम नरोकिएकोले पनि बाढीलाई प्रोत्साहन गरेको छ।

‘कवर्ड हल कहाँ बन्यो? बगरमा। सिटी पार्क? बगरमा, बसपार्क बगरमा,’ झा भन्छन्, ‘नगरपालिलकाले खोलाको तटीय क्षेत्रलाई काटेर खोलालाई खुम्च्याउन खोज्दा मेलम्चीले सोचेभन्दा बढी क्षति व्यहोर्नुपरेको हो। सिटीपार्क, बसपार्क बनाउँदा मैले विरोध गरें। राजनीति गर्नेहरुको आँखाको तारोमात्र भएँ। स्थानीय तहले पनि हामी इन्जिनियरको कुरा नसुनेर मनलाग्दी गरे।’

झाका अनुसार पहिला मेलम्चीको वस्ती खोलाको प्रभाव क्षेत्रमा नपर्ने गरी बसेको थियो। पुलनेर बसेको मेलम्चीको सबैभन्दा पुरानो वस्ती पुलको जीपबाट ४ कान्लामाथि र कान्लाबाट ४० मिटर माथि थियो। पछिलो समय झोलुङ्गे पुलको तलतिर पक्की पुल बन्यो। पक्की पुल बनेपछि पुल नजिक वस्ती पनि बस्न सुरु भयो।

‘सामान्य मान्छेलाई त पुलभन्दा माथि बस्न सुरक्षित हुन्छ भन्ने लाग्छ नि, उनीहरु बसे। पछि त पुलभन्दा तल पनि बस्ती बसेको थियो। नगरले किन रोकेन? माफियासँग नगरको पनि साँठगाँठ छ। नगरपालिका र भू-माफियाहरुको गल्तीको सजाय जनताले भोग्नुपर्यो,’ उनी भन्छन्, ‘म इमान्दार भएर भन्छु, मेलम्चीको यो गति हुनुमा नगरपालिकाको बगरे विकास जिम्मेवार छ। भू-माफियासँगको साँठगाँठ जिम्मेवार छ। जनतालाई बस्न मिल्दैन, नबस भने त उनीहरु जानाजान आफ्नो सम्पत्ति खेर फाल्न बस्दैनन् नि। नयाँ वस्ती बढ्दा नगरपालिका कहाँ थियो? व्यापारको राम्रो सम्भावना बोकेको मेलम्चीमा राजनीति र माफियाको सहकार्यले गर्न सकिने कर्य गर्न नसक्दा जनताले दुःख पाए।’

नगरपालिका नै बगर अतिक्रमणमा सक्रिय
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिताल भने बगरको विकल्प नगरपालिकासँग नभएको तर्क गर्छन्।

‘यहाँ जग्गाको मूल्य चावहिल चोकको जत्तिकै छ। नगरपालिकाले किन्न त सक्दैन। आवश्यक संरचना नबनाई पनि भएन,’ धिताल भन्छन्, ‘सरकारी निकायले सम्भव भएसम्म सरकारी जग्गा नै खोज्छ। हामीसँग भएको जग्गा त्यही बगर थियो।’

जग्गा अभावका कारण नगरपालिककाले  सिटीपार्क, किरिया घर, सामूहिक तरकारी खेती, कवर्ड हल तथा बसपार्क र अन्या साना-ठूला आयोजनाहरु खोलाको तटीय क्षेत्रभित्र नै सञ्चालन गर्दै आएको धिताल स्वीकार्छन्।

‘कतिपय संरचना हाम्रो मापदण्डमा नपरेर पनि निर्माण गर्नुपर्ने बाध्यता हामीसँग भयो,’ उनी भन्छन्, ‘प्रशस्त ज्ञान र अध्ययनको कमीले नगरपालिका पनि चुकेको हो।’

आगामी दिनमा खोलाको बहन क्षेत्रलाई १५० मिटर बनाउने र नयाँ मापदण्ड निर्माण गरी संरचना बनाउनेतर्फ नगरको ध्यान रहेने धिताल उकेरासँग बताउँछन्।

