एंकर न्युज

वीर-ट्रमाको अनियमितता प्रकरण : राष्ट्रिय सतर्कता केन्द्रले छानविन थाल्यो

उपेन्द्र खड्का 


काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र राष्ट्रिय ट्रमा सेन्टरमा अनियमिता भए/नभएको विषयमा राष्ट्रिय सतर्कता केन्द्रले छानविन सुरु गरेको छ। स्रोतका अनुसार केन्द्रले असार १५ गते ३ सदस्यीय समिति नै गठन गरेर छानविन प्रक्रिया अगाडि बढाएको छ।

विभिन्न समयमा परेको उजुरीका आधारमा सतर्कता केन्द्रले अस्पतालमा अनियमितता भए/नभएकोबारे छानविन सुरु गरेको हो। सतर्कता केन्द्रले असार ३० गते प्रतिष्ठानलाई पत्र नै पठाएर ३ दिनभित्र आवश्यक कागजात सहितको विवरण उपलब्ध गराउन भनेको स्रोतले जनाएको छ।

वीर अस्पतालका उपसचिव सागर मिश्रले अस्पतालमा सतर्कता केन्द्रले छानविन सुरु गरेको पुष्टि गरे। उपसचिव मिश्रले बुधबार उकेरासँग भने, ‘उहाँहरु (सतर्कता केन्द्रको छानविन समिति) हिजोदेखि  डकुमेन्टहरु के-के छ भनेर हेर्न आउनु भएको छ।’

उपसचिव मिश्रले सतर्कता केन्द्रको छानविन समितिले अस्पतालको विवरण हेरिरहेको खुलाए। उनले भने, ‘डकुमेन्ट हेर्न आउनु भएको छ। हामी उहाँहरुले मागेका डकुमेन्ट देखाइदिन्छौं।’

सतर्कता केन्द्रले मिडियाले उठाएका विषयको विवरण नै माग गरेको बताए। के-के विषयमा सतर्कता केन्द्रले विवरण मगाएको हो? भन्ने जिज्ञासमा उपसचिव मिश्रले भने, ‘तपाइँहरुले के-के विषयमा लेख्नुभयो, त्यही-त्यही विषयमा हो।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र ट्रमा सेन्टरमा भएका अनियमितताका विषयमा सतर्कता केन्द्र लगायतका निकायमा कर्मचारीहरुले पटक-पटक उजुरी हालेका थिए।

२०७७ फागुन २ गते र २०७८ साल असार १० गते  अस्पतालमा अनियमितता भएको भन्दै विभिन्न निकायमा अस्पतालका कर्मचारीहरुले उजुरी हालेका हुन्।

कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीका रुपमा डा. जागेश्वर गौतम नियुक्त भएपछि कर्मचारी नियुक्ति, उपकरण खरिद तथा मर्मत, कोटेसनमा सामान किनेको (सिधै खरिद) लगायतका विषयमा अनियमितता भएको भन्दै  उजुरी परेको थियो।

पछिल्लो समय वीर अस्पतालका कर्मचारीहरुले २०७८ असार १० गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्पत्ति शुद्धीकरण विभागमा वीर अस्पतालमा भ्रष्ट्राचार गरी अकुत सम्पत्ति आर्जन गरेकाहरुको सम्पत्ति छानविन गरिपाउँ भन्दै उजुरी गरेका थिए।

कर्मचारीले यी निकायमा असार १० गते दिएको उजुरी पत्रमा लेखिएको छ, ‘मेडिकल माफिया र स्वास्थ्य सचिवको योजनामा कोभिडको नाममा हुने उपकरण लगायत सामान खरिदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानको ऐन र नियम विपरीत वीर अस्पताललाई कमिसन छुट्याएर सोको प्रमुखमा स्वास्थ्य सेवाका विवादित र अकुत कालो धन आर्जन गरेकालाई नियुक्त गरेपछि प्रमुखमा नियुक्त डा. जागेश्वर गौतमले अस्पतालमा आफूनिकट व्यापारीलाई मात्र हुनेगरी हालै झण्डै एक अर्बको टेण्डर निकालेका छन्।’

त्यसैगरी ट्रमा सेन्टर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा मन्त्रालयले २०७७ माघ २७ गते गरेको छानविनको प्रतिवेदन पनि मागेको छ।

केन्द्रले गठन गरेको छानविन समितिले आर्थिक वर्ष २०७३/०७४ देखि हालसम्म सोफा खरिद, अस्पतालको छाप, निर्देशकको ल्याप्टप, मोबाइल खरिद, पार्टेसन जस्ता मेसिन, औजार, सामग्री खरिदको विवरण मागेको छ।

