कुनै समय एकजना गरिब पुजारी थिए उनले पूजापाठ गरेर आफ्नो जिविकोपार्जन गर्ने गर्थे । एकदिन कुनै महाजनको घरमा पूजा गराएवापत दक्षिणास्वरुप एउटा सानो बाच्छो दानमा पाए । उनले त्यो बाच्छोलाई निकै स्याहार सुसार गर्दै पाले । केहि वर्षमै त्यो बाच्छो जवान गोरु भयो । उ निकै तन्दुरुस्त र बलियो पनि भयो । पुजारीले माया गरेर गोरुलाई नन्दी भनेर बोलाउँथे ।
उकेरा जुनियर
आफुलाई निकै माया गर्ने पुजारीको गरिबी देख्दा गोरुलाई पनि निकै दया लाग्थ्यो । केहि गरी पुजारीलाई सहयोग गर्न पाए हुन्थ्यो भनेर उसले सोचिरहन्थ्यो । एकदिन गोरु र पुजारी कतै गईरहेको बेलामा उनीहरु हिँडेको बाटो भएर एउटा गोरुगाडाको लश्कर कतै गईरहेका थिए । त्यो लश्करमा सयभन्दा बढि गोरु गाडाहरु थिए । सबै गोरुहरुले निकै फुर्तिका साथ गाडा तानिरहेका थिए । त्यही गाडामा चढिरहेको एउटा मान्छेले नन्दीलाई देखेर जिस्क्याउँदै भनिहाल्यो ।
कसैले यत्रो दुःख गरेर गाडा तानिरहेका छन् यो भने साँढे बनेर काम न काजसँग डुलिरहेको छ ।
उसले पुजारीतिर हेर्दै फेरी भन्यो ।
-"पुजारी बा हाम्रो मालिकले किन्छन् यसलाई बेचिदिनोस् । "
यति भनेर उसले गाडा हाँक्दै अघि बढ्यो ।
पुजारीलाई त्यो मान्छेको कुरा मन परेन ।
-"कत्ति न उपदेश दिन्छ । मेरो नन्दी डुल्दै हिँडेकोमा त्यसलाई के को चासो ?"
उनले रिसाउँदै त्यो गाडालाई परसम्म गएको हेरिरहे । नन्दी पनि दुःखी भएर झोक्राईरह्यो ।
बाटोमा नन्दीले केही कुरा सोँच्दै अघि बढिरह्यो ।
घर पुगेपछि नन्दीले पुजारीलाई भन्यो,
-"बा मलाई बेचिदिनोस् । "
-" बाबु नन्दी कस्तो कुरा गरेको ? त्यस्ता को हो को मान्छेले भनेको कुराले मन नदुखा ।"
पुजारीले नन्दीको जुरो मुसार्दै नन्दीलाई भने ।
-" हैन बा मैले तपाईंका लागि केही सहयोग गर्न पनि सकेको छैन । मलाई बेच्नु भो भने तपाईंलाई पैसा पनि आउँछ ।"
पुजारीबालाई यो कुरा पटक्कै मन परेन । उनी रिसाउँदै घरभित्र पसे ।
अर्कोदिन बिहान नन्दीले पुजारीलाई भन्यो,
-"बा मलाई नबेचेपनि तपाईं त्यो साहुकहाँ मलाई लिएर जानुहोस अनि उसँग म सन्सारको सबैभन्दा बलियो गोरु हुँ भनेर बाजी थाप्नुहोस् । "
तर मसँग बाजी थाप्ने पैसा कहाँ छ त नन्दी ?
