आमाले त्यागेकी पुष्पा र अञ्जली हुर्काउँदै छन् लालबहादुर

आमाले त्यागेकी पुष्पा र अञ्जली हुर्काउँदै छन् लालबहादुर

अञ्जली कुजौलीमा फेला परेकी थिइन्। पुष्पा नवलपरासीमा। वन्यजन्तु प्राविधिक लालबहादुर महत उनीहरूका अभिभावक। दूध र च्याँख्ला हुन् उनीहरूको खान्की।

अञ्जली दूध मात्र खान्छिन्। पुष्पाले च्याँख्ला खान थालेकी छिन्। राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेका अनुसार यी दुबैलाई आमाले छाडेर हिँडेकी हुन्।

उनीहरूलाई अहिले जैविक विविधता संरक्षण केन्द्रमा राखेर स्याहार्ने काम भइरहेको छ। उनीहरू हुर्किएपछि बिस्तारै जङ्गलको परिवेशमा घुलमिल हुँदै आफै आफै गैँडाको समुदायमा घुलमिल हुन्छन्।

संरक्षण केन्द्र पुग्दा महत अञ्जलीलाई दूध खुवाइरहेका थिए। उनी अघाएपछि मुन्टो बटार्दै टहरातिर लागिन्। केही बेरमा पुष्पा लमक लमक महत भएतिर आइन्। जङ्गल घुमेर आएकी उनलाई गर्मी भएको बुझिहाले महतले। धाराको पानीले नुहाइदिए। 

उनी अञ्जली यता आ, पुष्पा उता जा भनेर निर्देशन दिन्थे। दुवै पालना गर्थे। सँगै रतुवा मृगको पाठो महत सँगसँगै नाच्दै हिँडिरहेको थियो।

'केही समय घुलमिल भएपछि जनावर पनि रत्ती हाल्छन्,' महतले भने।

७ साउन, २०७८, १२:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।