स्वास्थ्य मन्त्रालयले बजार मूल्यभन्दा बढी तिरेर स्वास्थ्य सामग्री खरिद गरेको खुलासा

स्वास्थ्य मन्त्रालयले बजार मूल्यभन्दा बढी तिरेर स्वास्थ्य सामग्री खरिद गरेको खुलासा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरणमै मन्त्रालयले २०७७ जेठयता खरिद गरेका मास्क, स्यानिटाइजर, ग्लोब्स लगायतका सामग्रीमा बजार मूल्यभन्दा धेरै तिरेको देखिएको हो।

मन्त्रालयले २०७७ जेठयता विभिन्न मितिमा ८७ हजार ५ सय थान मास्क खरिद गरेको छ। यीमध्ये २६ हजार ५ सय मास्क ६ रुपैयाँको दरमा खरिद भएका छन् भने बाँकी मास्कको मूल्य प्रतिमास्क ७ रुपैयाँ रहेको छ।

त्यसबाहेक मन्त्रालयले कुशेश्वर इन्टरप्राइजेजमार्फत २८ जेठ २०७७ मा एक हजार थान केएन-९५ मास्क खरिद गरेको थियो। जसको मूल्य प्रतिमास्क २७५ रुपैयाँ रहेको छ।

सामान्यतयाः बजारमा मेडिकल मास्कको मूल्य प्रतिमास्क ४ रुपैयाँ पर्छ। तर मन्त्रालयले विभिन्न समयमा खरिद गरेको मास्क ६ र ७ रुपैयाँ प्रतिमास्क तिरेको छ।

२९ असोज २०७७ मा साट्ठीबारी जनरल ओभरटेक बिजनेस नामक कम्पनीबाट खरिद गरेको २५ हजार थान मास्क र २६ पुस २०७७ सेविका इन्टरप्राइजेजमार्फत खरिद गरेको १ हजार ५ सय थान मास्कको मूल्य प्रतिमास्क ६ रुपैयाँ रहेको छ।

त्यस्तै, मन्त्रालयले २६ पुस २०७७ मै बंगलामुखी मेडिसिन सप्लायर्सबाट खरिद गरेको ३० हजार थान मास्कको मूल्य प्रतिमास्क ७ रुपैयाँ छ। सोही वर्ष २२ माघमा मुक्तिनाथ मेडिको फर्मामार्फत खरिद गरिएको ३० हजार मास्क पनि मन्त्रालयले प्रतिमास्क ७ रुपैयाँले खरिद गरेको छ।

पाँच लिटर सेनिटाइजरको मूल्य ३५ सय रुपैयाँ
मन्त्रालयले मास्कजस्तै सेनिटाइजर पनि बजार मूल्यभन्दा बढीमा खरिद गरेको देखिएको छ। मन्त्रालयमार्फत उपलब्ध भएको विवरणअनुसार मन्त्रालयले हालसम्म १२० थान ५ सय एमएल सेनिटाइजर खरिद गरेको छ भने १८५ थान ५ लिटरको सेनिटाइजर खरिद गरेको छ।

मार्केटिङ लाइन इन्स नामक कम्पनीमार्फत मन्त्रालयले १४ भदौ २०७७ मा खरिद गरेको ५ सय एमएल सेनिटाइजरको मूल्य प्रतिथान ४२५ रुपैयाँ रहेको छ। मन्त्रालयले ४२५ रुपैयाँमा १२० थान सेनिटाइजर खरिद गरेको थियो।

सोही कम्पनीमार्फत सोही मितिमा मन्त्रालयले खरिद गरेको ५ लिटरको बायोसिल्ड सेनिटाइजरको मूल्य प्रतिथान ३ हजार रहेको छ। यस पटक भने मन्त्रालयले ५० थान सेनिटाइजर खरिद गरेको थियो।

त्यस्तै, सालघारी इन्टरप्राइजेज कम्पनीमार्फत मन्त्रालयले २९ असोज २०७७ मा खरिद गरेको ५० थान ५ लिटर बायोसिल्ड सेनिटाइजरको मूल्य पहिलेभन्दा बढी छ। मन्त्रालयले यस पटक ५ लिटरकै सेनिटाइजरलाई ३५ सय रुपैयाँ प्रतिथान हालेको थियो।