बाजी हार्नुभयो भने मलाई नै दिन्छु तर जितेँ भने एकसय सुनका पैसा चाहिन्छ भन्नुहोस्
हुन्न मैले तँलाई गुमाउँन चाहन्न । भन्दै पुजारी डराए
हैन बा, बाजी हामीले नै जितिन्छ । तपाईले मलाई विश्वास गर्नुस् । नन्दीले पुजारीलाई सम्झायो ।
अन्त्यमा पुजारी र नन्दी त्यो साहुकहाँ जाने नै भए ।
साहुकहाँ पुगेर साहु समक्ष पुजारीले शर्त राखे । साहुलाई आफ्ना गोरुहरुप्रति निकै घमण्ड थियो । उसले तुरुन्तै पुजारीको शर्त स्वीकार गर्यो । शर्त अनुसार एउटा गाडामा सामान लोड गरेर नन्दीले अनि अर्को गाडामा उत्ति नै सामान लोड गरेर साहुको गोरुले गाडा तान्नु पर्ने थियो ।
जब सामान लोड भईसकेर गाडा कुदाउनुपर्ने थियो । त्यो बेलामा पुजारीले गाडामा चढेर कुद् दुष्ट साँढे भन्दै नन्दीको पिठ्युँमा एक छडी लगाए । नन्दीलाई यो कुरा निकै असामान्य मात्र हैन पीडादायक लाग्यो । उसले आजसम्म पुजारीको मुखबाट आफ्नो लागि यति नमिठो बचन सुनेको थिएन । उ एक कदम पनि अघि बढेन तर साहुको गोरु भने अघि बढ्यो । अब शर्त अनुसार पुजारीले बाजी हारे । उनले नन्दीलाई साहुको हातमा बुझाउनुपर्ने भयो । पुजारी निकै दुःखी भयो । एकातिर उनलाई नन्दीसँग रिस पनि उठ्यो, त्योभन्दा बढि भने उनलाई नन्दी गुमाउँनुको पीडा थियो । साहुका कामदारले नन्दीको घाँटीमा दाम्लो लगाएर गोठमा लगेर बाँधिदिए । फर्किने बेलामा उनले साहुँसँग नन्दीलाई एकपटक भेट्न अनुमति मागेर गोठमा गई दुःखी हुँदै नन्दीलाई हेर्दै भने,
-"नन्दी तैले किन यस्तो गरिस् बाबु ?"
-" बा, मैले आजसम्म हजूरले मलाई गालि गरेको थाहा पाएको थिएन तर तपाईंले मलाई दुष्ट साँढे भन्दै गालि गर्दा मलाई एकदमै नमिठो लाग्यो । म हिँड्नै सकिन बा । मलाई माफ गरिदिनुस् बा । अब जे हुनु भईहाल्यो मलाई बिर्सिनुस् । म अब यहीँ गाडा तानेर बस्छु ।"
नन्दीले पनि आँखाभरी आँशु निकाल्यो अनि पुजारीको हात चाट्यो ।
एकछिनमा साहुको एउटा कामदार आएर नन्दीलाई त्यहाँबाट लैजान थाल्यो । उसले हाँस्दै नन्दीलाई हेपेको स्वरमा भन्दै थियो,
-"अब त साँढेजस्तै ढल्केर खान कहाँ पाईन्छ । हिँड गाडामा सामान तान्न अब ।"
पुजारीलाई त्यो कामदारको बोली मुटुमै बिझ्यो । तर के गर्नु नन्दीलाई गुमाईसकेका थिए उनले । उनी भारी मन लिएर त्यहाँबाट फर्किए ।
भोलीपल्ट पुजारी त्यो साहुको घरमा फेरी आए । आज उनले फेरी बाजी थाप्दै थिए । आज उनको हातमा एउटा पोको पनि थियो । सबैको अगाडी उनले घोषणा गरे ,
-"आज मैले दुईसय सुनका सिक्का लिएर आएको छु । आज पनि मैले साहुजीसँग बाजी थाप्दैछु । पहिलाजस्तै आज पनि नन्दी र अर्को गोरुबिच प्रतिस्पर्धा हुनेछ । यदी नन्दीले जित्यो भने मैले सुनका सिक्का पाउनेछु तर उ हार्यो भने यो सुनका सिक्काहरु साहुजीको हुनेछ ।"
त्यो दिन पनि पहिलाजस्तै प्रतियोगिता शुरु भयो । पुजारी नन्दीले तान्ने गाडामा थिए भने अर्को गाडामा साहुको कामदार थियो । पहिलाको भन्दा धेरै भारी थियो यसपटक । सबैलाई लागेको थियो आज पनि नन्दी हार्नेछ । जब कुद्नको लागि घण्टी बज्यो पुजारीले नन्दीलाई जोस्याउँदै चिच्याए,
-" कुद् मेरो बाबु नन्दी !"