मेलम्चीको विकल्प पनि छ?
प्रमुख प्रशासकीय अधिकृतका अनुसार मेलम्ची बजारलाई बाढीले प्रभाव पारेका कारण मेलम्चीको विकल्पमा केही समयको लागि बाहुन्ने पाटी रहन सक्ने तर्क गर्छन्।

‘बाहुन्ने पाटी पनि प्रभाव नपर्ने ठाउँ त होइन तर, त्यहाँ राम्रो टार छ। बर्खा बढ्दै छ। अध्ययन नभई त्यसै मेलम्चीलाई नै जोड गरेर पनि भएन। सरकारी टोलीले अध्ययन नगरी हामी त्यसै भन्न सक्दैनौं। तर जनभावना अनुसार प्रभावित क्षेत्रको सुरक्षा गर्ने काम भने गर्ने हो,’ धिताल भन्छन्, ‘यदि अध्ययनले वस्ती नै नबस भन्यो भने अर्को कुरा होला। नत्र मेलम्चीको विकल्प अरु हुनै सक्दैन। केही समयको लागि वैकल्पिक रुपमा भयो भने त्यही बाहुन्ने पाटी हुनसक्छ। मेलम्चीबाट केही मात्र तल र मेलम्ची पायक पर्नेको लागि सहज भएको कारण। तर अध्ययनले मेलमचीलाई अझ व्यवस्थित र भव्य बनाउन सहयोग गर्छ र चाँडै मेलम्ची फेरि व्यापारिक केन्द्रको रुपमा उठ्ने छ भन्ने हामीलाई आशा छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

खुङ्खार अपहरणकारीलाई सरकारी उपहार : सात वर्ष कैद ,८७ लाख जरिवाना  माफ

उनी सिधै अपहरणको धम्की दिँदैनथे। आफ्नो केही व्यवहार मिलाउनु छ भन्दै व्यापारी र चिकित्सकसँग पैसा माग्थे। नदिए अपहरण गरेर पनि असुल्थे। ओमकार भट्टचन, पशुपति पेन्ट्सका....

दलाललाई ४० लाख बुझाएर अमेरिका हिँडेका ८५ नेपाली जर्मनीमा अलपत्र, सरकारी निकाय बेखवर

नेपालमा दलाललाई पैसा बुझाएर हिँडेका उनीहरू जर्मनीबाट मेक्सिको हिँडेका थिए। तर उनीहरूको साथमा रहेको भिसा नक्कली देखिएपछि मेक्सिकोको इमिग्रेसनले उतै फर्काइदिएपछि अहिले अलपत्र परेका हुन्।....

युनिफाइड अस्पतालका  प्रशासकीय अधिकारी भूपेन्द्र अवैध, तर गइरहन्छन् कार्यालय

तर युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) मा त्यही अध्यादेशमा टेकेर निमित्त प्रमुख प्रशासकीय अधिकारी बनेका डा. भूपेन्द्र बस्नेत भने अहिले पनि दैनिक कार्यालय गइरहेका छन्....

अनुसन्धानै नसकिई आरोपी सार्वजनिक गर्न प्रहरीलाई किन हुन्छ हतार !

प्रदेश नम्बर एकका प्रमुख डिआइजी  अरुण कुमार बिसीले सार्वजनिक गरेको अनुसन्धानको प्रारम्भिक प्रतिवेदन र उनको ब्रिफिङमा घटना सार्वजनिक गरिएका आरोपी लोकबहादुर कार्की एक्लैले सबै ६....

पाटन माध्यमिक विद्यालय व्यवस्थापकको भट्टी प्रेम 

सटरै सटरले घेरिएको विद्यालय व्यवस्थापकले त्यहाँ के विक्री हुन्छ भन्ने चासो भने छैन। ४८ सटरमध्ये केही खाजा पसल छन् केही किराना पसल छन्। खाजा पसलमा....