सम्बन्धित समाचार

यस्ता विषयमा अनियमितता भएको भन्दै कर्मचारीले प्रश्न उठाउँदै आएका थिए। त्यसैगरी कोटेसन, टेण्डर र सोझै खरिद गरेको खरिद प्रक्रिया, स्टोरमा दाखिला भएको विवरणको माग गर्दै सतर्कता केन्द्रले छानविन थालेको स्रोतले बताएको छ।

मेसिन, औजार, मर्मत तथा मर्मत प्रक्रिया, भुक्तानी सम्बन्धी कागजातहरुको विवरण प्रतिष्ठान (अस्पताल)सँग मागिसकेको छ। केन्द्रले प्रतिष्ठानसँग जिन्सी निरीक्षण प्रतिवेदन, आर्थिक लेखा परीक्षण (आलेप) र महालेखा परीक्षण (मलेप) को प्रतिवेदन छानविनका लागि मागेको छ।

अस्पतालमा भएको खाद्यान्न टेण्डर सम्बन्धी फाइल, २०७०/०७१ देखि हालसम्म खरिद भएको मेसिन, औजारको विवरण र खरिद भएको मेसिन, औजारको हालसम्मको अवस्थाका बारेमा छानविनका लागि केन्द्रले फायल मगाएको छ।

त्यसैगरी स्वास्थ्य मन्त्रालयले गठन गरेको छानविन समितिले वीर अस्पताल र ट्रमा सेन्टरका विषयमा छानविन गरेको प्रतिवेदनको कार्यान्वयनको अवस्था उपलब्ध गराउन केन्द्रले माग गरेको छ।

ट्रमा सेन्टर र वीर अस्पतालमा अनियमितता भए/नभएको विषयमा छानविन गर्न मन्त्रालयले २०७७ फागुन १३ गते सचिवस्तरीय निर्णय गर्दै ४ सदस्यीय छानविन समिति गठन गरेको थियो। यो छानविन समितिको संयोजक स्वास्थ्य मन्त्रालयकी प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारी जोशी रहेकी थिइन्।

प्रतिवेदन समितिका सदस्यले आ-आफ्नै ढंगले तयार पारेर छानविन समिति संयोजकसमक्ष पेस भए पनि यसले अन्तिम रुप पाउन सकेको छैन।

मन्त्रालयले गठन गरेको छानविन समितिका एक सदस्यले विर अस्पतालमा अख्तियारले छानविन गर्नुपर्ने सुझाव दिइएको बताए। तर ट्रमा सेन्टरमा भएका अनियमितता भने ढाकछोप गर्ने किसिमले प्रारम्भिक प्रतिवेदन संयोजक समक्ष पेस भएको देखिएको छ।

उकेराले अस्पतालको अनियमिताको विषयमा समाचार सम्प्रेषण गरेपछि वीर अस्पताल र ट्रमा सेन्टरका कर्मचारीले २०७७ फागुन २ गते अस्पतालको अनियमितताको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा छानविन गरी दोषीमाथि कारबाहीको माग गर्दै उजुरी दिएका थिए। त्यसपछि मन्त्रालयले छानविन समिति गठन गरेको थियो।

स्रोतका अनुसार सतर्कता केन्द्रले प्रतिष्ठान तथा वीर अस्पतालको नेपाल सरकार र प्रतिष्ठानतर्फको स्वीकृति  दरबन्दी, पदपूर्ति, करार, दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीको विवरण, सरुवा लगायतको विषयमा छानविनका लागि विवरण माग गरेको छ।

रेडियोलोजी विभागमा रहेका भिडियो एक्स-रे, एमआरआई मेसिनको दैनिक हुने कार्यक्षमता, दैनिक जाँच संख्या र बिरामीले कुर्नुपर्ने कारण लगायतका जस्ता विषयमा पनि छानविन थालिएको छ।

त्यसैगरी वीर अस्पतालको फार्मेसीमा रहने औषधिको विवरण, अस्पतालको फार्मेसीमा राखिने औषधि, औषधि पसलको टेण्डर सम्बन्धी फाइलको विषयमा छानविनका लागि विवरण माग गरेको छ।

कोभिड संक्रमित कर्मचारीलाई जमल र सुन्धाराको होटलमा राख्ने निर्णय र होटलमा बस्दाको खर्च लगायतको विवरण अस्पतालमा माग गरी सतर्कता केन्द्रले छानविन प्रक्रिया अगाडि बढाएको छ।

