हिजोका कुरामा कुन्ती मोक्तान : फुटबल खेलाडीको गायनमा छलाङ

हिजोका कुरामा कुन्ती मोक्तान : फुटबल खेलाडीको गायनमा छलाङ

प्राकृतिक दृष्टिले सुन्दर दार्जिलिङको मारग्रेस्होप चिया बगान गाउँमा बित्यो कुन्तीको बाल्यकाल। सानो र चिटिक्क परेको त्यो गाउँ हरियाली चिया बगानले निकै सुन्दर देखिन्थ्यो।

गाउँका आफ्नै उमेरका अरु बच्चाको तुलनामा उनी निकै ज्ञानी थिइन्। स्कुलमा पनि गुरुहरुले भनेको मान्ने भएकोले सबैकी प्यारी विद्यार्थी थिइन् उनी। जेठी छोरी भएकोले घरको कामकाजमा पनि उनले सहयोग गर्नुपर्थ्यो।

कुन्ती जन्मेको मारग्रेस्होप चिया बगानमा प्राथमिक तहसम्म मात्रै पढाइ हुन्थ्यो। ६ कक्षाभन्दा माथि पढ्न जान धेरै समय लाग्यो। ६ घन्टा लगाएर डिलाराम बजारमा रहेको सेन्ट जेभियर्स स्कुल जानु-आउनु पर्थ्यो उनलाई। खोला, उकालो-ओरालो बाटोमा दगुर्दै १० सम्मको पढाइ पूरा गरिन्। त्यसपछि  ११ र १२ कक्षा पढ्न उनी खर्साङ पुगिन्।

स्कुलमा फिजिकल एजुकेसन भएकोले बाहिर गएर पनि खेल्न पाइन्थ्यो। बाहिर खेल्न जान पाउँदा उनी दंग पर्थिन्। त्यहाँ योगा पनि सिकाइन्थ्यो। स्कुलमा हुने कुनै पनि कार्यक्रममा आफूभन्दा अग्रजलाई सघाउन पुगिहाल्थिन्।

खेल्दाखेल्दै कुन्तीमा फुटबलप्रति अकर्षण बढ्यो। सक्रिय रुपमा फुटबल खेल्न थालेपछि उनी दार्जिलिङको पहिलो महिला फुटबल टिममा छनोट भइन्। सो टिमबाट विभिन्न प्रतियोगिताहरुमा भाग पनि लिइन्। तर, उनको खेल यात्रा लामो समय टिक्न भने सकेन।

०००
सानैदेखि कुन्तीमा संगीतप्रति पनि रुचि थियो। कक्षा १ पढ्दादेखि नै संगीतका हरेक प्रतियोगितामा भाग लिइरहन्थिन्। कुनै पनि प्रतियोगितामा उनले हार्नुपरेन। साथीहरुको प्रायः गुनासो हुन्थ्यो, उनले भाग लिइन् भने अरुले कहिल्यै चान्स नपाउँदैनन्।

उनलाई शास्त्रीय बेसका गीतहरु गाउन मनपर्थ्यो। तर परिवारले भने छोरी गायनमा लागेको त्यति रुचाउँदैनथे। तैपनि, उनलाई गायनको भोक चाहिं मज्जाकै थियो।

स्कुल पढ्दा सबैले लिखित र मौखिक रुपमा परीक्षा दिनुपर्थ्यो। तर कुन्तीलाई भने मौखिक परीक्षामा घोकेर जानु पर्दैनथ्यो। मौखिक परीक्षा दिन नयाँ गीतहरु तयार पारेर जानुपर्थ्यो। परीक्षामा उनलाई किताबका प्रश्नहरु नसोधी सिधै गीत गाउन लगाइन्थ्यो। साथीहरुले उनीको आरिस गर्थे। ‘गीत गाएर नम्बर पाइहाल्छे, किन पढ्नु पर्यो’ भन्थे।

कुन्ती १४ वर्षको उमेरदेखि गुरु जेवी राईसँग संगीत सिक्न थालिन्। पहिलो गीत १४ वर्षकै उमेरमा रेडियो खर्साङमा रेकर्ड समेत गराएकी थिइन्। त्यहाँ उनले अडिसन पास भएर गाउने मौका पाएकी हुन्। रेडियो खर्साङमा गाउने मौका पाउनुको जस लोकगीतका विज्ञ पूर्णकुमार राईलाई दिन्छिन् कुन्ती। उनले पहिलो पटक पूर्णकुमार राईकै गीत गाएर रेकर्ड गरेकी हुन्।