अब के थियो, नन्दी मज्जाले गाडा तानेर अघि बढ्यो तर अर्को गोरु डेग चल्न पनि सकेन ।
यसपटक बाजी पुजारीले जिते । साहुले पुजारीलाई सुनका सिक्काहरुसहितको पोको दिन अघि बढाए तर पुजारीले त्यो लिन चाहेनन् बरु हात जोड्दै नन्दी फिर्ता माग्दै भने,
-"साहुजी मलाई यो सिक्काहरु केहि पनि चाँहिदैन, बरु मेरो नन्दी फिर्ता पाउँ । "
साहु पनि पुजारीको नन्दीप्रतिको प्रेम देखेर निकै प्रभावित भए । उनले नन्दी पनि फिर्ता दिए अनि त्यो सुनका सिक्काको पोको पनि दिँदै भने,
-"पुजारीजी तपाईंले मसँग राख्नुभएको शर्तबाट नै म प्रभावित भएको थिएँ । तपाईंलाई मात्र हैन मलाई पनि विश्वास थियो कि आज नन्दीले नै जित्नेछ भनेर । त्यसैले नन्दी तपाईंको प्रेमको पुरस्कार हो भने यो पैसा नन्दीको शक्तिको सम्मान हो ।"
त्यसपछि नन्दीलाई लिएर पुजारी खुशी हुँदै घर फर्के ।
बाटोमा नन्दीले पुजारीलाई सोध्यो ,
-" हैन बा, तपाईंले के शर्त लगाउनुभएको थियो र ? अनि तपाईंसँग त्यत्रो सुनका सिक्का कहाँबाट आयो ?"
पुजारीले मुसुक्क हाँस्दै भन्न थाले ,
-" नन्दी तँलाई के लाग्छ ? मजस्तो गरिबसँग साहुसँग बाजी थाप्नका लागि सुनका सिक्का थियो होला ? "
नन्दीले सुनिरह्यो, पुजारीले भनिरहे ।
-" तँलाई गुमाएर जब घर आएँ मलाई रातभर निद्रा लागेन । मेरो नमिठो बोलिले गर्दा यो सबै भएको थियो । त्यो बेलासम्म मलाई लागिसकेको थियो, म तँबिना बस्न सक्दिन भनेर । त्यसैले बिहान सबेरै उठेर म साहुको घरमा गएर, मलाई पनि साहुकै घरमा कामदार बनाएर राख्न अनुरोध गरेँ । मैले कुनै तलब नलिएर जिन्दगीभर नन्दीले तान्ने गाडा चलाउँछु भन्दै रोएँ । अनि मेरो नमिठो बोलीको कारणले नन्दीले गाडा तान्न नसकेको कुरा पनि भनेँ । साहुले त्यसपछि मलाई फेरी एउटा अनौठो कुरा भने ,
-" पुजारीजी हुन त मैले नन्दीलाई यत्तिकै पनि तपाईंलाई फिर्ता गर्नसक्छु तर मैले यत्तिकै नन्दीलाई फिर्तागरेँ भने सबैले नन्दीलाई हरुवा गोरुको रुपमा हेर्नेछन् त्यसैले फेरी शर्त लगाउँ । मलाई लाग्छ नन्दीले नै बाजी जित्नेछ ।"
तर मसँग पैसा छैन भनेर मैले भनेँ । त्यसपछि साहुले मलाई सम्झाएकोजस्तो गर्दै त्यसको चिन्ता नलिन भने ।
त्यसपछि पुजारीले एकपटक मायालु भावले नन्दीलाई हेर्दै रुञ्चे मुख लगाउँदै भने ।
-"त्यसपछिको कुरा त तैंले नै देखिस् नि ! "
पुजारीका कुराले नन्दीको आँखामा आँशु आईरहेको थियो ।
२०७८ साउन ०८ गते ९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित कुनै सामग्रीबारे गुनासो भए या कुनै जानकारी भए हामीलाई ukeraanews@gmail.com मा इमेल गर्न अनुरोध गर्दछौ ।