त्यसैगरी वीर अस्पतालका अहेव नवराज श्रेष्ठ र युवराज सुवेदीले कोभिड भ्याक्सिन रकम लिई अनाधिकृत व्यक्तिलाई बेचेको भन्ने सम्बन्धमा पनि राय मागेको छ।

कोभिड महामारीका लागि अनुदान र खरिदमा आएका औषधि उपकरण लगायतका स्वास्थ्य सामग्री रकम समेत खुल्नेगरी कुन निकायबाट कुन समयमा प्राप्त भएका हुन् भन्ने विवरण पनि सतर्कता केन्द्रले अस्पतालसँग माग  गरेको स्रोतले बताएको छ।

कोभिड-१९ संकट व्यवस्थापन व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. गौतम नियुक्ति भए पनि वीर अस्पतालमा अधिकार जमाएको भन्दै उनको वैधानिकताको विषयमा नै प्रश्न उठेको थियो।

यस विषयमा सतर्कता केन्द्रले मन्त्रालयसँग डा. गौतमलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत रहेको वीर अस्पतालको सम्पूर्ण आर्थिक तथा प्रशासनिक कार्य गर्न अधिकार दिएको हो की? कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालको मात्रै आर्थिक तथा प्रशासनिक अधिकार दिएको हो? भन्ने विषयमा प्रतिक्रिया मागेको छ। डा. गौतमले अस्पतालमा सामान खरिद लगायतको काम गरिरहेका छन्।

मन्त्रालय स्रोतका अनुसार वीर अस्पताल कोभिड-१९ युनिफाइड अस्पताल मातहत हो वा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत हो? भन्ने विषयमा पनि मन्त्रालयसँग केन्द्रले प्रतिक्रिया मागेको छ।

वीर अस्पतालमा अस्पतालमा अनियमिताका  विषयमा भएको छानविन तथा अनुसन्धान यो नौलो भने होइन। अस्पतालमा भएका अनियमितताका विषयमा यसअघि पनि अख्तियार लगायतका निकायले छानविन गरेरका छन्। तर त्यसको कार्यान्वयन पाटो भने फितलो देखिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

तराई-मधेश समृद्धि कार्यक्रम : भएका घर भत्काएर ठेकेदार बेपत्ता, २४ परिवारको बिचल्ली

स्थानीय तह गठन भएपछि उनीसहित मर्चवारका धेरै नागरिकको फुसको छानो उतारेर नयाँ घर बनाउने योजना बनायो। उजागिर सहित कोटहिमाईका २४ घर-परिवारलाई नयाँ घर बनाइदिने आश्वासन....

उपकुलपति-रजिस्ट्रार मनमुटावले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कामकाज नै अवरुद्ध

प्रतिष्ठान सञ्चालन हुँदा प्रदेशमा स्वास्थ्य विज्ञानको उच्चस्तरीय अध्ययन, अनुसन्धान तथा आवश्यक जनशक्ति तयार हुनेछ र सर्वसाधारणले स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नेछन् भन्ने सरकारी बुझाइ छ।....

स्वास्थ्य मन्त्रालयले बजार मूल्यभन्दा बढी तिरेर स्वास्थ्य सामग्री खरिद गरेको खुलासा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको विवरणमै मन्त्रालयले २०७७ जेठयता खरिद गरेका मास्क, स्यानिटाइजर, ग्लोब्स लगायतका सामग्रीमा बजार मूल्यभन्दा धेरै तिरेको देखिएको हो। मन्त्रालयले २०७७....

आमाले त्यागेकी पुष्पा र अञ्जली हुर्काउँदै छन् लालबहादुर

अञ्जली कुजौलीमा फेला परेकी थिइन्। पुष्पा नवलपरासीमा। वन्यजन्तु प्राविधिक लालबहादुर महत उनीहरूका अभिभावक। दूध र च्याँख्ला हुन् उनीहरूको खान्की। अञ्जली दूध मात्र खान्छिन्। पुष्पाले च्याँख्ला....

फोहोरको आहालमा राजधानी, किन हुँदैन वैकल्पिक प्रयोग ?

चोकचोकमा फोहोरको थ्रुप्रो, त्यसमाथि चुँदो झरीले काठमाडौं उपत्यका फोहोरको आहालमा डुबेको छ यतिखेर। गर्मी मौसम भए पनि प्रकृतिले चिसो वातावरण दिएकोले हैजा र झाडापखालाबाट भने....