त्यस्तै, बंगलामुखी मेडिसिन सप्लायर्समार्फत २६ पुस २०७७ मा खरिद गरिएको ३० थान सेनिटाइजरको मूल्य पनि प्रतिथान ३५ सय रहेको छ। त्यस्तै, २२ माघमा मुक्तिनाथ मेडिको फर्मामार्फत खरिद गरिएको ३५ थान ५ लिटरको बायोसिल्ड सेनिटाइजरको मूल्य पनि ३५ सय नै रहेको छ।

गत वर्ष नै २७ चैतमा एनके इन्टरप्राइजेजमार्फत स्वास्थ्य मन्त्रालयले खरिद गरेको ५ लिटरको ग्लोबल हेल्थ केयर नामक सेनिटाइजरको मूल्य भने १०२५ रहेको छ।

कोरोना महामारी सुरुवात हुँदा मास्क, सेनिटाइजरलगायतका आधारभूत स्वास्थ्य सामग्रीको अभाव देखिएका कारण मूल्यमा केही उतारचढाव भएको थियो। तर पहिलो लहर सकिएपछि महामारी नियन्त्रणमा आएको अवस्थामा पनि मन्त्रालयले पहिलेभन्दा बढी मूल्यमा सामग्री खरिद गरेको तथ्यांकले देखाउँछ।

भदौंमा खरिद गरिएको सोही प्रकृतिको सेनिटाइजर पुस र माघ महिनामा खरिद गर्दा भने ५ सय रुपैयाँ बढी परेको तथ्यांकमा उल्लेख छ।

एक जोर ग्लोब्सको मूल्य १७ रुपैयाँ
मन्त्रालयले ४ चैत २०७६ मा बंगलामुखी मेडिसिन सप्लायर्सबाट खरिद गरेको सय कार्टुन ग्लोब्सका लागि ३ लाख ५० हजार रुपैयाँ तिरेको छ। जसअनुसार प्रति कार्टुन ग्लोब्सको मूल्य ३ हजार ५ सय हुन आउँछ।

त्यस्तै, २२ माघ २०७७ मा मन्त्रालयले मुक्तिनाथ मेडिको फर्मामार्फत खरिद गरेको २ हजार ५ सय जोर जोर ग्लोब्सको मूल्य ४२ हजार ५ सय रुपैयाँ छ। यसअनुसार प्रतिजोर ग्लोब्सको मूल्य १७ रुपैयाँ हुन आउँछ।

सामान्यतः बजार मूल्यमा यस्ता ग्लोब्सहरु प्रतिकार्टुन ५ सयदेखि एक हजार रुपैयाँ पर्छ भने प्रतिजोर ८ देखि १५ रुपैयाँसम्म पर्छ। तर मन्त्रालयले खरिद गरेको मूल्य भने बजारमा खुद्रामा खरिद गरिनेभन्दा पनि निकै धेरै छ।

डिस्इन्फेक्टेन्टमा १ लाख ४३ हजार खर्च
मन्त्रालयले समय–समयमा कोरोनाको जोखिम कम गर्न खरिद गरेको डिस्इन्फेक्टेन्ट (क्लोरिन)मा १ लाख ४३ हजार ६५० रुपैयाँ खर्च भएको छ।

मन्त्रालयले १४ भदौमा २०७७ मा मार्केटिङ लाइन इन्समार्फत खरिद गरेको ९६ थान इथाइनोल स्प्रेको प्रतिथान ५५० रुपैयाँ तिरेको छ। सोही कम्पनीमार्फत सोही दिन खरिद गरिएको ५० थान पाँच लिटरको क्लोरिनको मूल्य प्रतिजार ३ हजार ५ सय रुपयाँ परेको छ।

त्यस्तै, मुक्तिनाथ मेडिको फर्मामार्फत खरिद गरिएको ५ लिटरकै क्लोरिनको जार प्रतिजार २ हजार ५ सय रुपैयाँ परेको छ। मन्त्रालयले २२ माघमा उक्त कम्पनीमार्फत ३० जार क्लोरिन खरिद गरेको थियो।

७ साउन, २०७८, १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।