रेडियो खर्साङमा अडिसन दिँदा हरेकले दुई वटासम्म गीत गाउनुपर्थ्यो। तर उनलाई भने निर्णायकहरुले उनलाई अर्को एउटा गीत पनि गाउन लगाए। उनमा आफ्नो गायनप्रति विश्वास हुँदाहुँदै पनि आफू छानिएनछु भन्ने लाग्यो। तर पछि अरुणा लामाहरुसँग कार्यक्रमहरुमा जाँदा पो थाहा पाइन्, उनको स्वर मन परेर निर्णायकहरुले अर्को पनि सुन्न खोजेका रहेछन्।

कुन्तीका स्वर रेडियोमा गुञ्जन थालेपछि दार्जिलिङमा हुने सांगीतिक कार्यक्रमहरुमा पनि निम्ता आउन थाल्यो। अग्रज गायक-गायिकाहरु अरुणा लामा, दावा ग्याल्मो, कर्म योञ्जन, मणिकमल क्षेत्रीहरुले उनलाई कार्यक्रमहरुमा बोलाउन थाले।

गाउँबाट गीत गाउन सहर गएका बेला कुन्तीका लागि आयोजकले छुट्टै होटल बुक गरिदिन्थे।

त्यो समय गीत सुन्न आउने स्रोता गीतको मर्मलाई बुझ्ने हुन्थे। स्टेजमा गीत-संगीत प्रस्तुत गरिरहँदा पनि ड्रप साइलेन्स हुन्थे। गीत मन परे बीचबीचमा ताली बजाउने गर्थे। अहिले संगीत पारखीहरुको अभाव महसुस गर्छिन् कुन्ती।

उनलाई दार्जिलिङमा सबैभन्दा रमाइलो लाग्ने पर्वको भानुजयन्ती हो। त्यहाँ दसैंभन्दा पनि ठूलो पर्वको रुपमा भानुजयन्तीलाई लिइन्छ। एक महिना अघिदेखि विभिन्न कार्यक्रम आयोजना गरेर भानुजयन्ती मनाउने चलन छ। नेपाल आएपछि उनले भानुजयन्ती मिस गरिन्।

०००
कुन्ती आफूलाई भाग्यमानी गायिकाको रुपमा लिन्छिन्। पुराना संगीतका हस्तीहरु अरुणा लामा, शान्ति ठटाल, नारायणगोपाल, दावा ग्याल्मो, कुमार सुब्बादेखि अहिलेका नयाँ पुस्तासँग स्टेज सेयर गर्ने मौका पाइन् उनले।

त्यो बेलाको सांगीतिक माहोललाई स्वर्णीम भन्न रुचाउने कुन्ती भन्छिन्, ‘अग्रजहरुले नयाँ कलाकारलाई सुन्ने, प्रोत्साहन दिने गर्थे भने अग्रजहरुलाई पनि उत्तिकै सम्मान गरिन्थ्यो। गुरुदेव भनेर पुजिन्थ्यो।’ अहिलेका १÷२ वटा गीत चलेका गायक-गायिकामा बढेको घमण्ड र क्षणिक वाहवाही देखेर  उनी जस्ता श्रष्टाहरु दुःखी नहुने कुरै भएन।  

दिवंगत गायिका अरुणा लामालाई शालिन र अद्भूत स्वरकी धनी गायिका भन्न रुचाउँछिन् कुन्ती। ‘अरुणाले स्टेजमा गाउँदा र रेकर्डिङ सुन्दा कुनै फरक हुँदैनथ्यो,’ उनी सुनाउँछिन्, ‘मेरो गायकीको सुरुवाती चरणमा उहाँले निकै प्रोत्साहन दिनुभयो। नेपाल आउँदा मेरै घरमा खाना खानुहुन्थ्यो। जे पाक्यो मिठो मानेर खाने उहाँको स्वभावबाट म निकै प्रभावित छु।’ उनी अरुणा लामालाई महान स्वरकी महान व्यक्तित्वको रुपमा लिन्छिन्।

०००
कुन्ती दार्जिलिङमा नाम कमाउँदै थिइन्। नेपालमा गएर गाउने निमन्त्रणा गयो।

सन् १९८० मा तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवमा नाचघरमा आयोजना भएको सांगीतिक कार्यक्रममा पहिलो पटक उनले कर्म योञ्जन, डेजी बराइलीका साथमा स्टेजमा उत्रेकी थिइन्।

नाचघरमा दर्शकको खचाखच थियो। त्यतिबेला नाचघरको महाप्रबन्धक  स्वर सम्राट नारायणगोपाल थिए। कुन्ती मोक्तानले त्यहाँ शास्त्रीयमा आधारित गीत गाएकी थिइन्। नारायणगोपाल छेवैमा टाउको हल्लाउँदै गीत सुनेर बसेको क्षण उनको लागि अझै यादगार छ। त्यहाँ उनले ‘कहिलेकाहीँ  मलाई पनि हेरिदेउ न फर्केर’ बोलको गीत गाएकी थिइन्।

सो कार्यक्रममा गीत गाएपछि उनले रेडियो नेपालमा भ्वाइस टेष्ट नगरी नै गीत रेकर्ड गर्ने मौका पाइन्।

०००
संगीतकार शिलाबहादुर मोक्तानसँग विहे गरेपछि मोक्तान दम्पतीले जन्मभूमि छोडेर नेपाललाई नै कर्मभूमि बनाउने सोच बनाए।

सन् १९८२ मा उनीहरु काठमाडौं आए। २ वर्षअघि काठमाडौंमा कार्यक्रम गरिसकेको हुँदा संगीत क्षेत्रका धेरै व्यक्तिहरुसँग चिनजान भइसकेको थियो। केही समयभित्रै उनले रेडियो नेपालमा आयोजना भएको शास्त्रीय संगीत प्रतियोगितामा भाग लिएर प्रथम भइन्।

रेडियो नेपालमा शास्त्रीय गीत लाइभ प्रस्तुत गरिरहँदा अचानक भजन शिरोमणि भक्तराज आचार्य रेकर्डिङ स्टुडियोमा छिर्दा नर्भस भएको क्षण अझैसम्म पनि भुलेकी छैनन् कुन्तीले। ‘मैले प्रस्तुत गरेको आधा घन्टाको राग आचार्यले पूरै सुन्नुभयो। प्रस्तुति सकेपछि आचार्यले दिएको हौसलाले म आफ्नो गायनप्रति अझै विश्वस्त भएँ,’ उनले पुरानो घटना स्मरण गरिन्।

नेपाल आएपछि मोक्तान दम्पती संगीत कर्ममा व्यस्त रहे। सुरुमा उनीहरुले स्कुलमा संगीत शिक्षकका रुपमा काम गरे। उनले भिएस निकेटत स्कुलबाट संगीत कक्षा लिन सुरु गरेकी हुन्। अहिले कुन्ती १५ वटा स्कुलमा संगीत शिक्षिकाको रुपमा काम गर्छिन्।

उनी आफ्नो कामको व्यस्ततालाई संघर्ष मान्दिनन्। भन्छिन्, ‘काम नपाउनु संघर्ष हो। काम गर्नुलाई संघर्ष भन्दिनँ म।’

नेपाल आउँदाका बखत कुन्तीका समकालीन गायिकाहरुमा सुकमित गुरुङ, लोचन भट्टराई, तारा थापा चर्चामा थिए। दार्जिलिङबाट नेपाल आएर संगीत यात्रामा अघि बढिरहँदा समकालीन गायक-गायिकाहरुले उनलाई साथ र सहयोग गरे। उनकै भाषामा सांगीतिक यात्रामा खुट्टा तान्नेहरु देखिएनन्। नेपालमा गायिका मीरा राणा लगायत अग्रजहरुले धेरै सहयोग गरेको कुन्ती बताउँछिन्।

०००
अहिले कुन्तीको आफ्नै छवि छ, गायन यात्रामा। गायनबाटै काम, नाम र दाम कमाएकी कुन्तीका दुई छोरी शीतल र सुवानीले पनि आमा-बुबाकै पदचाप पछ्याइरहेका छन्। सन्तानहरु आफ्नै बाटोमा हिँड्दा दंग छिन् उनी।

७ साउन, २०७८, १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।